मनीषकुमार शर्मा ‘समित’ब्रोइलर
स्विच थिच्न मात्र के लागेको थिएँ, भित्रबाट उनको आवाज आयो- “छोरा त्यो व्यायाम चक्की चाहिँ तुरुन्त पठाइदिहाल है । हप्तादिन भइसक्यो ओछ्यानबाट उठ्नै नसकेको ।”

मनीषकुमार शर्मा ‘समित’ :
हप्तादिनदेखि सनतकुमार देखा परेका थिएनन् । सधैँ बिहानीको दैनिक व्यायाममा सार्वजनिक उद्यानमा भेट हुन्थ्यो उनीसँग ।
उमेरले छ दशक नाघेका उनमा किशोर अवस्था झैँ फुर्ती थियो । अझ भन्ने हो भने कुद्न, उफ्रिन हत्तपत्त कसैले पनि भ्याउँदैनथे ।
“हैन के साह्रो ब्रोइलर जस्तो भएका हँ यी ठेट्नाहरू ? दुई पाइला हिँड्न पाएको छैन स्याँस्याँ फ्याँफ्याँ गर्छन् ।” उद्यानमा आएका युवा-युवतीप्रति कटाक्ष हुन्थ्यो उनको ।
सधैँ व्यायामपछि मसँग गफ्फिने सनतकुमारको अनुपस्थितिले खल्लो बनायो । के भयो होला ? बाहिर कतै जानुपरे पनि जनाउ दिन्थे । कतै बिरामी त परेनन् ? मनमा खुलदुली मच्चियो । हालचाल बुझ्न उनको घरतिर लागेँ ।
उनको घर पुगेर बन्द ढोकाको घण्टी बजाउन स्विच थिच्न मात्र के लागेको थिएँ, भित्रबाट उनको आवाज आयो-
“छोरा त्यो व्यायाम चक्की चाहिँ तुरुन्त पठाइदिहाल है । हप्तादिन भइसक्यो ओछ्यानबाट उठ्नै नसकेको ।”
०००
मध्यपुर ठिमी, भक्तपुर
Subscribe
Login
0 Comments
Oldest







































