साइबर अपराध सम्बन्धी सचेतना सामग्री

दारी

हत्या, बलात्कार, चोरी, डकैती, भ्रष्टाचार, व्यभिचार सब यही दारीले छोपिएका हुन्छन् । गाउँमा दुनियाँका स्वास्नी र छोरीहरू हुर्काएर फरार भएको मान्छे दुईचार वर्षपछि दारी पालेर महात्माको रुप धारण गरी प्रकट हुन्छ ।

Nepal Telecom ad

विनोद खनाल :

चिउँडा र गालामा जवानीको सूचना दिँदै पलाउने रौंलाई दारी भनिन्छ । यसलाई दारी चैँ किन भनिएको होला ! न यसले दार्छ न चिथोर्छ ! यो प्रश्न भाषा विशेषज्ञहरूलाई नै छोडेर म चैँ लाग्छु दारीको चर्चातिर । एउटा शीर्षक राखेर अर्कोतिर कुरा कथुर्दा त अहिलेका कविका कविता वा विद्यार्थीले प्रश्न नै नपढी दिएको उत्तर जस्तो भइ हाल्ला नि ! हुन चैँ मलाई यो दारीको रहर आमाको सारीबाट छुटकारा पाएर बाबुका काखमा बसेर फुलेका दारी मुसारेदेखिकै हो । मेरा चिल्ला र कलिला गालाका छालामा बुवाले खस्रा दारी दलिदिँदा मलाई आनन्द र ईर्ष्या उत्तिकै लाग्थ्यो । अझ रेजरमा बिलेट हालेर बाले गालामा कुदाउँदा मलाई पनि त्यसै गर्ने रहर भित्रैबाट उर्लिएर आउँथ्यो, मतदातालाई नेता बन्ने रहर जस्तै । बेला मौकामा सकिएका बिलेडलाई भाटामा सिउरिएर आफ्ना गालामा कुदाउने हुँदा रड्किएर दुईचार पटक गाला नतछारिएको पनि होइन तर मैले भने त्यसो गर्न भने छोडिनँ, रक्स्याहाले जतिपल्ट नालीमा लडे पनि रक्सी नछोडे जस्तै । अब तपाईं नै भन्नुहोस्त त म कति दारीप्रिय रहेँछु ।

हुन त सबै मान्छेले दारीलाई त्यति महत्त्व दिदैनन् । अझ आइमाईहरू त अलिक लामु दारी देखे कि मरिहाल्छन् डरले । अनि लोग्नेमान्छेहरू पनि आइमाईसँग नजिक हुन दारी काटेर आफ्नु गाला पनि उनीहरूकै जस्तो पार्न खोज्छन् । तर मैले चैँ दारी फाल्नुमा भन्दा पाल्नुमै बढी महत्त्व देखेको छु । दारीलाई मैले निकै गतिलो चीज मानेको छु । नमान्नु पनि कसरी र ! हाम्रो धर्म, संस्कृति, पुराण, इतिहास सब दारीकै उपज त हुन् । वेदव्यास, वाल्मीकि, वशिष्ठ, विश्वामित्र, भीष्मपितामह, युधिष्ठिर लगायत अठासी हजार ऋषिमुनिहरू कस्का थिएनन् र दारी ! यिनै दारीबाट त धर्म र पुराणको विकास भएको हो । यसैरी नै अमरसिंह थापा, भक्तिथापा, जङ्ग बहादुर, रण बहादुर शाह सबैका तस्विरमा हेर्‍यौँ भने निकै लामा दारी देख्छौँ । त्यसैले हाम्रो इतिहास पनि दारीभित्रै गुजुल्टी परेको छ भन्नुमा बढी नहोला।यसबाहेक विश्व क्षेत्रमा पनि दारीको नै ज्यादा प्रभाव परेको पाइन्छ । मार्क्स, मुसोलिनी, लेलिन, आइन्सटाइन्, टाल्सटाय, भिन्ची, डार्विन, रवीन्द्रनाथ, विनोवा भावे जस्ता विश्व पुरुषहरूका दारीले नै संसार हाँकिरहेको छ भन्दा के पो फरक पर्ला र ! नेपालमा पनि हेर्नुहोस् न कवि, नेता, अभिनेता, पत्रकार, अलपत्रकार, ड्राइभर, मास्टर, सुचिकार, कुचिकार सबैका गालामा दारी नै दारी छ । त्यसकारण दारी एउटा विशेषता हो समाजको, देशको र विश्वको पनि । दारी एउटा चिन्ह हो समयको ।

