साइबर अपराध सम्बन्धी सचेतना सामग्री

वृक्षरोपण : गाईजात्रा महोत्सव

हामीले जङ्गल चिनेनौँ र जङ्गली भयौँ । उम्मेर दुईपाते भएदेखि विशाल भएर काटिँदासम्म एउटो रूखले कम्तीमा बिस लाख रुपैयाँ आर्जन गर्छ । त्यसको हिसाब काठको सीएफ्टीले होइन मर्मले गर्नुपर्छ ।

Nepal Telecom ad

चोलेश्वर शर्मा :

असार लाग्यो । वृक्षरोपण देखिन थाले समाचारपत्रका विस्तृत, उजाड र विज्ञापनबाली नसप्रेका फाँटहरूमा । रेडियो प्रसारणका उच्च तरङ्गहरूमा । यस वर्षको वन महोत्सव यसैसाथ शुरु भयो । र भयो गाईजात्राको शुभारम्भ पनि ।

विद्यार्थी जीवनका प्रारम्भदेखि नै गुरुहरू “हरियो वन : नेपालको धन” शीर्षकमा निबन्ध, विस्तृतीकरण, टिप्पणी आदि लेखाउँथे र यस कथनको शत प्रतिशत सार्थकता त्यति बेला महसूस भयो जति बेला कक्षा पाँच पनि पास नगर्दैका मेरा साथीहरू हरियो वनको छरिएको धन सोहोर्न गए। ती कत्ति निराश भएनन्। वन नासिनै थियो, नासियो। वन नासिए पनि ती नासिएनन् । चिरञ्जीवी भए। तर आज म विद्यार्थीबाट भूतपूर्व भइनसक्तै यो उक्ति/उखान पो भूतपूर्व भइसकेको छ। र नेपालका डाँडाकाँडा र फाँटहरूमा अब हरियो वन खोज्न हरियै लेन्सको चस्मा चढाऊँजस्तो लाग्छ ।

एक समय आयो नेपालमा सबैले भन्थे जङ्गल खुल्यो तर अब अहिले विचार गर्दा थाहा भएको छ- जब जङ्गल खुल्यो तब नेपालको समस्या खुल्यो । ०३६ साल आयो-पहाड-तराईका जिल्लाका कुशल प्रशासक विशेष शान्ति सुरक्षामा जुटे। ईमानदार देशसेवकजति जङ्गल पसे। पुर्खाहरू परार्थका लागि जङ्गल पस्थे, हामी स्वार्थका लागि पस्यौँ, पस्दै छौँ । पुर्खाले रूखलाई पूजा गर्थे ‘वनस्पतयः शान्तिः’ गाउँथे । रूखपातलाई माया गर्थे मुटुले हामीले जस्तो ओठले होइन । र देशका अन्नजलले सय वर्ष निर्धक्क बाँच्थे । हामी तिनलाई अन्धविश्वासी, आडम्बरी, मूर्ख आदि ठानेर खिसी गर्दै आधापेट अन्नपानीका लागि हुरुक्क हुँदा पनि खान नपाई नपाई चालिस पनि काट्न नपाएर मछौं । वरपीपल लगाउने पुर्खालाई पाखण्डी ठहर्‍याउँदै तिनैले लगाएका वरपीपल काटेर एक एक हाँगाका लागि लुछाचुँडी गर्नु वर्तमानको सभ्यता भएको छ ।

आज जुनसुकै भेटघाट, छलफल, सभा-समारोह, चर्चा-परिचर्चामा वन-विनाश र भू-क्षयकै समस्या प्रधान छ । जेको चर्चा गर्‍यो उही प्रधान छ हामीकहाँ । प्रधानको कुनै समस्या छैन । सामान्य मानिस पनि भू-क्षयकै समस्याले पिरोलिएको छ । उसका अन्य समस्या छैनन् । हामी चिन्तित हुँदाहुँदै वन फँडानी गर्न थालेका हौँ । त्यसै पनि चिन्तित भएपछि हामीले कुनै न कुनै महान् कार्य गरिहाल्छौँ । वन पैदावारले हाम्रो निर्यातको ठूलो भाग ओगट्छ र विदेशी मुद्रा आर्जनको प्रमुख स्रोत हरियो वन भएको छ भनेर छाती ठोकेका हौँ । आफ्नो छाती आफै ठोक्नु अपराध त होइन । महान् कार्य हो । अर्काका ठोक्दा अवश्य विचार पुर्‍याउनुपर्छ ।

