सक्षम र सवल प्रदेश,सुनिश्चित अधिकार

खौरिएको कपाल र श्राद्धको फुरौला

“अनि च्याँसे दाइले हिजो जेठाबासँग किन कपाल खौरिएको त ?” मेरो मनको शङ्का समाधान गर्न ठूलो बाउलाई पुनः सोधेँ । “टाउकोमा खटिरा आएर कपाल खौरिएको नि !” ठूला बाउले निकै च्याँठ्ठिएर जवाफ दिए ।

Nepal Telecom ad

चिरञ्जीवी दाहाल :

जेठाबा दारी कपाल खौरन असाध्यै सिपालु थिए । उनको हात यति शितल थियो कि उनले दारी कपाल काट्दा दुखाइ भन्ने कुरा फिटिक्कै हुँदैन थियो । उनको हात शितल मात्र होइन, उनले दारी कपाल काट्दा एक थोपा पनि रगत निस्कदैन थियो । त्यसमाथि उनी निकै छिटो कपाल खौरन्थे । एक बिहान मात्र उनले ८-१० जनाको दारी कपाल सजिलै खौरिन सक्थे ।

उनीसँग कपाल खौँरदा हजामलाई जस्तो बिस तीस रुपैयाँ पनि तिर्नु पर्दैनथ्यो । एकदम निशुल्क मात्र होइन कसैको दारी कपाल खौरँदा उल्टै उनको बरू चोख्यान खर्च हुन्थ्यो । कपाल भिजाउने पानी खर्च हुन्थ्यो । पटक पटक छुरा अर्जाप्नु पर्थ्यो । घरमा दुहुनो भएका बखत त जेठी आमाले पनि थुर्पीमा घ्यु ल्याएर दिने गरेकि थिइन र कपाल काटिनेको खुइले टाउकोमा चोख्यान घस्न पाइन्थ्यो । दुहुनो नहुँदा भने उनलाई निकै सकस पर्ने गरेको थियो । “ए कालेकी आमा चोख्यान ले ले” भन्ने बित्तिकै उनले जसरी पनि ल्याउनै पर्थ्यो । अन्यथा जेठाबाले कडा गालीको वर्षा सुरुगरि हाल्थे ।

एकपटक गाउँका एकजना पण्डित, जेठाबासँग कपाल खौरन आए । सायद हर्पेमा घ्युको थोपो थिएन क्यारे । जेठी आमाले सिन्काको मद्दतले मदानी कोतरेर घिरौंलाको पातमा त्यही पुरानो नौनी ल्याएर दिइन् । कपाल खौरने काम सकेपछि, जेठा बाले पण्डितको टाउकोमा त्यही कुहिएको नौनी के दलिदिएका थिए, चारैतिर नराम्रो गन्ध फैलियो । गन्हाएर बसिसक्नु भएन । चिल्लो घस्दा घस्दै जेठाबालाई वाकवाकी लाग्यो । जेठाबा वान्ता गर्ने ठाउँ खोज्दै थिए पण्डितबाले बसिरहेका ठाउँमै वान्ता गर्न शुरु गरिहाले । कपाल काट्ने र काटिने बीच वान्ताको दोहोरि नै चल्न थाल्यो । लाग्थ्यो, त्यहाँ वान्ता प्रतियोगिता चलिरहेको छ । जसले धेरै वान्ता गर्‍यो, उसले राम्रै पुरस्कार पाउनेछ !

त्यसदिन जेठी आमाले पनि हुनसम्म गाली खानु पर्‍यो । “अब देखि त्यो कुहिएको मदानी कोतरेर चोख्यान ल्याइस भने झाप्पु खालिस् ।” जेठाबाले च्याँट्ठिदै भने । लोग्नेले जे भनेपनि सहन सक्ने जेठी आमाले त्यसदिन भने सहन सकिनन् । उनले पनि जीवनमा पहिलोपल्ट लोग्नेलाई ठाउँको ठाउँ जवाफ फर्काउँदै भनिन् “बिहानभरी मान्छेले खेतबारीमा कति काम गर्छन् । गाई बाख्रालाई घाँस काट्छन्, तिमी भने उल्टै अर्काको दारी कपाल खौरियो, दुनियाँको टाउको मुसार्दै बस्यो, यसरी गृहस्थ चल्छ ? अझै मुखमुखै लाग्न लाज लाग्दैन ? यसरी दुनियाँको कपाल खौरेर के लछार्यौ ? किलामा गाई बाख्रा भोकै छन् । यस्ता लाछीले जोइलाई हप्काउन अलिकति पनि शरम मान्नु पर्दैन ?”

