साइबर अपराध सम्बन्धी सचेतना सामग्री

एकबेते केरा

अवसरवादी नीतिले कहिलेकाहीँ त खा बाबै केरा भन्ने उखानलाई नै बिर्साउनेतिर लाग्छन् । घरै केरा वनै केरा, डेरामा केरा बाटोमा केरा, बैठकमा केरा, निर्णयमा केरा, परिणाममा केरा खाने पनि हाम्रो समाजमा होलान् ।

Nepal Telecom ad

माधव पोखरेल गोज्याङ्ग्रे :

जीवन होस् त केराको जस्तो, कति काइदा सन्तान उत्पादन र एक पटक पसाई दिएपछि जीवन समापन । खा बाबै केरा, न घर नडेरा, दुःख कष्ट पाइस् त एक फेरा । कतिपयको जीवन साँच्चै एकबेते केरा सरहको भएको छ । केरा एक बेत पसाएपछि त्यसको जीवन समापन हुन्छ । त्यस्तै हाम्रा कतिपय सामाजिक प्राणीहरू पनि एक पटक प्वाँख उम्रिएका कमिलो जस्तो हुन्छन र उड्न लाग्दा जीवनलाई समापन गरेर थन्किन्छन् । जीवनको परिभाषा अचम्मको छ । केही गराँै भन्दाभन्दै आखिरीमा केही नगरी समापन गर्नु पर्ने अवस्था हुन्छ । कसैको जीवन साँच्चै एकबेते केरा जस्तो भएर समाप्त भएको छ ।

केराको जीवन कति काइदाको छ । सन्तान उत्पादन गर्छ र सबै सन्तान एक पटक व्याएपछि समापन हुन्छन् । यता पुस्ता हस्तान्तरण हुँदै जान्छ उता एकपछि अर्को सन्तान जन्मिदै जान्छ र पालैपालो एक पटक व्याएर जीवन लिला नै समापन हुँदै जान्छ । वनस्पति जातको घरेलु फलको रुपमा केराले समाजमा मान्यता पाएर सम्मान जनक रुपले पालन पोषण र हेरचाहको जिम्मा लिने मानवले जति केराको विषयमा सोच्छ त्यति मानवका बारेमा सोच्दैन । केराले मानवलाई सहारा दिन्छ तर मानवले मानवलाई सहारा दिँदैन त्यसैले पनि होला मानव प्रति मानव इष्र्यालु बनेर गिज्याइरहन्छ ।

हामी मानवले मानवलाई जिस्क्याउँदा खाइस केरा वा खा बाबै केरा, केरा खान अब वा केरै सिती भनेर जिस्क्याउँछौँ । रिसको झोकमा पनि केरा शब्द उल्लेख गर्छौं । केरा भन्ने शब्द प्रयोग कतिपयले अश्लिलतामा प्रयोग गर्छन् भने कति पयले हँसिमजाक वा व्यङ्ग्यका रुपमा पनि प्रयोग गर्ने गर्दछन् । केरा खास गरी मानवले फलको रुपमा प्रयोग गर्ने खाद्य बस्तु भए पनि यसलाई अस्लिलतासँग जोडेर हाम्रा पुर्खाले उखान बनाएको पाइन्छ । जे होस् केरा सबैलाई मन पर्ने एउटा फल हो । एक पटक पसाएपछि जीवन लिला समाप्त हुने परम्पराभित्र बाँधिएको सबै कार्यमा चल्ने व्यङ्ग्य वा सोझो घुमाउरो भाषा प्रयोग गरेर झटारो हान्न सकिने सबैलाई मन पर्ने मिठो शब्द पनि हो ।

अब अरु कुरो बढी किन गर्नृू केरा एक बेत पसाएपछि सकियो भन्ने कुरा मैले अघि नै लेखिसकें । एक बेत ब्याउने तर ब्याएर न बाछो नबाछी केही दिन नसक्ने केरा पनि होलान् । तर यहाँ ब्याएर अर्थात् पसाएर फल पनि नदिने दिए पनि त्यो फल खान नमिल्ने वा कुहिएर सडेर जाने वा पसाएपछि बोट नै मर्ने रोगले गाँज्ने देखिएको समस्याका बारेमा समाधानको पाटोका बारेमा चर्चा गर्नू उचित जस्तो लाग्छ । एकबेते केराको परिभाषालाई व्याखा गर्दा राजनीतितिर पनि कुरा जोडिन पुग्ने भएकोले यस्ता खाले प्रवृति समाजमा पनि रहेकोले एकबेते केरा शब्द खेलाउनेतिर प्रयास गरेको मात्र हुँ ।

