सूर्यबहादुर पिवाब्रेक समातेर हिँड्नु पर्यो बा !
आजभोलि त जुनसुकै पशुपंक्षीको मृतात्मा पनि मान्छे भएर पृथ्वीमा जन्म लिन आउँदैछन् । परेवाको मृतात्मा जो मान्छे भएर जन्म लिन आएका हुन्छन् उनीहरू लाजै नमानी साराको अघिल्तिर मुखमुख मिलाएर परेवाले झैँ किस गर्दछन् ।

सूर्यबहादुर पिवा :
हामीहरू महाभारत श्रद्धापूर्वक पढ्दछौँ र गीता पनि दिनहुँ पाठ गरेर खाने गर्दछौँ । त्यसैले हामीहरू आफूलाई हिन्दू हौँ भन्दछौँ । र हिन्दुस्तानीहरूलाई आफ्नै दाजुभाइ जस्तो ठान्ने गर्दछौँ । अधिकांश नेपालीहरू मतवाला एवं मांसाहारी भए तापनि हामीले आफ्नो संविधानमा नेपाल अधिराज्यलाई हिन्दुराज्य भनेर घोषणा गरेका छौँ । नेपाल हिन्दूराज्य हो किनभने नेपालीहरू महाभारतवादी छन्, अतः उनीहरू धृतराष्ट्रले झै सय छोराहरू जन्माउन खोज्दै धेरै छोराछोरीहरू जन्माइरहन्छन् । छोरा होस् या छोरी होऊन् दुईभन्दा बढी सन्तान नजन्माउनु होला भन्ने परिवार नियोजन सङ्घको नारा नेपालीहरूको कानभित्र पस्नै सकेको छैन ।
कोही छोराको आशले धेरै सन्तान जन्माउँछन् भने कोही कम से कम एक जना छोरी त नभई हुँदैन वा भनेर धेरै छोराछोरीहरू जन्माइरहन्छन् । हामीकहाँ कुनै पनि विकासकार्य गर्नलाई विदेशी सहायता नभई हुँदैन । विदेशी सहायताबिना एउटै विकाशकार्य हामीकहाँ सम्पन्न भइरहेको छ त्यो हो सन्तान उत्पादन-कार्य । हाम्रा बाबुबाजेहरूले खेतको पेटमा तथा पेटको खेतमा राखेर खेतबाट राम्रो उत्पादन गरेर खाएर गए । अब त हाम्रा किसान भाइहरू पनि विदेशी मल नभई खेतमा उत्पादन नै गर्न सक्दैनन् । खालि बच्चा उत्पादन- कार्य गर्नलाई नेपालीहरूलाई विदेशी सहायता चाहिँदैन । अरु सबै विकासकार्य गर्नलाई विदेशी सहायता र सल्लाह नभई हुँदैहुँदैन ।
छोराछोरी जन्माउने कार्य गर्नलाई नेपालीहरूलाई विदेशी सहायता त के, एउटा शब्दको सल्लाहसम्म पनि चाहिँदैन । त्यसैले हाम्रो देशमा जनसङ्ख्या दिन दुगुना रात चौगुना बढ्दैछ । मान्छे धेरै भएर आएकाले कतै बजारमा या सडकमा हिँड्दा धकमधक्का नखाईकन हिँड्नै नसकिने भएर आइरहेछ । पहिले- पहिले भरखरका पठ्ठाहरूले मात्र हुलमा तरुनी केटीहरूलाई मौका हेरेर जानाजान धक्का दिन्थे रे भनेर सुनेको थिएँ । आजभोलि त बाटोमा हिँड्दा जो पनि धक्का दिएर हिँड्छन् भन्या । ‘ए मिस्टरनी । किन मलाई धक्का दिएकी हँ ?’ भनेर भनियो भने उल्टा त्यस केटीले सबैले सुनिने स्वरमा भन्न थाल्दछे- ‘हेर । यो बदमास मान्छेले मलाई धक्का दिएको ।’ त्यसैले आजभोलि बाटोमा हिँड्दा धक्का दियो भने चूप लाग्नु बेस है ।
अतः आजभोलि बाटोमा हिँड्दा बहुत होश गरेर हिँड्नु पर्दछ । कतै मोटर-कारखाना जस्तै मान्छे-कारखाना छ भने त्यहाँ गएर हामीले आफ्नो शरीरमा ब्रेकजडान गर्नुपर्ने जमाना आइरहेछ । आफ्नो शरीरमा ब्रेक भएदेखि कम से कम ब्रेक समातेर आफूबाट धक्का नदिने कार्यसम्म त गर्न सकिएला । अरूको धक्का खानु त्यति खराब होइन । जानाजान अरुलाई धक्का दिनु बदनीयतपूर्ण कार्य हो । हो कि होइन ?
