संप्रस पाैडेललोक सेवाको- कोया कविता
नाङ्लेका चोया कविता, 'वाह' वाला छोया कविता ट्युसन सेन्टरमा तिरेका तिर्यै, पीरका पोको फोया कविता होनहार उमेर 'फलफूलको राजा आँप' रट्दैमा गयो अनि पो जन्मियो गुदीबिनाको 'कोया कविता' ।

संप्रस पौडेल :
‘भए पास, नभए अभ्यास’ भनेर लोक सेवा तयारी सुरू गरेँ ।
मैले लोक सेवाको मध्यतयारीमा सगरमाथाको उचाइ घोक्दै गर्दा नवराज पराजुली ‘सगरमाथाको गहिराइ’ लेख्दै थिए ।
यो किताबको नाम सुन्नेबित्तिकै लाग्यो- हिमालका हिउँ पग्लिँदैछ भन्ने सुन्दा पनि आत्तिएथेँ । कतै उचाइ ह्वात्तै घटेर कन्ठस्थ गरेका उचाइ फेरि बिर्सनु पर्ने त होइन ?
यता विश्वको भूगोलका सामान्यज्ञान कन्ठस्थ गर्दै गर्दा पराजुली कविता कन्ठस्थ गरेर कन्सर्टहरूमार्फत् विश्वका भूगोलतिर उडान गर्दै थिए । आफू भने कहिले अस्थायी सूची त कहिले वैकल्पिक भन्दैमा सग्लो निजामती भने हुन सकिएन । तर उनले कविता लेखेर, पढेर कमाइ पनि गरे, संसार पनि घुमे ।
००
पराजुलीको ‘ब्रह्माजीको रजस्वाला’ ले संसार वाह वाहमा रङ्गिएको थियो । उहीबेला नदीको नाम स्त्रीलिङ्ग हुने गरेकोमा ब्रह्मपुत्र चाहिँ किन पुरूषको नाममा रह्यो भनी खोज्दैमा व्यस्त भएँ ।
बाढीको क्षति कारण कोशीलाई ‘बिहारको दुख’ भन्दै गर्दा वर्षामा सुदूरतिरको परीक्षा केन्द्रमा जान एक हप्ताअघिदेखि मेसो मिलाउथेँ । दसवटा जति परीक्षाको पहिलो पत्र उत्तीर्ण गरायो तर दोस्रोमा अधिकांशमा गुल्टुङ खाएँ । लोक सेवाले पनि हिउँले झैँ भतभति पोल्दोरहेछ । अझ सँगसँगसै पढेका साथीहरू निजामती भएपछि आँट त खरानी नै भएर उडेकाे हाे । यही पीडाले पराजुलीले लोक सेवा कविता लेखेका हुनुपर्छ ।
००
पराजुलीसँग केही समानता पनि त थिए नि । उनको ‘लाटोकोसेरो’ कविता आउनुभन्दा धेरै अघिदेखि रातरातभर लाटोकोसेरोझैँ नसुतिकन पढ्थेँ । तर नतिजा दिनमा आउँदो रहेछ- ‘ढिलै आयो, पिलै आयो’ भइगयो ।
००
पराजुली ‘मालिक’ कविता ल्याउँदा म कुन सालिक कसले बनाए भनेर नेपालको इतिहास कण्ठस्थ गर्दै रहेँ । उनको ‘घर’ कविताले चर्चा पाउनु धेरै अघि नै घरबार गरिसकेथेँ । अब लोक सेवाले घर न घाटको बनाउने भयो भन्ने सोचमा रहँदा उनी भने ‘मालिक’ कविता लेखेर आफ्नो मालिक आफैँ बनिरहेका थिए । उनले खस भाषामा ‘एक्लै’ कविता सुनाइराख्दा म चिनियाँ भाषामा सबैभन्दा बढी अक्षर हुन्छन् भनेर कन्ठ गर्दै रहेँ ।
००