दारीलाई यति फुर्क्याएकोमा दारी नहुनेलाई चित्त दुख्ला कि ! तर चित्त दुखे पनि दुखोस् ! यहाँ कसले कसको चित्त बुझाएर साध्य छ र ! न बाबुआमाको चित्त छोराछोरीले बुझाएर सक्छन् न छोराछोरीको चित्त बाबुआमाले बुझाएर सक्छन् न शिक्षकले विद्यार्थी र अभिभावकको चित्त बुझाउन सक्छन् न शिक्षकको चित्त समिति र सरकारले बुझाउन सक्छ ! न व्यापारीले ग्राहकको चित्त बुझाउन सक्छन् न ग्राहकले व्यापारीको ! यो चित्त बुझाउने भन्ने कुरा नै अप्ठ्यारो क्या ! न लोग्नेले स्वास्नीको चित्त बुझाउन सक्छन् न स्वास्स्नीले लोग्नेको चित्त बुझाउन सक्छन् ! अनि सुरु हुन्छ “डिभोर्सवाद !” यहाँ देश र जनताका बारेमा चित्त नबुझाएर आफ्नै कार्यकर्ता र आफन्तको चित्त बुझाउने काममा तल्लिन देखिन्छन् देशका नेताहरू भने अरुको त कुरै छोडौँ न । लौ कुरो पनि कतातिर बटारिएछ, आधुनिक कविको कविता जस्तै । दारी नहुनेले रिसाउने कामै छैन नि ! उनीहरूकै सेबिङ खर्च सेभ हुन्छ । एक दिनमा दस मिनेट समय र क्रिम, लोसन, ब्लेड गर्दा औसत बीस रुपैयाँ खर्च हुँदा एक महिनामा कति खर्च हुन्छ र वर्षमा कति समय र कति पैसा खर्च हुन्छ त ! कुनै अर्थशास्त्री र योजनाविद्ले यस्ता कुरा पाउनु हो भने बकम्फुसे नेतालाई भाषण पुग्ने एउटा मसला भइहाल्थ्यो । धन्न यति गहिराइसम्म पुग्ने योजनाविद् र नेता चैँ नेपालमा जन्मिएका रहेनछन् र मात्र ! उनीहरूलाई पनि दारीमा क्रिम दल्दै सेबिङ गर्दैमा फुर्सद छैन होला ! फेरि उनीहरूलाई दारीका कुराले भन्दा सारीका कुराले दिमाग खाएका होलान् !

तपाईंलाई कस्तो लाग्छ को नि ! मेरो दृष्टिकोणमा चैँ दारी कच्चा पदार्थ हो व्यापार वा उद्योगको । यही दारीका माध्यमबाट हजारौँ हिन्दुस्थानीहरूको पेट भरिएको छ । यही दारीका लागि विश्वका विभिन्न कम्पनीहरूले ब्लेड, सेबिङ क्रिम, लोसन जस्ता सामग्रीहरू बनाएर अरबौँ कमाए । यही दारीका कारण कतिले रोजगार पाए, कतिले विज्ञापन पाए, कतिले कमिसन खाए । यति हुँदा हुँदै पनि दारीको महत्त्व नबुझ्नु त आजका शिक्षित युवाले राष्ट्रियता नबुझे जस्तै लाग्छ मलाई त ! म यो देशको प्रधानमन्त्री हुनु हो भने दारीवालाका लागि एउटा मन्त्रालय खोलिदिएर मन्त्री, सहायकमन्त्री, सचिव, सहसचिव हुँदै प्रदेशपालिका वार्ड र टोल स्तरसम्मै दारी सङ्गठन बनाइदिन्थेँ ! अनि कतिले तलवभत्ता र कमिसन पाउँथे होलान्, विचार गर्नुहोस्त !