हाम्रो चिन्ता थियो डलरको । चिन्ता अन्तर्राष्ट्रिय बजारको । चिन्ता विदेशी वस्तुको स्वाद नपाउनाको । चिन्ता-विकासको । विदेश भ्रमणको । ठेक्कापट्टाको । चिन्ता- ‘जसरी भए पनि केही कमाऊँ’ को । चिन्ता ‘रातारात कुबेर बनूँ’ को । अनि जङ्गल नमासे नोट/डलर छैन । डलर नभए संसारै छैन । मानिस हुनाको मतलबै छैन । नेपाल मात्र भएर के गर्नु, नोट नभएपछि ? सगरमाथा र माछापुच्छ्रे मात्र भएर के गर्नु, नोट नभएपछि ? हरियो वन : नेपालको धन – मात्र भएर के गर्नु, आफ्ना साथमा चार पैसा नभएपछि ?

आज एकाएक वनको महत्त्व सबैलाई थाहा भएको छ । उपयोगिता छर्लङ्ग भएको छ । हाम्रा नसानसामा वनको महत्त्व बगेको छ रगत भएर । आजभोलि मन्त्रीज्यू पनि वनविनाशले पर्यावरण र त्यसबाट भूजैविक स्थितिमा पर्ने नराम्रो प्रभाव त्यति बुझ्ने र बोल्ने हुनुभएको छ जति कक्षा आठले बुझेको छ ।

आजै वातावरण प्रदूषणको समस्या चर्केको छ । आम्ल वर्षा (एसिड रेन) र भू-क्षय (स्वाइल इरोजन) सबैले कण्ठ बनाएका छन् । तर पनि हिजो देशको क्षेत्रफलको ६६ प्रतिशत ढाकेको वन आज १६ प्रतिशततिर झरेको छ । आँखा झिम नगर्दै । हामीले गौरवगाथाझै यी दोहोर्‍याउँदै छौँ । वनको महत्त्व बुझेर त्यसको कदर यस रूपमा हुनु ठूलो कुरो हो ।

आज सबैलाई वन संरक्षणको चासो छ । तर पनि कुन्नि कसरी क्रमशः नासिँदो छ वन । कुन्नि किन फाँहिँदो छ वन । बेमाख पारिँदो छ वन। लुटिँदो छ वन । नाङ्गिँदो छ वन । हेर्दा हेर्दै हजारौं वर्ष पुराना वन-जङ्गल स्वाहा भएका छन् ।

प्रत्येक वर्ष वन महोत्सव आउने गर्छ । जसरी त्यसको स्वागत हुन्छ नेपालमा-वन महोत्सवलाई नै थाहा छ । त्यसैले त्यो कुनै रसले, उल्लासले आउन्न । मन नपरी नपरी आउँछ । करबलले ।

वन महोत्सव आउँछ । वृक्षरोपणका कार्यक्रम घोषित हुन्छन् । निमन्त्रण पत्र बाँडिन्छन् । बसमा, कार-जीपमा, मोटर साइकलमा वृक्षरोपणका सहभागीको सवारी चल्छ बिहेका जन्तीझैँ । र कताकति काँगियो, धूपी, गोब्रेसल्लो, चिलाउने आदिका दुईचार बिरुवा रोपेर ‘मायालु’ ले हात धोएपछि वन महोत्सवको औपचारिकता पूरा हुन्छ । जुन बाटो आएथ्यो वन महोत्सव उही बाटो जान्छ । कसैलाई पीर पार्दैन ।

माटो छुन डराउने हातहरूबाट नितान्त औपचारिकताको पूर्ति हुन्छ । “महिलाहरू नभए त कुनै कार्यक्रममा मजै आउँदैन । तर यसपटक त निकै छन् ।” टिप्पणीहरू : वृक्षरोपणको लक्ष्य । मजाको खोजमा नै वृक्षरोपण पनि गरिँदै आएको छ । वृक्षरोपणअघि र पछि क्यामरा छन् । रङ्गीन फोटो-फिल्म छन् । महावनभोज छन् । ड्रिंक्स् छन् । जोरका जोर तास छन् । नाचगान छ। खिलखिलाउँदो हाँसो छ ।

आज हामी जताबाट बगे पनि, हामी जताबाट हिँडे पनि रक्सी र नाचमा टुङ्गिन्छौँ । वृक्षरोपण अपवाद छैन । सके रक्सी, भोज र मातको नयाँ बहाना जुटेको छ वृक्षरोपण ।

समाचारपत्रका मुखपृष्ठमा वृक्षरोपणका चित्र “हरियो वनः नेपालको धन” मजासँग छापिन्छन् । समाचारपत्रका यथार्थमा हाम्रो जीवन छ ।

