साइबर अपराध सम्बन्धी सचेतना सामग्री

इन्द्रेनीका रङ्गहरू

यहाँ भोजमा मोज गर्ने गर्दा छन् अनि, खान नपाएर भोकले मर्ने मर्दा छन् । भ्रष्टाचार बढेको बढै छ । महङ्गी उकालो चढेको चढै छ । गरिबको छोरो भुइँमा लडेको लडै छ ।

Nepal Telecom ad

भानुभक्त कुभिण्डेली :

आकाशको क्षितिजमा देखिने इन्द्रेनीमा सात रङहरू हुन्छन् होला, तर मेरो इन्द्रेनीमा अनगिन्ती रङहरू छन् । यी रङहरू कुनै राम्रा छन् कुनै नराम्रा पनि । आकाशको इन्द्रेनी लाग्न घाम र पानीको समय पर्खिनु पर्ला तरमेरो इन्द्रेनीलाई कुनै घामपानी पर्खिनु पर्दैन । सधैँ लागिरहेको छ, लागिरहेको छ । नेपाल आमाका काखमा पोखिएका बहुरूपी रङका छिटाले कहिलेकाहिँ मेरो इन्द्रेनीमा कुरूपताको आभास गराउँछ । इन्द्रेनीका सबै रङहरू मनमोहित बनाउने मात्र छैनन्, यहाँका नराम्रा र विषाक्त रङहरूले कहिलेकाहिँ मनमा विरक्तको भाव पनि उब्जाउँछन् ।

नेपाल आमाका अनगन्ती सन्तानका अनन्त कर्मगतिमा पनि पृथकता भेटिन्छ । कोही आमालाई मन मुटुदेखि नै सम्मान गर्ने छन् भने कोही आमाको छातीमा छुरा रोपेर आमाको आँसुमा आफ्नो हाँसो देख्ने छन् । देश बनाउने पनि यहीँ छन्, देश बिगार्ने पनि यहीँ छन् । देश जोड्ने पनि यहीँ छन्, देश फोर्ने पनि यहीँ छन् । जनताका पिरमर्का बुझी सेवामा लाग्ने निष्ठावान् र त्यागी जनप्रतिनिधि पनि छन् र जनताको घाउमा मलम लगाउनुको साटो चुक लगाउँदै दुःख र कष्टको भड्खालोमा हाली आफू व्यक्तिगत स्वार्थ वा सुखसुविधामा लिप्त हुने धोकेबाज र नरपशु पनि यहीँ छन् ।

देशको सार्वभौमिकता, अखण्डता र राष्ट्रिय एकतालाई सर्वोपरी ठानी जातिवाद, सम्प्रदायवाद र क्षेत्रवादभन्दा माथि उठेर आफ्नो स्वाभिमानलाई जहिल्यै जीवन्त राख्ने पनि यहीँ छन् । यसको विपरीत जातजातिलाई लडाएर भिडाएर क्षेत्रीयताको वकालत गर्दै विदेशी प्रभुहरूको शरणमा लम्पसार परी आमालाई बेच्न पछि नपर्ने दलालहरू पनि यहीँ छन् । विद्यार्थीको भविष्य उज्ज्वल पार्नका लागि गर्मीमा पसिना पुछ्दै र जाडामा थरथर काम्दै आफ्नो पवित्र पेसामा अहोरात्र खटी नाउलाई किनारा लगाउने आदर्श र निष्ठावान् गुरुहरू पनि छन्, अनि शिक्षकको खोलमा पसेका व्यापारी, ठेकेदार, राजनीतिज्ञ, र ज्वाइँ प्रवृत्तिका कामचोर शिक्षक, जसले विद्यार्थीको भविष्य अन्धकार बनाई सित्तैमा तलब हजम गर्दै नाउलाई नदीका बिचमा डुबाएर शिक्षकको पेसालाई नै कलङ्कित पार्ने विद्यालयका कीटाणु पनि यहीँ छन् ।

सर्वसुलभ स्वास्थ्य सेवा प्रदान गरेर जनताको स्वास्थ्यमा सुधार गरी जीवनदान दिने अस्पताल र डाक्टरहरू पनि यहाँ छन, अनि, जनतालाई लुटेर रातारात अरबपति हुन खोज्ने स्वास्थ्यका व्यापारीहरू पनि यहीँ छन् । यस्तै विद्यार्थीमा ज्ञानको भण्डार थप्दै उनीहरूको अन्तरनिहित प्रतिभाको प्रस्फुटन गराई भविष्यमा स्वावलम्बी बनाउने उद्देश्यले खोलिएका शिक्षालय पनि छँदैछन् । यसको विपरीत शिक्षा दिने नाममा सिधासादा अभिभावकको ढाड सेकेर चर्को शुल्क असुल गरी शिक्षकको पसिनाको शोषण गर्न पल्किएर अथाह धन सङ्ग्रह गर्ने टाठाबाठा पनि यहीँ छन् ।

