साइबर अपराध सम्बन्धी सचेतना सामग्री

सपनाको कुरो

समलिङ्गीहरूसित बिहे गर्ने जोडाजोडीहरू बढ्दै आएको हुँदा अब मर्त्यलाेकमा मानिसको सृष्टि नै ठप्प होला कि भन्ने डरले प्रभुले मलाई यो कबुलियतनामामा सही गराउन खोज्नुभएको होला ।

Nepal Telecom ad

सूर्यबहादुर पिवा :

एक दिन म स्वर्गलोकमा आफ्नो कोठामा आनन्दसँग पल्टिरहेको थिएँ । टेलिफोनको घण्टी बज्यो । ब्रह्माजीको फोन रहेछ । तुरुन्त एकपल्ट आउनुपर्‍यो भन्ने ब्रह्माजीबाट आज्ञा भयो । हत्तपत्त मोटरसाइकल चढेर ब्रह्माजीकहाँ पुगेँ ।

“मर्त्यलोकमा मानिस भएर जन्म लिन जाने तपाईंलाई मौका आइरहेछ । जाने विचार छ कि छैन ?” ब्रह्माजीबाट आज्ञा भयो ।

“आनन्दभूमि मर्त्यलोकमा जन्म लिन नजाने त कुरै आउँदैन, प्रभु । मान्छे भएर पृथ्वीमा जन्म लिन जाने इच्छा छ ।” मैले भनेँ । बही-खाता पल्टाएर ब्रह्माजीबाट आज्ञा भयो- “लौ त्यसो भए यसमा दश औँलाले सहीछाप गर्नुपर्‍यो ।”

“यो कस्तो खालको कागज हो प्रभु ! जानकारी पाउन सक्छु कि ?” मैले नम्र भएर प्रश्न गरेँ ।

“मर्त्यलोकमा जन्म लिएर ठूलो भएपछि बिहे गरेर तिमीले सन्तान जन्माउनै पर्दछ । भिक्षु अथवा महात्मा हुन ब्रह्मचारी हुन, पाइन्न । सन्तान नजन्माए तिमी सजायको भागी हुनुपर्ने छ । कागजको मूल सारांश यही हो ।” ब्रह्माजीबाट आज्ञा भयो ।

अनि मैले ब्रह्माजीलाई भनेँ “त्यसो भए म यसमा सही गर्न तयार छैन प्रभु । मलाई मान्छे बनाएर पृथ्वीमा जन्म लिन पठाउने या नपठाउने प्रभुको जो तजबिज । आजकाल मर्त्यलोकमा मान्छे बढी भएर कस्तो समस्या छ । सो कुरा प्रभुलाई जानकारी भएकै हुनुपर्दछ । यस्तो अवस्थामा पनि मान्छे भएर जन्म लिएर मैले अनिवार्य रूपले सन्तान जन्माउनु नै पर्ने प्रभुको यो पुरानो नियम नीति मलाई त ठीक छ जस्तो लागेन । अब त प्रभुले पृथ्वीतलमा मान्छे भएर जन्म लिन जाने पचास प्रतिशत मानिसलाई मात्र सन्तान जन्माउने इजाजत पो दिनुपर्दछ ।

अब त मान्छेलाई सृष्टि गर्दा बच्चा जन्माउने काम अनिवार्य नगरी इच्छाधीन पो गर्नुपर्ने बेला भइसक्यो प्रभु । स्वास्नीबाजहरूले बर्सेनी सन्तान जन्माएर छुट्टी छ । जनसङ्ख्या बढ्दो छ । जनसङ्ख्या-वृद्धिले गर्दा मर्त्यलोकमा दिनपरदिन झैँझगडा बढ्दो छ । पहिले-पहिले प्रभुले सृष्टि गर्नुभएका पचास प्रतिशतभन्दा बढी मानिसहरू अकालले नै मर्दथे । अतः जनसङ्ख्या-वृद्धि भएर झैँझगडा पनि हुन्नथ्यो । आजकाल वैज्ञानिकहरूले नाना किसिमका ओखति र उपचार विधि निकालिदिएको हुँदा सितिमिति मान्छे मर्ने नै नभइसक्यो । अचेल दुर्घटनामा नपरी त मान्छे मर्दै मर्दैनन् ।

