कविराज घिमिरेवृद्ध चिन्तन
प्रताप ढल्छ वृद्धको विचार लत्तियो भने । समाप्त हुन्छ वृद्धको बुझेन भावना भने ।। नपार चोट वृद्धमा मनुष्य पुत्र हो बुझ । म नित्य रम्न चाहने समीप वृद्ध हुन् खुद ।।

कविराज घिमिरे :
जवानबाट जन्मिएँ र वृद्धबाट हुर्किएँ ।
लडीबडी गरेर काख पाउँदा म फुर्किएँ ।।
अहा ! कमाल वृद्धको छ प्रेम वृक्ष मौजुद ।
म नित्य रम्न चाहने समीप वृद्ध हुन् खुद ।।१
छ भोक प्यास के भनी म दूरमा रहेँ भने
झसङ्ङ हुन्छु वृद्धका विचार बिर्सिएँ भने ।
सिकाँउदै हिँडे सधैँ विपत् हुँदा तिमी जुध ।।
म नित्य रम्न चाहने समीप वृद्ध हुन् खुद ।।२
कहाली लाग्छ एकलै म बस्न बाँच्न सक्तिनँ ।
बिनामियो घुमूँ भने म डेग नाप्न सक्तिनँ ।।
अगाडि जून घाम छन् पछाडि शून्यको बुँद ।
म नित्य रम्न चाहने समीप वृद्ध हुन् खुद ।।३
पवित्र धाम वृद्ध हुन् गरौँ सदैव आदर ।
जहाँ छ बास वृद्धको त्यही हुनेछ मन्दिर ।।
अखण्ड तेज हुन् यिनी अनन्तसम्म साबुद ।
म नित्य रम्न चाहने समीप वृद्ध हुन् खुद ।।४
प्रताप ढल्छ वृद्धको विचार लत्तियो भने ।
समाप्त हुन्छ वृद्धको बुझेन भावना भने ।।
नपार चोट वृद्धमा मनुष्य पुत्र हो बुझ ।
म नित्य रम्न चाहने समीप वृद्ध हुन् खुद ।।५
०००
भक्तपुर
Subscribe
Login
0 Comments
Oldest





































