साइबर अपराध सम्बन्धी सचेतना सामग्री

नाक बिनाको नक्कचरो

आफ्नो विशेषतालाई सबैका सामु दर्शाएर परिचय दिनु महानता ठान्नेले कमजोरी पनि त्यही देखाएर नाक बिनाको नक्कचरो बनेर अर्को परिचयमा रमाउने खेलमा लाग्नु पनि नक्कचरो बन्नु नै हो भन्दा फरक पर्दैन ।

Nepal Telecom ad

माधव पोखरेल ‘गोज्याङ्ग्रे’ :

‘आयो आयो सबै भाग हाम्रो गाउँमा नाक बिनाको नक्कचरो आएर गाउँ बिटुलो पार्ने भो अब के गर्नु खै ! अब हामी सबै लुकौँ घरभित्र होस् वा अन्यत्र कतै । यो नक्कचरोले हाम्रो गाउँको इज्जत नै लैजाने भो । आफू त राण देशै भाँड भन्थे उहिलेका बूढाबूढीले त्यस्तै पाराकाको छ यो नक्कचरो लौन नि अब स्वाहा पार्ने भयो ।’

गाउँ घरमा बेला मौकामा झुल्किने नाक बिनाको नक्कचरो आयो भने हामी यसै भन्छौ र यो भन्ने बेला आएको पनि छ । कतिपय गाउँ ठाउँमा त भनिरहेका पनि होलान् । साँच्चै भन्ने हो भने हामी सबैले यो भन्ने बेला घर्किसकेको छ । भनौँ नाक बिनाको नक्कचरोलाई गाउँबाट लखेट्ने समय आएको छ । नक्कचराहरूले गर्नु गरेको छन् । फुङ्गा र बुङ्गा गफ बाहेक फूलको थुङ्गा झैँ मनपर्ने गफ कहिल्यै गर्दैनन् । आफूलाई डुमरीको फूल ठानेर गाउँ घरलाई बिटुलो पार्न पल्केका नक्कचराहरू बराहरूलाई चिन्दैनन् । धरामा बराहरु पनि छन् भन्ने होस् र जोस गुमाएका नक्कचराहरूले समाजमा आफ्नो साख र नाक गुमाएर अभिमतसमेत गुमाएका छन् ।

नाटकको जोकरको भूमिकामा रमाउन चाहने नाक बिनाका नक्कचराहरूले धराका बराहरूको गाँस बास र कपासमा लडिबुढी खेलेका छन् । नाक नभएकै कारण नक्कचरा बन्न सिपालु नाक बिनाका नक्कचराहरू आफूलाई भुँइ न भाँडोका ठान्छन कि क्या हो सगरमाथाको टाउकोमा छु झैँ गर्छन् । भुँइमा बसेर सगरमाथाको टुप्पोमा बसेको भानमा पर्ने नाक बिनाका नक्कचराहरूलाई सुँगुरमा चढाएर शहर घुमाएर सम्मान गर्नु पर्ने दिन आयो भने हामीले अचम्म नमान्दा हुन्छ । किनभने मान्छेले जस्तो कर्म गर्छ उस्तै फल पाउँछ भन्ने उखान त्यसै बूढापाकाले चलाएका होइनन् । उहिलेका पाका बूढा भनौँ वा बूढापाका भनौँ उनीहरूले कथेका उखानहरूले नाक बिनाका नक्कचराहरुलाई सात दिन सात रात सुताउने ज्वरो नै आउँछ ।

समाजमा नाक बिनाको नक्कचरोदेखि चराचुरुङ्गी किटपतङ्ग सबै छक्क परेका छन् । छक्क नपर्नु पनि किन कसैले नजानेको ताईतुई नाक बिनाको नक्कचरोले नै जानेको छ । हाङ्गाबिङ्गा लगाउन होस् वा चिरीच्याट्टे गफ गर्न होस् । त्यही गफका भरले उसको राजनीतिक भनौँ वा पोलिटिकल शप चलिरहेको छ । भनौँ नेपाली राजनीति कामले होइन गफले चलेको हो भन्ने कुरा सबैतिरबाट नाक बिनाका नक्कचराहरुले प्रमाणित गरेको छन् । त्यस गफमा राष्ट्रपति, प्रधानमन्त्री जस्ताले लालमोहर लाएर छाडेका छन् ।

