भाउपन्थीदत्तचित्त
ऊ पार्टी सभापतिको चाकरीमा धाएको धायै छ कोखिलामा ह्विस्कीको बोतल च्यापेर बजारमा यस्तो हल्ला छ । दलका नेताहरू उसको चाकरीलाई एक नम्बरको पार्टीभक्ति भनेर उच्च मूल्याङ्कन गर्ने गर्छन् । ऊ यसलाई बुझ्दछ ।

भाउपन्थी :
काम थिएन । काम छैन भन्नु एउटा अतिरिक्त काम हुने भयो । फलाक्न पनि कति फलाक्नु काम छैन भनेर । बेरोजगार भइएकै छ । विदेश जान युवाहरू एयरपोर्टमा लाइन लागेकै छन् । आफू लाइनमा बस्न नसक्दा लाज पनि लाग्छ । मात्र बेरोजगार भएर घर बसिएको छ । सोध्नेले पनि सोध्छ— ‘घरै छौ ।’ अर्थात् विदेश जान सकेका रहेनछौ । दयालाग्दो भइएको छ । तैपनि काम खोज्ने मन लाग्दैन । काम गरेर मात्र के नै पाइने हो र ? भखैरै मन्त्रिमण्डल हेरफेर भएको छ । त्यसमा आफ्नो नाम आउने सम्भावना शून्य छ । समयमै राजनीति पार्टीमा लागेर एउटा सांसद पद हासिल गरेको भए आज यो स्थिति हुने थिएन । उसै पनि स्थिति राम्रो छैन । खान मन लाग्दैन भन्नु छैन । भोक एकदम हरहराएर लाग्छ । घरमा दुई टाइम खान दिइन्छ । तेस्रो पटक खानलाई काम खाेजेर कमाइ गर् अनि हसुर्लास् भनिएको छ ।
शिष्ट भाषाको पनि अभाव छ घरमा । हसुर्न पाइने हुन सकेको भए पो ! मन्त्रीहरूले हसुरेको कसैले देख्दैन । म जस्तो साधारण नागरिकले केही खायो भने कति हसुर्न सकेको भन्छन् । समयसमयको फेर हो । मन्त्रिमण्डलमा एउटा परिचित मन्त्री थियो, पहिलेको सहपाठी । पढेलेखेको म छु तर उसले बीचैमा पढाइ छाडेर राजनीति समात्यो । भन्यो— ‘युगले परिवर्तन चाहेको छ ।’ युग परिवर्तन भयो, ऊ पैदलबाट कार चढेर हिँड्ने भयो । मैले सोचेँ— किस्मतको खेल । उसलाई भनियो— बलिदानी नेता । मलाई त अल्छीतिघ्रे भन्ने उपाधि दिइएको छ । मानसम्मान केही छैन, दिक्दार लागेर आउँछ । उसले मन्त्री पद खाएको खायै छ । अहिले ऊ राजधानीमा ऐमानको भव्य महलमा बस्छ । कार छ । साँझसाँझ पार्टीको नेतालाई महङ्गो ह्विस्की खुवाउन सितन र बोतल बोकेर जान्छ । अर्को पटक सरकार बन्दा ऊ मन्त्री हुने पक्कै छ । दलको सभापति उसको मुठ्ठीमा छ भन्ने हल्ला छ ।
उसले शिक्षा बीचमै छाडेको हो । बाबुआमाले ए छोरा पढ् न पढ् भन्दा कत्ति पनि मानेको हैन । तर नपढे पनि विद्यार्थी नेताकै रूपमा उसले स्नातक उपाधि लिएको हो । छात्र राजनीतिमा प्राध्यापक शिक्षकहरूको योगदान छ । प्रा.डा.हरूले उज्ज्वल भविष्य सोचेर उसलाई उत्तीर्ण गराए । देशको कर्णधार थियो, रोक्नु ठीक थिएन । देशको हितमा जेल गयो— यस्तो मिडियामा लेखिन्छ । मन्त्री बनेपछि घूस खान पोख्त भनेर इतिहासमा लेखिने छैन । अख्तियार दुरुपयोगमा दुईचार वटा घोटालाका उजुरी दर्ता छन् । अख्तियारले फाइल तामेलीमा राखिछाडेको घुइरोघुइरो हल्ला छ । हल्लैहल्लाको देश हो भनेर उडाउँछन् देशलाई । हो, पक्कापक्की छैन । खुट्टा तान्ने परम्परै छ मुलुकमा भन्छन् । उसले भ्रष्टाचार गरेको सिद्ध भएमा राजनीतिबाट एक दुई तीन सन्यास लिन्छु लिन्छु भन्छ ।
