चूडामणि रेग्मीगफ मात्रै गरिस् !
गोष्ठीले, भेलाले, सेमिनारले केही नभए झै फोस्रा गफले पनि देशमा केही हुन्न । गफले झुप्रा उक्सिन्नन्, भोका पेट भरिदैनन्, नाङ्गा तन ढाकिदैनन्, गरिवका रोग मासिदैनन् अनि गरिबी हट्ने वातावरण बन्दैन ।

चूडामणि रेग्मी :
पूर्वका मोतीराम भनेर चिनिनु भएका चूडामणि रेग्मी ‘युगज्ञान’ कालमा निकै रौसिएर हास्यव्यङ्ग्य्य लेख्नु हुन्थ्यो । ‘गजवाष्टक’ आठश्लोके व्यङ्ग्य्य कविताको सँग्रह र ‘गफडीका गफ’ त्यही कालखण्डका दसी हुन् । ‘युगज्ञान’ मा छापिने ‘गजवाष्टक’ वा ‘गफडीका गफ’, ‘मि. झप्पुसिं’, विवेचनामा छापिने ‘एैँसेलुको झाङमुनि’ जस्ता स्तम्भले पञ्चायतकालीन विद्रूपताको लेथ्नु काडेका थिए । मोराश -मि.झप्पुसिं डबल एम.ए.) नकुल काजी -सत्यवाद केशरी), व्यङ्ग्य्य ऋषि -चूडामणि रेग्मी), होम सुवेदी, अनिकाले ओझा, माधव भँडारीहरूले त्यो बेला उचालेको हास्यव्यङ्ग्य्यको झण्डा झापातिर अझै फरफराइरहेको छ । त्यसैले अहिले पनि कोमल पोखरेल, होम सुवेदी, चूडामणि वशिष्ठ, गङ्गाप्रसाद अधिकारी, विनोद खनाल हुँदै पछिल्लो पुस्ताका खगेन्द्र नेउपानेसमेत पङ्क्तिबद्ध भएर लेथ्नु काड्ने कार्यमा सरिक छन् । अघिल्लो पुस्ताका अगुवा चूडामणि रेग्मी अर्थात ‘व्यङ्ग्य्य ऋषि’का तात्कालीन व्यङ्ग्य्यको स्वाद नवपुस्तालार्ई दिने गरी ‘गफडीका गफ’बाट केही बान्की फित्कौलीले उठाउने सोच बनाएको छ । नकुल काजी लगायत नयाँ पुराना सबै झापाली हास्यव्यङ्ग्य्यकारहरूलार्ई फित्कौलीमा जोड्ने प्रयत्न जारी छ । – सम्पादक ।
गफ ! गफ ! गफ !
एउटा छात्रले गफमा भन्यो- ‘यत्तिका छनौटा शिक्षकलाई त म पढाइदिन्छु !’ गफडी पनि कनै बेला के भन्थ्यो भने यत्तिको ठाउँमा त सजिलैसँग माक्र्सको चाहे माक्र्सको, रुसोको चाहे रुसोको मनकामना पुर्याइदिन्छु । कुरो के भने ‘गफै मात्र गरिस्’ भनिन्छ, हो रहेछ, गफ गर्न सजिलो रहेछ । यही सजिलो भएकाले नै गफडीको सजिलैसँग गफडी नाउँ जुर्न गयो । गफ गर्न सजिलै कुरा रहेछ पनि ।
गान्धीले सजिलै (मरेर भए पनि) अहिंसाको कुरा गरे बुद्धले झै, यद्यपि अहिंसा नहुनु र सन्सार नरहनु एउटै कुरा हो । यता हाम्रा गालीमास्टरहरू सजिलै गोप्य रकम भोजनका भरमा) मान्छेलाई अवसरवादी भनी गाली गर्छन् । राजनीति कहिल्यै नगर्ने गुप्तचरी गुमस्ताहरू राजनीतिज्ञलाई गाली गर्छन् । हुन पनि गाली गर्ने शब्दका लागि शब्दकोष पल्टाउनै पर्दैन, इस्कुल, क्याम्पस गर्ने पर्दैन ।
अवसरवादी, दहीचिउरे, देशभाँडा, नकच्चरो जनविरोधी आदि पघितै गालीका शब्द पल्ट्याङपुल्टुङ पार्दै चलाएर जतिलाई गाली गरे पनि हुन्छ । लेखकलाई कला नजान्ने, शिक्षकलाई पढाउन नजान्ने, गायकलाई गाउन नजान्ने इत्यादि जे भने पनि हुन्छ । तर प्र.जि.अ. र अञ्चलाधीशलाई चाहिँ राष्ट्रसेवक नै भनेर फुर्क्याउनुपर्छ) एकापट्टि गालीमास्टरलाई गफ गर्न सजिलै छ भने अर्कापट्टि वेपिँधका लोटाहरूलाई चियापसलमा वसेर ‘निर्दल’ र ‘बहुदल’ भन्नु मिठाइ खाएजस्तै छ । भन्न र गफ हाँक्न जति सजिलो छ, व्यवहारमा निर्दलीय भई काम गर्न र बहुदलीय भई खुट्टा टेक्न कति पिना पेल्नुपर्छ- भुक्तभोगी नै जान्दछन् । गफडीको भनाइको मत्लव यहाँ कुरा गर्न र गफ गर्न सजिलो छ के बखामूँ !