नेपाल आमाले जन्माएका सन्तान नै नाक बिनाका नक्कचरा भएपछि आमाले दुःख पाउनु स्वभाविकै हो । सायद बाउ पनि त्यस्तै थिए क्यार र त वंशानुगत छाप बसेको जस्तो देखियो । सग्लो नाक भएको सन्तान नहुँदा आमालाई पनि पिरलो नै भएको छ । छोरा त धेरै जन्माइन तर नाक बिनाका नक्कचरा मोरा भएर निस्किएपछि आमाको पिरमा पीडा थोपरिएको छ । पिरमा पीडा थोपरिएपछि आमाले मोराहरुलाई वास्ता गर्न छाडेकी छन् । समयले आमालाई धोखा दिएको छ । नाक बिनाका नक्कचरा छोरा जन्मनु भन्दा बरु आमाले नजन्माएको भए हुन्थ्यो तर बाउको रोड्याँईंका अगाडि केही लागेन आमाको । मनमा दया माया लाग्यो र ज्यान बाउलाई जिम्मा दिँदा आज आमाको यो हविगत भएको छ ।

नाक भएको भए आमाका छोरा हुन्थे नाक नभएका कारण नाक बिनाका नक्कचरा भएर समाजमा चिनिएका भुस तिघ्रे, जोई टिङ्ग्रे, पोई टिङ्ग्रे, ओई टिङ्ग्रे, चोई टिङ्ग्रे भएका छन् । छोरा भएका भए समाजमा छिटो चिनिँदैनथे र चिनिन दिँदैनथे पनि ।

नेपाली राजनीतिले समाजमा खेलेको भूमिकामा नाक बिनाका नक्कचराहरूको लामो हात छ । पृथ्वीनारायण शाहले दाहिने हातको चोर औलो उठाएर देखाउनुको अर्थ नाक बिनाका नक्कचराहरूले स्पष्ट पारेका छन् । त्यसको अर्थ हो म मात्र एक्लोले सबै कुरा पाउनु पर्छ, यो सबै मेरो मात्र हो, म मात्र यसको हकदार हुँ । अर्थात् भकारीको डकारी डकारी म एकलोले मात्र खान पाउनु पर्छ । हिजो पृथ्वीनारायण शाहको विरोध गर्नेहरू पनि आज सहमतीमा आएर चोर औलोको समर्थन गर्न थालेका छन् ।

नाक बिनाका नक्कचराहरू भकारीभरिको डकारी डकारी खाँदा पनि भोको भएको अभिनय गरेर डोको, सोली, घ्याम्पोतिर आँखा लाएर कतिबेला मुसो दुलोभित्र पस्छ र समातौँ भनेर बिरालो जस्तो बनेर ढुक्छन् । यो देशलाई नाक बिनाका नक्कचराहरूले दुर्गन्धित बनाएर आफूहरू भने सुगन्धित भएर ठस्ठस्ती गन्हाएर सुँगुरको वास्नामा हिँडेका छन् । अभिमत दर्शाउनेहरूलाई भने थाङ्नामा नाङ्गै सुताएर जिउँदै मसानघाटमा पुर्‍याएका छन् । विचरा वराहरूलाई आफ्नै धरामा मरा मरा भन्ने बनाएर नाक बिनाका नक्कचराहरूले धर्ममाथिको पनि महाअधर्म गरेर नभएको नाक ठड्याउने प्रयास गरिरहेका छन् ।

साँच्चै भन्ने हो भने यतिबेला हाम्रो देशाँ नाक हुनेको भन्दा नहुने नक्कचराहरूको तामझाम र नाम दाम हाममा काम बढी देखिन्छ । लवस्तरो र नक्कचरोको औषधी हुँदैन भन्छन् बूढापाकाहरू तर मलाई के लाग्छ भने यस्तालाई औषधी पानी गर्नु परेका खण्डमा समाजभित्र नै असल डाक्टर पाइन्छन । तर कानूनले औषधी गर्ने अधिकार समाजलाई दिनु पर्छ । विष्णु विष्णु भन्दै अल्लो र सिस्नुपानी लगाएर लिस्नुबाट तल झार्नु पर्छ अनि सुलीमा चढाउँनु पर्छ । किनभने अरुलाई कानूनका कुरा सिकाउने नाक बिनाका नक्कचराहरूलाई पनि कानूनका बारेमा अभिमतका पोका वा भकारीहरूले कानून सिकाउनु पर्छ । भनौँ सिकाउने काम चेला र गुरु दुवै पक्षले गर्नु पर्दछ । सिकाई जन्मदेखि मृत्यु पर्यन्तसम्म पनि चलिरहने प्रक्रिया हो ।