मैले भनेँ सन्यास लिनु किन पर्यो र । उसको ठाउँमा अर्को जो आए पनि उस्तै आउने हो । जुन जोगी आए पनि कानै चिरेका । जोगीहरूको करामत यो, कान नचिरी जोगी हुन नपाइने । मन्त्री नेता भएपछि कुनै नकुनै घोटाला प्रकरणमा नमुछिएसम्म पक्का नेतामन्त्री नभइने । उसले पढाइ त पढ्न नसकेर छाडेको थियो । झण्डा समात्ने कामको लोकतन्त्र-प्रजातन्त्रसित सरोकार भएर आयो । उसको विचारमा लागिराखेपछि फल स्वतः पाइन्छ । झण्डा देखाउने काममा लाठी प्रहार पनि सह्यो । नेता भनेर चिनियो । उसको दलले पनि उसलाई अग्रपङ्क्तिका नेतामा गन्ती गर्यो । तर यो थियो लाठी प्रहार खाने बेलामा ऊ अलि पछिपछि लुकेर हिँड्ने गर्थ्याे । तर दत्तचित्त भएर पार्टीमा लाग्यो । बेलाबेला ऊ आमसभाहरूमा भन्थ्यो पनि— दत्तचित्त भएर एउटा काम समात्नुभो भने जनताहरू सफलता अवश्य मिल्नेछ । मुलुकमा दत्तचित्तताको खाँचो छ ।
उसको भनाइ सुनेर किसानहरू गलल्ल हाँस्थे । भन्थे— ‘दत्तचित्त भएर गोलभेंडा उमारियो, सडकभरि फालियो ।’ उस बेला यिनै नेता सरकारका प्रभावशाली मन्त्री थिए । गाइभैँसी पालियो । त्यो पनि दत्तचित्त नै भएर । दूधको पौल भयो । त्यसको पनि उही हाल भयो । सडकभरि पोख्नु पर्यो । त्यति बेला पनि यिनै प्रभावशाली नेता सरकारमा मन्त्री थिए । दत्तचित्तवाला ! आखिर यो दत्तचित्तले के फाइदा दियो ? छोराहरूलाई भएको जग्गा बन्धक राखेर विदेश नपठाए घरमा चामलको गेडो हुलिँदैन । तर किसानहरूले यस्तो भनिरहँन्दा यस पटकको मन्त्रिमण्डलको हेरफेरमा त्यो मन्त्री पद पनि पनि खुस्किएछ । भन्यो— ‘हाम्रो दलको कमजोरी हो । सभापतिमा दूरदर्शिता थिएन । अन्त्यमा आएर आत्मसमर्पण गर्नु थियो भने सुरुमै गरेको भए हुने । त्यस्तो मन्त्रिपद गुमाइयो । सोखसयल, सरकारी गाडी, सरकारी इन्धन, अगाडिपछाडि प्रहरीका गाडी । बेलाबेला यसो भाषण गरिदिए पुगिहाल्ने ।
संसदमा पनि केहीबेर उभिएर सरकारको आलोचनाले सम्पूर्ण जनताको बलिदानले ल्याएको लोकतन्त्र र गणतन्त्र खतरामा पर्न सक्छ । सबै दल एक होऔँ र खान नपाएकाले पालो कुर्ने काम गरौँ भनेर परोक्ष तरिकाले भनेपछि पुग्थ्यो । अब पछुताएर के हुन्छ ? जब चिडिया चुग गइ खेत । तर खेतको कुरो आएपछि अझैँ आश छ । ऊ पार्टी सभापतिको चाकरीमा धाएको धायै छ कोखिलामा ह्विस्कीको बोतल च्यापेर बजारमा यस्तो हल्ला छ । दलका नेताहरू उसको चाकरीलाई एक नम्बरको पार्टीभक्ति भनेर उच्च मूल्याङ्कन गर्ने गर्छन् । ऊ यसलाई बुझ्दछ । काम छैन उसको मन्त्री पद गएपछि । भन्दै छ पार्टी सशक्तीकरणतिर लाग्नु छ । उसको भनाइको आन्तर्य यो हुन्थ्यो— अरू कार्यकर्ताले उछिनेर अगाडि नजाऊन् ।
जे हुनु थियो भइगो । हाम्रो पालो फेरि आउँछ आउँछ भनेर आशावादी हुन चाहन्थ्यो । अर्को पल्ट ऊ नै मन्त्री पदमा आसीन हुने पक्का थियो त्यसैले भन्थ्यो— सत्ताबाट यो छोटो अवधिका लागि हाम्रो अवकाश हो । हाम्रो दलले मित्रघात सहनु परेको छ । मित्रघात सफल हुन सक्तैन । जनताको हितका लागि हामीले नै पुनः सरकार बनाउनेछौँ ।
०००
काठमाडौं
Subscribe
Login
0 Comments
Oldest







































