नगिता लेप्चा राईउजूर
उँभो न उँधो भएर बसेका हजारौँ प्यारा टिचर्स, परीक्षामा धोका खाने न गरी खानु न मरी जानु भइ बसेका अधकल्चे परीक्षार्थीको व्यथा, पीर मर्का तपाईहरूको निजी भगवानसमक्ष कुरा राखेर उनीहरूको उद्धार गरिदिने उजूर गरिदिनुहोस् न ।

नगिता लेप्चा राई :
शिक्षक प्रतिनिधि १ – सर ! हजुरले सर्वनाश पार्नुभयो ।
नेता – मैले तपाईको के सर्वनाश पारेँ अचम्म !
शिक्षक प्रतिनिधि १ – मेरो होइन सर । हामी शिक्षणकर्मी जति सबैको । गाउँ-समाज, राष्ट्र, समाजको निम्ति सच्चा, इमान्दार नागरिक तयार पार्ने उद्देश्यमा हामी यो पेशामा आएका थियौँ । तपाईंले हाम्रो आत्मा, मान सम्मानमा आघात पार्नु भयो । देशको भावी नागरिकहरूलाई सेवा पुर्याउने हाम्रो जोश र जाँगरलाई धूलिसात पार्नुभयो ।
नेता – शिक्षकहरूलाई वा शिक्षक हुन चाहने सबैलाई हाम्रो पार्टीले कदर गर्छ । तर शिक्षकहरूलाई सम्मानमा आघात पुर्याउने खै त्यस्तो त केही गरेजस्तो लाग्दैन ।
शिक्षक प्रतिनिधि २ – आम्बो सर कस्तो कुरा गर्यौ हौ । हामीलाई परीक्षा लिन्छु भनेर लाख लाख रुपियाँको फर्म भर्न लाउनुभयो… खै अहिले त्यो परीक्षा ता फेक पो भन्दैछ त । के हो यस्तो सर ?
नेता – अरे यार…विपक्षीले केके भन्छ नि । सुर्ताउनु पर्दैन प्रोसेस जारी छ ।
शिक्षक प्रतिनिधि २ – अब यो प्रोसेस पर्खँदा पर्खँदा बूढो भइन्छ होला सर । प्यारामा झुण्डिँदा झुण्डिँदा भीरको चिण्डो भइसक्यौँ । फेरि अहिले प्याराहरूलाई उठिबास लाउने काम भइरहेको छ सर ।
नेता -होइन, त्यस्तो होइन ।
शिक्षक प्रतिनिधि १- हेर्नोस् सर दिन दिनै उमेर ढल्किसक्यो । प्यारा टिचरमा झुण्डिँदा झुण्डिँदा बिहे गर्ने उमेरले डाँड़ा काटिसक्यो । बिहे पनि अब प्यारा बिहे नै गर्नुपर्ला जस्तो छ ।
शिक्षक प्रतिनिधि २- अरे प्यारा बिहे गर्नु पनि कहाँ सजिलो छ ।
नेता – प्यारा बिहे पनि चल्छ अचेल ।
शिक्षक प्रतिनिधि २ – यो प्यारा बिहे तपाईंहरूले फेक एक्जाम गराएको जस्तो होइन सर । प्यारा बिहे पनि साह्रो छ सर साह्रो छ ।
नेता – किन साह्रो । अचेल लिभिङ टुगेदर चल्छ भने प्यारा बिहे पनि नचल्ने त कुरै आएन नि होइन र ?
शिक्षक प्रतिनिधि १ – आम्बो सर… हरूले हामी प्यारा टिचर्सलाई लण्ड्याएको जस्तो प्यारा मिसेस, सास-ससुरालाई पनि लण्ड्याउनु ?
नेता – हामीले कहाँ लण्ड्यायौ भाइ । अलिक सिष्टम बिग्रेको मात्रै है ।
शिक्षक प्रतिनिधि २ – तपाईंहरूले सिष्टम बिगारेजस्तै हामी पनि तपाई नेताहरूकै होहोरीमा लागेर वैवाहिक जीवनको सिष्टम बिगार्नु सर ?
नेता – सिष्टम बिगार्नु होइन नि… प्यारा बिहेलाई सामान्य एडजष्ट गर्नुपर्छ । जसरी हामीले अहिले यी टिर्चसको केशलाई एडजष्ट गरिरहेछौँ ।
शिक्षक प्रतिनिधि १ – हामीलाई धोका दिने तपाईंहरूलाई त जेलमा कुहाउनु पर्ने ।
नेता – ठैट सबै गर्नोस् । नो प्रोब्लेम । पैसा खायो भन्नुहोस्। स्वीकार । पार्टी कर्मी नेत्रीलाई एबोर्सन गरायौ भन्नुहोस् …द्याट इज एक्सेप्टेड । सिण्टेक्समा कुहुञ्जेल क्याटका क्याट नोटका बिटा खाँद्यो भन्नुहोस् । त्यो पनि स्वीकार । तर कृपया यो जेलको कुरा नगरिदिनोस् ।
शिक्षक प्रतिनिधि २ – किन सर ? जेलको कुरा निकाल्दा तपाईंको हार्ट फेल हुन्छ कि क्या हो सर ?