अतः जनसङ्ख्या दिनपरदिन वृद्धि हुँदैछ । र महंगी पनि अकाशिँदैछ । त्यसैले पृथ्वीमा मानिसहरू देवताभक्त हुन छाडेर द्रव्यभक्त भएर निस्किरहेछन् । सबै व्यक्तिवादी विचारधाराका भएर निस्किरहेछन् । उहिले-उहिलेका मानिसहरू जगत्को उद्धार होस् भनेर चिताउँथे । अहिले त जो पनि मानिस आफ्नो भलो त जगत् भलो भन्ने भइसके । पहिले- पहिलेका छोराछोरीहरूले आफ्ना मातापितालाई बुढेसकालमा राम्रो हेरविचार गरेर पाल्थे । सबै छोराछोरीहरू “मातृदेवो भव, पितृदेवो भव” भन्ने सिद्धान्तलाई मान्थे । आजभोलि त कोही पनि छोराछोरीहरू आफ्ना आमाबाबुलाई, देवतालाई आदर गर्दैनन् ।

“ए । छोराछोरी भएर के तिमीहरूले आमाबाबुलाई हेर्नु पर्दैन ?” भन्यो भने आजभोलिका ठिटाठिटीहरू भन्दछन्- “संसारमा कुनै पनि प्राणीले ठूलो भएपछि आमाबाबुलाई हेर्दैनन् भने मानिसले मात्र आमाबाबुलाई हेर्नुपर्ने के दरकार छ हँ ?” ठूलो नभएसम्म हेरविचार गरेर स्याहार-शुश्रूषा गरेर सन्तानको पालनपोषणचाहिँ आमाबाबुले गर्नु नै पर्ने रे । ठूलो भएपछि एउटा तन्नेरी या एउटी तरुनी च्यापेर अलग्ग बस्न जाने आजभोलिका छोराछोरीहरूको फेसन नै भइसक्यो ।

आमाबाबु स्वर्गीय भइसकेपछि यस्ता सन्तानहरूले स्वर्गीय मातापिताको नाममा दिनहुँ बलि देलान् र वर्षमा एकपल्ट श्राद्ध गरेर पितृलाई खुवाउलान् भनेर आशा गर्नु पनि वाहियात भइसक्यो । पितृको नाममा बलि दिँदाखेरि र श्राद्ध गर्दाखेरि स्वर्गलोकमा पुगेका पितृहरूले खान पाउँछन् भन्ने धारणा अबका कुनै पनि छोराछोरीहरूमा पाइन्न । पितृको नाममा श्राद्ध गरी बाहुनलाई दिइने सिधा र दक्षिणा त बाहुनको हातमा पो पुग्दछ । कहाँ स्वर्गलोकको पितृकहाँ पुग्दछ भनेर आजभोलिका ठिटाठिटीहरू भन्दछन् । पितृको नाममा श्राद्ध गरेर दान दक्षिणा दिनुपर्दछ भन्ने चलन धूर्त बाहुनहरूले चलाएको चलन हो पो भन्दछन् ।

अहिलेसम्म त स्वर्गलोकमा बसेर आफ्ना सन्तानहरूले श्राद्ध गरेर बाहुनलाई दिएको सिधा र दक्षिणाको भरमा बाँच्दैछु । अब मर्त्यलोकमा मान्छेहरूले पितृको नाममा श्राद्ध गर्ने चलन बन्द गर्दै गए र दिनहुँ बलि दिएर खाने चलन छोड्दै गए भने मर्त्यलोकमा वृद्ध-भत्ता र निवृत्तिभरण दिने चलन चलाएझैँ यहाँ स्वर्गलोकमा पनि अब उप्रान्त मर्त्यलोकबाट मरेर यता आउने पितृहरूलाई प्रभुले “ब्रह्मा, विष्णु, महेश्वरको क्याबिनेटमा पास गरेर पितृभत्ता दिएर खुवाउनुपर्ने अवस्था आउदैछ ।

आजभोलि मर्त्यलोकमा जुनसुकै मुलुकमा पनि जुनसुकै वादको सरकारले पनि छोराछोरीहरूले आफ्ना बूढाबूढी आमाबाबुलाई पटक्कै नहेर्ने चलन हुँदै आएको हुँदा वृद्धभत्ता दिने व्यवस्था लागू गर्दैछ । वृद्धभत्ता दिने सरकार भएको मुलुकका बूढाबूढीहरूले मात्र आजभोलि बुढेसकालमा दुई छाक खान पाइराखेका छन् । वृद्धभत्ता नदिए निवृत्तिभत्ता (भरण) नपाएका बूढाबूढीहरूले काम गरेर खान सक्ने अवस्था नभएपछि आत्महत्या गरेर मर्नुपर्ने अवस्था भइसक्यो ।

