साइबर अपराध सम्बन्धी सचेतना सामग्री

‘चित्रगुप्तको गुप्तचित्र’माथि समीक्षात्मक कैरन (२)

व्यङ्ग्य निबन्धहरूमा प्रचलित सँगसँगै आफैले निर्माण गरेका उखानतुक्का लगायत लोकोक्तिको प्रयोग गरेर यिनले व्यङ्ग्यनिबन्धहरूलाई लोभलाग्दो बनाएका छन् ।

Nepal Telecom ad

कृष्ण प्रधान :

व्यङ्ग्यनिबन्धमा असम भेकका प्रायः युवाहरूले ठूल्ठूला शहरतिर ताकेको विषयममाथि टङ़्कारो व्यङ्ग्य हो ‘खुच्चिङ पर्‍यो जङ्गले, आफ्नै ढङ्गले’ । असम जङ्गलै जङ्गलको देश हो…आफ्नो घर-आँगनदेखि गतिलै कमाउने लोभमा बाहिरिएका युवाहरूलाई असमको फारसमै पैसा फल्छ भन्ने कुरा यस व्यङ्ग्यनिबन्धले उकेलेको पाइऩ्छ । आफ्नै घर-आँगन त्यागी ठूल्ठूला शहरतिर पस्ने लोभिने युवाहरूलाई आफ्नै घर-आँगनमै ल्याएर मातृभूमिको रक्षा गर्ने आह्वान पनि देखिन्छ यस ‘खुच्चिङ पर्‍यो जङ्गले, आफ्नै ढङ्गले’ व्यङ्ग्य निबन्धमा ।

‘बेलामा हेला गर्‍यो डल्लामा फेला पर्‍यो’ व्यङ्ग्य निबन्धको केन्द्रमा अन्तरवार्तात्मक ढाँचामा व्यक्तिगत कुरा गर्ने निहुँमा समाजमा देखा परेका मान्छेको प्रवृत्ति, होलाकि भनी छोरोलाई बिहे गरिदियो… बुहारी घरमै बस्छिन् कि भन्यो…  तर छोरोले बुहारीलाई आफूसँगै लगेको यथार्थ घटनालाई व्यङ्ग्यात्मक रूपमा प्रस्तुत गरेका छन् । यस्तो घटना हरदर नेपाली वा गोर्खाहरूको घरमा भइरहने साबिक घटनाहरू हुन् । मान्छेको विचित्र मनस्तत्वमाथि पनि यसरी ट्वाकसिङ हानेका छन् व्यङ्ग्यकारले “…अक्षर मजले ठम्याउन सक्न छोडेँ भनेर चै सजिलै भन्छ, तर अलिक साह्रो गरी बोले मात्रै सुन्छु भन्न चै गाह्रो मान्छ । अन्धो छु भन्नु चैँ खुकुलो, बहिरो छु भन्न चैँ लाजमर्नु ।” यस्ता उरेण्ठेउलो प्रवृत्ति प्रत्यके समाजमा भइरहने कुरा हुन् । व्यङ्ग्यकारको व्यङ्ग्यमा यथार्थता देखिन्छ । यो वर्तमान समाजको विद्रूप यथार्थ हो । ‘बेलामा हेला गर्‍यो डल्लामा फेला पर्‍यो’ व्यङ्ग्य निबन्धमा यिनै यथार्थमाथि गतिलो चडकन लाउन खोजिएको छ ।

यस व्यङ्ग्य निबन्धमा व्यङ्ग्यकारले गुरु र खोतलरामलाई विशेष व्यङ्ग्यका नेपथ्य पात्रका रूपमा प्रयोग गरेको पाइन्छ । यिनै पात्रद्वारा समाजमा भएको सामाजिक विशृङ्खलता, राजनैतिक उदण्डतामाथि सोँड्क्याउनुसम्म सोँडडक्याएको पाइन्छ । ‘खोतलरामको गैडो प्रकल्प’ व्यङ्ग्यनिबन्धमा कुरा गहिरो छ सुझावात्मक छ ।

