राजेन्द्रकुमार बज्राचार्यवृद्धाको माया र सन्तान (शृङ्खला- ४)
माया प्रेम रहे यहाँ सकलमा, ती स्वार्थ भाग्लान् कतै । संस्कारीपन आत्मसात गर लौ, ती व्यर्थ लाग्लान् सबै ॥ त्यो स्वर्गीय छ भोग जीवन सदा, सन्तान हुन् पालक । वृद्धाको प्रति धारणा मनुजमा, छोडोस् सकारात्मक ॥

राजेन्द्रकुमार बज्राचार्य :
सेवा नै सब धर्म हो अब बुझे, सन्तानले बावुको ।
मेवा मिल्छ यहाँ मिठो अब भने, आफ्नै छ है काबुको ॥
आमाको दुधको छ मूल्य अब त्यो, तिर्ने यहाँ हो तक ।
वृद्धाको प्रति धारणा मनुजमा, छोडोस् सकारात्मक ॥१७॥
इच्छा दान गरोस् यहाँ सुमनले, मीठाफलै होस् पनि ।
त्यो हाँसो र खुसी रहोस् वदनमा,आमा र बाबा भनी ॥
सेवा होस् टहलै सदा दिनदिनै, बुझ्दै जहाँ आत्मक ।
वृद्धाको प्रति धारणा मनुजमा, छोडोस् सकारात्मक ॥१८॥
यात्रामा लगिए कतै भुवनमा, होस् देवदेवी स्थल ।
आत्मा शुद्ध बनोस् सदैव मनको, ती शान्तिका होस् पल ॥
पाओस् है पुण्य, धर्मले मनुज ती, आकाशझैँ अथक ।
वृद्धाको प्रति धारणा मनुजमा, छोडोस् सकारात्मक ॥१९॥
आमाको महिमा ठुलो सब बुझे, जो सृष्टिको साथमा ।
पीडा हुन्छ सदैव दुःख सुख त्यो, सन्तानको हातमा ॥
प्रार्थी होस् अब जिन्दगी भर यहाँ, आमा र बाबा सक।
वृद्धाको प्रति धारणा मनुजमा, छोडोस् सकारात्मक ॥२०॥
माया प्रेम रहे यहाँ सकलमा, ती स्वार्थ भाग्लान् कतै ।
संस्कारीपन आत्मसात गर लौ, ती व्यर्थ लाग्लान् सबै ॥
त्यो स्वर्गीय छ भोग जीवन सदा, सन्तान हुन् पालक ।
वृद्धाको प्रति धारणा मनुजमा, छोडोस् सकारात्मक ॥२१॥
०००
काठमाडाैं
Subscribe
Login
0 Comments
Oldest







