नेता – आन्दोलनको समयमा जेलमा बस्दा नै वाक्कै लागेको छ । फेरि जेल जानुपर्यो भने बल्ल बल्ल नाम कमाको पनि पानीमै जान्छ ।
शिक्षक प्रतिनिधि १ – अन्त लाज लाग्नेले किन उपद्रो गर्नु ? तपाईंहरूलाई ढाँट्नु, छल्नु, बिग टक गर्नु पनि कसरी आको हौ सर ?
नेता – खै नेता भएपछि यस्तो ट्याक्टिक्स भित्र कहाँबाट आउँछ… आउँछ हौ… थाहै हुँदैन । टिचर्स आर मेड बट लिडर्स आर बर्न । नेता र मन्त्री जन्मिँदै पावर र हाम पार्ने कला लिएर जन्मेका हुन्छन् ।
शिक्षक प्रतिनिधि १ – सर तपाईंहरूले यस्तो पावर पाउने रहस्य चैँ के हो ?
नेता – पार्टीको जोर, पावरको जोर, गद्दीको जोर, गलाको जोर, चम्चे क्याडरको जोर, जनगणको स्नेह, माया-प्रीतिको जोर । म त रातदिन भगवानलाई एउटै प्रार्थना गर्छु हे भगवान ! काम गर्दै जान सकूँ । जनतालाई लट्टाउनुसम्म लट्टाउन सकुँ । पाए जति हुर्सुनु सकूँ । पार्टीमा हुने राम्री राम्री तरुणीसित… हा…हा…हा…
शिक्षक प्रतिनिधि २ – वाह ! गुरुजी वाह । तपाई नेताहरूलाई देख्दा यस्तो लाग्छ सर… भगवानसित तपाईंहरूको पार्टीको सम्बन्ध गजबको छ हई सर । हाम्रो निम्ति पनि तपाईको पर्सनल भगवानसित उजूर गरिदिनुहोस् न । जसमा हामी ट्रेण्ड बट बेरोजगार शिक्षक, भीरको चिण्डो जसल्तै उँभो न उँधो भएर बसेका हजारौँ प्यारा टिचर्स, परीक्षामा धोका खाने न गरी खानु न मरी जानु भइ बसेका अधकल्चे परीक्षार्थीको व्यथा, पीर मर्का तपाईहरूको निजी भगवानसमक्ष कुरा राखेर उनीहरूको उद्धार गरिदिने उजूर गरिदिनुहोस् न । तपाईं नेताहरूको सोर्स पनि छ फोर्स पनि छ । भगवानले पनि सोर्स र फोर्स हुनेहरूलाई मात्र काखी चेप्छ भन्ने सुनेको छु ।
नेता – तपाईहरूको उजूर हण्ड्रेड पर्सेण्ट राइट । ठिकै छ । यस विषयमा म एकपल्ट मेरा सिनियर नेतासाथीहरूसित कुरा गर्छु । अँ…भगवानलाई उजूर गर्ने कुरा गर्नुहुँदैथियो नि त्यो त म मिलाइ हाल्छु बट त्यसको निम्ति हाम्रो पार्टी फण्डमा यथाशक्ति फण्ड दिनुपर्छ । हाम्रो नियमै यस्तो छ । बट मलाई केही दिनुपर्दैन । तर कसैले केही दिन नै चाहन्छन् भने म बाट डिनाइ चाहिँ हुन्न । त्यसको निम्ति भाइ-बहिनीहरू सुर्ताउनु पर्दैन । मलाई केही समय दिनुहोस् । त्यतिञ्जेलतपाईंहरूको आन्दोलन सूड बी कण्टियूड है ।
शिक्षक प्रतिनिधि १- तर सर आन्दोलन गर्दा पुलिस चाहिँ नबोलाउनुहोस् भन्ने पनि दुइ हात जोड़ेर उजूर राखेँ । रिसानी माफ सर ।
नेता – ओ… डण्ट वरी….पुलिस मेरो हातैमा छ । यहाँको पुलिसलाई बस् भन्दा बस्छन् उठ् भन्दा उठ्छन् । हा…हा…हा…
समवेत शिक्षकमण्डलीको करतल ध्वनि आकाशमा गुञ्जयमान हुन्छ – वाह ! वाह ! नेता महोदय वाह ! साँच्चै तपाईं हाम्रा भगवान नै हुनुहुन्छ ।
हाम्रा नेता जिन्दावाद !
हाम्रा नेता अमर रहोस् । अमर रहोस् ।
हाम्रो उजूर सफल हुनेछ… सफल हुनेछ ।
०००
खोलाचन्द फाप्री, जलपाईगुडी (भारत)
Subscribe
Login
0 Comments
Oldest






