‘गोजीको खोजी’ व्यङ्ग्यनिबन्धमा व्यङ्ग्यकारले डाक्टरहरूको पैसा असुल्ने प्रवृत्तिकासाथै आफू डाक्टर भएको ठाउँमा अन्य डाक्टरलाई ढिम्किनै नदिने यथार्थ कुरा प्रस्ततु गरेका छन् ।

‘आमाको नाङ्लो, बच्चालाई गाडा’ व्यङ्ग्य निबन्धमा समाजमा भइरहने विविध विषयमाथि व्यङ्ग्य गरेको पाइन्छ । हामीमाझ एकता हुँदै नभएको अनि यही कुराबारे सबैले गुनासो गर्ने गरेको, कम्प्यूटरले पत्रिकाको ठाउँ ओगटन नसक्ने कुरा, कुनै कुरामा पनि मान्छे सन्तुष्टि नहुने कुरा, बेलायती कुकुरले भुस्याहा कुकुर स्वतन्त्र भएको देखेर आफ्नै भाग्यलाई सरापेको कुरा, फेरि भुस्याहाले कारभित्र मेमसाहेबको काखमा बेलायती कुकुर बसेको देखेर भूस्याहा दुर्भाग्यलाई धिक्कारेको कुरा, अविवाहितले विवाहितलाई ईर्ष्यालु नजरले अनि विवाहित पुरुषले अविवाहित ठेट्नेलाई ईर्ष्यालु नजरले हेरेको कुरा, देश चलाउने नेतालाई ठप्पा हानेका कुरा अनि देश जोगाउऩ सीमामा तातो गोली खानेको कुरा, देशले हामीलाई मन पराए हामी फौजी हुने कुरा अनि हामीले देशलाई मन परायौं भने शहीद बनिने कुरालाई मिठाइलो अनि टेसिलो प्रकारले व्यङ्ग्यमाला बनाई प्रहार गरेको पाइन्छ यस ‘आमाको नाङ्लो, बच्चालाई गाडा’ व्यङ्ग्यनिबन्धमा । कति ठुङमार्दो यथार्थ व्यङ्ग्य प्रहार, “हामीलाई देशले मन परायो भने हामी फौजी बनिन्छौँ, देशलाई हामीले मन परायौँ भने शहीद बनिन्छौं ।” एउटा यथार्थकासाथै टडकारो व्यङ्ग्यको ज्वलन्त नमूना ।

मुखमाथि अनेकन् घतपर्दा उखानहरू प्रयोग गरी लेखिएको ‘मुख बन्द राखे दाँत जोगिन्छ’ व्यङ्ग्य निबन्धमा मुखका विभिन्न क्रियाकलापबारे विस्तृत नालीबेली लाएको देखिन्छ । खाने, बोल्ने, लगाउने, फोर्ने जम्मै मुख नै हो । मुख चले दाँत उछिट्टिन्छ, मुख बन्द राखे दाँत सुरक्षित हुन्छ । नेताको मुखलाई पनि गतिलो चडकन लाएका छन् व्यङ्ग्यकारले, ‘इलेक्सन अघिको मुधु बर्षाउने नेताको ‘श्रीमुख’ जितेपछि ‘छिमुख’हुन्छ’-मा । अर्को कटाक्ष, ‘पाँच साल मुख बायो हावामात्रै खायो ।’ कति ठूलो व्यङ्ग्यवाण ।

