युवराज मैनालीप्रचारको अचार
‘एक थुकी सुकी सय थुकी नदी’ भन्ने कुरा सबैले बुझिसकेका छन् । यो बुझ्ने कुरा प्रजातन्त्रको उज्यालोले छरपष्ट पारिदिएको छ । यसैले जातीय सङ्गठनदेखि लिएर वर्गीय सङ्गठनहरू पनि भटाभट बन्न र हिँड्न थालेका छन् ।

युवराज मैनाली :
बोल्नेको पिठो बिक्छ, नबोल्नेको चामल बिक्दैन । पुर्खाले दियालो बालेर गरेको गन्थनयुक्त मन्थन आज आएर भटाभट चकाचक बिजुलीको झिलिमिलीमा पनि त्यत्तिकै हालिमुहाली गर्दै छ । पीपलले जरो गाडेकै भइदिएको छ । कुरो र कुलो जता लगे पनि हुने भए तापनि अहिलेचाहिँ कुरो गरिँदै छ चस्स परेको अचारको, जिब्रो फट्कारको साथ आएको विचारको र त्यसकै प्रवाहमा झुल्किएको “प्रचार” को । थाहा पाइएअनुसार घुम्दा फिर्दा शेष केही कतै फेला पारिएअनुसार प्रचारको सामुहिकतामा सरकारी भकारी रखवारी प्रचारको बेलाअनुसार झ्याली पिटेर, नगरा ठटाएर, दमाहा बजाएरमात्र होइन, कटुवालको घोक्रो सुकाएर गरिने गरिन्थ्यो प्रचार ।
सूचना प्रवाहको धारमा प्रचार नालाबाट मूलधारमा जिन्दगी बग्न थालिसक्यो । जति डुबुल्की मार अथाह गहिराईमा बदलिसक्यो प्रचार । अहिले प्रचार बहुआयामिक मात्र होइन बहुमुखी बनिसक्यो । व्यक्तिको स्वतन्त्रता, सचेतनता आदि इत्यादिको साँचो- तालाको व्यवहार बनिसक्यो प्रचार । घरैमा जहानभित्र पनि यसको टेक्निक प्रयोग भएन वा जानिएन भने खप्नुपर्छ अत्याचार । यसैले बाङ्गो भएर पनि सोझो सोझिएर पनि बक्र यत्रतत्र सर्वत्र लहरो बोर झाङ्गिएको छ प्रचार ।
विद्युतीय माध्यमहरूले चारैतिरबाट चुम्बकीय आकर्षणमा पारेर यो सन्तुलन संसारको परिक्रमा क्षणमै गर्न सकिने भएको छ । यसैले प्रचार भइसकेको छ, देश खाई, संसार विवेक टाँस्सिने ठाउँ । बलियोको संस्कृति, सुसंस्कार, निर्बलियोको कुसंस्कृति बढ्दै गइरहेको छ यही प्रवृत्ति । राजनीतिमा दुर्गन्धलाई सुगन्ध भनी गर यो प्रचार । इराकमा सद्दाम हुसेन थिए, बुस दादाका तावेदार, हतियारका थिए मोतियार, मति बिग्य्रो गतिमा पुर्यायो त करार, यसको भएन प्रचार । पछि प्रचार धुमधाम गरियो, इराकमा राखिरहेछ पारमाणविक हतियार । निहुँलाई बीउ नचाहिने थियो, चाहिएन पनि, हमला भयो भरमार । फ्रान्स लागे, अष्ट्रेलिया लागे, सर्वोत्कार प्रजातन्त्र कहलिएको बेलायत लाग्यो । भाइ फुटे गँवार लुटे थिए नै अरब परिवार त कसले बन्द गर्ने युद्धद्वार । ढ्वाङढ्वाङ हान्ने मारको अगाडि भूत त भाग्छ भने के अडिनु युद्धद्वार । द्वार ढल्दा छ्याङ्ग देखियो भ्वाङ भरेको दैलोबाट हात्ती आयो हात्ती आयो फुस्सा । राष्ट्रसङ्घका महासचिव पछि चेते, हिन्दूका पिछे ज्ञानमा आफै लेटे, बत्तीका अगाडि भुसुनाको भुनभुन न हो आखिर ।
यसो प्रचारको अचार नहालेको कहाँ हो रैछ नि । सद्दाम आफैं दुलोभित्र पसेर पनि निकाली हाले । भारतमा रामलीला खुब चल्छ । त्यहाँ भीमकाय रावणलाई बारुद राखेर ढालिन्छ । त्यो एकदिन न हो, रामको वाणले रावण ढल्ने रावण पड्किने तर त्यसपछि हरक्षण हर घडी हर पला रावण फल्छ । रावण जति भनिन्थ्यो त्यति खराब थिएन, विद्वान थियो, वैज्ञानिक थियो । रामलाई उचाल्न रावणलाई पछार्नु जरुरी थियो, प्रचारले काम फत्ते गरिदियो-दिइरहेछ । प्रचारको मोह अमेरिकीहरूमा भन्दा रसियनहरूमा कम थियो भन्ने कुरालाई प्रचारको रूपमा प्रसार गरिएको थियो । अन्तरिक्षयान उडाउने कुराको बखान अमेरिकीहरू धुमधामसँग प्रचार गर्दै थिए तर रसियनहरूले उडाएर छक्काइदिए रे । प्रचारको आ-आफ्नो ढङ्ग हुन्छ ।
