हरिशंकर परसाईंलेखकको निवेदन
हामी त केवल कति गर्न सक्छौँ भने जुन देश, समाज र विश्वका हामी हौँ अनि जससित हाम्रो सरोकार छ, उनीहरूको सङ्घर्षमा सहभागी बनौँ जसबाट उत्कृष्ट व्यवस्था बनोस् र उत्कृष्ट मानव जन्मोस् ।

हरिशङ्कर परसाई :
व्यङ्ग्यानुवाद :: रमेश समर्थन
हिन्दी ‘करेन्ट’ को पहिलो वार्षिकोत्सवमा ‘माटी कहे कुम्हार से’ (माटो भन्छ कुमालसित) को संग्रह पुस्तकाकारमा प्रकाशित हुँदै छ ।
एक वर्षपहिले जब ‘करेन्ट’ को हिन्दी संस्करण आरम्भ भएको थियो तब लेखकहरूलाई दुईवटा जातिमा बाँडिएको थियो । जनता पार्टी तथा सरकारका अन्धसमर्थकहरूले आफूहरूलाई ‘ब्राह्मण’ तथा मजस्ता कैयौँ यिनीहरूसित असहमत लेखकहरूलाई ‘चण्डाल’ करार गरिदिएका थिए । अबा यी ‘ब्राह्मण’ क्रान्तिकारीहरूको हविगत देखेर पहिले त हाँसो उठ्छ अनि दया लाग्छ । यस्तो लाग्छ मानौं कुनै चन्दनछाप पण्डितजी रण्डीको कोठामा समातिएका होउन् । यिनीहरूले इन्दिरा गान्धीका घटियाभन्दा घटिया चम्चाहरूको पनि कति निर्लज्ज तरिकाले चापलुसी गरेका थिए भन्ने हामीलाई थाहा छ । अनि सत्ता पल्टिनासाथ उनीहरू पनि पल्टे । उनीहरू यो अवसरवाद पनि क्रान्तिकर्म भयो । अरूको बुद्धि र विवेकलाई कायरता र बेइमानी भन्न थालियो । यिनीहरूको कायरता नैतिकता भयो ।
स्वाभाविक त के थियो भने जुन घोर प्रतिक्रियावादी तथा फासिस्ट शक्तिहरू सत्तामा आएका थिए तिनको देशघाती नीतिहरू तथा कामहरूको सशक्त विरोध गरिनुपथ्र्यो । यी जो सत्तामा आएका छन् उनीहरू एक्कासि स्वर्गबाट १९७७ मा ओर्लेका थिएनन् । विगत पच्चिसौं वर्षदेखि हामीलाई यिनीहरूको राजनीतिक चरित्र थाहा थियो । यस सत्ताले भारतीय प्रेसलाई पनि कब्जामा पारिरहेको थियो । प्रेस अब स्वतन्त्र छ भन्ने प्रधानमन्त्री र सूचनामन्त्रीको दावी पनि झुट्टा हो । अभिव्यक्तिका माध्यमहरू स्वतन्त्र छन् भन्ने पनि सरासर गलत हो । १९७४ सम्म प्रेसलाई जुन स्वतन्त्रता थियो अहिले त्यसभन्दा पनि निकै थोरै छ । मैले १९७५सम्म कांग्रेस तथा त्यसको सरकारको कटु आलोचना गरेको हुँ । यसको दसीका रूपमा छापिएका हजारौं पानाहरू सुरक्षित छन् । तर अहिले नयाँ सत्ताधीशहरूको आलोचना गर्दाखेरि यिनको छाँट नै अलोकतान्त्रिक हुन्छ ।
यस्तो अवस्थामा त स्वतन्त्रतापूर्वक लेखिने पत्रिकाहरूको पो खाँचो हुनुपर्थ्याे ताकि देश तथा जनघाती शक्तिहरूको वास्तविक रूप जनताका अगाडि आओस् । अनि हिन्दी ‘करेन्ट’ले यसै आवश्यकताको पूर्ति गर्यो । श्री अयूब मेरा पुराना मित्र हुन् । वास्तवमा यिनी र म मध्यप्रदेशमा एउटै धर्तीका ‘रत्न’ (?) हौँ । भाइ महावीर अधिकारीसित पच्चिसेक वर्षदेखि स्नेह तथा विश्वासको सम्बन्ध छ । यी दुबै बन्धुहरूले साधिकार आफै स्तम्भको शीर्षक निर्धारित गरे र घोषणा पनि गरिदिए । मलाई पनि अखाडाको आवश्यकता थियो, अनि यो ‘माटी कहे पुकार के’ स्तम्भ आरम्भ भयो ।
मलाई स्वतन्त्रतापूर्वक लेख्ने जुन स्वतन्त्रता यी दुवै सम्पादकहरूबाट प्राप्त भएको छ त्यसका निम्ति म निकै आभारी छु । यो स्वतन्त्रताविना त मनले लेख्नु सम्भव नै थिएन । यो स्तम्भ छापिएपछि मलाई जुन घोर गालीगलौजका चिठीहरू आउन थाले, त्यसबाट म कुन कुरामा आश्वस्त भएँ भने मेरो लेखन सफल भइरहेको छ । यस्ता पत्रहरू त सम्पादकलाई पनि निकै आउँछन् र साथै के पनि हो भने समर्थनमा पनि धेरै पत्रहरू प्राप्त हुन्छन् ।
यस लेखनका विषयमा ममा कुनै भ्रम छैन । अनुभवले के सिकाएको छ भने लेखकको अहङ्कार बेकार छ । हामी कुनै युगप्रवर्तक होइनौँ । हामी पनि साना मान्छे नै हौँ । हाम्रा प्रयासहरू पनि सानै छन् । हामी त केवल कति गर्न सक्छौँ भने जुन देश, समाज र विश्वका हामी हौँ अनि जससित हाम्रो सरोकार छ, उनीहरूको सङ्घर्षमा सहभागी बनौँ जसबाट उत्कृष्ट व्यवस्था बनोस् र उत्कृष्ट मानव जन्मोस् ।
मैले मेरो बुद्धि र विवेकले जे भन्यो त्यही यसमा लेखेको छु, डर र लोभमा परेर केही लेखेको छैन भन्ने आश्वासनका साथमा म यो सङ्ग्रह पाठकका हातमा सुम्पिँदै छु ।
०००
परसाइ रचनावलीबाट नेपाली अनुवाद
Subscribe
Login
0 Comments
Oldest







