मुखपछि व्यङ्ग्यकार फूलको प्रसङ्ग झिक्दै आरम्भमा फूलको प्रशंसा पछि ‘क्वाटर हाफको काममा ‘फुल’ नै चाहिन्छ भनी हाम्रो जिन्दगी फुलमै रल्लिरहेको छ भन्ने व्यङ्ग्य हानेका छन् । फेरि उनी भन्छन्, “… बाठाहरूले ‘फूल’ हरूलाई लट्याएर नै हाउसफुल हुने गर्छन् ।” हाम्रो यथार्थ चरित्रलाई फूलको माध्यमबाट व्यङ्ग्याशस्त्र चलाउने व्यङ्ग्यकार अर्जुन निरौलाको चमत्कारिता स्वीकारनै पर्ने हुन्छ । आरम्भमा मुखको बेलिबिस्तार, त्यसपछि फूलको कुरा अनि फेरि ‘मार’ (मार्नु)का कुराहरू । आँखै मार्‍योको सट्टा आँखाको हत्या गर्‍यो भन्ने व्यङ्ग्यकारको आह्वान देखिनुका साथै मार्नुका धेरै कुराहरू मिठाइलो पाराले व्यङ्गयको ढालले प्रस्तुत गर्नमा व्यङ्ग्यकारलाई खप्पिस देखिन्छ । यस व्यङ्ग्यनिबन्धमा गरिएको व्यङ्ग्यमा व्यङ्ग्यकारले आफू वरिपरि हुने क्रियाकलापमाथि व्यङ्ग्यवाण चलाएका छन् ।

अन्तरवार्ताको निहुँमै व्यङ्ग्यकारका प्रिय पात्र गुरुबा र खोतलरामहरूलाई अघि सारी सामाजिक व्यङ्ग्यको उत्कृष्ट नमूना हो ‘अनिकाले मोरो कनिकाले टार्छ’ । यस व्यङ्ग्यनिबन्धमा व्यङ्ग्यकार अर्जुन निरौलाले हाम्रो जाति जुनै जस्तो कुरामा पनि सन्तोक मान्ने जाति हो भन्ने कुरो स्पष्ट रूपले देखाउन कुनै कञ्जुस्याइँ गरेका देखिँदैन । छिमेकीलाई आपद् विपद् पर्दा टार्ने जातिमाथि प्रहार छ यस व्यङ्ग्यनिबन्धमा । नेपाली भाषाको विकृति रूप “हादसामा ले याददाश्त खोएका छन्’ । उर्दू हो कि नेपाली आफै केलाऊ । यसको अब वजह ढुँढ़नु ? कि खामोश बैठनु ? हिजोआज लेखिने भाषामा हिन्दी, उर्दू अङ्ग्रेजीको मिश्रणप्रति व्यङ्ग्यकारले गतिलो पाराले चढकन लाएका छन् ।” यस व्यङ्ग्यनिबन्धमा हाम्रो जातिको प्रवृत्तिमाथि व्यङ्ग्य गरिएको पाइऩ्छ । व्यङ्ग्यकारभित्र गजब र अजब व्यङ्ग्य-विद्रोहको भण्डार रहेको देखिन्छ ।

सङ्ग्रहको अन्तिम व्यङ्ग्यनिबन्ध ‘टोली ठूलो, बोली ठूलो, झोली दुलो’मा ओलम्पिक खेलमा भारतको स्थिति डाँवाडोल भएको अवस्थामाथि तीव्र प्रहार गरिएको छ । भारतले ओलम्पिक खेलमा भनेजस्तो मेडल हात नपारेकोमा पनि व्यङ्ग्यकारको आक्रोश देखिन्छ – “भारततिरचैँ एउटै मेडल पनि चिप्लियोस् भन्ने कसमनै खाएको छ क्यारे आलिम्पिक कमेटीले । लुडु-क्यारम-तीनपत्तीको कम्पिटिसन त राख्तै राखेनन् । सिरीखुरी सबै सबै गोल्ड यतै आउने थिएन त ? परस्कार पनि सुन-चाँदी नराखेर फर्ष्ट प्राइजमा रायल स्टेगको ‘फूल’, सेकण्ड प्राइजमा ‘हाफ’ र थर्डमा ‘क्वाटर’ राखि हेरुन त । अनि हेरौँला कसले उछिन्छ हामीलाई । सए मीटरको दौडको टार्गेटमा मन्त्रीको रित्तो कुर्सी राखी दिउन न त । रेफरीको सिटी पनि बजिसक्न नभ्याई हाम्राहरू पुगिसकेका हुने थिए । आउँदो पाली माग राख्नु पर्छ ।” टडकारो व्यङ्ग्य । हाम्रो भारतीय खेलकूदको मरञ्च्याँसे अवस्थालाई उदाङ्गो पार्दै मुख्य इभेण्टभन्दा पनि लुडु-क्यारम-तीनपत्तीको कम्पिटिसनमा भारतले उछिन्नु सक्छ अनि पुरस्कारमा पनि मद-मदिराका साथै सय मीटरको दौडमा मन्त्रीको रित्तो कुर्सी राखीदिए रेफरीको सिटी नबजिकनै भारतले रेकर्ड कायम गर्नेछ भनी व्यङ्ग्य गर्नु लरतरो व्यङ्ग्यकारको वशको कुरा होइन ।

