शिवप्रसाद जैशीगोही, अजिङ्गर र मानिस
मानिसको रक्षार्थ खटिएका लट्ठीधारीहरूले समातेका उखु अप्रेमी, सहकारी अकर्मी र मानिस बेचुवा अधर्मीहरूलाई अस्पताल भर्ना गर्नमा अजिङ्गर बसेको थियो ? छोड्न आदेश दिने श्रीमान् गोही हो ? हो भने आउनुहोस् चौतारीमा बहस गरौँ ।

शिवप्रसाद जैँशी :
सामान्य मानिस अजिङ्गर र गोही भने पछि डराउनु स्वभाविक हो । अजिङ्गर घना जङ्गलतिर ठुला मुडाहरू र स्याउलापातमा लुकेर बस्छ । गोही पानीमा । यी दुवै प्राणी सरीसृप प्रजातीमा पर्छन् र हाल लोपोन्मुख अवस्थामा छन् । यिनीहरू आफ्नो निश्चित क्षेत्र भन्दा बाहिर जाँदैनन् । बिगार्ने उद्देश्य हुँदैन । आहारा भने चाहिने नै भयो बाँच्नका लागि । जे पायो त्यही भने खाँदैनन् । अजिङ्गरले आहाराका लागि सिङ्गो मृगलाई निलिदिन सक्छ । गोहीका दाह्रा उल्टा हुने भएकोले गोहिले समातेपछि छोड्न सक्दैन । अगाडि आएकोलाई मात्र खान्छ । यिनीहरूको आहारा र खानामाथि मानिसले धावा बोलेपछी यिनीहरू लोप हुने अवस्थामा पुगेका हुन् । बडो अनुसासित जीवन शैलीमा बाँच्छन् यी प्राणीहरू । जे पायो त्यो खान्नन् । यिनको प्रजातिले खाने कुरा मात्र खान्छन् । यिनीहरू पुस्तान्तरणको लागि खाना जोगाएर राख्दैनन् । चाहिएको बेला खान्छन् । मांसाहारी वर्गमा पर्ने भएकोले कहिलेकाहीँ मानिस पनि यिनको शिकार बन्न सक्छ । तर मानिसको शिकार गर्न खोजेर भने यिनीहरू हिँड्दैनन् । अपर्झट आइपर्दा दुर्घटना हुन सक्छ ।
मानिस फरक छ । मानिसले नखाएको के छ र ? अन्न खानु त उसको प्रकृति प्रदत्त अधिकार नै हो । अन्नपानी बिनाको जीवन हुनै सक्दैन । अन्न खान्छ । खानकै लागि मानिस आफूलाई पुग्न सम्ममात्र अड्दैन । अरु थुपार्दै जान्छ । कति खाने उसको नियम छैन । खान पायो कि हसुर्छ । आफै खाएर मात्र अघाएको मानिस छ भने त्यो अपवाद होला । आफ्नालाई खुवाउँछ । सन्तानलाई थुपार्छ । सन्तानले भोग गर्न पाउला कि नपाउला भनेर सोचेको भए पनि मानिस धरै लोभी हुने थिएन । ऊ भोलिको मात्र होइन पुस्तौँ पुस्ताको गारेण्टी अहिले नै गर्न चाहन्छ । थुपार्छ पुस्तान्तरणका लागि हस्तान्तरण गर्न । हस्तान्तरण गर्न भने पाउँदैन । कतिखेर खुस्किन्छ थाहा हुँदैन र कसो हुन्छ भन्ने पनि पक्कापक्की हुँदैन । थुपार्न भने छोड्दैन । सास जानै लाग्दा पनि उसको लोभले उसलाई क्षोभ गर्दैन । किनकी कानुनले हस्तान्तरणमा सहयोग गर्छ ।
गोही, अजिङ्गर र मानिसमा परक छ । गोही र अजिङगरको आहार निश्चित छ । मानिसको छैन । अन्नका अलावा जीव खान्छ । जन्तु खान्छ । गोही खान्छ । गोहीको छाला खान्छ । दाँत खान्छ । बास खायो । स्थान खायो । अजिङ्गरको काँचुली खान्छ । महँगो चिजको स्वाद यो मानिस भन्ने प्राणीले नाकबाट थाहा पाउँछ । आँखाले देख्छ । जिब्रोले लपकलपक चाटेर स्वादलिन्छ । अरुले चाटेको देखेर र्याल काड्छ । डाहा गर्छ । ईर्ष्या त मानिसको जन्मजात गुण नै हो । ढाडे प्राणी मानिस हो ।
