शिवप्रसाद जैशीअक्षरको खेती
अक्षरको खेती नयाँ परिवेशबाट सिर्जना हुन्छ । आँधी, बेहरी, तुफान ल्याउँछ । मति बिग्रेकाहरूको थाप्लोमा बज्र प्रहार गर्छ । कसिङ्गरलाई बढार्छ । सफा मौसम निर्माण गर्छ ।

शिवप्रसाद जैँसी :
लिखित रूपमा मानिसका भावना, विचार, सिद्धान्त र काम गर्ने तरीकालाई सम्प्रेषण गर्ने औपचारिक माध्यमको रूपमा अक्षरहरूको आविष्कार पाँचहजार वर्ष भन्दा पहिले भएको मानिन्छ । अक्षरहरूको विकास भएदेखि आजको २१ औं शताब्दीसम्म आइपुग्दा अक्षरको खेती राम्रो फष्टायो भन्न सकिन्छ । अक्षरहरू उनेको मालाले शब्द बन्यो । शब्दहरूको मालाले वाक्य बन्नेनै भयो । अक्षर, शब्द र वाक्यको मिलन र सम्मिलनले अर्थ दियो । यही अर्थ भावना, विचार, सिद्धान्त र सूचना बन्न पुग्यो । अक्षरहरूको माला गाँसेर बन्ने शब्द र वाक्यले नै विभिन्न कालखण्डमा समाजलाई डोर्याउने काम मात्र गरेन उथलपुथल पनि गरेका थुप्रै इतिहासहरू साक्षी छन् । तसर्थ आधुनिक युगको लेखनमा अक्षर निर्वाध रूपमा देखा परेको शक्तिको प्राथमिक श्रोत हो भन्दा अत्युक्ति नहोला ।
अक्षरको खेतीले नै आधुनिक युगलाई डोर्याउँछ, घोर्क्याउँछ र ठेगान लाउँछ । उचाल्छ र पछार्छ । नयाँ युगलाई जन्म दिन्छ । पुरानोको सङ्ग्रहालय बनाउँछ । ग्रहण गर्छ । पुस्तान्तरण गर्छ । मान, सम्मान र पद पदवी सबैको श्रोत मान्न सकिएला अक्षरको खेतीलाई । मानव इतिहासमा अक्षर नहुँदा पनि चित्र, मूर्ति वा संकेतको माध्यमबाट मानिसले युगलाई जीवित त राखेका थिए नै । तर पनि अक्षरको उत्पति भइसकेपछि भने मानव विकास र इतिहासलाई सुरक्षित र संरक्षित राख्नमा ठुलो योगदान भएको कुरालाई लुकाउन मिल्दैन ।
मानिसलाई दासत्वबाट उम्काउन अक्षहरूको खेतीले खलेको भूमिकालाई कम आँक्न मिल्दैन । दासत्वका जञ्जीरबाट मानिसलाई फुत्काउने काममात्र अक्षरको खेतीले गरेन बल्कि संसारका क्रुर तानाशाहहरूका तानाशाही शासनका जरा हल्लाउने, उप्काउने, मिल्काउने र तानाशाहहरूलाई सङ्ग्राहलयमा थन्क्याउने काममा पनि अक्षरको खेतीकै ठुलो भूमिका छ । अक्षरको खेतीले तानाशाहहरूलाई सङ्ग्राहलयमा मात्र राखेन बरू समान्य जनताका छोराछोरीहरूलाई शासनमा आसीन गराउने काम पनि अक्षरकै खेतीको हो ।
मानिसमा अन्यायका विरुद्ध न्यायका लागि रगत उमाल्ने, विद्रोहको राँको सल्काउने, बन्दुक उचाल्ने, बारुद ओकल्न सक्ने वर्गको आपूर्ति गर्नेसम्मको काममा अक्षरको खेतीले अदाह गरेको भूमिका घाम जस्तै छर्लङ्ग छ । युगलाई पल्टाउने र नयाँ युग निर्माणमा जति तागत अक्षरको खेतीमा छ त्यो दुनियाँका कुनै पनि शक्ति र साधनसँग छ जस्तो लाग्दैन । हतियार, आणविक भट्टी, अत्याधुनिक प्रविधिको विकासको र विस्तार गरी विश्वव्यापीकरण गरी भूमण्डलमा सञ्चार गर्ने प्रथम श्रेय अक्षरको खेतीलाई नै जान्छ ।
अक्षरको खेतीले मानव जीवनमा सुखसयलको वातावरण सिर्जना गरेको छ । यो क्रम निरन्तर जारी छ । मानिसको जीवन पद्धती सुधार्नका लागि नयाँनयाँ मेशिन औजार लगायतका थुप्रै सोफेष्टिकेटेड सामानहरूको आविष्कार र नव प्रवर्तनले मानिसलाई सरल जीवन यापनका लागि महत्वपूर्ण योगदान गरेको पाइन्छ । शान्ति र सद्भावका लागि अक्षरको खेतीको योगदान अतुलनीय छ । मानिस मानिसको विभेदको दूरीलाई कम गर्न र निमिट्यान्न पार्न पनि यो अक्षरको खेती बडो गजबले अविरल ढंगले हिमनदी झैँ बगिरेहेको छ निरन्तर ।
