झण्डाः वितण्डा
कालो कोट भए झण्डा, तराजु कोल्टे पार्दछ, पेटिकोट छिरे झण्डा, करोडौँ झ्वाम्म पार्दछ । कस्तो ज्याद्रो भयो झन्डा, लाठी बुट चलाउँछ, लास माथी चढे झण्डा, दशलाख गनाउँछ ।
गोपेन्द्रप्रसाद रिजाल :
डण्डाको भर हो झण्डा, हावामा फहराउँछ
अण्डाको द्वार हो झण्डा, सुनै सुन गिराउँछ
तारा बोकेर झण्डाले, हँसिया घन ढुक्दछ
झण्डाकै भरमा झण्डा, चोक सडक भुक्दछ ।
तेरो मेरो भानी झण्डा, भाग बण्डा लगाउँछ,
जेलभित्र पसे झण्डा, झण्डाले नै भगाउँछ ।
झेलिको बल हो झण्डा, त्यो भष्मासुर बन्दछ,
खेलोको खेल हो झण्डा, जनता गोल ठान्दछ ।
कार्यालय छिरे झण्डा, कुर्सी नै थर्थराउँछ,
बबुरो मुखिया देख्दा, आगो झैँ भर्भराउँछ ।
निमुखा देखे झण्डाले, कोदो जस्तै भकुर्दछ,
विदेशी पाहुना देख्दा, खरायो झैँ दगुर्दछ ।
खान्छ जहाज झण्डाले, झोल तान्छ फलामको,
फुलिवाला भेटे झण्डा, बाढी माग्छ सलामको ।
झन्डाकै भरमा पर्दा, पशुपती भए पशु,
सुन पित्तल चिन्दैन, ढुङ्गाकै मुर्ती भै बसुँ ।
घण्टी भेट्यो भने झण्डा, बिरालो साधु बन्दछ,
भुइँमान्छे भेटे झण्डा, मुसा डुहुरा गन्दछ ।
कालो कोट भए झण्डा, तराजु कोल्टे पार्दछ,
पेटिकोट छिरे झण्डा, करोडौँ झ्वाम्म पार्दछ ।
कस्तो ज्याद्रो भयो झन्डा, लाठी बुट चलाउँछ,
लास माथि चढे झण्डा, दशलाख गनाउँछ ।
भो भो अति भयो झण्डा, स्यालझैँ भाग्नु पर्दछ,
कच्याक कुचुक्क झण्डाले, थाङ्गनुझैँ लुक्नु पर्दछ ।
२०८०/१०/२१
०००
मैतिदेवी