सञ्जय साह मित्रव्यङ्ग्यकारको ठेगाना
एउटा घरमा लेखेको फेला पार्यो – व्यङ्ग्यकार कुञ्ज । खुसी हुँदै ढोकामा के पुगेको थियो, उसले देख्यो एउटा बोर्ड – व्यङ्ग्यकार फलानो हराएको सूचना । भेट्टाउनेलाई उचित पुरस्कार ।

सञ्जय साह मित्र :
भख्खर जन्मेको एउटा व्यङ्ग्यकारले वरिष्ठ व्यङ्ग्यकारको ठेगाना पत्ता लगायो । पत्ता तेसै लागेको होइन । पत्ता लगाउन उसले बेपत्तासित युद्धस्तरमा मेहनत गरेको थियो । अनलाइन, फेकबुक, प्रकाशित कृति, फेकबुके मित्र सबैतिर खोज्दा बल्ल उसले वरिष्ठ व्यङ्ग्यकारको ठेगाना आविष्कार गर्न सकेको थियो ।
कति जुग बितिसकेको एउटा ऐतिहासिक रचनामा वरिष्ठ व्यङ्ग्यकारको ठेगाना भेटिएको थियो । त्यसै ठेगानामा ऊ एउटा चाडकै दिन पुग्यो ठाँटिएर । आफूले जानेको र मानेको साहित्यकार त देउता सरह हुन्छ र देउताको घर मन्दिर । गाउँमा एक जनालाई सोध्यो – फलानो व्यङ्ग्यकारको घर कुन हो ?
मेरो बाउलाई नि था नभा कुरो मलाई सोध्छस्, दिउँ दनक ?– नवव्यङ्ग्यकारको कानमा ठोक्कियो जवाफ ।
एकाबिहानै लर्बरिएको बोली र अररिएको मनुवाको दर्शनले बिहानले दिन राम्रो हुने संकेत पायो । अलिक पर एक महिलालाई देखेपछि सोध्यो – व्यङ्ग्यकार फलानोलाई चिन्नुहुन्छ ?
म आफ्नो श्रीमान्लाई त चिन्दिनँ, तिमी चिन्छौ ? – जवाफमा आएको प्रश्नले उसलाई पागल भएको अनुभूति गरायो । भागूँ कि लुकूँ भन्ने दोधारमा लुत्ते कुकुरले टाङमुनि पुच्छर लुकाएझैँ आफ्नो गर्वलाई तुहाउँदै गाउँबाट बाहिरिन खोज्यो लुसुक्क ।
एउटा घरमा लेखेको फेला पार्यो – व्यङ्ग्यकार कुञ्ज । खुसी हुँदै ढोकामा के पुगेको थियो, उसले देख्यो एउटा बोर्ड – व्यङ्ग्यकार फलानो हराएको सूचना । भेट्टाउनेलाई उचित पुरस्कार ।
नवव्यङ्ग्यकारले आफ्नो घरको बाटो ततायो । वरिष्ठ व्यङ्ग्यकार बार्दलीमा बसेर चिया पिइरहेको थियो ।
०००
रौतहट
Subscribe
Login
0 Comments
Oldest







