केरा शब्द राजनीतितिर पनि प्रयोगमा आएको पाइन्छ । फलानो यो पटक चुनाव लडेको थियो जनताले खुवाई दिए केरा भन्ने शब्द प्रयोग गरेर तिखो शब्द वाण प्रहार गरिन्छ । वा फलानोले केरा खायो भनेर हल्ला पिटिन्छ । स्थानीय निकायको निर्वाचनमा होस् वा प्रदेशसभाको र संघीय प्रतिनिधिसभाको निर्वाचनमा होस् वा अन्य कुनै पनि प्रकारको निर्वाचनमा एक पटक जितेर अर्को पटक हार खान्छ र पछि एक बेते केरा झैँ भएर जीवन कुहाएर बस्छ । उसले न जनताको काम गर्छ न कुनै विकास निर्माणको काम गर्छ न जनताले नै पत्याउँछन । न राजनतितिर नै उसलाई साथ दिन्छन् । भनौ घरको र घाटको जस्तो भएर बस्न बाध्य हुन्छ ।

एक पटक पदमा पुगेपछि पछि फेरि पदमा पुग्न नसक्ने यी एक बेते केराले न हिजो पदमा रहँदा केही गरेर देखाए न गर्न सके न भोलि गर्छन् भन्ने आशा गर्न सकिन्छ । जसरी केरा एक बेत पसाएर जीवन समाप्त हुन्छ ठीक त्यसरी नै कतिपयको जीवन पनि एक पटक पदमा पुगेपछि सकियो, फेरि त्यो ठाउँमा पुग्न सक्दैनन् । तर कतिपयहरू भने पटक पटक नै पुरानो स्वादमा रुमलिरहेका छन् । कतिपयको अवस्था भने गँवारो रोग लागेर मरेको केरा जस्तो भएको छ ।

केरा सबैलाई मन पर्ने फल हो तर केराको जस्तो एकबेते भएर जीवन यापन गर्न चाहने पनि समाजमा छन् र नचाहने पनि छन् । यी एक बेते कहलिएकाहरू समाजकालागि बाँदरको पुच्छर नलौरो न हतियार भएर समाजमा मुख देखाएर बाँच्न विवश भएका पनि छन् ।

कतिपय एकेबेतहरू केराको बुङ्गो जस्तो टर्रो भएर बाँचेका छन् । एकबेतेहरू प्रायः टर्रो स्वभावकै हुन्छन् । कसैलाई पनि नपच्ने भनौँ वा मन नपर्ने स्वभावको । काँचो केरा जस्तो मुखमा हाल्नै नहुने स्वभावका जस्ता पनि छन् एकबेतेहरू । बुङ्गो र काँचो केरा स्वाद चाखेका हामी नेपालीले सधैँ पाकेको मालभोग वा घिउ केरा मात्रै खाने बानी परेका छौँ । त्यसैले पनि एकबेतेलाई मन पराउँदैनौँ । हुन् त मालभोग, घिउ केरा पनि एकबेत पसाएर हामीलाई स्वाद चखाएर् बाटो लाग्छन् । तर पछिसम्म पनि त्यो मालभोग केराको वा घिउ केरा कति मिठो भनेर सम्झना भने गरिरहन्छौँ । एकबेते केरा सबै यसरी सम्झना गरिरहने खालको हुँदैनन् ।