“कलर फोटो राम्रो आएनछ । क्या बोर ।” वृक्षरोपणको यथार्थ हुन्छ । फोटो अलबमहरू सुरक्षित हुन्छन् वृक्षरोपणका र रोपिएका बिरुवाको संरक्षण भगवान्ले गर्छन् । यसरी हामीले अब वृक्षरोपण थालेका छौँ । पद्मपुराण र बुद्धका महावाणीलगायत युरोपेली भाषाका उखान र वचनका दुहाई दिएर प्रचार गर्दै छौँ । पुराना जङ्गलका रूखपात निर्ममतापूर्वक काट्दा पद्मपुराण वा मार्कण्डेयपुराण वा गरुडपुराणसम्मको सोच आएन । आज वृक्षरोपणको महिमा गाइँदो छ । पर्चा-पोस्टर र तथ्याङ्क रोपिँदा छन् । ‘रूख रोपौँः वन जोगाऔँ’ यो गाईजात्रा हाम्रो पौरखको प्रदर्शन हो ।

आज वनको पनि वर्गीकरण छ-कागजमा। आज यहाँ सामुदायिक वन विकास कार्यक्रम छन् । पञ्चायती वन छन्, पञ्चायत संरक्षित वन छन्, सरकारी वन छन्, निजी वन छन्, स-मीलका वन छन्, कबुलियत वन छन् । सबै छन् तर जे छैन-त्यो हो विशुद्ध वन, साँचो वन नेपालको । किनभने आज वन कम र वनका साइनबोर्ड बेसी भएका छन् । साइनबोर्ड नै वन-जङ्गल भएका छन् ।

लाखौँको बजेट खर्चेर कार्यालयका टेबुलमा रोपिएका बिरुवा र नभएको वन क्षेत्रफलका मनचिन्ते र हचुवा विवरण र टाउको दुखाउने अचूक औषधि-तथ्याङ्क प्रस्तुत गरेर “हरियो वनः नेपालको धन” जिउँदो छ । कति हेर्नू-तथ्याङ्क नर्सरी स्थापनाका, तथ्याङ्क नर्सरी सञ्चालनका र वृक्षरोपणका, वन सीमाङ्कनका, चुलो वितरणका, नर्सरी र वन नाइकेका, हेरालु (ने. रा. प्र. प्रतिष्ठानले नेपाली बृहद् शब्दकोशका नयाँ सस्करणमा यस शब्दलाई र यो शब्द सुझाउने सहयोगी विद्वान्मा मलाई पनि अवश्य समावेश गरोस् ।) का । सबैका तथ्याङ्क छन् । बन्चरो वितरण र भष्मासुरे नीतिका उद्घाटनका अवसरका र काठ निकासीका तथ्याङ्क मात्र छैनन् । यिनै अनुपलब्ध तथ्याङ्कका ढड्डीमा हराएको छ नेपालको वन ।

यिनै उपलब्ध तथ्याङ्कका मरुभूमिमा सुकेको छ, लुकेको छ नेपालको वन । यिनैमा अडिएका छन् रेन्ज, डिभिजन र सर्कल कार्यालयहरू । यिनैबाट चलेका छन् विभाग र मन्त्रालयहरू । यिनैबाट चलेका छन् खासखुसहरू । यिनैबाट खुलेका छन् बैड्क खाताहरू । यिनैबाट राष्ट्रिय-अन्तर्राष्ट्रिय सङ्घ-संस्था तथा दक्ष जनशक्ति र कम्प्यूटरले काम पाउँछन् । तर अफसोस, अफसोस । प्रत्येक वर्ष अघिल्ला वर्ष लगाइएका बिरुवा र खाइएका रक्सीको स्वाद कम्प्यूटरले पनि बिर्सिदिन्छ र तिनै ठाउँमा पुनः वृक्षरोपण हुन्छ । पुनः वृक्षरोपण कार्यक्रम पनि वनविकासको कार्यक्रमबाहिर पर्दैन । वन फाँडिए पनि वनविकास कार्यक्रमभित्र पर्छ र बिरुवा रोपिए पनि वन विकास कार्यक्रमभित्रै । मासिए पनि विकासभित्रै । फैलिए पनि विकासभित्रै । यस्ता चटक नेपालमा कति हुन्छन् कति । वृक्षरोपण जति चर्किँदै छ, वन विनाश उत्ति बढ्दो छ । र वृक्षरोपण चिच्याउनु नेपालको अत्याधुनिक फेसन भएको छ । बग्दो गण्डकीमा तपाईं पनि हात धोइहाल्नोस् । केही नभए करेसाबारीमा खुर्सानीकै एक बोट सार्नुहोस् -वृक्षरोपण । र वनविनाशप्रति चिन्ताका दुई शब्द बोलिहाल्नुहोस् ।

