चिरञ्जीवी दाहालपरिवर्तन
अब जोगी हुनुको विकल्प त छैेन नै ! तर पशुपति, गुह्येश्वरी तिर जानु हुँदैन । एकताका त्यता पनि ठूलै परिवर्तन भएको हल्ला चलेको थियो । तिमीले परिवर्तन थेग्न सक्ने लक्षण म पटक्कै देख्दिनँ । जोगी बन्ने हो भने हिमालय पर्वततिर जाऊ ।

चिरञ्जीवी दाहाल :
मैले गुरुलाई सोधेँ, “अचेल आम्दानी छैन, गरिखान सकिएन गुरु । यातायात व्यावसायमा राम्रै आम्दानी हुन्छ भन्छन्, एउटा बस किनेर चलाए कसो होला ?”
गुरुले मलाई एकपटक शिरदेखि पाउसम्म हेरेर भने, “तिमी आफै चालकको काम गर्न सक्छौ ? पैसा उठाउने कन्डक्टर बन्न सक्छौ ? खलासी बनेर टायर निकाल्न सक्छौ ? गाडीमा हाल्ने तेल किन्न सक्छौ ? यदि सक्छौ भने गजब हुन्छ ।“ मैले नसक्ने जनाउँदै मुन्टो हल्लाएँ ।
“खेती किसानी र गाई भैँसी पालन गरौँ गुरु ?” मैले अर्को सम्भाव्य व्यावसायको विषयमा सोधेँ । “हुन्छ, तर ऋण लिएर खेती गर्नुपर्छ, ऋण लिएरै पशुपालन गर्नुपर्छ । ऋण लिन पनि दह्रो पैसा चाहिन्छ । फेरि उत्पादन नहुन्जेल टन्नै लगानी गर्नुपर्छ । उत्पादन भएपछि तिनै तरकारी र दुध सडकमा लगेर फाल्ने आँट गर्नुपर्छ, सक्छौ ?”
यसो गर्नुको के अर्थ भयो र ? खेती गर्ने र पशुपालन गर्ने काम पनि आफ्नो बसमा नभएको कुरा मैले आज बल्ल थाहा पाएँ । “यो झन् जटिल कार्य रहेछ । हामी जस्ता सामान्य मान्छेले अब कसरी बाँच्ने त गुरु ?”
हरेक समस्याको निकास दिने गरेका मेरा गुरुले आज भने समस्याको निकास दिने छाँटकाँट देखाएनन् । तै पनि सास रहेसम्म आश भने झैँ मैले गुरुसँग केही न केही समाधान कसो ननिस्किएला भन्दै अझै आश गरिरहेको थिएँ ।
“हुन त, व्यापार गरेर धेरैले घरबार जोडे । कति त हेर्दा हेर्दै लखपति र करोडपति भए । व्यापार गरे उँभो लागिन्छ कि !” मैले फेरि गुरुतिरै आफ्नो मुख सोझ्याएँ ।
“हुन्छ, तर पार्टीहरूलाई कुस्त चुनाव खर्च ठेल्न सक्नु पर्छ । त्यो पनि सापटीका रूपमा होइन, शत प्रतिशत अनुदानमा । अनुदान दिए पनि घाटा भने हुँदैन तर उठाउने जिम्मा आफैले लिनुपर्छ । सामानको तौल कम गर्ने, डवल, तेवर महङ्गो गरेर विक्री गर्ने काममा पोख्त हुनुपर्छ सक्छौ ?”
“यसो गर्दा पाप लाग्दैन र गुरु ? अनि फेरि कालो बजारी भनेर कार्वाहीमा परिएला कि !”
परिवर्तन पछि, जति पाप उति फलिफाप हुने गरेको छ । गुरुले निकै च्याँठ्ठिएर भने “सक्दैनौ तिमीहरूले केही गर्न, कहाँका हुतिहाराहरू ! कालो बजारीको कुरा गर्यौ, ढुक्क हुनु कसैले केही पनि नाप्दैन । आफूले चन्दा दिएको पार्टीले जितेपछि कसले के लछार्न सक्छ ?”
व्यापार गर्ने कुरा त परै जाओस्, हामीले व्यापारको नाम पनि लिन नसकिने रहेछ । मैले जुन व्यावसायको कुरा गरेँ पनि गुरुले हरियो झण्डा देखाउने लक्षण फिटिक्कै देखाएनन् । तर पनि मैले सल्लाह माग्न छोडिनँ । “उसो भए राजनीति गरौँ त गुरु ?”
