रेहित सैजुजुत्ताहरूको दीक्षान्त समारोह
हामी जुत्ताहरू एकापसमा झुत्ता बनेर चप्पलसँग छलफल गरी एउटा बलियो सङ्गठन बनाउनै पर्ने छ । ताकि हामीलाई प्रयोग गर्ने हिम्मत कोहीबाट नपलाओस् ।

रेहित सैजु :
नमस्कार, म जुत्ता हूँ । जुत्ता भन्नसाथ बुझिहाल्नु भो होला । बच्चादेखि बुढो सबै वर्ग, लिङ्गहरूको घुँडामुनि खुट्टामा प्रयोग हुने अचुकको चिज हूँ । हाम्रो परिचय भन्नु या अस्तित्व भन्नु यिनीहरूको खुट्टामा अडिएको हुन्छ । आजकाे यो दीक्षान्त समारोहमा निर्धक्क भई आफ्नो दुःखान्त बिसाउँदै छु । कतै ढल्न लागे मलाई समाएर थामिदिनु होला नत्र चुपचाप सुनिदिनु होला ।
मेरो कथाको सुरुवात ठ्याक्कै कहाँबाट भयो, क-कसको समागमबाट जन्म भएकाे हाे, यस विषयमा म अनभिज्ञ छु । मेरो न्वारान कुन पण्डितले गरे त्यो झन् मैले जान्ने कुरै भएन । यो बहसले हाम्रा पानीदेव इन्द्र दाइलाई समेत सकस पार्न सक्छ । मेरा जन्मदाताले झण्डै झण्डै म जस्तो देखिने तर स्वरूप ठिक उल्टो भएको साथीलाई जन्म दिनु भएको रहेछ । कस्तो प्वाल परेको भाग्य हाम्रो । उनको सृष्टि हुनुले नै हामी मारको भारले थिचिएका हौँ । ऊ सधैँ रोइरहन्छ, ऊ रोएपछि म पनि आँसु थाम्न सक्दिनँ । हामी दुवैजना ह्वाँ ह्वाँ आँसुको भेल बगाएर रोइदिन्छौँ । हाम्रो रोदनलाई सुन्ने, बुझ्ने कोही नभएर नै प्रतिनिधिको रूपमा म अहिले यहाँहरू समक्ष उभिन आएको हूँ ।
त्यसो त यो संसारको अकाट्य नियम नै हो, यहाँ सबै कोही न कोहीबाट परिचालित हुन्छन् नै । यो यथार्थबाट जिउँदो छउञ्जेल कोही टाढा भाग्न सक्दैनन् । जो भाग्न खोज्छन् ऊ फन्दामा परिहाल्छ । यस्तो हुँदा हुँदै म झन् भाग्नु कहाँ… ! यो खेला विष्णु भगवानका हत्केलाको सुदर्शन चक्र जस्तै हो । तर कस्तो विडम्बना ! न हामीले अरुको नुन खाएका छौँ न त कसैको सुन नै लाएका छौँ । यी मानवहरूले हामीलाई यसरी प्रयोग गर्छन् कि मानौ हाम्रो अस्तित्व केवल तिनीहरूको गह्रुङ्गो ज्यान बोक्नु मात्र हो ।
दुरूपयाेगकाे पनि हद हुन्छ नि गाँठे । प्रयोगका नाम र निहुँमा यसरी सताइएकाे छ कि, कसैले आफ्नो फुटेको कुर्कुच्चा लुकाउनदेखि, कसैले होचो ज्यान अग्लो बनाउनसम्म हामीलाई नै सास्ती । उनीहरू खुट्टा धुँदैनन्, सरसफाइमा शून्य छन्, सृष्टिले होचो उचाईको बनाउँछन् अनि कमजोरी ढाक्न भने हामीलाई नै प्रयोग । यताउता जाँदाको त के कुरा गर्नु । अरे, उनीहरूलाई बोक्ने ठेक्का हामीले पो लिनु बरै ! उनीहरूले जताजता टेक्यो हामी त्यतै थच्चिनु पर्ने । कहिले साह्रो जमिन, कहिले दङ्दङ्ति गन्हाउने ढल, हिलो अनि कहिले तीखा तीखा काँडामाथि हाम्रो निर्दोष ज्यान आफ्नै तालमा तेर्स्याइ दिन्छन् । ठ्याक्कै खराब नेतृत्वको व्यक्तिगत स्वामित्व बनी उनकै ढोल बजाउँदै हिँडेको जस्तो । उनले जताजता लग्यो, त्यतैत्यतै बग्यो । यो कस्तो असहनीय ! सम्झेर ल्याउँदा आङ सिरिङ्ग गर्छ ।
विचरा ! हामी जुत्ताका नजिकको नाता पर्ने चप्पलहरूको पनि जीवनगाथा उस्तै छ । उनीहरू पनि हामी जस्तै चुपचाप निरीह भई सहेर बसिदिन्छन् । अब हामीलाई यति मात्र थाहा छ, चुपचाप सहनु हाम्रो धर्म हो । हामीले आफ्नो थिलथिलो ज्यान लिएर उनीहरूलाई सजिलो बनाउनु नै हाम्रो मूख्य कर्तव्य हो । कता हो कता एउटा भनाइ सुनेको थिएँ, ‘नीति र नियतिमा लेखेको कुरा नभोगी सुखै छैन’ । याे पनि हो नै रहेछ नि हौ ।
आज भन्दा बाह्र तेह्रसय वर्षअघि हाम्रो नामोनिशाना कुनै मान्छेहरूले सुनेका थिएनन् । मान्छेले मान्ने गरेका भगवानहरूले पनि हामीलाई प्रयोग गर्ने कुचेष्टा गरेनन् । तर यी मान्छेहरूलाई पो के भएकाे हाे कुन्नि । हुन त नियम मिचेर अर्काको घाँटी थिच्नु मान्छेको जन्मजात गुण नै हो । अरु कुरा के गर्नु !