नाक बिनाका नक्कचराहरू गाउँको दरबारमा हातमा तरबार लिएर बस्छन् । शहरमा भने राइफल लिएर बस्छन् । जसको अभिमतले नाक बिनाका नक्कचराहरू ठाउँ कुठाउँमा पुगेका छन् तिनैलाई पन्छाएर शासन गरिरहेको देखिन्छ । यदि अभिमताधिकारीहरू एकमत हुने हो भने यी नाक बिनाका नक्कचराहरूलाई गहिरो कुवाभित्र बसेर सधैँ ट्वार्रट्वार्रमात्र गरिरहने भ्यागुता बनाउन सकिन्छ । तर यहाँ अभिमताधिकारीहरू बिचमा नै मतमतान्तर भएका कारण केही समस्या देखिन्छ । नाक बिनाका नक्कचराहरू हरेक क्षेत्रमा सल्बलाएका छन् । साहित्यका क्षेत्रमा होस् राजनीति, भाजनीति, अर्थनीति वा व्यर्थनीति राज्यमा चल्ने र चलाइएको नीतिहरू सबैभित्र छिरेर घुन झैँ बनेर नीतिलाई खोस्टो बनाउन अहम भूमिका निर्वाह गरेका छन् । तर राज्यले यस्ता महान नाक बिनाका नक्कचराहरूलाई सम्मान गर्न नसक्नु र राज्यको हर्ताकर्ता बनाएर राख्न नसक्नु कमजोरी हो ।

नाक बिनाका नक्कचराहरू साँझ बिहान घर अगाडिको रुखमा कराउने जुरेली, तित्रा, काग, भगेंरा जस्ता छन् । चराहरू मध्ये सबैभन्दा बढी चिरबिर गर्ने यी चराहरूको के जान्छ र चुपचाप बस्नु । त्यस्तै नाक बिनाका नक्कचराहरूको पनि कराउँदै हिँड्दा केही जाँदैन र बिग्रँदैन पनि जो स्वभावले नै नक्कचरो छ । समाजमा लाटोकोसेरो भएर बसेकाहरूलाई नाक बिनाका नक्कचराहरूले कोइली बनाउन सहयोग गरेकामा भने एउटा महत्वपूणर् काम गरेको भने नभएको नाक ठाडो पारेकै हुन भन्दा फरक पर्दैन । देखिने नाक भएका नक्कचरा र नदेखिने नाक भएका नक्कचरामा सगर र आकाशको फरक भनौ वा धरातल र जमिनको फरक भनौँ जे भनेपनि आखिरीमा नाक बिनाका नक्कचरा नै हुन ।

नक्कचरोका बारेमा एक जना नाक बिनाको मान्छेले यो नक्कचरो भन्ने कस्तो हुन्छ भनेर खोजी गर्न चराहरू बस्ने रुखतिर गएर नियाली नियाली हेरे छ । कैयौँ दिन हेर्दा पनि नक्कचरो देखेनछ । नदेखेपछि बाटो हिँड्ने मान्छे जो भेटे पनि यो नक्कचरो भन्ने कस्तो हुन्छ कहाँ बस्छ भनेर सोधी खोजी गरेछ । एक जना बटुवाले तिमी आफ्नै अनुहार ऐनामा हेर भनेछ । अर्को बटुवाले पनि त्यसै भनेछ । तेस्रो बटुवाले काम छैन काज छैन खाने बेलामा लाज छैन भनेछ । चौथोले काम पाइनस बुहारी पाडाको… कन्या भनेर बाटो लागेछ ।