अक्षरको खेती गर्ने मानिसको बुद्धि विवेकमा अक्षरको खेतीको सफलता भर पर्ने गर्छ । मानिसले आफ्नो स्वविवेकीय मनले गर्ने खेतीले समाजलाई अग्रगतितिर लग्यो, लैजान्छ, र लिनेछ । जब मानिसले आफ्नो विवेकलाई स्वार्थरक्षाका लागि धरौटी राखेर अक्षरको खेती गर्न थाल्छ अनि भने यो विषाक्त भएर समाजमा देखा पर्छ । विषाक्त अक्षरको खेतीले विनाश निम्त्याउँछ । समाजमा सामाजिक भूइँचालो ल्याउँछ । सामाजिक भूइँचालो प्राकृतिक भूइँचालो भन्दा कैयौँ गुणा बढी खतरनाक हुन्छ । सामाजिक प्रकोपको बढाउँन नराम्ररी लाग्छ । समाजलाई भूमरीमा फसाइ दिन्छ । उल्टो बुद्धितिर लैजान्छ । समाज अधोगतितिर मात्र लग्दैन सम्पूर्ण समाजलाई बन्धक बनाइ दिन्छ । धरौटीमा राखिदिन्छ र जाम गरीदिन्छ । प्रगतिको बाधक बन्छ । सहिष्णुतामा खलल पुर्याउँछ । द्वन्द्व निम्त्याउँछ । युद्धतिर धकेल्छ ।
खेतीको अवस्था खेतालामा निर्भर हुन्छ । हली बनेर गरिने अक्षरको खेतीमा प्रायोजित सूचानाहरू सम्प्रेषण हुन्छन् । सिद्धान्तहरूमा खिया लगाउन अक्षरको खेती प्रयोग हुन्छ । विचारको दाहसंस्कार गर्न अक्षरहरू रोपिन्छन् । शब्दहरू उम्रिन्छन् र वाक्यहरू हुर्किन्छन् । समग्रमा खेती विषाक्त हुन्छ । अक्षरको खेतीको विष समाजमा फैलिन्छ आगोको झिल्को झैँ माथिमाथि पुग्छ । जराको आगो टुप्पोमा पुगेको पत्तै हुँदैन । बलको युद्ध जस्तो अक्षरको खेतीबाट गरिने युद्ध सोझो रेखामा हिँड्दैन । सामान्य मानिसले यो अक्षरको खेती मार्फत गरिने र गराइने युद्ध बुझ्दैनन् ।
घरदेखि देश चलाउनेहरूको मगज हलिया खेतालाहरूले गरेको अक्षरको खेतीले विस्तारै दुषित बनाउँछ, बिगार्छ र बौलाहा बनाउँछ । अद्भूत शक्ति प्राप्त भएको भ्रममा पारेर मति भ्रष्ट भएको पत्तै पाउदैनन् । अक्षरकै खेतीको माध्यबाट नियम कानुन भित्र घुस्छन् । सिद्धान्त चुस्छन् । विचार चबाउँछन् । भावनाहरू जलाउँछन् । कानूनका ठेली बदल्छन् । बदलिन्छन् । कानूनद्वारा शासन शुरु हुन्छ । कानूनको शासनको मृत्यु हुन्छ । जित भएको महसुस गर्छन् । रसातलमा छिरेको पत्तै पाउँदैनन् । भ्रममा परेर सास फेर्छन् । सासको अवसान भएको भेउ पाउँदैनन् पाउनु पर्नेहरू ।
लिलाममा राखिएका, किनिएका, पालिएका, पालेर हुर्काइएका अक्षरका खेतीका खेतालाहरू अब्बल देखिन्छन् । हेडलाईनहरू बन्छन् । डाको उँचो हुन्छ । स्वर सुनिन्छ । नारा लेखिन्छन्, लाग्छन् र घन्किन्छन् । भिड जम्मा हुन्छ । बथान बढ्दै जान्छ । भिड भुँडीले बढाउँछ । भुँडी ठुलो हुँदै जान्छ । भुँडी नभरिने हुन्छ । भर्नलाई धेरै चाहिन्छ । धेरै पाउन खेती बढाउनु पर्छ । खेती फस्टाउँदै जान्छ । साहित्य रचाइन्छ । लेख लेखाइन्छ । सिर्जना गराइन्छ । शासक कहाँ पुर्यानइन्छ । शासकका समीपमा सजिलै हाजिर हुन सक्छन् । जुनाफमा अक्षरको खेती टक्रयाउँछन् । पाउमा बिसाउँछन्। लालित्य लगाउँछन् । अक्षरकै तेलले मालिस गर्छन् । अन्तस्करणमा घुस्छन् । हृदय बदल्छन् । नसालाई उत्तजित पार्छन् । किड्नी, कलेजो, फोक्सो र मुटुमा बास जमाएर दन्त झल्काउँछन्, आँखा टल्काउँछन्, कणर्प्रिय बनाउँछन् आश भर्छन् र तत् तत् अङ्गको फसलको जिम्मा अक्षरका खेतीले लिन्छन् । अङ्ग प्रतिस्थापन प्रतियोगिता चलाउँछन् । अक्षरको खेती मार्फत मस्तिष्क घात गराएर लासमा परिणत गर्छन् । देहावसान भएको अत्तोपत्तो कहाँ हुन्छ र ?