साँच्चै भन्ने हो भने लोग्नेमान्छेको चिनारी नै दारी हो । हुन त आजकल कति केटीहरू पनि पेन्ट सर्ट लाएर केटा बनिने रहर गर्छन् तर टाढाबाट हेर्दा नचिए पनि छेउमा आउँदा थाहा भइहाल्छ, गाला त चिल्लै । वास्तवमा भन्नुपर्दा लोग्नेमान्छेको चिनारी दारी र आइमाईको चिनारी सारी नै हो । दारी र सारी जसरी चिनारीका चिन्ह हुन्, त्यसरी नै समस्या पनि हुन् । यसो अड्डा अदालत, सभा समारोह, हाटबजार जाने बेला भयो दारी झुसुक्क भइरहेको हुन्छ अनि हतार हतार गरेर गाला पिल्स्याँदै भए पनि काट्नै पर्‍यो । त्यस्तै आइमाईहरू पनि कतै जाने बेलामा सारी बेर्न नै लाइदिन्छन् तीन घण्टा । हुन त आजकल स्वात्त म्याक्सी लाएर फुत्त ट्याक्सी चड्नेहरूको सङ्ख्या पनि दिन दुगुना, रात चौगुना बढेका भट्टी पसल जत्तिकै बढेको छ भने बुढी आइमाईले पनि कुर्ता लाएर सभा समारोह सब भ्याएर बेलुका घुर्ता हुनेको सङ्ख्या पनि देशमा बढ्दै गएको बेरोजगारको सङ्ख्या जत्तिकै बढेको छ । तर त्यति हुँदाहुँदै पनि सारीको भाउ भने गाउँका ठुटे नेताको भाउ बढे जत्तिकै बढिरहेको छ । फेरि आइमाईलाई सारी र लोग्नेमान्छेलाई स्वास्नी जति भए पनि पुग्दैन, लाउनु चैँ परेन किनेर थुपारेको छ थुपारेको छ । हुन त तीनचार वर्षसम्म एउटै सारी हल्लाउन थाल्यो भने त विश्वका आधा सारी कम्पनीहरू बन्द भइहाल्लान नि ! अहिले त एक महिनासम्म चल्ने तीजमा दिनैपिच्छे सारी फेरेर दर खान जाने चलनले पनि सारी कम्पनीहरूलाई सहयोग पुगेको छ । अहिले देशको जनसङ्ख्यामा आधाभन्दा बढी सारी लाउनेकै सङ्ख्या भए पनि सुरुवाल लाउनेहरूले एक तिहाइमै सिसित राखेका छन् । अरु कुरामा आन्दोलन गर्न भ्याउने आधाशक्ति महिलाले आधा भाग लिन किन नसकेका होलान् ?

यसरी हेर्दा अहिले दारीको भन्दा सारीकै सङ्ख्यामा अत्यधिक वृद्धि भएको पाइन्छ । यस कुरामा शोध अनुसन्धान गर्दा जड कुरो चैँ परिवार नियोजन नै भेटियो । सारी लाउनेको सङ्ख्यामा अत्यधिक वृद्धि भएकै कारण अहिको युगलाई सारीवादको युग भनिएको होला ! तपाईंलाई कसैबाट काम पटाउनु छ भने उसकी श्रीमतीलाई कोसेली टक्रयाउनु होस् र ढुक्क हुनुहोस् अब तपाईंको काम भयो भनेर । सारीका छेउमा दारीको केही लाग्दैन भन्ने कुराको प्रमाण राजा दशरथ र द्रौपदीको सारी तान्दा तान्दा हैरान भएर भागेको दुशासनको कथाबाटै थाहा हुन्छ । यसै गरी हाम्रा देशका राजा महाराजले महारानीका कुरा हार्न नसकेका कुरा पनि त इतिहासमा पढेकै छौँ । दारी नहुनेले कत्ती घमण्ड नगरे पनि हुन्छ, जस्तै ठुला दार्शनिक, कवि, पत्रकार, नेता, अभिनेता, वैज्ञानिक, न्यायधिश सबै सारीकै थाङ्नामा त हुर्किएका हुन् । यसकारण दारी ठूलो कि सारी ? यो प्रश्नको टुङ्गो तपाईं नै लगाउनु होला ।

आजको जमानामा दारी पाल्ने सोख कस्लाई नहोला र ! गाउँका ठुटे नेतादेखि देशका भँडुँवा नेतासम्म, झोली थापेर हिँड्ने मगन्तेदेखि एक करोड आठ महाराजसम्म, स्कुलका शिक्षकदेखि युनिभर्सिटीका प्राध्यापकसम्म, दुईचार गजल लेखेर साहित्यकार भनाउनेदेखि लिएर ठुलाठुला पुस्तक लेख्नेसम्म, पत्रकारदेखि कुचिकारसम्म फिलिमका नायक खलनायकदेखि चिलिमका गायकसम्म सबैलाई दारी पाल्ने सोख हुन्छ । कहाँ यति मात्र हो र ! साहूजी, बाबुजी, ड्राइभर, लेबर सबैले दारी पालेकै हुन्छन् । दारी फाल्नभन्दा पाल्न सजिलो छ, यसलाई न दानापानी दिनुपर्छ न घाँसखोले न बाँध्नेको झन्झट, नछोप्नेको पिरोलो । यसै भएर होला आजकल गाई, भैँसी, बाख्रा, कुखुरा पाल्नेको भन्दा दारी पाल्नेको सङ्ख्या रिन खाएर नतिर्ने आसामीको जत्तिकै बडेको छ । गाई, बाख्रा र कुखुरा त आजकल कागजमा मात्र पाल्छन् मान्छेहरू । दारीवालाको सङ्ख्या बढ्नुको एउटा कारण हो, बैङ्कबाट लोन लिएर व्यवसाय गर्‍यो घरबारी नै लिलाममा उठेपछि दारी काट्न मन लाग्छ र ! अर्को कारण हो घोप्टे युग, घोप्टिँदा घोप्टिँदा मान्छेलाई फुर्सद नै छैन दारी काट्न ! दारी काट्ने समयमा त यसो एउटा स्ट्याटस लेख्यो वा कमेन्ट गर्‍यो भने संसारभरि त पुग्छ । त्यसकारण आजको युगलाई दारी युग भने के फरक पर्ला र ! दारी पालेर दार्शनिक बन्न खोज्ने र फेसन फेरेर हिरो हिरोइन हुन खोज्नेहरू “एकै ड्याङ्कका मूला” हुन् भन्दा के पो फरक पर्ला र !