अश्लिलताको पराकाष्ठामा पुगेर केरा खाइस् भन्ने वा केरा खान गाथिस् भनेर भन्नो प्रवृतिलाई चरितार्थ पार्ने एकबेतेहरूले समाजमा आफ्नै इज्जत राख्न सकेनन् । राजनीति भन्ने शब्दको सम्मान गर्न सकेनन् । आफ्नै मतदाताबाट सम्मानित हुन नककी सदाका लागि बहिष्कृत हुन पुगे । जीवनमा एक बेत ब्याउन जन्मिएका यी एकबेतेहरूलाई समाजले पनि मौका दिएनन् । मौका दिएको भए पनि फेरी उही पुरानै रबैया देखाएर आँखामा छारो हाल्न पछि पर्दैनथे । जसरी मौका पाएकाहरूले आँखामा छारो हालेर हामीलाई गुमराहमा राखेका छन् र आफूहरू तर मारेर बसेका छन् ।

एकबेते केरा वास्तवमा एक पटक पसाएपछि जसरी काम नलाग्ने हुन्छ, कुहिएर आफ्नो जीवन समाप्त पारेको हुन्छ त्यसरी नै लाभको पद एक पटक धारण गरेर पछि झिंगा मारेर बस्नेहरूको जीवन पनि त्यसरी नै सकिएर गएको हामी देख्न सक्छौँ । अर्को कुरा गर्दा फोहरमा बसेको झिंगालाई सबैले टाढैबाट धपाउन खोज्छौँ त्यस्तै भएका छन् एकबेते राजनीति गर्नेहरू । समाजले राजनीतिलाई घृणा गर्दैन तर राजनीति गर्नेले समाजमा घृणा फैलाएपछि समाजमा राजनीति गर्नेहरूलाई मतदाताले एकबेते बनाएका छन् । यसको उदाहरण खोज्न टाढा जानु पर्दैन हामीले हाम्रै घर वरिपरी नै भेट्छौँ ।

नेताले कति बेतसम्म राजनीति गर्ने भन्ने कुरो जनताको हातमा रहेकोले नेताको इच्छाले हुँदैन । अब त पूणर् रुपले जनताको इच्छानुसारको राजनीति गर्दा भोलिको भविष्य उज्वल देख्नेहरू कति बेतसम्म राजनीति गर्न सक्छन् भन्ने कुराले पनि अर्थ राख्दैन । बरु एकबेत राजनीति गरोस् तर पछिका पुस्ताले पनि उसको एकबेते राजनीतिलाई स्मरण गर्न सकुन् भन्ने खालको राजनीति आजका पुस्ताले खोजेको हुँदा एकबेत पसाएर हराउनेलाई समाजले सधैँ तिरस्कार गर्छ । अर्को कुरा केरा एक पटक पसाएपछि त्यसलाई गवारो रोग लाग्छ र त्यो भित्रभित्रै कुहिएर नास हुन्छ । त्यतिमात्र होइन ऊसँग रहेका अन्य केरालाई पनि असर गर्छ ।

आफ्ना सन्तानलाई पनि जीवनभरी रोगी बनाएर माथि उक्सन दिँदैन गवारो लागेपछि । ठीक यस्तै भएको छ एकबेते केरा कारण नेपालको अवस्थाभन्दा पनि कुनै फरक पर्दैन । एक पटक पदमा पुगेपछि वा पसाएपछि पुनः पदमा पुग्न नसक्ने वा वसाउन नजान्ने केरालाई कसेले पनि राख्दैन । केरा बाह्र मासे फल हो अन्य बाली जस्तो पटक पटक लगाउँदै बाली खाँदै गर्न नमिल्ने हुन्छ । केरा एक पटक रोपेपछि गानोबाट उसका सन्तान उत्पादन हुँदै जान्छन र माउ केरा पसाएर त्यसको फल काटेपछि माउ केराको बोट पनि मर्छ र उसका सन्तानले पनि त्यही प्रक्रियामा पसाएर मर्ने भएकोले पुस्तान्तरणमा पनि एकबेत पसाएर जीवन समाप्त पार्छ ।

एकबेतमा बैंश सकिने राजनीतिले हामीलाई केही उपलब्धि दिँंदैन भन्ने कुरा सत्य हो । पुस्तौ पुस्तासम्म उपलब्धि दिने र पटक पटक पसाई रहने कहिल्यै नमर्ने नमासिने केराको बोट खोज्ने हामी आफूलाई अजम्बरी ठान्छाँैं । केरा भन्ने शब्दका कारण कतिपयको नाक फुल्नुको साटो मुटु चिसो भएर आउँछ भने कतिपयको पेट बटारिन्छ त कतिपयको शरीर गलेर आउँछ । कतिपय भने केरा नै नदेखे झैँ गरी अचम्म मान्ने पनि होलान् । कतिपयले भने केरा खाएर सन्तोष मानेका होलान् ।