विवेकशील कलमजीवी अक्षरका किसानहरू ओझेलमा पर्छन् । डाको सानो हुन्छ । अक्षरहरू मधुरा हुन्छन् । ओजन घट्छ। लम्बाइ घट्छ । चौडाइ साँगुरिन्छ । पहुँचमा पर्खाल खडा हुन्छ । काँडाको साङ्लेतार लाग्छ । दैलो उघ्रिदैन । गेटपास पाइँदैन । शासकका सामु पुग्न कठिन हुन्छ । आकार घट्छ । सङ्ख्यामा पहिरो जान्छ । अल्पमतमा पर्छन् । अल्पमतले गणतन्त्र चल्दैन । गणतन्त्र बहुमतले चल्छ, चलाउनु पर्छ । खेताले बहुमत बलियो हुन्छ । अल्पमतको हुर्मत लिन्छ । अल्पमतलाई कच्याककुचुक पारिन्छ ।
अक्षरको खेती बाङ्गोटिङ्गोतिरबाट चल्छ । चलाइन्छ । जिउँदोलाई मारिन्छ । मारिएकोलाई जिउदो फर्काइन्छ । भएको हुँदैन । नभएको हुन्छ । खालि भरिन्छ । भरिएको रित्तिन्छ । चोरलाई चौतारोमा बसाइन्छ र साधुलाई सुलिमा चढाइन्छ ।
झल्याँस्स ब्युझिँदा समयको गति तीव्र रूपमा अघि बढी सकेको हुन्छ । पछाडि हेर्दा न भिड, न सहयोगी, न त खेतालाहरू नै । खेतालाहरूले अर्को दाता खोजिसकेका हुन्छन् र अक्षरहरूको खेती पनि बदलिसकेका हुन्छन् । खेतालाहरूले ज्यालामा काम गर्ने हुँदा जता ज्याला धेरै उतैको सिद्धान्त प्रतिपादन, विचार निर्माण र सूचनाहरू सम्प्रेषण गर्नुलाई अन्यथा मान्दैनन् । “जता पाके भातका ताउला उतै पुगे लालु शाही” भने जस्तो नुनको पैँचो गुनले तिर्छन् अक्षरको माला उनेर खेतीपाती गरेर । अक्षरको खेती पूर्णत: भ्रष्टीकरणमा प्रवेश गर्छ । गिदी बिग्रिन्छ । मति भ्रष्ट हुन्छ । गति उल्टो दिशाबाट घुम्न थाल्छ ।
अक्षरको खेती नयाँ परिवेशबाट सिर्जना हुन्छ । आँधी, बेहरी, तुफान ल्याउँछ । मति बिग्रेकाहरूको थाप्लोमा बज्र प्रहार गर्छ । कसिङ्गरलाई बढार्छ । सफा मौसम निर्माण गर्छ । फेरि नयाँ युग सुहाउँदो अरुणोदयको अवस्था सिर्जना गर्छ । अक्षरको खेती उतार चढावबाट गुज्रेर निरन्तर अघि बढ्छ । बढि रहनु पर्छ ।
०००
काठमाडौं
Subscribe
Login
0 Comments
Oldest






