व्यङ्ग्यकार निरौलाका प्रमुख विशेषता

निरन्तर हास्यव्यङ्ग्य निबन्ध लेखेर वा कितापसमेत प्रकाशित गरेर व्यङ्ग्यकार अर्जुन निरौलाले असमेली नेपाली हास्यव्यङ्ग्य निबन्ध साहित्यलाई थाक्रो लाउनु मात्र होइन सिङ्गो भारतीय हास्यव्यङ्ग्य नेपाली निबन्ध साहित्यको संरक्षण संवर्द्धन गर्ने काममा कीर्तिमान नै कायम गरेका छन् । भारतीय हास्यव्यङ्ग्य नेपाली निबन्ध फाँटमा हास्यव्यङ्ग्य निबन्धको कद पुड्को नै देखिन्छ । यस होचाइँलाई अग्लो पार्ने निरौलाको प्रयास हकीको देखिन्छ । यिनको व्यङ्ग्यमा शिष्ट, सभ्य, सौम्य प्रस्तुतिका साथै ठुङमार्दो तार्किक प्रस्तुतिले यिनको व्यङ्ग्यकारितामा निखार आएको छ । हास्यव्यङ्ग्य निबन्धलाई मात्रै आफ्नो लेखकीय आदर्श मानेर निरन्तर कलम चलाउने व्यङ्ग्यकार निरौलाको व्यङ्ग्य प्रहार, सरल, मिठाइलो, टेसिलो, गहकिलो, महकिलो भाषाले पनि व्यङ्ग्यमा एक प्रकारको स्वाद पाइन्छ । सबैभन्दा ठुङमार्दो कुरो ता के छ भने, यिनका प्रत्येक व्यङ्ग्यमा उखान तुक्का लगायत लोकोक्तिहरूको प्रयोगले व्यङ्ग्य जीवन्त प्रखर र तिक्षर भएको कुरा नस्वीकारी धर पाइँदैन । उखान तुक्काबाटै शीर्षक राखेकाले पनि यिनका व्य़ङ्ग्यहरूका शीर्षकले नै पाठकवर्गलाई मक्ख नपारी छोड्दैन र उखान तुक्का सम्बन्धित शीर्षकले नै व्यङ्ग्य नपढ़ी छोड्न सकिन्न । यिनको व्यङ्ग्य लेखनको ढाँचा, शैली अहिलेसम्म देखा परेका भारतीय नेपाली व्यङ्ग्यकारहरूका व्यङ्ग्यभन्दा बेग्लै देखिन्छ । शीर्षक लगायत वाक्यैपछि व्यङ्ग्यात्मक शैलीमा उखान तुक्का तथा लोकोक्ति प्रयोग गर्नु यिनको विशेषता देखिन्छ । अर्जुन निरौलाका यस सङ्कलित व्यङ्ग्यनिबन्धहरूको संक्षिप्त मूल्याङ्कन गर्दै बूँदागत आधारमा यिनका व्यङ्ग्य निबन्धहरूका प्रवृत्ति एवम् वैशिष्ट्यहरूमाथि सामान्य रूपमा मूल्याङ्कन गरिन्छ ।