गजब छ ! साह्रै गजब छ ।
यो देश ढाकर बोक्नेको हो तर यहाँ डलर तिरेर ल्याएको पेट्रोल हाली कार र हेलिकोप्टर चढिन्छ । यो देशमा गुन्द्रुक र भात खान साह्रै मुस्किल छ तर यहाँ गफ- गोष्ठी-भेला-सेमिनारमा भोज उडाइन्छ । यो देशमा ढिँडोरोटो बडो मुस्किलले मिल्छ- तर यहाँका कतिपय मान्छे सदा सोल्टीको मोज-मज्जामा निमग्न छन् । यो देश कस्तो छ भनी ऐनामा मुख हेर्ने कम छन् र तथाकथित पी.एचडी.हरू, अर्थशास्त्रीहरू सपनामा कुछन् ।
यहाँ कैयौँलाई झुप्रो छैन भने यहाँ कतिका नमुना घर छन्- जहाँको सानसौकात वेलायती ठाँटवाँटको छ । यहाँ कतिका थाप्लामा नाम्ला छन्, कतिका छातीमा चेस्टर झुन्डिन्छन् भने गलामा टाई झुन्डिन्छन् । देशका जनता दुई बिब्ल्याँटा बाटामा हिँड्छन् । ‘प्रजातन्त्र’ भन्ने ‘व्यक्तितन्त्र’ चाहन्छन् र हुने-खानेले एउटा जमघट सत्ता चाहन्छन् । जनता कहाँ छन् तर यहाँ जनताका कुरा हुन्छन् । राष्ट्र कहाँ र कुन स्थितिमा छ तर यहाँ राष्ट्रका कुरा हुन्छन् । देशभक्ति के हो ? तर यहाँ देशभक्तिका कुरा हुन्छन् । विचित्र छ हजुर ! विचित्र छ !
स्यालको हुइयाँ ! एक सुईमा सुई !
यहाँ जे कुरा पनि स्यालको हुइयाँ चल्छ । यहाँ हल्ला पनि खुव हुन्छ र हल्लामा कुद्ने चलन पनि खुव छ । जनताका कुरा गर्नेहरू जनताका समस्या हुँदैनन् । जनताका शोषक बटुली शोषणविरोधी कुरा गर्छन् । यहाँ फगत कुरा हुन्छन् । यहाँ फगत माइक घन्कन्छन् । यहाँ फगत हल्ला हुन्छ र यहाँ हल्लामा कुनेको स्यालको हुइयाँ चल्छ र यहाँ एक टक हेरी हिँड्नु हुँदैन । हल्ला चल्छ र बाफ रे बाफ रूप लिन्छ । यहाँ मुखका देशनिर्माण मात्र होइन, मुखका क्रान्ति पनि हुन्छन् र सङ्घर्ष पनि हुन्छन् । ‘एक सुई’ लाग्यो भने, परन्तुमा, स्यालको हुइयाँ हुन्छ । सुई । यस्तै छ यहाँ बहादुरी ! यहाँ केले आफ्नो नोक्सान हुन्छ, समाज पछि पर्छ र देश भासिन्छ भन्दा पनि व्यक्ति तथाकथित रूपमा उठ्न चाहन्छ-अस्तित्वका लागि व्यक्ति कुधिरहेको छ- व्यक्तिसत्ताका लागि व्यक्ति हुइयाँमा कुदिरहेको छ ।
पातमा पात ! बातमा बात !
गफडी पनि साँच्चैको गफडी हो । यो युगको मान्छे गफडी, पातमा पात हुँदा झैँ बातमा बात गर्दैछ, उसले पनि धेरै गफ गरिसक्यो तर उसबाट पनि ऊ जान्दछ, झिङ्गा मर्दैन । गफडी आफै भन्दछ । वास्तवमा, गफले केही हुन्न पनि । गफले कुरा हुन्छन्, कुराले कुराको विकास हुन्छ, समाजको विकास हुन्न । गोष्ठीले, भेलाले, सेमिनारले केही नभए झै फोस्रा गफले पनि देशमा केही हुन्न । गफले झुप्रा उक्सिन्नन्, भोका पेट भरिदैनन्, नाङ्गा तन ढाकिदैनन्, गरिवका रोग मासिदैनन् अनि गरिबी हट्ने वातावरण बन्दैन । यहाँ कुराभन्दा काम चाहियो भनेको धेरै भयो, हो गफ होइन, काम चाहियो ! लौ ! यो गफान्तमा कामको लागि आह्वान गर्दै आजको गफ यही तुर्छ । आजलाई नमस्कार । आगे फेरि ।
०००
युगज्ञान वर्ष ११, अङ्क ८, (२०३६)
‘गफडीका गफ’ (२०६३)








































मन छुने समीक्षात्मक प्रश्तुती !