जेठाबा तत्काल रिसाए पनि एक प्रकारले उनलाई पनि कुरा मनासिव लाग्यो । हुन पनि हो, तातो न छारो दुनियाँको कपाल खौरिएर आजसम्म के लछारपाटो लगाइयो र ! शहरतिर त दारी काटिदिएको पनि पैसा पाइन्छ रे । यो कुरा उनले पहिले पनि नसुनेका होइनन् । तर उता पैसा लिए रे भन्दैमा गाउँमा कपाल खौरिएको पैसा कसले दिन्छ र लिनु ?

यी जेठा बाले दारी कपाल खौरिएर आफैलाई नोक्सानी पुर्‍याए पनि त्यसको प्रत्यक्ष फाइदा भने मैले लिने गरेको थिएँ । हाम्रो घर, उनको घर भन्दा तल्लो कान्लामा भएकोले उनका घरमा को कपाल खौरन आयो म सजिलै थाहा पाउथेँ । जब जेठा बाको घरमा कोही कपाल काट्न आउँथ्यो भोलिपल्ट उसको घरमा प्रायः श्राद्ध हुने गरेको थियो । म भोलिपल्ट त्यही घरमा टुप्लुक्क पुगिहाल्थेँ । नपुग्नु पनि किन ? श्राद्धमा मजाले मासका फुरौला, सेलरोटी र दालभात तरकारीको साथमा रुचुन्जेल दही केरा खान पाइन्थ्यो ।

श्राद्धको मिठो मसिनो खान पल्किएपछि जेठाबासँग कपाल काट्न को आउँछ भनेर बुझ्न र कपाल खौरन आउनेको घर जान, मैले कहिले पनि बिर्सिनँ । एवं प्रकारले जेठाबाले कपाल खौरन र म श्राद्धमा जाने क्रम लामो समयसम्म चलिरह्यो । सधैँ जस्तै एकदिन म फुरौला र दही केरा खाने कल्पना गर्दै च्याँसे दाइको घरमा पुगेँ । उता च्याँसेको घरमा भने न पुरेत आएका थिए न श्राद्धको तरखर नै थियो ! च्याँसेका बाबु आमा घरमै रहेछन् ।
मैले हत्तपत्त उनीहरूसँग प्रश्न गरेँ “ठूलो बा, च्याँसे दाइ खै त ?”
“किन चाहियो च्याँसे दाइ ?” ठूलो बाउले उल्टै प्रतिप्रश्न गरे ।
“दाइको हिजो एकछाकी होइन र आज श्राद्ध कतिखेर थाल्नु हुन्छ भनेर ।”
“के भन्छ यो, हामी जिउँदै छौँ । च्याँसेले कस्को श्राद्ध गर्छ मोरा !” ठूलाबाउले तमाखु खाँदै गरेको नली थुतेर मेरो टाउकोमा बजाए ।

मैले रुन्चे स्वरमा भने “अनि च्याँसे दाइले हिजो जेठाबासँग किन कपाल खौरिएको त ?” मेरो मनको शङ्का समाधान गर्न ठूलो बाउलाई पुनः सोधेँ । “टाउकोमा खटिरा आएर कपाल खौरिएको नि !” ठूला बाउले निकै च्याँठ्ठिएर जवाफ दिए । म लाजले भुतुक्कै भएँ । घरमा जाँदा सबैले भात खाइ सकेछन् । त्यसदिन श्राद्धको फुरौला त के कुरा टाउकोमा फुरौला आकारको टुटिलो लिएर घर पुगेँ । साँच्चै भन्नुपर्दा त्यसै दिनबाट आजसम्म कपाल खौरिएको देखेकै भरमा म कसैको घरमा पनि श्राद्धको फुरौला खान गएको छैन ।

०००
चितवन

Fitkauli Publication Books comming soon
Nepal Telecom ad
आँखाले नदेखे पो मुटुले सहन्छ !

आँखाले नदेखे पो मुटुले...

चिरञ्जीवी दाहाल
शुभकामना भनिदिएँ

शुभकामना भनिदिएँ

चिरञ्जीवी दाहाल
हाँसो र यसका प्रकारहरू

हाँसो र यसका प्रकारहरू

चिरञ्जीवी दाहाल
सालो लिएर जाऔँ

सालो लिएर जाऔँ

चिरञ्जीवी दाहाल
क्लिप्टोमेनिया

क्लिप्टोमेनिया

चिरञ्जीवी दाहाल
परिवर्तन

परिवर्तन

चिरञ्जीवी दाहाल
प्रायश्चित

प्रायश्चित

कुमार खड्का
बेकारको टन्टो

बेकारको टन्टो

अनिल कोइराला
स्वजातीय प्रेम

स्वजातीय प्रेम

नन्दलाल आचार्य
अविश्वासको प्रस्ताव

अविश्वासको प्रस्ताव

सूर्यबहादुर पिवा
पुच्छर माने हनुमान

पुच्छर माने हनुमान

माधव पोखरेल गोज्याङ्ग्रे