साहित्य र सिर्जनाको माध्यमले समाज र राष्ट्रलाई अग्रगामी दिशानिर्देश गर्न परिवर्तन र विकासको ढोका खोली राष्ट्र र नेपाली जनताको समुन्नतिको सपना बुन्दै साहित्यमा कलम दौडाउने सर्जक पनि यहीँ छन्, अनि दुई हरफ कविता कोरेर पहुँचको आडमा कविको नामले विभूषित भई पुरस्कारको राशि हात पार्दै आफूलाई महान् सर्जक ठान्ने साहित्यकार वा कवि पनि यहीँ छन् । जनताको सेवा गर्न हरपल तत्पर रहने राष्ट्रभक्त कर्मचारीको त्याग र बलिदान पनि यहाँ छँदैछ । यसका साथै रातारात धनी हुने सपना बोकेर भ्रष्टाचारको दलदलमा फँसी कहिल्यै ननिस्कने राष्ट्रघाती कर्मचारीको उल्लेख्य सङ्ख्या पनि यहीँ छ । देशका लागि मर्ने पनि यहीँ छन् सुन तस्करी गर्ने पनि यहीँ छन् ।

देशमा गणतन्त्र आएकै छ, पाउनेले सुविधा पाएकै छ । नपाउनेले हन्डर खाएकै छ । गाईलाई गौमाता सम्झी उनलाई पूजा गरेर दुध, दही, घिउ, गहुँत र गोबरलाई पवित्र मानी धार्मिक अनुष्ठान गर्ने पात्र पनि यहीँ छन् भने गाईलाई तरकारी सम्झी काटेर मासु खाने मांसाहारी पनि यहीँ छन् ।

यहाँ नाम र काम कतै मिल्दैन, बरगाँछीमा वर भेटिँदैन भने बाँसबारीमा बाँसको चिनोसम्म छैन । कञ्चनबारीमा फोहोरको डङ्गुरमात्र देखिन्छ । शान्तिटोलमा अशान्ति मडारिरहेको देखिन्छ । केराबारीमा केराको कोसो भेटिँदैन । जरायोटारमा जराया छैनन्, न त भेडेटारमा भेडा भेटिन्छन् । सुन्तलेमा सुन्तला पाइन्न ।

मेरो इन्द्रेनीमा शक्तिमान्, शक्तिराज, बलबहादुर, वीरबहादुर डरले काम्छन् भने लक्ष्मी, कुबेर, धनकुमार धनकुमारी निर्धन हुँदा मागेर हिँड्छन् । ज्ञानबहादुर, विद्यानाथ, सरस्वतीले पढ्न जान्दैनन् । मनबहादुर र दयाबहादुर कन्जुस देखिन्छन् । भानु, ज्योति, ज्योत्स्ना, कान्ति, रश्मि, किरण, दिवाकरको जीवन जहिल्यै अँध्यारो देखिन्छ ।

आजका श्रवणकुमारले आमाबुबालाई वृद्धाश्रममा छोडेर आउँछन् । मातापिताको विश्वास र भरोसा तोडेर आउँछन् । आधुनिक मुनाले मदन ल्हासा गएका बेला पेटमा परायाको प्रेम निसानी बोक्छिन् । अनि सबै पैसा कुम्ल्याई अर्कैसँग सुइँकुच्चा ठोक्छिन्, घर आउँदा धेरै मदनले आत्महत्या गर्नु परेको छ । वृद्ध आमाबुबालाई बेसहारा बनाई अकालमा मर्नु परेको छ । गुरुभक्त र एकलव्यले गुरुलाई हातपात गर्छन् भने दयाबहादुर कठोर देखिन्छन् । विश्वासले धोका दिन्छन्, प्रेरणाले गाली दिन्छिन् । विजयले पराजय भोग्छ ।

यहाँका रामचन्द्रहरू बहुपत्नी वा बाहिरी प्रेमिकामा रमाउने गर्छन् । लक्ष्मणमहरू दाजुको हत्यारा बन्छन् । बुद्धको काँधमा बन्दुक राखिदिन्छन् । अहिलेका हरिश्चन्द्र र युधिष्ठिरले झुटको खेती गर्छन् । यहाँ बाबुले छोरी बेचेका छन्, लोग्नेले स्वास्नी । परपुरुष वा परप्रेमिकासँग मिलेर आफ्नै श्रीमान्को हत्या गर्ने श्रीमतीको पनि यहाँ कमी छैन । त्यस्तै अर्की स्वास्नी ल्याएपछि पहिली स्वास्नीलाई कुखुरा काटे जस्तो काटेर बोरामा हाली एकान्तमा जलाउने शक्तिशाली पतिको पनि उल्लेख्य उपस्थिति छ ।

