साइबर अपराध सम्बन्धी सचेतना सामग्री

म र म भित्रको म

मुकुण्डो लगाएर उफ्रिने जो कोही लाखे हुँदैन । नाच्न जानेर मुकुण्डो नलगाई नाच्नेहरू पनि लाखे हुँदैनन् । देशमा बिना मुकुण्डो ताण्डव नाच देखाउने लाखेहरू धेरै छन् ।

Nepal Telecom ad

अशोककुमार सिवा :

२०२० साल श्रावण २६ गते शनिवार तदानुसार १० अगष्ट, १९६३ मा ताप्लेजुङमा जन्म भै मेरो बा बाठो भएर कति नै उनैले जन्माए झैँ गरी ऐ साल ऐ महिनाको २९ गते रजिष्टर्ड भएको मितिमा मेरो जन्म भएको हो । जन्मनु र जन्माउनु कुन गाह्रो काम होला ? हैट, जन्माउनु गाह्रो हो नि कस्तो जन्मनु गाह्रो भनेर सोचेको ? आमाले आफ्नो कोखमा ९ महिना राखेर जन्माउने बेला जीवन र मृत्युको दोसाँधमा बसेर जन्म दिन्छिन र मेरी आमाले पनि प्रकृतिको नियम पक्कै तोड्नु भएन होला । आमाले त्यत्रो दुःख सहेर जन्म दिएको मिति कसरी भुल्नुहुन्थ्यो । जान्ने भएर बाले ३ दिन पछि जन्म सारिदिनु भयो ।

जन्मेर आमाको काखमा करिब छ वर्ष एकछत्र राज गरियो होला । त्यसपछि बाले स्कूल राखिदिनु भयो । त्यसबेला स्कूल तोक्मे डाँडामा थियो । नजिकै सैनिक क्याम्प समेत थियो । स्कूल जाँदा हामी सेनाको परेड देख्ने गर्थ्यौ । सेनाको परेड हेरेर म लगायत केही साथीहरू सैनिक खेल खेल्ने गर्थ्यौ । बासको लौरोलाई बन्दुक बनाएर ठाङठाङ र ठुङठुङ पार्थ्यौ। अहिलेका सेनाले के त्यति पहरा लगाउँथे होला हामी रातभरि परालको माचमा घुस्रेर परहा लगाउँथ्यौ ।

बालसुलभ यसै पनि चकचके त्यसमा पनि म र म भित्रको उद्दण्ड म के मन मान्थ्यो र चकचक गरेको गर्‍यै हो । एकपल्ट छात्राबासको बरण्डा बाहिरबाट हेर्नु पर्‍यो दुनियाँ भनेर बार बाहिर मात्रै के के टेकेको थिए मेरो कान बटारियो कस्ले कान बटार्‍यो भनेर यसो हेरेको काजी श्रेष्ठ सरले कान तान्दै हुनुहुन्थ्यो । कान चुँडिएला भन्ने बाल सोचाईले म निकै डराएको थिए । अरु २/४ लौरो पनि भेटाईयो । लौरोले ठोकेको दुखाई सम्झेर भोलि पल्टबाट स्कूल नै नजाउँ कि जस्तो पनि लागेको हो तर बाआमाले के छोड्नु र घरबाट अर्को लौरो खाने डरले स्कूल कुँदियो ।

स्कूल २०२८ सालमा तल अम्बिटारमा सर्‍यो । हामी पनि बाध्य भएर सर्‍यौँ । स्कूल पुरानो भए पनि स्कूलघर हाम्रो लागि नयाँ थियो । नया बिल्डिङमा चकचक पनि उतिकै गरियो । पढाईमा म अब्बल नै थिए जस्तो चकचकमा थिएँ । चकचकेमा नाम दर्ज भएकै कारण एकदिन बेफ्वाँकमा फेरी गोदाई खाइयो । कारण के थियो त भन्दा म बरण्डामा बसिरहेको बेला केदार गुरुङ भाइ (जो म भन्दा जुनियर क्लासमा थिए) र अर्को को हो अहिले बिर्सिएँ झगडा गर्दै म नजिक आउँदै गर्दा बरण्डाको गमला झरेर फुट्यो । लत टिचरहरूको रुमबाट घटनाको पटाक्षेपित दृश्यावलोकन भैरहेको रहेछ । अफिसबाट मलाई बोलावट आयो म गए । गमला झारेको आरोपमा डिल्लीजङ्ग मादेन सरले बासको भाटाले चाक सेकिदिनु भयो । तातिएको चाक रातो भएछ । म दुखेर रिसले चुर भएको थिए । वास्तवमा त्यो गमला मेरो कारण झरेको थिएन तर मेरो केही जोड चलेन मसँग प्रमाण थिएन । मैले होइन सर भन्नु बाहेक कुनै उपाय थिएन । आँखाबाट तरतरी अुासु झार्नु बाहेक मैले केही गर्न सकिनँ । जाबो एउटा गमला झर्दा मैले त्यत्रो कुटाई खानुपर्‍यो । उनले रातबिरात झारेको गमला, फोडेको गमला कस्ले हिसाब गरे होलान र खै ?