केरा खान नपाउनेले बल्ल बल्ल केरा भेट्टाएर खायो भने बोक्रासहित नै खान्छ भन्ने उखान चरितार्थ पार्ने खप्पिस महाशयहरूको अवसरवादी नीतिले कहिलेकाहीँ त खा बाबै केरा भन्ने उखानलाई नै बिर्साउनेतिर लाग्छन् । घरै केरा वनै केरा, डेरामा केरा बाटोमा केरा, बैठकमा केरा, निर्णयमा केरा, परिणाममा केरा खाने पनि हाम्रो समाजमा होलान् । भनौँ केरा खाएर नै एक बेते काममा वा पदमा रहनेबाट हामीले ठूलो अपेक्षा गर्नु पनि हामीले केरा खानु सरह नै हो भन्न मन लाग्छ मलाई त ।

एकै बेत पसाउने भए पनि केरा कसैका लागि गुणकारी फलका रुपमा दरिएको छ भने कसैका लागि बैगुनी फलका रुपमा पनि दरिएको होला । तर जे सुकै होस् केरा एक पटक पसाएपछि वा ब्याएपछि पुनः सोही बोट पसाउँदैन र व्याउँदैन पनि । केरा पसाउँदा वा ब्याउँदा फल पाउने हो छोराछोरीका रुपमा । तर कुनै कुनै त बैला गाई भैसी झैँ केरा पसाउँदैन र ब्याउँदैन पनि । जुन केरा शुरुदेखि नै बेत बस्छ त्यस्तोबाट हामीले न फल पाउँछौँ न त कुनै परिणाम वा उपलब्धि नै । भनौँ केरा पसाए पनि नपसाए पनि हामीलाई एकबेते नै हो भनेर ठोकुवा गर्न गाह्रो पर्दैन ।

हुन त म केरा विज्ञ वा केरा विशेषज्ञ त होइन तर पनि एकबेते केराको हैसियतका बारेमा यसो सोच बिचार गर्दा एक पटक ब्याएपछि वा भनौँ पसाएपछि काम बिनाको बोट भनेर काटेर मिल्काउँछौँ । त्यस्तै गरी एक पटक स्थानीय तहका अध्यक्ष उपाध्यक्ष मेयर उपमेयर भएका वा प्रदेशसभा सदस्य, प्रतिनिधिसभा सदस्य भएका वा कुनै लाभदायी पदमा पुगेर अहिले हरिलठ्ठक भएकाहरू जनताका लागि बाँदरको पुच्छर लौरो न हतियार सरहको भएर समाजको मुख हेरेर बाँचिरहेको पाइन्छ ।

०००
गाईघाट, उदयपुर

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
सुकिला अतिथि

सुकिला अतिथि

माधव पोखरेल गोज्याङ्ग्रे
भेडा दिवस

भेडा दिवस

माधव पोखरेल गोज्याङ्ग्रे
राष्ट्रिय पिण्ड दिवस

राष्ट्रिय पिण्ड दिवस

माधव पोखरेल गोज्याङ्ग्रे
नेपाल कछुवा दल

नेपाल कछुवा दल

माधव पोखरेल गोज्याङ्ग्रे
जालझेल

जालझेल

माधव पोखरेल गोज्याङ्ग्रे
व्यशासन भित्रको कुशासन

व्यशासन भित्रको कुशासन

माधव पोखरेल गोज्याङ्ग्रे
सुकिला अतिथि

सुकिला अतिथि

माधव पोखरेल गोज्याङ्ग्रे
‘एक कान दुइ कान मैदान’ = भाइरल

‘एक कान दुइ कान...

कृष्ण प्रधान
किन आउँदैन ?

किन आउँदैन ?

रामकृष्ण ढकाल
सिको

सिको

दिप मंग्राती
0
Would love your thoughts, please comment.x
()
x