‘रुसमा जार र जरिनालाई जिलेटिनले काटेर मारे । औद्योगिक क्रान्तिले किसानहरू मजदूर बनाइए । हिटलरले बङ्करमैँ आत्महत्या गरे । गोयबल्स १ दिनका लागि चान्सलर भएर स-परिवार आत्महत्या गरे । पर्लहावरमा आक्रमण भयो । जापानमा अगस्ट ६ र ९ मा बम पड्कियो । भीमसेन थापाको शीर लण्डनमा रहेको छ । जङ्गबहादुरलाई सिध्याउन खेलिएको कोतपर्वले उनलाई शक्तिशाली बनायो ।’ पढ्दा पढ्दै पराजुलीले ‘चिहानबाट बाँचेर फर्किँदा’ कविता लेखेर देश तताइसकेका थिए । उनको कविता ‘मर्नुअघि’ पढ्नुभन्दा पहिल्यै मर्नुअघि थोरो, आइन्स्टाइन, सुकरात र विपीले के के भने भनेर पढ्दा पढ्दा झ्याउ लागिसक्दा पराजुलीले ‘च्याउ’ कविता लेखिसकेका थिए ।
००
कोरोना फैलियो, संसारभर लकडाउन लाग्यो । फाराम भर्दा भर्दै उमेर छिप्पिइएछ । उमेरमा लकडाउन लागेर ठप्प भएन, पराजुलीको ‘रुख’ कविताजस्तो उमेर बढिरह्यो । त्यो पहिले उमेर नाघ्ला कि ननाघ्ला, विचारै नगरी फाराम भरेको थिएँ ।
फोन आयो- “हेलो फलानो बोल्नुभाको हो ?” स्वीकारेँ ।
“भाइ उमेर त छिप्पिसकेछ, अरू केही काम पनि गर्दैछौ कि लोक सेवा तयारी मात्रै हो ?”
यति चिन्ता त पराजुलीले कवितामा पनि गर्छन् गर्दैनन् भनेर एकछिन घोरिएँ । रुन पो थाल्यो कि भन्ने ठानेकी कसो, अरू पनि थुप्रै उपाय छन् खोज्दै गर्नु है भनेर फोन राखिदिए ।
फेरि उनै नवराज पराजुलीलाई सम्झिएँ । धन्य त्यो बेला भूपू पाण्डेले ‘जिन्दगी चल्न त चल्या छ, पिरैपिरमा छ’ गाउन भ्याएका रहेनछन् ।
००
अहिले पनि जन्मदिनमा साथीहरूले ह्याप्पी बर्थ डे भन्दैगर्दा उनै पराजुलीको ‘ह्याप्पी बर्थ डे’ कविता सम्झन्छु । उमेर अङ्क मात्रै हो कि, थप एक चाउरी पनि हो ? ‘बा’ कविता लेख्ने पराजुलीलाई भेटेरै सोध्नुछ ।
‘म मर्दा एक दिन बिदा हुन्छ हो ?’ भन्ने पराजुलीलाई सोध्न मन छ, लोक सेवाले विदेशी आउँदा दिएको बिदाबारे सामान्यज्ञान बनाएर किन सोधेको होला ? यता लोक सेवातिर खर्चिनुभन्दा त्यही राजश्व जम्मा गरेर व्यापार गरे राम्रै हुन्थ्यो कि भन्ने लागिरह्यो । पराजुलीले ‘जुलपी’ कविता सुनाइरहँदा खोया चपाएजस्तो मन खल्लो भइरह्यो । ‘खोया’ कविता पन उनले लेखिसकेछन् ।
००
रोटीको बास्केट युक्रेन, चिनीको भाँडो क्युवा । चुच्चेखोलाको खुवा, पाल्पाको करूवा । वीरगञ्जको ताप्के, मकवानपुरको ठेकी । कर्ण ज्ञानी र विवेकी, विकासानन्दको रेकी । मूत्र रोकी रोकी पढिएछ, सूत्र बनाइ बनाइ पढिएछ । वृहत ज्ञानकोषदेखि अग्रवालको आइक्युसम्म, नेवारका गुभाजुदेखि अछामका गाइघ्यूसम्म । देव शमशेरको देव शमशेरको गोरखापत्रदेखि हाँडीगाउँका उल्टे जात्रासम्म । टाइटानिक किन ठोक्कियो, टुप्पी बाँधेर घोकियो । जाडोमा सिरकले ढाकिएन, पढ्न बाँकी केही राखिएन ।
००
