होम सुवेदीफेटा गुताउने युगको जय होस्
तिनले ता आफ्नै मामाको सम्मान गरेका रहेछन् । मलाई बडो खुसी लाग्यो । अनि अझै बुझियो आगामी हप्ता अर्को टोलको कार्यक्रममा आजको सम्मान पाउने मामाले आज सम्मान गर्ने भान्जालाई सम्मान गर्दै रहेछन् ।

होम सुवेदी :
अहिले राजनीतिक वृत्तमा नेपाल देशलाई कित्ता काट गर्ने विषयमा अलमल भइरहेको छ । पहिले युद्धकालमा जजसलाई जे जे दिन्छु भन्दा आफ्नाे कित्तामा मान्छेलाई ल्याउन सकिन्थ्यो त्यही त्यही दिन्छु भनेको कारणले आज मागहरू बल्झिरहेका छन्, माग ओइरिरहेका छन् । हडताल भइरहेका छन्, टायर जलाउने काम धङ्सैसँग भइसक्यो । बाटो छेक्ने काममा अलिकति मात्र पनि कमी अएको छैन । लोग्ने र स्वानीको झगडामा राजमार्गा बन्द गर्ने कामले निकै वैधानिकता पाएको छ । कुरा मिलेको छैन । कुरा मिल्ला जस्तो पनि छैन ।
मेरा छिमेकीले आठआना जग्गामा तीन पैसा दुई दाम नमिलेकोले झगडा गरेको अहिले सत्र वर्ष भएको इतिहासलाई हेर्दा यो देशको कित्ता कटान गर्ने काम वा देशको कित्ता काट्ने र हरेक जातिलाई बाँड्ने काम सत्रसय वर्षमा पनि सकिन्छ भन्न सकिन्न । म यतातिरका कुरा छाडिहाल्छु, फेरि यतातिरका कुरा बढी गर्यो भने यो मान्छे सविधान सभा र संघियताको विरोधी रहेछ भनेर पञ्चायतले अत भनेझैं अत भनिनेछु । उहाँहरूले मिलाएर सबैलाई राज्य दिनु भयो भेन मेरो पनि एक दुई पैसा माटो नेपालमा परिहाल्ला भनेर चित्त बुझाएँ । अनि त्यो पाटोको कुरा गर्न छाडें है हजुरहरू हो । म ता आफ्नै क्षेत्रका कुरा पो गर्न लाग्दैछु ।
अहिले देशका विभिन्न क्षेत्रमा सम्मानका नाममा विभिन्न व्यक्तिहरूलाई फेटा गुताउने, खास्टो ओढाउने, टोपी लगाइदिने, मफलर बेरिदिने, माला लगाइदिने र खादा चढाउने कामको वसन्त ऋतु नै आएको जस्तो लाग्छ । साहित्यकार, कलाकार, गीतकार, संगीतकार, राजनीतिक कार्यकर्ता, बेपारी, शिक्षक, कर्मचारी लगायत सबैलाई सम्मान गर्ने कामको मध्य बर्खा चलेको छ । मानौं मध्य वर्खायामका खहरेहरू गडगडाएका छन् । कसैले गजल, कसैले कविता, कसैले कथा, कसैले निबन्ध, कसैले उपन्यास, र कसैले ता महाकाव्य नै लेखेर मानौं नेपाली साहित्यमा मध्य बर्खा याम छ, एक जनाले कथा कविता जस्ता पुराना विधाहरूमा पनि अब कुनै चार्म छैन भनेर मय नाउँ हालेर एउटा नयाँ विधा नै तोडिदिएका छन् । विधाको समेत बहार आएको बेला छ । नेपाली साहित्यका लागि मानौं यो बर्खा याम हो जुन बर्खायाममा नेपाली साहित्यको जमिनभरिं थरीथरीको उदासे पलाएको छ, सिरु पलाएको छ, वनमारा पलाएको छ, इलामे झार पलाएको छ ।
अब अलिकति फेटा गुतान कार्यक्रमको वा सम्मान कार्यक्रमको कुरा गर्दैछु । मानौं सम्मान गर्नु नैसर्गिक अधिकार भएको छ आज । मानौं सम्मान पाउनु नागरिकको हक भएको छ आज । सानो कार्यक्रम थियो । निम्तालुको रूपमा म पनि थिएँ । नयाँ गजलकारको नयाँ गजल संंग्रहको विमोचनको कार्यक्रम थियो । पाँच सात जना जति आमन्त्रितहरू उपस्थिति थिए । बेला बितिसकेपछि हस्याङ्फस्याङ् गर्दै पुगेको थिएँ तर बेला भएकै रहेनछ । निमन्त्रणापत्रको ढाँचाबाट हेर्दा ता कार्यक्रम बडो भव्य हुने छाँटको थियो । तर त्यसको विपरीत जस्तो पो कार्यक्रम रहेको बुझिन्थ्यो । जोडी अङ्कमा पुग्ने जति पनि आमन्त्रितहरू उपस्थित थिएनन् । त्यस्तैमा भए पनि कार्यक्रम सुरु भयो ।
दुई जना भुराभुरीले गजल गिजोले, एक जनाले कृतिको विमोचन गरे, अर्का सभापति भए, गजलकारले पनि गजल गाए । अन्तमा सम्मानको कार्यक्रम राखिएको रहेछ । बरु सम्मान कार्यक्रम भने केही झरिलो थियो । सम्मानित हुने सम्मान्य पनि गजलकार नै रहेछन् । उनी पल्लो फाँटका सशक्त गजलकार रहेछन् । सुनाए एउटा प्रेमको गजल । पड्किए सात जोडी ताली र अन्तमा उनको सम्मान कार्यक्रम भयो । फूल, माला, अबिर, खास्टो, टोपी, कलम, डाइरी र एउटा खामबन्दी समेत उनका हातमा थमाइयो र उच्च सम्मान गरियो । साथै कार्यक्रमको अन्ततिर एउटा सूचनाको उद्घोषण गरियो, त्यस अनुसार अर्को हप्ता पल्लो टोलको आयोजनामा अर्को यस्तै गजल विमोचनको कार्यक्रम आयोजना गरिएको छ, जसमा सबैलाई सरlक हुन निमन्त्रणा पनि गरियो । कार्यक्रम सकियो ।
पछि फर्कंदा कुरा के थाहा पाइयो भने यो कार्यक्रममा सम्मान पाउने गजलकार ता सम्मान गर्ने गजलकारका कान्छा मामा पो रहेछन् । तिनले ता आफ्नै मामाको सम्मान गरेका रहेछन् । मलाई बडो खुसी लाग्यो । अनि अझै बुझियो आगामी हप्ता अर्को टोलको कार्यक्रममा आजको सम्मान पाउने मामाले आज सम्मान गर्ने भान्जालाई सम्मान गर्दै रहेछन् ।
म ता छक्क पो परें । कुरा बुझेपछि मलाई अलिक विरक्त लाग्यो । अलिक वाक्वाकी पनि लाग्यो । अलिक विरक्तिँदै घरतिर फर्किएँ ।
०००
‘खुइलिएको तालु’ हास्यव्यङ्ग्य सङ्ग्रह (२०७०)
Subscribe
Login
0 Comments
Oldest








































