मनीषकुमार शर्मा ‘समित’खोट
उनीहरूले लगाएको जस्तो खोट त देखेन तर आफूले अरुलाई लगाएको खोट उसको मस्तिष्कमा फनफनी घुमिरह्यो ।

मनीषकुमार शर्मा :
“हैन अब के कुरामा चित्त बुझेन तेरो ?”
बेलुका घरभित्र छिर्न नपाउँदै आमाले झर्कदै सोधिन् । उसले केही जवाफ दिएन । चुपचाप आफ्नो कोठातिर लम्कियो ।
“एक दर्जन पुगिसक्यो । बुढौतिमा लौरो टेकेर जग्गेमा बस्ने विचार छ कि के हो ?” उसले जवाफ नफर्काएकोमा आमा झन् मुर्मुरिन थालिन् ।
“गत्त न पत्तको देखाउँछन्, मनले पनि खानु पर्यो नि ?” ऊ पनि भुतभुताउँदै कोठाभित्र छिर्यो । लुगा पनि नफेरी ओछ्यानमा पल्टियो ।
उसको सामु दुई नारीआकृति थिए । सधैँ ऊ हेर्न धाउँथ्यो, आज उसलाई हेर्न आएका थिए । केही समय निहारे पछि एउटीले साउती गरी-
“आँखा त बदामे देखिन्छ ।”
“कहाँ हुनु अलि टेडो छ ।” अर्कीको जवाफ आयो
“हाँस्दा त सेता दन्तलहर देखिँदा रहेछन् ।” – पहिलो नारी
“खै तिमीले तिमीले के देख्यौ । मैले त खारायो दाँते देखेँ ।” दोस्रो नारी
“उचाई अलि बढी हो कि ?” पहिलो नारी
“त्यसैले त मार खायो नि । एउटा बाँस जस्तो अर्को निगालो जस्तो । हाम्री कान्छीलाई जोडा पटक्कै मिल्दैन ।” – दोस्रो नारी
“नमिल्ने भए कुरालाई बिट मारौ न त । किन समय खेर फाल्ने ।” – पहिलो नारी
उनीहरू उठेर गए । उनीहरूको कुराले उसलाई चिटचिट पसिना आयो ।
‘हैट ! बिहानीपखको सपना सत्य हुन्छ भन्छन कतै…’ पसिनाले लथपथ अनुहार पुछ्दै हत्त न पत्त उठेर पहिला ऐना हेर्न पुग्यो । उनीहरूले लगाएको जस्तो खोट त देखेन तर आफूले अरुलाई लगाएको खोट उसको मस्तिष्कमा फनफनी घुमिरह्यो ।
०००
भक्तपुर
Subscribe
Login
0 Comments
Oldest






































