भोलानाथ सुबेदीसरकारी स्कुलको मास्टर
स्कुलमा जान मन लाग्दैन खाना खान मन लाग्दैन अफिसमा पुगेर पालेलाई झाँको झार्छ आधा समय बितेपछि उसलाई पढाउन जानुपर्ने कुरा थाहा हुन्छ ऊ टाउको दुखेको निहुँ गर्छ ।

भोलानाथ सुवेदी :
सरकारी स्कुलको मास्टर
लरबरिँदै आउँछ
र मेचमा थचक्क बस्छ
हाजिर खातामा आँखा पुर्याउँछ
र दश बजाउँछ
उसको सरले त्यसै गरेको
उसले देखेको थियो
ऊ पनि त्यसै गर्छ
कहिले सोफामा सुत्छ
कहिले टेबल माथि खुट्टा राख्छ
ऊ अल्छी गर्दै कक्षामा जान्छ
कुर्सीमा थचारिन्छ
र निर्देशन ठोकेर उघ्न थाल्छ
उसलाई पेन्सन पकाउन
जागिरमा अल्झिरहनु छ
ऊ आफूसँग पनि खुसी छैन
उसलाई जस अपजसको मतलब छैन
जब घन्टी बज्छ जुरुक्क उठ्छ
जीउ मर्काउँछ
घरी नाक कोट्याउँछ
घरी टाउको कन्याउँछ
विद्यार्थीसँग रिसाउँछ
मुर्मुरिँदै कक्षा बाहिर निस्कन्छ
उसलाई सरकार मन पर्दैन
किनकि सरकारले तलब बढाएन
उसको पढाउने शैली बदलिएको छ
उसलाई टाउको मात्र दुखिरहन्छ
स्कुलमा जान मन लाग्दैन
खाना खान मन लाग्दैन
अफिसमा पुगेर
पालेलाई झाँको झार्छ
आधा समय बितेपछि
उसलाई पढाउन जानुपर्ने कुरा थाहा हुन्छ
ऊ टाउको दुखेको निहुँ गर्छ
र मस्त सुत्छ
किनकि ऊ
सरकारी स्कुलमा छ ।
०००
काठमाडौं
Subscribe
Login
0 Comments
Oldest






