काठ तस्करी यहीँ छन्, सुन तस्करी यहीँ छन्, दुराचारी यहीँ छन्, ब्रह्मचारी यहीँ छन्, भ्रष्टाचारी यहीँ छन्, अत्याचारी यहीँ छन्, स्वेच्छाचारी यहीँ छन् । जुस खान नपाउने यहीँ छन् घुस खान पाउने पनि यहीँ छन् । फर्सी खान नपाउने यहीँ छन्, मार्सीले अमन भएका पनि यहीँ छन् । माड खाएर बाँच्ने पनि यहीँ छन्, जाँड खाएर मर्ने पनि यहीँ छन् । कोही खानका लागि बाँच्छन् त कोही बाँच्नका लागि खान्छन् ।

यहाँ खानपिन र रहनसहनमा पनि विचलन आएको छ । मकै, भटमास, कोदाको रोटी, सुठुनी आदिलाई हेय गरेर कुरमुरे र चाउचाउ चबाउँछन् । सारी चोलो पछ्यौरा फ्यालेर अर्धनग्न कपडा समाउँछन् । दही मोही बिर्सिएर जाँड, रक्सीमा रमाउँछन् । सही मार्ग छोडेर गलत मार्गबाट अर्थ कमाउँछन् । बारी वा कान्लामा रहेको घाँस काट्न अल्छी मानेर तातो घाममा पसिना चुहाउँदै अर्काको देशमा भेडा चराउन पुग्छन्, स्वदेशमा प्रशस्त विकल्प हुँदाहुँदै विदेशमा हराउन पुग्छन् । विदेशी रुपियाँ गन्न पुग्छन्, आफ्नो बारी बाँझो राखी विदेशमा चिहान खन्न पुग्छन् ।

मेरो इन्द्रेनीमा यस्ता धेरै रङहरु छन् । कुनै रङले शोभा दिएका छन् भने कुनैले कुरूपता बढाएका छन् । थोरै हेर्नलायक छन्, धेरै पीडादायक छन् । यहाँ राष्ट्र देखिन्छ तर राष्ट्रियता देखिँदैन । शासन देखिन्छ, प्रशासन देखिँदैन । नेता छन् नीति छैन । रोग छ, उपचार छैन । भोक छ, भोजन छैन । धर्म छ, धर्मात्मा छैनन् । भ्रष्टाचारी छन्, कानुन छैन । किसान छन् जमिन छैन । जमिन छ, जाँगर छैन ।

यहाँ भोजमा मोज गर्ने गर्दा छन् अनि, खान नपाएर भोकले मर्ने मर्दा छन् । भ्रष्टाचार बढेको बढै छ । महङ्गी उकालो चढेको चढै छ । गरिबको छोरो भुइँमा लडेको लडै छ । यहाँ ब्रह्मलुट छ । शक्ति हुनेलाई जे गर्न पनि छुट छ । जनताको हितका लागि भन्दा सत्ताको जितका लागि नेताहरूमा नै गुट, उपगुट र फुट छ । भाइभाइमा कुटाकुट छ । सगरमाथाको उचाइ बढेको बढै छ । राष्ट्रिय एकता घटेको घटै छ । देश धेरै गरिब छ, तर नेताहरू धेरै धनी छन् । नेताले चुनाव जित्छन् तर जनता हार्छन् । यहाँ सिमाना भत्किएको छ । पुर्खाको वीरताको इतिहास आज आएर खस्किएको छ ।

गणतन्त्र र लोकतन्त्रमा भोकतन्त्र हुँदै अहिले शोकतन्त्र आएको छ । जनतामा निराशा छाएको छ । गरिबहरूमा दीनता छ भने राज्यमा दण्डहीनता छ । यहाँ सत्ताका लागि टाउकाको तानातान छ, अनि कुर्सीका लागि हात हानाहान छ । हिजो चप्पलमा हिँढ्ने आज पजेरामा डुलिरहेका छन् । आफ्नो व्यक्तिगत स्वार्थका लागि महान् सहिदका सपना भुलिरहेका छन् । सहिद परिवार भोकले मरेका मरै छन् । माथि हुने सुखसयलमा मोज गरेका गरै छन् । यस्तै यस्तै छन् मेरा इन्द्रेनीका रङ्गहरू ।

०००
झापा
‘इन्द्रेनीका रङ्गहरू’ निबन्धसङ्ग्रहबाट

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
गणतन्त्र आयो भन्छन्

गणतन्त्र आयो भन्छन्

भानुभक्त कुभिण्डेली
कसले के बिराए ?

कसले के बिराए ?

भानुभक्त कुभिण्डेली
मनको प्यास

मनको प्यास

भानुभक्त कुभिण्डेली
डस्नेहरू छन् यहाँ

डस्नेहरू छन् यहाँ

भानुभक्त कुभिण्डेली
भोकै बस तिमी बरु

भोकै बस तिमी बरु

भानुभक्त कुभिण्डेली
भाने ! तँ लेख्दै नलेख्

भाने ! तँ लेख्दै...

भानुभक्त कुभिण्डेली
छुचो हुँदै छु

छुचो हुँदै छु

शेषराज भट्टराई
धर्म

धर्म

मनाेहर पाेखरेल
0
Would love your thoughts, please comment.x
()
x