पराजुलीले अष्ट्रेलिया पुगेर ‘खोया’ कविता वाचन गरिरहँदा म उता गाउँमा आँपका ‘कोया’ मा व्यस्त थिएँ । अनि आउँछ ‘खोया’ जस्तो नतिजा । कोया उम्रेर आँप फलिसक्यो, बिहे गर्नेहरू सन्तानका बाउ बनिसके । हनिमून जानेले पास्नी गराइसके । बिहेपछिकै ५ वर्ष पनि लोक सेवामैँ समर्पित भइएछ । गन्ने नै हो भने २ दर्जनजति ‘बाउआमाको बिहे, सन्तानको पास्नी भोज’ मा गइएछ ।
पैगम्बर मक्कामा जन्मिएकादेखि झापामा भक्का खाइनेसम्म रटेकै हो । मृग र कुखुराको हुलमा खुट्टा र टाउको गनेर आइक्यू पढियो ।
प्रश्न सोधियो- ५० जनाले एकापसमा हात मिलाउँदा कूल कति पटक मिलाउँछन् ? हात मिलाउने तलब बुझ्ने सरकारी जागिर पाइन्छ हो ? २० जनाले एकापसमा नमस्कार गर्नेको सङ्ख्या पढेर निजामतीमा नमस्कार सेवामा जागिर मिल्छ हो ? मनमा यस्ता प्रश्न पनि नआएको होइन । जिजस र बुद्धको जन्ममिति पढ्दा पढ्दै बुद्धु बनिएछ ।
मदन पुरस्कार कसले पाए, अरस्तुको गुणगान खुबै गाए, देशी विदेशी किताब लेखेको, लेखकको नाममा प्रश्न देखेको, फेसबुकको विकास कसले गर्यो, वर्षभरि को बैतर्नी तर्यो, यमलाई किन ग्रह मानिएन, एलन मस्कलाई कहिल्यै जानिएन । यसलाई महत्वको प्रश्नै ठानिएन । पराजुलीले ‘तिमी अहिलेबाहेक जहिले आएको भए पनि हुन्थ्यो’ भन्दै गर्दा यस्तो प्रश्न नआएको भए पनि हुन्थ्यो भन्ने लागेकै हो तर कविता सच्याएजस्तो प्रश्न नसच्चिँदा रहेछन् ।
प्रश्न सोधियो- न्युरालिङ्क के हो, स्पेस एक्स के हो ? फाइबर अप्टिक किन जोडियो, एपोलो र भोस्तोक कता मोडियो ? मैले हाँकेकै थिइन त कता मोडियो कता मोडियो ।
०००
त्यसयताका कुरा,
कामका लागि विदेश जाने खुट्टाको लम्बाइ ननापेको मान्छे लोक सेवा नफापेको आफ्नै अनुहार अपलोड गरेर अनलाइन फाराम भर्न छोडेको धेरै भयो । त्यो अनलाइन अकाउन्टले पनि बेला बेला पराजुलीको ‘चिहान’ ले झैँ झस्काइरहन्छ । तब न यति लेखियो । अनि उनैका कवितांश सम्झिएँ- म बटुवा होइन, बाटो हुँ र मनमनै भनेँ- मेरो अवस्था ‘कोत पर्वको टाटो, नेपाल-अङ्ग्रेज युद्धको घाटो’ भन्दा कमको रहेन । ‘चुरे दोहनको माटो र भूराजनीतिको पाटो’ कविता वाचन र मञ्चन भएनन्, मेरा खिरिला अनुभव सुन्ने कन्सर्ट कतै भएनन् । आजकाल म पनि उनैले जस्तो भन्ने गरेको छु- ‘मैले पूर्णाङ्क तोड्नेगरी अङ्क ल्याउँछु भन्ने थाहा पाएर’ लोक सेवाले मलाई चाँडै नै बुढो बनायो, सुरो थिएँ, घोप्टिँदा घोप्टिँदा बबुरो बनायो ।
त्यसपछि एउटा कविता लेखेः
घोक सेवा
०००
मैले पूर्णाङ्क तोड्नेगरी अङ्क ल्याउँछु भन्ने थाहा पाएर
लोक सेवा आयोगले मलाई तलका मध्ये कुनै पनि प्रश्न सोधेन
खण्ड क- हास्यव्यङ्ग्य
१. तपाईँको पूरा नभएको ‘निजामती सपना’ का लागि के गर्नुहुन्छ ?