नियम बनाएर खान्छ । कानुन छापेर खान्छ । गिट्टि बालुवा खान्छ । काठ, पात, पतिङ्गर चाख्दै हिड्ने प्राणी मानिस नै हो । रुख ढालेर, लडाएर, जङ्गलै मासेर अजिङ्गरको बासको नास यसै जीवले गरेको हो । खोला सुकाएर, बाँध बाँधेर गोहीलाई सुकुम्बासी बनाउँदै जाँदा गोहीहरूले आत्महत्या गरेजस्तो देखिएको मात्र हो । वास्तवमा हत्या मानिसले गरेको हो । गोहीले ढुङ्गा खाएको समाचार छ कतै ? तर मानिसले बालुवा गिट्टी ढुङ्गा रोडा खाएको समाचारले अखवारहरू रङ्गिएको कसले देखेको छैन ? अजिङ्गरको पनि आत्महत्या हुँदै होइन । हत्या हो । चारकोशे झाडीमा मानिसको बगाल पसेर सखाप पारेपछि ओत लाग्ने ठाउँ नपाएर गोहीको इहलीला समाप्त पार्ने जाति मानिस हो । शङ्का छ भने बहस थालौँ ।
छानविन समिति गठन गरेर हुँदैन । समिति फ्याट्टै गठन गर्नुको अर्थ हो मरेर अस्थित्व लोप भएका प्राणीहरूका नाममा पनि जमानत प्राप्त कागतहरू खोजी गरेर गोजी भर्नका लागि हो भन्नेमा कुनै शङ्का छ ? छ भने आउनुहोस् छल गरेर फल प्राप्त गरौँ । बहसमा उपल्ला भनेर गनिएका मानिस रुपी प्राणी राख्न पाइने छैन । माननीय, श्रीमान् पदवी भिरेका मानिसको दलबल राखेमा बहस गर्नु को सट्टा समिति गठन हुन्छ । माइन्युट बन्छ । दस्तखतले स्वाट्टै भत्ता सिर्जना गरेर कुनकुन प्राणी जीवित छन् ? जीवित प्राणीहरूका किन जीवित छन् ? मर्न कति समय लाग्छ ? मरे पछि समिति गठन् गर्दा भत्ता कति पाउँछ ? भनेर गन्न थाल्छन् । सङ्घसंस्था खोल्छन् । दर्ता गर्छन् । भ्यालिड बनाउछन् । प्रोजेक्ट ल्याउँछन् र खाना सिर्जना गर्छन् ।
फ्याट्ट कोही समान्य मनुख्यले स्थान पाएमा ऊ पनि म के कम भन्दै सदस्य सचिवको माग दावी पेश गर्छ र खाने दाउलाई सफलिभूत पार्छ । प्रोजेक्ट इन्चार्ज आफ्नै गोजीको मनुख्यलाई बनाएर खातापाता मिलाउन लगाएर खानलाई गोहीको दाह्रा, अजिङ्गरको काँचुली बैठकमा पेश गर्छ । पेश गर्दाको खर्च विवरण भ्याट र पान नम्बर सहितको रंगिन कागजमा अङ्कद्वार विभूषित गरेको कानुनी प्रमाण दर्ज गर्छ । गडगडाहट ताली बज्न थाल्छन् । सरकारका पर वक्ताले बहुरङ्गी माइकका अगाडि गोहीका दाह्रा र अजिङ्गरको काँचुली भेटेर सरकारले लोप भैसकेका प्रजातिको प्रमाण भेटेको सरकारी पर गति बान्ता गर्छन् । भोलिको राष्ट्रिय अखबारमा गतिला गोही र अजिङ्गरको हड भन्दा ठुला अक्षर छापिन्छन् बहुभाषामा पर वक्ताको फोटो सहितको हवालादिँदै ।
विज्ञ टोलीको सिफारिस सहित समितिका पद आधिकारीहरूको जम्बोटोली साइटस कानुनको हवाला दिँदै परदेशतिर डलर पचाउन जान्छन् । पुनः यूरो र ऐनको मागपत्र पेश गर्न नबिर्सिकन फिर्ता हुन्छन् । खाने क्रम चलिरहन्छ । यता गिट्टी बालुवा छुट्ला कि भन्ने पिरले उताको शयन कक्षमा निन्द्रेणी देवीले साथ नदिएपछि फोन गरेर गतिलो गोठालोलाई अह्राउँछ । म यता आउँदा त्यताको नबिग्रियोस् भनेर ।
सत्तासीनहरूको भत्ता मोह गोहीका बाङ्गारा भन्दा पनि खतरनाक हुन्छ । पल्केपछि छोडौँ भन्दा पनि सकिँदैन । अजिङ्गरको लगभग एक क्वैन्टल अट्ने काँचुली भित्र पनि अट्दैन यो भत्ता लोभ । अनि बाँच्छ त गोही र अजिङ्गर ? अनि को बढी खान्छ त गोही कि मानिस ? अजिङ्गर कि मानिस ? गोहीको खोला मानिसको झोलामा अनि अट्ला त त्यो झोलामा गोही ? सक्ला त सास फेर्न ? सासबिना जीवको अस्थित्व सम्भव छ ?