“हुन्छ, राजनीतिमा लागेर नेता नामको फेटा गुथ्न सक्यौ भने छोटो समयमा पनि मालामाल बन्न सकिन्छ । ढङ्ग पुर्याउन सके त्यो पेशामा आकाशको जहाजदेखि धर्तीको पहाडसम्मको कारोबार गर्न मिल्छ । लगाउने सुनदेखि खाने नुनसम्मको कारोबारी बन्न पाइन्छ । बस्ने घर जग्गादेखि चुनावमा उठ्ने टिकट विक्री गरेर प्रशस्त कमाउन सकिन्छ । मुलुकको दरबार बेचेर आफ्नो घरबार जोड्ने थलो हो राजनीति बुझ्यौ ? यसपछि त पैसो जाबो त पोस्तक सरी देख्न पाइन्छ । सात पुस्तासम्मलाई बसिबसी खान पुग्छ ।”
“अनि यो सबै कुराको कारोबार गर्ने काम त व्यापारीको होइन र गुरु ? राजनीति गर्नेले यस्तो बेचबिखन गर्न मिल्छ र ? यो त सरासर बेइमानी भएन र ?” मैले डराइ डराइ गुरुलाई भनेँ ।
“थुइक्क लाटा, अझै थाहा छैन, राजनीति भनेकै व्यापार हो । नेता भनेका व्यापारी हुन् । यसरी यथास्थितिमा रहेर कसरी परिवर्तन थाहा पाउँछौ ? आजभोलि सबैभन्दा छिटो धनी हुने र चर्चित भइने सबैभन्दा अपूर्व व्यावसाय यही राजनीति हो । राजनीति नामको व्यावसाय गर्दा लगानी पनि गर्नु पर्दैन । राज्यलाई कर तिर्नु पर्दैन । लेखापरीक्षणको त कुरै भएन । कुनै निकायसँग लाइसेन्स लिनु पनि पर्दैन । खुबी देखाउन पनि राजनीतिमा हात बढाउनु पर्छ । यो बिना जोखिमको धन्दा हो ।”
“भो गुरु, राजनीति गर्न त झनै गाह्रो रहेछ । विचरा हाम्रा राजनीतिज्ञहरूले यी सबै काम कसरी भ्याएका होलान् ? मान्नुपर्छ यिनीहरूलाई । तर म भने झुक्किएर पनि राजनीतिमा जान्न गुरु म सक्दिनँ ! न बाजेले राजनीति गरे, न बाउले ! बरू भोकै बस्न सक्छु तर राजनीतिज्ञले गर्ने काम गर्न सक्दिन । फेरि जनताको नजरमा बेइमान बनिने हो कि ? मलाई राजनीति गर्ने इच्छा पटक्कै लागेन ।
“अनि फेरि राजनीति त व्यावसाय नभएर समाजसेवा होइन र गुरु ?” मैले पुनः गुरुसँग प्रश्न गरेँ ।
“सबैे जनताले नेतालाई कहाँ बेइमान भन्छन् ? दुईचार जनाले बेइमान भन्दा केही हुन्न । बस् नसुने झैँ गरे भइहाल्छ । तिमीले ठिकै भन्यौ, कुनैदिन राजनीतिलाई समाजसेवा भन्ने प्रचलन थियो । देश काल परिस्थिति र समय बदलिँदै जाँदा समाजसेवाको परिभाषा पनि बदलियो । उहिले समाजको सेवा गर्नेलाई समाजसेवी भनिन्थ्यो अहिले समाजले सेवा गर्नुपर्नेहरूलाई समाजसेवी भनिन्छ ।”
गुरुले दिएको परिभाषा सुनेर म जिल्ल परेँ । यत्रो परिवर्तन भएछ गुरु, मैले किन थाहा पाइनँ ? उसो भए परिवर्तनको सन्धिकालका बखत के म बेहोस थिएँ ? त्यसबेला म कहाँ र के गर्दै थिएँ होला । अनि नेपाली शब्दकोशले पनि यसको परिभाषा फेरिसकेको हो र ?
यो प्रश्न पनि गुरुलाई सोध्छु भन्दै थिएँ तर हिम्मत आएन । म यस्तै कुरा सोचिरहेको थिएँ, आखिर गुरु अन्तर्यामी न हुन् । मेरो मनको कुरा बुझेर उनले फ्याट्टै भने “बाबु, तिमी मात्र होइन परिवर्तनको समय सारा मान्छे बेहोस हुने गर्छन् । बेहोस नहुनेहरू बेहोसीको नाटक गर्छन् । शब्दकोशमा पनि बिस्तारै परिवर्तन भइरहेकै छ। नभए शब्दकोशको ठेली पल्टाएर हेर, ऐना हेरे जस्तै छर्लङ्ग हुन्छ । चिन्ता नलिनू । बरु समाजमा यसरी परिवर्तन कसरी र कहिले भयो भनेर चिन्तन गर ।”
गुरुले मेरो मनको कुरा बुझेर उत्तर दिएको देख्दा म तीनछक परेँ । मलाई भने यस्ता विषयमा चिन्तन गर्नुभन्दा आफूलाई जिन्दगी कसरी गुजार्ने भन्ने चिन्ता छ । मैले गुरुलाई फेरि सोधेँ – “गुरु जीवन गुजारा गर्न म के गरौँ त जोगी भएर पशुपति गुह्येश्वरीतिर जाउँ ?”
“आधा मात्र ठिक भन्यौ । अब जोगी हुनुको विकल्प त छैेन नै ! तर पशुपति, गुह्येश्वरीतिर जानु हुँदैन । एकताका त्यता पनि ठूलै परिवर्तन भएको हल्ला चलेको थियो । तिमीले परिवर्तन थेग्न सक्ने लक्षण म पटक्कै देख्दिनँ । जोगी बन्ने हो भने हिमालय पर्वततिर जाउ ।”
गुरुसँगको यो छलफल पछि म निकै चिन्तित बनेर टोलाइरहेँ । लाग्यो, परिवर्तन भनेको हामी जस्ताले सजिलै बुझ्न सक्ने विषय होइन रहेछ ।
०००
चितवन
Subscribe
Login
0 Comments
Oldest







