दारीकै बारेमा बयान गर्न थाल्नु हो भने एउटा दारी पुराण वा दारी महात्म्य मै बन्ला ! सबैभन्दा ठूलो पुराण नै बन्ने कुरामा कसैको शङ्कै छैन । किनभने ऋषिमुनिहरूको दारी, राजामहाराजाहरूको दारी, नेताहरूको दारी, सन्त महन्तको दारी, मगन्तको दारीदेखि अगडम् बगडमसम्मको दारीको बारेमा लेख्दा सबैभन्दा ठूलो पुराण नहोला त ! तर यहाँ त दारीको सामान्य परिचय दिन मात्र खोजिएको हो । सबैभन्दा सजिलो काम दारी पाल्नु हो भनेर कति पटक दोहोर्‍याउनु नेताले भाषण दोहोर्‍याए जस्तै ! दारी पुरै काट्न भ्याउनु भएन, साह्रै दुख्यो मुखलाई घेरेर छोडिदिनुहोस्, लेलिनकट ! पक्का मार्क्सवादी नेता ! पचासौँ बिघा र तीनतले पक्की घरको मालिक भए पनि तपाईं सर्वहाराको नेता ! यो दारीभित्र के के छलिएको हुन्छ के के भनेर साध्यै छैन । हत्या, बलात्कार, चोरी, डकैती, भ्रष्टाचार, व्यभिचार सब यही दारीले छोपिएका हुन्छन् । गाउँमा दुनियाँका स्वास्नी र छोरीहरू हुर्काएर फरार भएको मान्छे दुईचार वर्षपछि दारी पालेर महात्माको रुप धारण गरी प्रकट हुन्छ ।

लौ त यो जाबो दारीका बारेमा पनि पो निकै बखानियो त, नयाँ धामीले फलाके जत्तिकै ! दारी पाल्नेलाई निकै घोच्यो होला ! तर घोच्तैमा को डराउँछ र ! बरू लासले ऐया भन्ला तर नेपालका नेता, कर्मचारी, व्यापारी, शोषक, सामन्ती पण्डित, पुरेत कसैलाई दुख्ने होइन ! भानुभक्तका पालादेखि घोचेको घोचै छ, टेर्नेवाला कोही छैन । त्यसकारण तपाईं पनि दारी छोड्नुहोस् र मौका अनुसार जे बस्न्नुहोस् ! आजको माग नै यही हो । हवस्त दारी सम्मेलनमा भेट हौँला ! ओ के टाटा बाइ बाइ !!!

०००
धुलाबारी, झापा

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
पाँच ठोक्तक

पाँच ठोक्तक

विनाेद खनाल
बिर्सने बानी

बिर्सने बानी

विनाेद खनाल
हाउडी पुराण : एक संक्षिप्त चर्चा

हाउडी पुराण : एक...

विनाेद खनाल
जय बुढी

जय बुढी

विनाेद खनाल
गाईजात्रे सरकार !

गाईजात्रे सरकार !

विनाेद खनाल
सिको

सिको

दिप मंग्राती
खरी झरेको मादल

खरी झरेको मादल

चिरञ्जीवी दाहाल
कविजी

कविजी

डा. कपिल लामिछाने
गाई भैंसी पाल, घाँस नकाट

गाई भैंसी पाल, घाँस...

सुरेशकुमार भट्ट
परलोकवासी पिताको पत्र

परलोकवासी पिताको पत्र

गणेशप्रसाद लाठ
0
Would love your thoughts, please comment.x
()
x