जमिन त जमिन भई नै हाल्यो, अन्तरिक्ष होस् या समुद्रको गहिराइ नाप्न को पहिले पुगे भन्नेमा हामी जुत्ताहरूको नाम आउनु पर्ने होइन र ? तर विडम्बना उनीहरूकै नाम आउँछ । तेञ्जिङले सगरमाथामा पहिलाे पाइला टेकेकाे इतिहास लेख्ने र पढ्ने उनका खुट्टामा न्याना र दर्बिला जुत्ता थिए भनेर कसले सम्झने ? सिङ्गाे एउटै नेपाल बनाउने महाअभियानमा हिँडेका पृथ्वीनारायणका खुट्टामा पनि हामी नै थियाैँ भन्ने सम्झना कसले राख्ने ? जसजसले जहाँजहाकाे जमिन टेक्न पुगेकाे इतिहास छ, त्याे इतिहासमा हामीले भाेगेकाे थिचाइ र टेकाइकाे पहिले स्पर्श हामीले नै गरेका हौँ । मान्छेकाे दिग्विजयमा हाम्रो पनि सङ्घर्ष कम्ती छैन तर हाम्रो नाम कहीँ कतै लेखिएन । यो भन्दा ठूलो अन्याय अरु के पो होला… !
लठुवा मानिसहरू आफ्नो आवश्यकता पूरा गर्न, यान त्यान भाकल बोकेर मन्दिर पुग्छन्, भगवानसामू उभिन्छन् । हामी मख्ख पर्छौँ । नबोल्ने पत्थरको भगवानअघि हाम्रो पनि विलौना सुनाउन पाउने भयौँ भनेर । थुक्क ! त्यहाँ त हाम्रो लागि प्रवेश निषेधः लेखिदिएका हुन्छन् । थैत् ! मान्छे भन्ने जात कस्तो चुतिया । यो मान्छे त चुतिया बोक्ने आजीवन भरिया पो रहेछ ।
मान्छेले मान्छेहरूमाथि गल्ती गर्छन् । जघन्य अपराध गर्छन् । चोरी जस्तो कुकृत्य गर्छन् । काम बिगार्छन् । तर उनीहरूलाई आफ्नो सजायबापत् हामीलाई पाे उनेर माला लगाइदिन्छन् । अरे अरे ! यसलाई राम्रो भन्नु कि नराम्रो । अनि मान्छेहरूले उहिल्यैदेखि हामीमाथि गरिरहेको अन्यायको उपचार चाहिँ कसले पो देला । यदि माला नै लगाइदिने हो भने किन यस्तो घृणित काममा मात्र । लगाइदिउन् नि राम्रा राम्रा नतिजाहरूमा पनि । कि कसो… !
मैले कता हो मान्छेहरूले एउटा उखान भनेको सुनेको थिएँ, ‘खुट्टा भए जुत्ता कति कति’ । लौ हेर्नुहोस् त, हामीलाई कति सस्तो बनाएको ? हामी कहाँनेर चुक्यौँ ? यी कथित् महामहिम मान्छेहरूलाई तह लगाउन कोही माइकलालको जन्म हुने छाँट कतै छैन । तसर्थ आजको यो दीक्षान्त समारोहबाट म जुत्ता के घोषणा गर्दछु भने, जे भोग्यौँ, भोग्यौँ । अनाहकमा भोग्यौँ । अब यिनीहरूले जता लग्यो त्यतै बग्ने कष्ट गर्नु हुँदैन । सधैँ लाचार भएर यिनीहरूको अचार बनिरहनु हाम्रो लागि न्यायसङ्गत हुन सक्दैन ।
हामी जुत्ताहरू एकापसमा झुत्ता बनेर चप्पलसँग छलफल गरी एउटा बलियो सङ्गठन बनाउनै पर्ने भएकाे छ अब । ताकि हामीलाई प्रयोग गर्ने हिम्मत कोहीबाट नपलाओस् । यसको लागि सबैभन्दा ठूलो उपाय भनेको हाम्रो स्वरूप उस्तै बनाउनु हो । यसले गर्दा उनीहरू आफ्नै युगमा फर्किन विवश हुनेछन् । यो मेरो कटु भनाइमा समर्थन जनाइदिन हुन सबैमा सादर अनुरोध छ । आउनाेस् संसारभरिका जुत्ताहरू हामी एउटा शक्तिशाली जुते आन्दाेलनकाे आरम्भ गराैँ । जसले हामीलाई आफ्ना खुट्टामा लगाउँछ, उसकाे जत्तिकै इज्जत र प्रतिष्ठा हाम्राे हुनु पर्छ । याे एकसूत्रीय माग पुरा नगरी अब हाम्राे आन्दाेलन टुङ्गिने छैन । जुते आन्दाेलन जिन्दावाद ! जिन्दावाद !
०००
रामेछाप, हाल काठमाडौं









































गजब….