रामप्रसाद पन्थीकुरौटे एकता जिन्दावाद
कुरा काट्ने विषयमा जब रस लाग्छ तब कुरा नकाटेसम्म खाएको पनि पच्दैन । रातमा निद्रा लाग्दैन । बेचैनी र छट्पटी छुट्छ । जब तपाईं कुरा काट्न समर्थ हुनुहुन्छ । अजीर्ण वायु गएझैँ पेट हल्का हुन्छ ।

रामप्रसाद पन्थी :
हिजो पानीको दुःख थियो । गाग्री बोकेर कुवा, धारा, इनार र खोलासम्म धाउनु पर्थ्यो । यी ठाउँहरू गाउँभरका मान्छेहरू भेला हुने ठाउँ थिए । विशेष गरी बुहारीहरूका गथासा यहीँ मौकामा पोखिन्थे । सासुहरूले पनि बुहारीलाई उडाउने अवसर पाउँथे । अहिले पानी नखसे पनि बिल खस्ने गरी मिटर झुन्डिएका छन् । जसले गर्दा गाग्री प्रदर्शन गर्ने मात्रै होइन कुरा काट्ने परम्परागत थलो समेत प्रभावित भएको छ ।
खाने मुखलाई जुँगाले छेक्दैन । आधुनिक प्रविधिले कुरा काट्नेलाई सहज बनाइदिएको छ । कुरा काट्नेलाई सामाजिक सञ्जाल वरदान सावित भएको छ । विषयवस्तुलाई तोडमोड गरेर राखिदिएपछि कमेन्टका नाममा कुरा काट्नेदेखि लिएर उछितो काढ्नेहरूको प्रतियोगिता चलिहाल्छ । यस्तो सजिलो भयो कि थुतुनो बजाइरहन परेन । कुरा लाउन र काट्न काइदा भएको छ ।
पौराणिक कालमा कुरा काट्ने, कुरा लगाउने र कुरा यतायता गराउने सञ्चार मन्त्रालय नारदजीका जिम्मामा थियो । आज छ छैन थाहा छैन । नेपालमा सङ्घीयता आए जस्तै त्यता पनि आयो कि ?
नेपालमा राजदुत सिफारिस गर्ने र फिर्ता बोलाउने परिपाटी छ । यस्तै परिपाटी देवलोकको नेपाल प्रदेशमा नहोला भन्न सकिन्न । विदेश पठाउने राहदानी र भिसा दिए जस्तै एकजना पास्टरले स्वर्ग पठाउने राहदानी र भिसा बाँडेको पनि देखिएको थियो । शैली फरक होला सबैजसो धार्मिक सम्प्रदायमा यस्ता मेन पावर कम्पनी नभएका होइनन् । कुरा काट्दा काट्दै स्वर्गतिर लाग्यो भन्ने आरोप लाग्ला धरतीमै फर्किने अनुमति चाहन्छु ।
विगतमा कुरा काट्ने पेशा नअपनाउँदा धेरै दुःख पाइयो । अन्य पेसामा भन्दा कुरा काट्ने पेशामा मनग्ये फाइदा रहेछ । सबैभन्दा महत्वपूणर् कुरा बिना लगानी लाभ लिन सकिने पेशा नै यो रहेछ । लोकसेवामा जस्तो रटिनु पर्ने र व्यापारमा जस्तो खटिनु पर्ने झन्झट यसमा छैन । शिक्षित अशिक्षित सबैले यसलाई अपनाउन सक्छन् । यस पेसामा तालिम वा प्रशिक्षणबिना जो कोही दीक्षित बनेका उदाहरण प्रशस्त मात्रामा पाउन सकिन्छ । अलिकति मुखाले, चोथाले, बेसारे र चेपारे भए यसका लागि काफी छ ।
शिक्षक, कर्मचारी, पत्रकार, राजनीतिज्ञ, व्यवसायी जुनसुकै क्षेत्रमा आवद्ध हुनुहोस् कुरा काट्ने विषयमा विशिष्टता प्राप्त गर्नु भएको छैन भने तपाईले कहिल्यै सफलता प्राप्त गर्न सक्नुहुन्न । त्यसैले म भन्छु कुरा काट्ने पेसालाई साइड जबका रूपमा भए पनि अपनाई हाल्नुहोस् । यसका लागि कुनै विशेष हतियार वा उपकरणको आवश्यकता पर्दैन । यदि कसैलाई यस विषयमा अन्यौल छ । कुरौटे प्रमाण पत्रको आवश्यकता परेको छ । यदि त्यस्तो छ भने चिन्ता गर्नु पर्दैन । हामीहरूले भौतिक तथा भर्चुअल दुवै माध्यमबाट कक्षाहरू सञ्चालन गर्ने तयारीमा छौँ । राजनीतिक क्षेत्रमा कुरा काट्ने विषयमा महा विद्यावारिधी प्राप्त विशेषज्ञहरूबाट सेवा उपलब्ध गराउने छौँ ।
मैले त भन्छु, विद्यालय तथा विश्वविद्यालयका पाठ्यक्रममा औपचारिक रूपमै कुरा काट्ने विषयका विषयवस्तु समावेश गरिनु पर्छ । यस विषयमा अनौपचारिक तवरबाट प्राप्त गरेको ज्ञानको समकक्षता प्रदान गरिनु पर्छ । संघ, प्रदेश र स्थानीय तीनवटै सरकारहरूले आफ्ना नीति तथा कार्यक्रममा समोवश गर्नु पर्छ । गजेटमा प्रकाशन गर्नेदेखि लिएर बजेटमा सम्बोधन गरिनु पर्छ । यति भयो भने सुखी नेपाली र समृद्ध नेपालको परिकल्पनालाई सार्थक बनाउन सकिन्छ । आउनुहोस् हातेमालो गरौँ । एकसाथ सङ्कल्प गरौँ कुरा कटाइलाई अभियानकै रूपमा सञ्चालन गरौँ । व्यक्ति व्यक्ति, घर घर, परिवार परिवार, गाउँ गाउँ हुँदै राष्ट्रिय र अन्तर्राष्ट्रियस्तरमा कुरा काट्ने प्रथा, परम्परा र विषयलाई संस्थागत गरौँ ।
कुरा काट्ने विषयमा जब रस लाग्छ तब कुरा नकाटेसम्म खाएको पनि पच्दैन । रातमा निद्रा लाग्दैन । बेचैनी र छट्पटी छुट्छ । जब तपाईं कुरा काट्न समर्थ हुनुहुन्छ । अजीर्ण वायु गएझैँ पेट हल्का हुन्छ । आनन्द आउँछ । निद्रा लाग्छ ।
निष्कर्षमा भन्न चाहन्छु । कुरा काट्नेहरूको सञ्जाल खडा गरौँ । दल दर्ता गरौँ । सरकार गठन गरौँ । कुरौटे एकता कायम गरौँ । एकै स्वरमा आवाज बुलन्द गरौँ – कुरौटे एकता जिन्दावाद !
०००
रेसुङ्गा नगरपालिका -२, गुल्मी









































असाध्यै राम्रो