कसैले पनि चित्त बुझ्दो जवाफ नदिएकोमा नक्कचरो निकै चिन्तामा परेछ । घरमा श्रीमतीले झोक्राएर निन्याउरो अनुहार लाएर बसेको दखेपछि सोधिछन् ‘हन ए नक्कचरा बूढा के भयो र झोक्राएको ?’ उसले ‘नक्कचरो कस्तो हुन्छ भनेर खोज्न गाको सातादिन भन्दा बढी भयो तर कतै भेटिन र धेरैलाई सोधे कसैले पनि बताउन सकेनन् । बरू उल्टै मलाई नै नक्कचरो भनेर हैरान पारे म मान्छे त्यो चरो जस्तो छु र नक्कचरो भनेका’ भनेर श्रीमतीसँग गुनासो गर्दथ्यो अरे ।

कही कतै फेला नपरेको नक्कचरो आखिरीमा आफ्नै घरकीले नक्कचरो भन्दा पनि थाहा नपाउने बेहोसी झल्लाराम नाक बिनाको नक्कचरो आफैँ नक्कचरो भएको थाहा नपाउनु भनेको महा नक्कचरो हुनु हो । लाज शरम हराएको, इज्जत प्रतिष्ठा गुमाएको मनपरी बोली हिड्ने त पनि हुँ भनेर सम्झेपछि उसले आफैँलाई म त नक्कचरो पो रहेछु भनेर थाहा भयो । पहिले नाक सहितको चरो बनेर धेरै ठाउँमा चरी झैँ बनेर उडी हिड्यो । आफूलाई सबैतिरको सर्वेसर्वा भएको, सबैभन्दा जान्ने बुझ्ने मै हुँ भन्ने ठान्यो । कागलाई ठग्न खोज्ने नक्कचरोलाई कोइलीले तह लाउँछ भन्ने उखान हाम्रा पुर्खाले त्यसै चलाएका होइन रहेछन भन्ने कुरा बुझेपछि नाक बिनाको नक्कचरोको होस् हवास सबै उडेको थियो रे ।

नाकमा धाक लाउने नाक बिनाको नक्कचरोले आफ्नै नाकमा कालो पोतिएको थाहा नपाउनु र नाकमा कालो पोतिएपछि दाग रहिरहन्छ भनेर चाल नपाउनु नाक बिनाको नक्कचरोको व्यक्तिगत विशेषता भएकोले आफ्नो विशेषतालाई सबैका सामु दर्शाएर परिचय दिनु महानता ठान्नेले कमजोरी पनि त्यही देखाएर नाक बिनाको नक्कचरो बनेर अर्को परिचयमा रमाउने खेलमा लाग्नु पनि नक्कचरो बन्नु नै हो भन्दा फरक पर्दैन । अरु त अरु साहित्यकार पनि नाक बिनाको नक्कचरो बन्दा घरधन्दा वा गन्धाधन्दा नै गन्जागोल भएको र सामाजिक जीवनमा होस् वा उसको अन्य कुनै पनि प्रकारको जीवनले पछि चोट पाइरहेको हुन्छ ।

०००
उदयपुर, गाईघाट

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
सुकिला अतिथि

सुकिला अतिथि

माधव पोखरेल गोज्याङ्ग्रे
भेडा दिवस

भेडा दिवस

माधव पोखरेल गोज्याङ्ग्रे
राष्ट्रिय पिण्ड दिवस

राष्ट्रिय पिण्ड दिवस

माधव पोखरेल गोज्याङ्ग्रे
नेपाल कछुवा दल

नेपाल कछुवा दल

माधव पोखरेल गोज्याङ्ग्रे
जालझेल

जालझेल

माधव पोखरेल गोज्याङ्ग्रे
व्यशासन भित्रको कुशासन

व्यशासन भित्रको कुशासन

माधव पोखरेल गोज्याङ्ग्रे
बाजी

बाजी

नन्दलाल आचार्य
यमयात्रा

यमयात्रा

नरेन्द्रराज पौडेल
को शक्तिशाली ?

को शक्तिशाली ?

प्रमोद अमात्य
भ्यूटावर

भ्यूटावर

दिव्य गिरी
सुकिला अतिथि

सुकिला अतिथि

माधव पोखरेल गोज्याङ्ग्रे
0
Would love your thoughts, please comment.x
()
x