क. सके छोराछोरी, नसके मीत छोराछोरीबाट पूरा गराउँछु
नसके गाईलाई सुनाएर मन शान्त पार्छु
त्यतिले नसके प्रवेशपत्रहरू खोलामा लगेर बगाइदिन्छु ।
ख. अलि पढेको भए पास हुन्थेँ भनेर धक्कु लाउँछु
ग. जसले पनि पास गरेका छन् भनेर फुर्ती लाउँछु
तिमेरूको जस्ता समय मिलेको भए…. भनेर घुर्की लाउँछु ।
घ. पास भएकालाई यति नि आउँदैन भनेर उडाउँछु
खासमा सबै विकल्प मेरै हुन् भनेर मन कुडाउँछु ।
०००
लोक सेवाले मेरो अनुभवसँग सम्बन्धित प्रश्न नसोधेकोमा अजीव लागेकै हो । तब न कवितांश यसरी प्रस्तुत गरेँ
शास रोकेर रटेँ, ग्याँस रोकेर खटेँ
लोक सेवाले कहिल्यै सोधेन-
निजामतीको डोरी कति लामो बाट्नुभयो ?
५ वर्ष पढ्दा पनि पहिलो चोटी भनेर
नयाँ नयाँ परीक्षार्थीलाई कतिचोटी ढाँट्नुभयो ?
०००
ट्वाइलेट जाँदा कुन किताब बोकेर जानुभो ?
सँगै पढ्नेले ‘पार्कमा भेटौँ न’ भन्दा किन सामान्यज्ञान सोध्नुभो ?
सोध्नेबित्तिकै जिन्दगी जिउनै नजानेको आरोपमा उनी कता गइन् ?
विषयगत पो सोध्नुपर्ने रहेछ भनेर चाहिँ किन सोच्नुभो ?
०००
देउता जन्मिएका अनि देउता बसेकादेखि अङ्ग खसेकासम्म, आँधीदेखि सुनामीसम्मका कुरा, साइकल बनाउने पुरूषदेखि दमकल चलाउने महिलासम्म, शासकका मतिदेखि मृत्युका सतीसम्म नपढी नहुने रहेछ ।
महोत्तरिका जलेश्वर महादेव नेपालगञ्ज पुग्दा,
नाकमुनी धानको बिउको मुठोझैँ जुँगा किन पलाएको हो ?
योग नरेन्द्र मल्ल मर्दा ३७ रानी सति गएछन्
ट्रम्पको भाषणबाट एक लाइन सोधेर लोक सेवा किन बहुलाएको हो ?
०००
समय सिध्याएको सूत्रैसूत्रका किताब किन सस्तो लाग्छ ?
मोटामोटा किताब देख्दा तपाईँलाई कस्तो लाग्छ ?
काशी जाने मान्छे मुन्टो बटारेर किन कुति लाग्छ ?
पूराना प्रवेशपत्र देख्दा तपाईँलाई काउकुती लाग्छ ?
नाङ्लेका चोया कविता, ‘वाह’ वाला छोया कविता
ट्युसन सेन्टरमा तिरेका तिर्यै, पीरका पोको फोया कविता
होनहार उमेर ‘फलफूलको राजा आँप’ रट्दैमा गयो
अनि पो जन्मियो गुदीबिनाको ‘कोया कविता’ ।
इति ।
०००
आबद्धताः सिस्नुपानी नेपाल, मकवानपुर
Subscribe
Login
0 Comments
Oldest







































