झगडा
जब विजयको हाँसो हाँस्यो अनि पो बल्ल उसलाई चिन्ने जान्नेले थाहा पाए, यतिबेलासम्म त ऊ उसकै छिमेकी कृपा शकरसँग अस्ति भएको झगडाको लाईभ पो सुनाउँदै रहेछ पुरुषोत्तमलाई ।
मीनप्रसाद लामिछाने :
बाटोको छेवैमा उभिएर रामेश्वर ठुल्ठुलो स्वरमा गाली गर्दै थियो । उसकै अगाडि उभिएर त्यो सब चुपचाप सुनिरहेको थियो पुरुषोत्तम । बेला बेलामा मसिनो स्वरमा उ पनि केही बोल्न खोज्थ्यो तर रामेश्वरलाई उसको कुराले कुनै प्रभाव परे जस्तो देखिँदैनथ्यो । उ अझ अँध्यारो मुख पारेर हात हल्लाइहल्लाई चिच्याई रहेको हुन्थ्यो ।
बिस्तारै बिस्तारै बाटो हिँड्नेहरुको भिड छेउछाउमा जम्मा हुँदै गयो । “धन्न अहिलेसम्म हात चैँ हालेको छैन” कोही आपसमा खस्याक खुसुक गर्दै थिए । कोही “देखा देखि पिट्न चैँ दिनु हुन्न है, उस्तै परे छुट्याई दिनु पर्छ” भन्दै तयारी अवस्थामा थिए भने कोही “त्यस्तो गाली गरिरहँदा पनि सुनिरहन्छ, कस्तो हुतिहारा रै छ, म भए कठालो समाई सक्थेँ” भनेर पुरुषोत्तमको कमजोरीप्रति सहानुभूति राख्दै थिए ।
बटुवाहरूका यस्ता प्रतिक्रियाहरूबाट बेखबर प्रायः बनेको रामेश्वर अझ उचाल्ली उचाल्ली गाली गर्दै थियो । “तेरा बाउको बिर्ता हो ? ऐलानी जग्गा जो कोहीले भोग चलन गर्न सक्छ, तैँले मलाई सिकाउनु पर्छ ? अझ मलाई टेकिस् भने खुट्टा भाँच्छु भन्ने ?! तेरा बाउको ताकत भए भाँच्लास खुट्टा ! हेर मलाई धेरै रिस नउठा, उस्तै परे म तँ जस्तालाई जिँउदै सलक्क निल्दीन सक्छु, के ठानेको छस् मलाई हँ ?” भने पछि साँच्चै डरायो र कुबेर बाटो लाग्यो ।
त्यसपछि त्यो अहिलेसम्म मेरा अगाडि परेको छैन भन्दै रामेश्वरले जब विजयको हाँसो हाँस्यो अनि पो बल्ल उसलाई चिन्ने जान्नेले थाहा पाए, यतिबेलासम्म त ऊ उसकै छिमेकी कृपा शकरसँग अस्ति भएको झगडाको लाईभ पो सुनाउँदै रहेछ पुरुषोत्तमलाई ।
०००
हेटाैंडा, मकवानपुर