गाेपेन्द्रप्रसाद रिजालकाखीको गन्ध : सबै बन्द
हामी जस्ता बुकि फुलेहरूको दाल गल्दैन भने उनीहरूको मकैको भात डढ्दैन । यसो चोकमा निस्किएर कुरा कोट्याइ हेर्नुस त युट्युबे, टेलिभिजन, समाचार पत्र रेडियो आदिहरू छिचिमिरा जस्ता निस्किन्छन् र माइकको फुँदो सोझ्याइ हाल्छन् ।

गोपेन्द्रप्रसाद रिजाल :
पाखुराको सिरानको जोड्नी मुनि, कम्मर भन्दा माथि छातीको छेउमा एउटा खोपिल्टो परे जस्तो ठाउँ हुन्छ; त्यसलाई काखीमुनि भन्ने चलन छ । पहिला पहिला त नाथु, जैरे, आदि भन्दा भिन्न भिन्न ठाउँका भुत्ला बुझिन्थ्यो । अहिले अङ्ग्रेजीले यस्ता शब्द सर्पले भ्यागुता निले जस्तो बिस्तारै निल्दै छ । जे होस काखीमुनिको भुत्लाको असली नाम छुसी जस्तो लाग्छ । सानामा नुहाउँदा माड्न अप्ठेरो भएर मयलका लुडा लाग्थे काखी मुनि । उमेरसँगै काखीमुनि रौँ पलाउन थाल्छन् र पसिना जमेर मयल र पसिनाको मेलबाट एक खाले गन्ध निस्कन्छ । यो गन्ध लसुनको पोटि चपाएको मुखको गन्ध भन्दा मापाको हुन्छ ।
यो नाकभित्र कति थरिका गन्ध र वासना थाहा पाउने र छुट्याउने प्वाल होलान ? जिब्रो भन्दा नाकको काम धेर भएको जस्तो लाग्छ ।
गन्ध अनौठा अनौठा किसिमका छन् । मरेको पशु कुहिएर चलेको गन्ध । यसले मुखलाई समेत वाक्क गर्न बाध्य बनाउँछ । यो देश विदेश ढाक्ने कोटिमा पर्छ । सुन, विमान, सरकारी जग्गा खोला नालामा आँखा लाउने मात्र होइन हसुर्ने हरूको गन्ध यस्तै चलेको छ । यसलाइ नाश गर्न निकै गहिरो खाडलमा नपुरेसम्म यो ज्याद्रो गन्धले छोड्नेवाला छैन । बागमती, विष्णुमती, धोबीखोला, टुकुचा, मनोहरा खोलाहरू बाट उब्जिएको गन्ध एउटै गोत्रमा पछार्न । खोला विभिन्न ठाउँमा भए जस्तै यो खाले गन्ध देश भित्र फैलिएको हुन्छ । सिनुको अंश पनि यसैमा पर्ने भएकोले लरतरो टेर्दैन पनि । झण्डाको ओत लागेर बसेका हुनाले सफा गर्ने आँट जो कोहिले गर्न सक्तैन पनि ।
सिसडोल जस्ता डम्पिङ साइडको मिस्कट गन्ध । यो गन्ध जताततै बाट थुप्रिएर एक्कै ठाउँ जम्मा भएको हुन्छ । बढेमानका घर भित्र र बढिमा नातागोतासम्म फैलने चरित्र हुन्छ यो गन्धको । विशेष गरेर भाउजू ट्रेड मार्क पाएको यो गन्धले दाजु,बा, काका काकिको पनि प्रतिनिधित्व गर्छ ।
अर्को भटमासे गन्ध- साउन भदौमा भटमासका कोशा अलि अलि पाक्ने गरी उसिनेर खाएपछि अपानवायुको जस्तै स्वरूप भएको यो गन्ध मौसमी हुन्छ । यो सरकारी कुर्सीमा ढलिमली गरेर विराजमान भएको हुन्छ । ढोकाबाट सेवाग्राही छिर्ने बित्तिकै गोजि भित्र चहार्ने चरित्र भएको यो गन्ध कहिलेकाहीँ उडुस, उपियाँ, लामखुट्टेको खान्की बन्न जेल भित्र पनि छिर्दै गर्छ ।
यस्ता खाले गन्ध हटाउन अपराध अनुसन्धान, अख्तियार दुरुपयोग, अड्डा अदालत र केही नेता नेती नामका अत्तरका ब्राण्डहरू छन् तर तिनीहरूको काखीमुनिको गन्ध यस्तरी चल्छ कि वैशाख जेठमा तराइमा चल्ने लु जस्तो । तपाईं हामी छेउछाउ गयो भने खुत्रुक्कै भुतुक्कै पार्छ । किनभने यस्मा माथिका गन्धहरूका ठिमाहा सन्तान बसेका हुन्छन् ।
यी कोटीका गन्धहरूको विकास कसरी हुन्छ भनेँ- कुहिनु मिसिनु भन्दा पहिले म जस्तो वासनादार कोही छैन यो नेपाल मण्डलभरि भन्दै कुर्लन्छन् सगरमाथादेखि केचनासम्म । साँच्चैको वासनादार आउने भो भन्ने भान पारेर कुहिने थुप्रोमा मिसिन पुग्छन् । मानौ बोरामा कुहिएका धेरै आलुमा एउटा सग्लो आलु मिसिन गयो वा ढलमा मिसिन गयो । अनि त्यो वास्ना कुहिन गन्हाउन थाल्छ र ढले गन्धमा परिणत भइहाल्छ ।
गन्ध हटाउने उपाय पनि छन् तर काखीमुनिको रौँमा चुम जुम्रा जस्ता टाँसिएर बसेका हुनाले तपाईं हामी जस्ता बुकि फुलेहरूको दाल गल्दैन भने उनीहरूको मकैको भात डढ्दैन । यसो चोकमा निस्किएर कुरा कोट्याइ हेर्नुस त युट्युबे, टेलिभिजन, समाचार पत्र रेडियो आदिहरू छिचिमिरा जस्ता निस्किन्छन् र माइकको फुँदो सोझ्याइ हाल्छन् । अनि त के चाहियो र ? कि त तपाईं पनि त्यही गन्धे ढलमा मिसिन पुग्नु हुन्छ कि त साउन भदौको जुको कात्तिकमा हराए जस्तो हराउनु हुन्छ कि त कुहिएको फर्सीमा लात्ती बजारे जस्तो बनाइदिन्छन् ।
त्यसैले यसबाट मुक्ति पाउन सबैले आआफ्नु काखी सफा गरौँ ! गन्ध हटाउँ । चुवाको फुलजस्तो वासनादार हुन त कस्लाइ पो मन छैन होला र ? यो गन्धे लेखोटले कत्तिको नाक टालिन्छ हेर्दै जाउँ ।
जदौ !!!
०००
मैतीदेवी, काठमाडौं
Subscribe
Login
0 Comments
Oldest







