विषयवस्तु चयन –

हास्यव्यङ्ग्य निबन्ध लेखनमा आफूलाई पूणर्रूपले समर्पित गरेर मूलतः हास्यव्यङ्ग्य निबन्ध सिर्जना गर्ने अर्जुन निरौलाले आफ्नो लेखनको विषयवस्तु आफ्नै वरिपरिका परिवेश सिकसिकलाग्दो अवस्था, शिक्षा व्यवस्थाको खेलाँचीपन, एऩआरसीको झ्याउला, भारतमा जनसङ्ख्या बढाउने योजना, चन्दा दिने लिनेको जबरजस्तीपन, पत्र-पत्रिकाको बिग्रिँदो अवस्था, नेपाली भाषाको विकृति प्रयोग, दुनो सोझ्याउने प्रवृत्ति आदि विषय नै यिनका व्यङ्ग्यनिबन्धका विषयवस्तु देखिन्छन् । यहाँको विसङ्गति र विकृतिको यथार्थ चित्रण गर्दै ती विसङ्गति र विकृति निमिट्यान्नै पारी स्वच्छ समाज, स्वच्छ देश निर्माणको सन्देश पनि दिएको पाइऩ्छ । विसङ्गति र विकृतिले सामाजिक, शैक्षिक, सांस्कृतिक तथा राजनीतिक जीवनलाई धूलोपिठो पारेका विषय उठान गरी विभिन्न प्रश्नहरू मार्फत् यिनका व्यङ्ग्यनिबन्धमा जानेका, बुझेका, भक्कु अनुभव बटुलेका पात्र गुरुबा र खोतलरामजस्ता हास्यपात्र सिर्जना गरी पाठकलाई व्यङ्ग्यको सिर्कनु लाउँदै मनोरञ्जन प्रस्तुत गरी विषयवस्तुलाई उचित ठाउँमा प्रस्तुत गर्नु यिनको खूबी देखिन्छ । व्यङ्ग्यकार अर्जुन निरौलाका व्यङ्ग्यनिबन्धहरूको केन्द्रिय विषयवस्तुहरू निर्क्यौल गर्दा, यिनका व्यङ्ग्यनिबन्धहरूमा शैक्षिक, साहित्यिक, सांस्कृतिक, सामाजिक, राजनीतिक, प्रशासनिक, मानवीय तथा वैयक्तिक विसङ्गति, विकृति र विद्रूपता रहेको पाइन्छ । समाजमा वा देशमा भइरहने विङ्गतिले यिनका व्यङ्ग्यलाई तिक्खर र टडकारो बनाएको छ । यिनले आफ्ना व्यङ्ग्यनिबन्धमा प्रयोग गरेका विसङ्गतिलाई कहिले उखान-तुक्का ता कहिले लोकोकोक्तिलाई ढाल बनाई, कहिले ठुङमार्दो अन्यान्य उदाहरण प्रस्तुत गर्दै हास्यको बाईपङ्खी घोडामा चढ़ी व्यङ्ग्यवाण बर्साउनमा व्यङ्ग्यकार निरौला सिपालु देखिन्छन् । यिनका व्यङ्ग्यनिबन्धका विषयवस्तुहरूमा विषयगत विविधता देखिन्छन् । यिनका व्यङ्ग्यनिबन्धको विषयवस्तु गाउँ-घर, समाजमा मात्र होइन राष्ट्रिय तथा अन्तरराष्ट्रिय विसङ्गति, खेलाँचीपन उदाङ्गो पारिएको देखिन्छ । व्यङ्ग्यकार निरौलाको विषयवस्तुको एउटा सवल पक्ष यो पनि हो ।