अजिङ्गरको जङ्गलमा मानिसको बासले भौतारिँदैन विचरा अजिङ्गर ? यताउता ओर्किन फर्किन एक वित्ता जङ्गल नराखेर सखाप पारेपछि विचरो निसास्सिँदैन ? बाँच्छ ? अनि मानिसले दाउ पहिल्याउछ म्युजियमको । गोहीका दाह्रा, छाला अनि अजिङ्गरको काँचुली राख्न । म्युजियमभित्र वातावरण मैत्री विकासको पहल गर्छ । इकोसिस्टम मेन्टेन गर्न दाताहरूको खोजीमा केही थान मानिसको समिति गठन गरेर वातावरणीय प्रोजेक्टको परिकल्पना सहितको पर निवेदन पेश गर्न लगाएर खान्छ । पर निवेदन ठाउँठाउँमा पठाउन पनि मानिस नै खटाउँछ ।
मानिस समूह कार्यमा कमिलाको ताँती झैँ लस्कर मिलाउँछ । माकुरोले झै सञ्जाल बनाउँछ । सञ्जालमा मानिसका आफन्तहरू माहुरीको जस्तै श्रम गर्छन् द्रव्य प्राप्तीका लागि । मानिस धातु प्रेमी त हुँदै हो । बहुमुल्य धातुमा मानिसको लगाव छ र खान्छ । गोही र अजिङ्गरले धातु जन्य पदार्थ खाएको कोही कसैलाई जानकारी भए बताइदिए हुन्थ्यो । अहिले सम्मको अध्ययन अनुसन्धानमा मानिस बाहेक अरु कुनै प्राणीले सुन खाएको, चाँदी खाएको सुनिएको छैन । कागज चाहे त्यो जतिसुकै महँगो किन नहोस् अन्य प्राणीहरूले खा’को जानकारी छैन । मानिस भने द्रव्यरुपी त्यो खोष्टाका लागि मरिहत्ते गर्छ । गर्छ मात्रै होइन परिवारको खुसीका लागि भनेर जाग्छ अन्तमा मृत्यको कारण पनि बनेको अखबारहरूले नै छाप्छन् । अखवारे पनि लुव्ध हुने भएकोले दुध निस्किउन्ज्याल सपिन्ना (सुल्टा) दुध निस्किन छोडे पछि विविन्ना (उल्टा) अक्षरहरू लेख्न थाल्छन् । हो नि “दुध दिने गाईका लात्ति हाने सही” उखान छ नि !
ल अब भन्नुहोस्, मानिस गोही र अजिङ्गरमा के फरक छ ? मानिसले मानिसलाई खाएको थाहा छ ? छैन भन्ने तर्क गरिएला । माइतीघर मण्डपमा उखुको रस खाएर तराईतिरका किसानलाई सुकुटी बनाएको देख्नु भएको छैन । बगेका आँसुहरूको सुरुप सूरुप क्यापाचिनो, लाते, अमेरीकानो खाने को हो ? मानिस होइन ? सहकारीमा दाम राख्न लगाएर उठिबास बनाउन गोही र अजिङ्गर आएको हो ? आफ्नो देशको नागरिकलाई परदेशको नागरिक बनाउन कागज मिलाएर पऽऽऽऽर देश पठाएर कुम्ल्याउने को हो ? गोहीको छोरा र अजिङ्गरको स्वास्नीले गरेका हुन् र ? अनि मानिसको रक्षार्थ खटिएका लट्ठीधारीहरूले समातेका उखु अप्रेमी, सहकारी अकर्मी र मानिस बेचुवा अधर्मीहरूलाई अस्पताल भर्ना गर्नमा अजिङ्गर बसेको थियो ? छोड्न आदेश दिने श्रीमान् गोही हो ? हो भने आउनुहोस् चौतारीमा बहस गरौँ । होइन भने मानिसले मानिसको सेकुवा बनाएर खाएको, पसिनाको नुनिलो दाल र आँसुको कफी पिएको साँचो हो । मानिस मानिसलाई पनि खान नछोड्ने प्राणी हो ।
०००
काठमाडौं
Subscribe
Login
0 Comments
Oldest







