हाम्रो वृक्षरोपणः वृक्षरोपण र संरक्षणको कच्चा फाँटवारी भएको छ । रकम निकासा र खर्च भएको छ । जोडघटाउ मात्र भएको छ । आँखाको छारो भएको छ ।

सुन्दरलाल बहुगुणाले केहीअघि आफ्नो नेपाल भ्रमणमा भनेथे, ‘रुख भनेको पानी हो । पानी भनेको भोजन हो । भोजन भनेको जीवन हो ।’ यसलाई वर्तमान सन्दर्भमा हेर्दा रूख भनेको धन हो मात्र देखापर्छ । त्यसैले नै भनेको हुनुपर्छ ‘हरियो वनः नेपालको धन’ ।

पुर्खाले आफू लुटिएर देश बचाएथे । हामीले देश लुटेर स्वार्थ बचाएका छौँ । र पनि आफू स्वाभिमानी, देशसेवक ठहरिएको गर्व बोक्छौँ । भ्रम पाल्छौँ -मिठो । आज देशसेवा स्वार्थमा अनुवाद भएको छ । सङ्कुचित स्वार्थमा । व्यक्तिगत स्वार्थमा ।

प्रकृतिले नेपाललाई प्रचुर वनसम्पदा दिएर नेपालीका हातमा सुनको फुल पार्ने कुखुरो दिएथ्यो । तर दिनको एउटो फुल पर्खनुको सट्टा कुखुरो नै मारेर सुनका फुलले रातारात लखपति बन्ने लोभमा हामी पछुताएका छौँ । अझै पछुताएकै पनि छैनौँ कि ?

हामीले जङ्गल चिनेनौँ र जङ्गली भयौँ । उम्मेर दुईपाते भएदेखि विशाल भएर काटिँदासम्म एउटो रूखले कम्तीमा बिस लाख रुपैयाँ आर्जन गर्छ । त्यसको हिसाब काठको सीएफ्टीले होइन मर्मले गर्नुपर्छ । रुखलाई केवल काठका मुढाका हिसाबमा हेर्नेहरू मूढहरू नै हुन् । तिनको दृष्टि छैन । विवेक छैन । मर्म छैन ।

घाँसपात, फलफूल, दाउराकाठ, पशुपंक्षीको आश्रय, पानीको सञ्चय, भू-संरक्षण, अक्सिजन, वातावरणको सन्तुलन र सौन्दर्यपरक मूल्य । यी सबैको हिसाब गर्दा बिस लाख रुपैयाँ किन नहुनू ? आजको विषको पनि मोल बढेको समयमा यसको मूल्य बिस करोड पो पुग्छ कि ? म जोड्दै छु ।

जहाँ जङ्गल थिए-आज गिज्याएझैँ साइनबोर्ड खडा छन् -अझै ठड्याउँदै छौँ हामी । निर्लज्ज । “हरियो वन : नेपालको धन ।” अब फेरि वन महोत्सव आएको छ । वृक्षरोपण होलान् नै । वन महोत्सवसँगै गाईजात्रा महोत्सव पनि आउँछ । वृक्षरोपणः गाईजात्रा महोत्सव ।

०००
पाल्पा
‘सगरमाथा एक पहाडको नाम होइन’ (२०७९)

Subscribe
Notify of
guest

1 Comment
Oldest
Newest Most Voted
Ramesh Bang,achari
Ramesh Bang,achari
1 year ago

गाउँ गाउँमा समुदायिक वन छ,
तर जगेर्ना कम छ,
कसो गर्ने ….?

Nepal Telecom ad
मलाई चुनाउ नामको आम मिठो लाग्छ

मलाई चुनाउ नामको आम...

चाेलेश्वर शर्मा
स्तरीय रचनाको प्रश्न

स्तरीय रचनाको प्रश्न

चाेलेश्वर शर्मा
मेरो गाउँको नाउँ छैन

मेरो गाउँको नाउँ छैन

चाेलेश्वर शर्मा
‘ज्यादा खा लिया’ र ‘हमदर्द का पचनोल’

‘ज्यादा खा लिया’ र...

चाेलेश्वर शर्मा
परम कर्तव्य र खोलाका माछा

परम कर्तव्य र खोलाका...

चाेलेश्वर शर्मा
सुव्यवस्था

सुव्यवस्था

सुरेशकुमार पाण्डे
नेताको व्यथा

नेताको व्यथा

रामकुमार पाँडे
अज्ञानताको विज्ञान

अज्ञानताको विज्ञान

शिवप्रसाद जैशी
जङ्गली समाज !!

जङ्गली समाज !!

कलानिधि दाहाल
1
0
Would love your thoughts, please comment.x
()
x