संरचनात्मक ढाँचा

विषय छनौटपछि त्यसलाई जीवन्त, मिठाइलो, टेसिलो, गहकिलो, महकिलो तथा ठुङमार्दो संरचनामार्फत व्यङ्ग्य सिर्जना गर्नामा व्यङ्ग्यकार निरौलालाई अब्बल देखिन्छ । यिनका व्यङ्ग्य सिर्जनामा वहुविध संरचनागत ढाँचा पाऩ्छ । यस सङ्ग्रहमा सङ्कलित केही व्यङ्ग्यनिबन्धहरू अन्तरवार्तात्मक रूपमा भएकाले जिज्ञासु पात्रद्वारा गरिएको व्यङ्ग्यात्मक प्रश्नहरूमा व्यङ्ग्यात्मक संरचना बान्किलो देखिएको छ । खोतलरामको काम खोतल्नु मात्र हो । विभिन्न कुरा खोतली गुरुजीको मुखबाट व्यङ्ग्यात्मक वाण वमन गर्न लाउनु पनि व्यङ्ग्यकारको व्यङ्ग्य सिर्जनाको खूबी हो । खोतलराम जस्ता स्वाभाव भएकाहरू तपाईं मेरो गाउँ-घरमा छैन भन्न सकिन्न । व्यङ्ग्यनिबन्धको संरचनालाई सचेतनतापूर्वक निर्वाह गरेको र आत्मसात गरेको पाइएकोले निबन्धमा साँच्चै नै ज्यान आएको छ । सङ्ग्रहमा सङ्कलित २९ वटै व्यङ्ग्यनिबन्धहरू लामा छैनन्…छोटा छोटा छन् । कुनै पनि व्यङ्ग्यनिबन्ध पढ्न पट्यारलाग्दा र दिक्कलाग्दा छैनन् । एकै खेपको बसाइमा पढी सिद्ध्याउन सकिन्छ । यिनका व्यङ्ग्य निबन्धहरूमा अनावश्यक वा सिकसिकलाग्दो गन्थन पाइँदैन ।

भाषाशैली

सरल भाषामा लेखिएका छन् यी व्यङ्ग्यहरू । वाक्य रचनामा कुनै प्रकारको जटिलता देखिन्न । कुरा यति हो, कहीँ कहीँ असममा बोलिने शब्दहरू पनि व्यङ्ग्यनिबन्धमा प्रयोग गरेको पाइऩ्छ । प्रायःजस्तो अङ्ग्रेजी शब्द प्रयोग गरिएको देखिए पनि वाक्य गठनमा कुनै वाधा पुर्‍याएको वा अडचन आएको देखिँदैन । नेपाली जनजिब्रोमा भिजेका उखानतुक्का तथा लोकोक्तिहरू प्रसङ्ग अऩुसार वाक्यैपिछे प्रयोग गरिएकोले व्यङ्ग्यनिबन्ध टेसिलो तर्कसङ्गत देखिन्छन् ।

भाषाशैलीलाई निबन्धका प्रमुख तत्वमध्ये एउटा तत्त्व मानिन्छ । व्यङ्ग्यकार अर्जुन निरौला असम भेकका चर्चित प्रतिष्ठित व्यङ्ग्यकार हुन् । असमकै सहित्यकार भएका नाताले यिनको लेखनमा ठेट झर्रा शब्द प्रयोगका साथै असममा बोलिने शब्दहरू नै प्रायः प्रयोग गरेको पाइन्छ । व्यङ्ग्य निबन्धहरूमा प्रचलित सँगसँगै आफैले निर्माण गरेका उखानतुक्का लगायत लोकोक्तिको प्रयोग गरेर यिनले व्यङ्ग्यनिबन्धहरूलाई लोभलाग्दो बनाएका छन् । ठाउँठाउँमा असमी, अङ्ग्रेजी, हिन्दी, फारसी तथा उर्दू शब्दहरू प्रयोग गरेको हुँदा यस सङ्ग्रहमा सङ्कलित व्यङ्ग्य निबन्धहरू टेसिलो, गहकिलो, महकिलो भएको छ ।

यिनको भाषा प्रयोगमा केही विचलन देखिए पनि भाषिक विचलनकै कारणले हास्यव्यङ्गय जोरदार भएको पाइन्छ ।

०००
सिलिगुडी,भारत

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
0
Would love your thoughts, please comment.x
()
x