बाबुआमाले चाहिँ छोराछोरीहरूलाई आफूले कमाएर ल्याएर खुवाएर पढाएर हुर्काउनु नै पर्ने रे । आमाबाबुलाई भने छोराछोरीहरूले बुढेसकालमा हेर्नै नपर्ने रे । गाई, भैँसी, परेवा, भँगेराहरूले बुढेसकालमा आफ्ना आमाबाबुलाई हेर्दैनन् रे । मानिस पनि गाई, भैँसी, परेवा, भँगेरा जस्तै खालका प्राणी हुन् रे । अतः मानिसले पनि बुढेसकालमा आफ्ना आमाबाबुलाई हेर्नु अनिवार्य छैन रे । वाहियात मानिसको आधुनिक चलन । बुढेसकालमा जिउदै नर्कमा बस्नुपर्ने मान्छेको चलन के ठीक चलन हो र ?

बुढेसकालमा आमाबाबुलाई नहेर्ने कस्तो कुलाङ्गार सन्तान जन्माएछ भनेर कुनै आमा या बाबुले भन्यो भने आजभोलिका छोराछोरीहरू फुर्तीसाथ भन्दछन्- “तपाईंहरूले हामीलाई जन्माउँछु भनेर जन्माउनुभएको होइन के तपाईंहरूको ख्याल र ठट्टाको गुणनफल मात्रै हौँ हामी तपाईंका सन्तानहरू ।” यस्तो मुखेन्जी भन्ने कपूत सन्तान जन्माउन म तयार छैन प्रभु ।

अतः म यस कबुलियतनामामा सही गरेर मर्त्यलोकमा मान्छे भएर जन्म लिन जान चाहन्नँ प्रभु । पृथ्वीमा मान्छे भएर जन्म लिएर युवक या युवतीको उमेर पुगेपछि विहे गर्नुपर्छ भन्ने कबुलियतनामामा सम्म म सही गर्न तयार छु प्रभु । लोग्नेमान्छेले स्वास्नीमान्छे नै बिहे गर्नुपर्दछ भन्ने कबुलियतनामामा पनि म सही गर्न तयार छैन प्रभु । छोराछोरीहरूको आडभरोसा नभएकाले म जस्तो धारणाका मानिसहरूले समलिङ्गीहरूसित बिहे गर्ने मर्त्यलाेकमा चलन चलिसक्यो प्रभु । समलिङ्गीहरूसित बिहे गर्ने जोडाजोडीहरू बढ्दै आएको हुँदा अब मर्त्यलाेकमा मानिसको सृष्टि नै ठप्प होला कि भन्ने डरले प्रभुले मलाई यो कबुलियतनामामा सही गराउन खोज्नुभएको होला । पृथ्वी मानिसहरूको हो । मानिसहरूलाई नै पृथ्वीमा परिस्थिति हेरेर काम कार्वाही गर्नु दिनुहोला प्रभु !”

यस्तो के म भन्दै थिएँ “स्वर्गको बासिन्दा भएर हामीले भनेको कुरो नमान्ने यो पाजी पनि मर्त्यलाेकका मान्छेजस्तै प्राणी भएर आएछ लौ” भन्दै यो सूर्यबहादुर पिवालाई नेपाल नगरीको परिवार नियोजन भनेको गर्दै नगर्ने लोग्नेको स्वास्नीको कोखमा राखिद्यौ, ए पाले ।” भनेर ब्रह्माजीबाट ब्रह्मलोकको पालेलाई आज्ञा भयो । जसै त्यस ब्रह्मलोकको पालेले मलाई गलहत्त्यायो त्यसै म झल्यास्स बिउँझेँ ।

आफूले देखेको सपनाको कुरो सम्झँदा आजभोलि म आफैँ चकित हुन्छु ।

०००
घुयेँत्रो (२०५५)

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
श्रीमती हिरोइन

श्रीमती हिरोइन

सूर्यबहादुर पिवा
मास्टरसाहेब ! नमस्कार !!

मास्टरसाहेब ! नमस्कार !!

सूर्यबहादुर पिवा
अविश्वासको प्रस्ताव

अविश्वासको प्रस्ताव

सूर्यबहादुर पिवा
0
Would love your thoughts, please comment.x
()
x