हाम्रो देशमा मान्छे साह्रै नै वृद्धि भएर आइरहेछ । बिहे गर्यो कि त सन्तान भइहाल्दछ । खोला रोक्न सकिन्छ, तर सन्तान नहुने गरेर रोक्न सकिन्न । धेरै सन्तान भएर गृहजञ्जालमा फस्ने भए पनि कहिले मङ्सिर आउला र बिहे गरुँला भनेर मानिसहरू पालो पर्खेर बसिरहन्छन् वा । यो मान्छे बढ्ने कार्य त रोक्नै पर्यो भनेर एकपल्टमा विदेशमा मान्छे उत्पादनकार्यमा शोधकार्य गरी पीएच् डी लिएर फर्के एक जना डाक्टर बाबूकहाँ सोध्न गएँ- ‘ए डाक्टरसा’ब । यो मान्छे उत्पादनकार्य कसरी कम गर्न सकिएला हँ ?’
तब उहाँले भन्नुभयो- ‘सत्य युगका मान्छेहरू ऋतुविचार गरेर मात्र रतिक्रिया गर्दथे । अतः त्यसबखत जनसङ्ख्या त्यति साह्रो बढ्दैनथ्यो । आजभोलि त जनसङ्ख्या बढेर छुट्टी छ । विजोर बारका दिन श्रीमतीसित सँगै सुतियो भने छोरो हुन्छ र जोर बारका दिन श्रीमतीसित सँगै सुतियो भने छोरी हुन्छे भन्ने कुरो थाहा हुँदाहुँदै पनि सँगै सुत्छन् भन्या आजभोलिका जोइपोईहरू । अनि कहाँ धेरै छोराछोरी नहुनु र जनसङ्ख्या नबढ्नु अनि पृथ्वीमा मान्छे भएर जन्म लिन जान चाहने जुनसुकै मृतात्मालाई पनि सृष्टिकर्ता ब्रह्मा मान्छे बनाएर पठाउन बाध्य भएर आइरहेछन् ।
सत्ययुगमा मान्छेको मृतात्माले मात्र पृथ्वीमा मान्छे भएर जन्म लिन जान पाउँथे । आजभोलि त जुनसुकै पशुपंक्षीको मृतात्मा पनि मान्छे भएर पृथ्वीमा जन्म लिन आउँदैछन् । परेवाको मृतात्मा जो मान्छे भएर जन्म लिन आएका हुन्छन् उनीहरू लाजै नमानी साराको अघिल्तिर मुखमुख मिलाएर परेवाले झैँ किस गर्दछन् । गोरुको मृतात्माले मान्छेको जुनी लिएर आएको छ भने उसले जति जोतिएर काम गरे पनि राम्ररी खानै पाउँदैन । जनावरहरूका मृतात्माले मान्छेको जुनी फेरेर आइराखेकाले आजभोलि मान्छेको स्वभाव र जनावरको स्वभावमा कत्ति फरक छैन।
अतः अब यहाँका जम्मै जोइपोईहरूले मान्छेको मृतात्मालाई मात्र मान्छे बनाएर जन्माउने आशय छ भने सत्ययुगका मान्छेहरूले जस्तै रजस्वला भएपछि मात्र रतिक्रिया गर्ने गर्नुपर्यो । होइन, अब सन्तान जन्माउन पुग्यो, अब सन्तान जन्माउनु छैन भनेर रजस्वला भएको तीन हप्तापछि मात्र श्रीमतीसित श्रीमानले सुत्ने गर्नुपर्यो । अश्लिल दृश्य भएको फिल्म हेर्ने, बेलुकी भो भनेर बारमा गएर माछामासुसित टन्न रक्सी खाने, राम्रो लुगा लगाएर चिटिक्क परेर हिँड्ने र लोग्नेले स्वास्नीलाई किस गरेर अङ्गालेर हिँड्ने चलन भएपछि सन्तान उत्पन्न हुने कार्यमा कमी आउला भनेर सोच्नु नै बेकार छ ।
अतः अब एक छोरा एक छोरी सबभन्दा सुखी जोडाजाडी भनेर विचार गर्ने नै हो भनेदेखिन् परिवार नियोजन सङ्घले प्रचार गरिरहेको सङ्गिनी सुई लिनु नै ठीक छ, या कन्डम लगाउनु नै उचित छ । अनि बाटोमा हिँड्दा हूलका हूल मान्छेको घुँइचोले गर्दा तरुनो या तरुनीलाई अनायास धक्का दिन पुगिएला कि भनी डराएर शरीरमा पनि मोटरमा झै ब्रेक राख्नुपर्यो भन्दै कराएर हिँड्नुपर्ने अवस्था पनि आइपर्दैन ।’
मान्छे उत्पादन कार्यमा शोधकार्य गरी पीएच् डी लिएर आएका डाक्टरबाबूको कुरो ठिकै हो कि हो कि जस्तो विचार गर्दै घर फर्केर आएँ ।
०००
‘झटारो’ (२०५५)
Subscribe
Login
0 Comments
Oldest






