म घोडचढीमा पनि निपूणर् थिए । हुन त घोडा चढ्नु सबैभन्दा उत्तम काम हो यहा चौबिसै घण्टा कसै न कसैले कसै न कसैलाई घोडा चढेकै हुन्छन । जनताको ढाडमा चडेर घोडा कुदाउने नेतादेखि दर्शकलाई घोडा चडेर रमाउने अभिनेतासम्म छन् देशमा । म पनि के कम, खेतबारीमा चरीचरणमा रहेको घोडालाई बासको घासको लोभमा पारेर जगरमा समातेर चडेर कुदाउँथेँ । उसो त हाम्रो देशमा घाँस नदेखाई कतै केही काम बन्दैन त्यसैले मैले पनि घोडा चढ्ने स्वार्थमा बासको घास देखाएर घोडा फकाउने गर्दथेँ । एकदिन शिक्षा कार्यालयको घोडालाई घाँस देखाएर चढ्न खोजेको मेरो कपालमा टोकेर मलाई जुरुक्क उचालेर मिल्काइदियो । म पो हु के टेर्थेँ उठेर जगरमा समाएर झुण्डिए । घोडा नजिकैको अर्काको गाईगोठ (जुन होचो थियो) भित्र छिर्‍यो । गोठको चित्राले मेरो छातीमा घोच्दै थियो । घोडाको जगर छोडौँ आफु लड्ने नछोडौ गोठ भत्किने । आफु लड्नु भन्दा गोठ भत्काउनु ठिक ठानेर दरो गरी बसे, गोठ लड्यो । गोठ घनीबाट सत्तोसरापको बाढी आयो । घोडा छोडेर भत्किएको गोठको खम्बा बलो मिलाउन मलाई चार घण्टा लाग्यो । त्यो दिनको स्कूल गोल ।

म जतिसुकै चकचके भएपनि इमानजमान भने सँगै लिएर हिँड्ने मान्छे । आजकालका जोसुकै मानिससँग यस्तो इमानजमान कहाँ हुन्छ र… ! म त मैले बिगार गरेपछि पाउने सजाय जायज हो भन्ने ठान्थेँ । आजकालका नेताहरू देखिदेखि बिगार गर्छन् तर मैले यो काम बिगारेँ भनेर कसैले भन्दैनन्न् । जुन कुरा म भन्ने गर्छु । अर्को एउटा रोचक कथा त्यसैबखत मेरो दाजुले हङकङबाट गिटार लिएर नेपाल आउनुभयो । अबको दिनचर्या गिटारको तारबाट आवाज निकाल्नमा बित्नथाल्यो । गिटारको ६ वटै तार चुडाएर हातको औँलाहरू कुँडाएपछि बल्ल बल्ल केही लोक गीतलाई मिल्ने भाका हान्न थालियो । बजारभरिमा गिटार कमै मात्रै थियो । मलाई सम्झना रहेसम्म माधव प्रधान दाइकोमा र हाम्रोमा मात्रै गिटार थियो । अब म पनि स्कूलको अतिरिक्त क्रियाकलापमा अनि सांस्कृतिक कार्यक्रममा गिटार लिएर प्रस्तुत हुन थालेँ । बजारदेखि अलितल ठूलो गाउँ भन्ने ठाउँमा मेरो साथीको घर थियो । साथीकी हजुर आमाले मलाई बोलाउनुहुन्थ्यो “ए अशोके तेरो ढ्याङ्ग्रो तिएर आइज है” म फुर्सदमा हुदा तुरुन्त ढ्याङ्ग्रो (गिटार) लिएर पुग्थे । त्यस बखत गाउँघरमा ढ्याङ्ग्रोको प्रचलन ज्यादै थियो । कोही बिरामी पर्‍यो कि फुकफाक अनि ढ्याङ्ग्रो ठोकठाक नै प्राथमिकतामा पर्ने गर्थ्यो । आजकाल बजारभाउले दिनदिनै मनमा ढ्याङ्ग्रो ठोक्ने गरेझै ।