कोही काम गरेर प्रचारमा लागेको हुन्छ त कोही काम गर्न प्रचारमा झुम्मिएको हुन्छ । नाक छन कानबाट हात घुमाओस् वा सिधै नाक छोओस् आखिर छुने त नाकै हो, स्टाइल हो आफ्नो लक्ष्य छुनुको । प्रचार हरेक मुलुकको एउटा न एउटा कसँग कुरा काटेर जोडेर भइरहेको देखिन्छ । अन्तको जन्त किन गरिरहूँ आफ्नै जन्त अघि बढाऔँ यानेकि नेपालकै कुप्रचारको कुरा गरौँ- हुईंहुईं सतीले सरापेको देशको रूपमा चर्चा हुने गर्दछ बेलाबखतमा । त्यसैले इमान्दार पछिपछि अरू अघिसरीको हालीमुहाली चलेको चल्यै चलेको चल्यै छ । जापान भूकम्पले बढी हल्लिन्छ भने भूकम्पै नआए पनि यो मुलुक हल्लिएको हल्लियै छ । हिजोआज यसको प्रचार संसारभरि फैलिएको छ प्रचारको चुलीमा पुगेको छ । प्रचारको विचार कु र सु अरुतर्फ धकेलेर कुरा गरौँ प्रचारकै ।
प्रचारको भाउ छ, माउदेखि बच्चासम्म, बाजेदेखि नातिसम्म नाक फुलाउने दाउ भिराउने नै प्रचार हो । एक छाक भात, एक कप चिया छोडिएला तर प्रचारको हाँका छोड्ने कुनै बाउको छोरो सायदै आजसम्म जन्मेको होला । आफ्नो नारको कति मानिसहरू यता दौडन्छन् । नेता अभिनेताहरूको कुरा एकातिर राखेर पनि आफ्नो प्रचार नामको प्रचारमा दौडेको दौड्यै हुन्छन् । रेडियोमा फर्मायस गरेर हुन्छ वा अखबारमा उपलब्ध विधिहरूलाई च्याप्प समातेर । अझ आफ्नो प्रचार सदाबहार अलाउन संसारभरि फरकफरक अनौठो अरुले गर्न नसकेको कामहरू गरेर कोही जुँगा बढाउँछन्, कोही टुपी तह लगाउँछन् ।
हिमाल चढेर होस् कि सागर पौडेर कीर्तिमानको तान फटाफट चलाउन थाल्दछन् । चाहे व्यक्ति होस् वा समष्टि प्रचारको दाउमा सबै बालमलाएकै हुन्छन् । हिजोआज प्रचार राजनीतिको राजव्यापारमा नभै नहुने काजले विशिष्ट ठाउँ हसुरिरहेको छ । यसर्थ भन्न सकिन्छ प्रचारविनाको जीवन झुण्डिएको सिलिङ पङ्खा हो । प्रचारले यही पड्खा गड्गडाएर सुपरसोनिक बन्दछ । यसैको मम जानेर उद्योगपति, व्यापारी, राजनीतिज्ञ, पत्रकार, साहित्यकार सबै कारहरूको लब्रिकेन्ट आयल बनेको छ । आवश्यकता नै सिर्जनाको आमा हो, यो आवश्यकता पूर्ति न प्रचारका लागि अरू त अरू सरकारले पनि परसम्मको सोच राखेर मन्त्रीहरूमध्येलाई प्रवक्ता तोक्ने गरिसकेको छ । त यस्तो बेलाँ व्यापार त झन् प्रचारको प्रश्वास बनेको छ अनि विज्ञापन एजेन्सीहरू यसको डाक्टर ।
‘एक थुकी सुकी सय थुकी नदी’ भन्ने कुरा सबैले बुझिसकेका छन् । यो बुझ्ने कुरा प्रजातन्त्रको उज्यालोले छरपष्ट पारिदिएको छ । यसैले जातीय सङ्गठनदेखि लिएर वर्गीय सङ्गठनहरू पनि भटाभट बन्न र हिँड्न थालेका छन् । बुद्धिजीवी, मजदुर, विद्यार्थी आदि इत्यादि त कति कति यस्तै कलाकार आदि इत्यादि पनि । यसबारे अरू कुरा अर्कै बेलाका लागि सारेर यी संस्था सङ्गठनबारे नभनिरहन सकिन्न । यी सबैको बचेरा पहिले कोरलिन्छ अनि माउ बनेको देखा पर्दछ कुरा बढेको छ प्रचारको । प्रचारका जिम्वालहरूको संस्था बन्यो ।
“कृति” यो कृतिले राम्रो प्रचारको आकृति बनाउनेलाई पुरस्कारले सिँगार्ने पनि गरिसकेको छ । यो काम गर्न बालिएको पोहोरबाट दोस्रो भएको छ । सौन्दर्य प्रतियोगिता त प्रचारको दविलो माध्यम भएको छ । जज र जुरीको चुरिफुरी मात्र होइन सौन्दर्यकी रानीको के के बखानी प्रचार यहाँ गरिरहनु परेन त । प्रचारको सरोकार आज जन्मदेखि मृत्युसम्मको समवेदनासम्म सबैलाई दरोकार बढ्दै गैरहेको छ । महायज्ञदेखि पूजापाठसम्ममा पनि हिजोआज प्रचारकै बढ्दो सरोकार समेटिएको बेलामा हामी तपाई कोही पनि नष्टी जुट्न सकेसम्म प्रचारमा जुटौं भित्रभित्र खोझै भए पनि बाहिर टिलिक्क टल्कौँ ।
०००
काठमाडौं
भ्रष्टाचारको भाङ (२०६५)
Subscribe
Login
0 Comments
Oldest








