जिल्लामा जात्रामात्रामा लाखे नचाउने चलन थियो जुन अध्यापी छँदैछ । लाखेजात्रामा लाखे भएर गाउँभरि प्रशस्तै नाचियो । म लाखे नाचेको प्रायले मन पराउनुहुन्थ्यो । ती ठूलो गाउँकी हजुर आमा आज मेरो अशोक नाति लाखे नाच्दैछ रे हेर्न आएको भन्दै आउनुहुन्थ्यो । म हजुरआमालाई देखाउन अझै बढी फुर्ति झिकेर नाच्थेँ । धानरोपाईंमा धेरै पटक बाउसे भइयो । बोरा ओडेर कहिले गोरु त कहिले हली समेत भएर बजारको सडक सडक प्रशस्तै कुँदियो । दिदीबहिनीहरू “बाबा र ज्युको वि त्यो गहिरी खेत ढुकुर लुक्ने बिउ” बोलको गीतमा घिन्ताङ घिन्ताङ तालमा लाइन लागेर छपछप धान रोपाई गर्दथे । मुकुण्डो लगाएर उफ्रिने जो कोही लाखे हुँदैन । नाच्न जानेर मुकुण्डो नलगाई नाच्नेहरू पनि लाखे हुँदैनन् । देशमा बिना मुकुण्डो ताण्डव नाच देखाउने लाखेहरू धेरै छन् । तर आफूले उ बेलामा मुकुण्डो लगाएरै लाखेशैलीमा नाचेको हो ।

स्कूल पढाईको सिलसिलामा अनेकन कुरामा अल्मलिने हुँदा १० कक्षामा टेष्ट गुल्टियो । म गुल्टिएको नठान्नु होला टेष्ट गुल्टियो र म फेरी १० उल्टिए । त्यस पछि म फुत्किए । २०३६ मा दिएको एसएलसी गुल्टियो । मैले २०३७ मा जोड गरेर पार लगाई छोडेँ । म हो नि किन छोड्थेँ । हुन त यहाँ आठ पढेर छोड्नेहरूको परिपाठ तारिफ गर्नेहरू पनि धेरै छन् । त्यसपछि विद्यार्थी आन्दोलनमा २०३७ चैत्रको ११ गते बाट २०३८ वैशाखको ८ गतेसम्म जिल्ला प्रहरी कार्यालय ताप्लेजुङको कालकोठरीमा ज्वाइँको मानमनितोमा कहिले गोडामा तुरुङ त कहिले ढाडमा झरिलो सिस्नो अनि चाकमा कटबासको लौरोको मालिस गराउँदै बसियो ।

२०३८ को असोज महिनामा दशैँ थियो । मेरी दिदी कल्यान काठमाडौंबाट माइत पुग्नुभएको थियो । त्यसैबेला दिदीलाई पुर्‍याउने बहानामा काठमाडौं आउने मौका पाइयो र नेपालबाट अमेरिका घुम्न गएका मान्छे हराएर अमेरिकन नै भए झै म पनि काठमाडौंबासी भएँ अनि यतै घरजम गरेर बसेँ । आजको कुरो यत्ति बाकी फेरी कुनै दिन है ।

०००
गल्कोपाखा, काठमाडौं ।

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
बेहालको जात्रैमात्र

बेहालको जात्रैमात्र

अशोककुमार शिवा
काँध धेरै थाकिसक्यो

काँध धेरै थाकिसक्यो

अशोककुमार शिवा
फल थाम्न नसक्ने फेद के काम ?

फल थाम्न नसक्ने फेद...

अशोककुमार शिवा
बुढ्यौलीको ढोका

बुढ्यौलीको ढोका

अशोककुमार शिवा
बठ्याईं

बठ्याईं

अशोककुमार शिवा
कलहकाे साइनो

कलहकाे साइनो

डा. छायादत्त न्यौपाने ‘बगर’
‘बाउ पर्ने पनि हिं थे नि;’ ए ! 

‘बाउ पर्ने पनि हिं...

सुरेशकुमार भट्ट
अन्तिम इच्छा

अन्तिम इच्छा

परशुराम पराजुली
मायाको चिनो

मायाको चिनो

आर.सी. रिजाल
आमा

आमा

फित्काैली डटकम
0
Would love your thoughts, please comment.x
()
x