साइबर अपराध सम्बन्धी सचेतना सामग्री

आलिफुली आलिफुली फुइऽऽखा

सकल दर्जाका बचेराहरू ओत पाउँछन् । असकल दर्जामा पर्नेहरूको बिल्लीबाठ हुन्छ । सकल दर्जाले जयजय गान गाउँछन् । असकल दर्जामा पर्ने वैरागी बिचराहरू बैराग ओकल्छन् ।

Nepal Telecom ad

शिवप्रसाद जैशी :

तोते बोली बोल्ने बच्चालाई हँसाउन खेलेर देखाइने खेल- आलिफुली आलिफुली फुइऽऽखा । नान्काइछन्ती (सानो हुँदा) बाआमा वा नजिकका कुनै पनि जान्ना (ठूला) मानिसले हातमा केही चिज वस्तु लिएर देखाउने । त्यो चिज वस्तु आलोपालो दुवै हातमा लिने र आलिफुली आलिफुलीकै हात्तै भन्ने । खेलाडीले पहिले दाहिने हातमा देखाउँछ अनि दुवै हातमा खेलाउँदै आलिफुली आलिफुली कै हात्तै भन्छ । बच्चाले दाहिने हातमा छ भन्ने सङ्केत गर्छ खेलाडीले देब्रे हातमा देखाउँछ । बच्चाले पहिले देखिएको हातमा सङ्केत गर्छ तर खेलाडीले अर्कै हातबाट निकाल्छ ।

एवं प्रकारले आलोपालो गरी खेलिन्छ र देखाइन्छ । जब बच्चाले अर्को हातको सङ्केत गर्छ खेलाडीले पहिले देखाएकै हातमा राखेर अचम्म पार्न खोज्छ । अनि बच्चा रनभुल्ल पर्छ । कहिलेकाहीँ बच्चाले सङ्केत गरेकै हातमा पनि भेटिन्छ । त्यसो हुँदा बच्चाले जितेको महसुस गर्छ । आजकालको भाषामा जादु भन्न मिल्ने । बच्चा मक्ख पर्छ। खितखित हाँस्दै रोक्दै फेरि हाँस्छ । बडो अनौठो हाँसो निस्कन्छ बच्चाको । बच्चा हाँस्दाहाँस्दै एकातिर ढल्छ । फेरि उठ्छ । फेरि हाँस्छ । हाँसो रोक्न असफल हुन्छ बच्चा । एउटा हातको चिज अर्को हातबाट कसरी निस्क्यो भनेर होला । बोलीमा भने व्यक्त गर्न सक्तैन ।

खेलाउदै जाँदा दुवै हातमा खेलाउँदा खेलाउँदै दाहिने हातको चोर र बुढी औलामा बनेको प्वालमा फु गर्ने । आलिफुली आलिफुली फुइऽऽखा भनेर हात फुकाउने । दुवै हातमा समान हुँदैन । खाली हात देखेर बच्चा झन बढो अचम्मित हुन्छ । अझ मज्जाले हाँस्छ । खेलको अझ एडभान्स रूपमा पर्छ यो तरिका । हातमा खेलाइने वस्तु जे पाइन्छ त्यही राखिन्छ । सानो ढुङ्गा वा अरु कुनै चिज । कहिलेकाहीँ खानेकुराको पनि खेलिन्छ सायद बच्चालाई खुवाउने तरिकाको रुपमा यसको प्रयोग हुन्थ्यो ।

यसको मनोवैज्ञानिक सम्बन्ध के होला थाहा छैन । वृत्ति विकासमा, मन र मस्तिष्कमा यसको कुनै सम्बन्ध थियो वा थिएन, हुन्छ वा हुँदैन त्यो पनि थाहा भएन । जे होस मनोरन्जनात्मक हुन्थ्यो । बच्चालाई यो बडो मजा लाग्ने र थामी नसक्नु हाँसो हाँस्ने खेल बन्थ्यो । बच्चा आफै खेल्न तम्सिन्थ्यो पनि । सायद बच्चो खुसी पार्न जान्ना मान्ठ (ठूला मानिस) ले यो खेल आफू खेलेर देखाउँदा हुन् । पक्कै पनि केही सृजनशील चाहिँ यो छ ।

हुर्किँदै गएर पछि गोठालो जाँदा यो खेल सामूहिक रुपमा समेत खेल्ने गरिन्थ्यो पालैपालो । कहिलेकाहीँ जुन हातमा छ त्यो पत्ता लाग्यो भने पहिलो खेल्नेलाई आउट गराइन्थ्यो र पत्ता लगाउनेको हातमा स्वतः जान्थ्यो त्यो चिज । उसैले खेल्थ्यो । दुवै हातमा समेत नभएको देखाउन फु गरेर आलिफुली आलिफुली फुइऽऽखा भन्ने चलन थियो । यो बडो गजबको जादुगरी खेल थियो । लुकाउन सक्ने वा अर्को हातमा व्यवस्थापन गर्न सक्नेले प्रतिस्पर्धामा जित्थ्यो । बडो रोचक खेल हो यो-आलिफुली आलिफुली कै हात्तै अनि आलिफुली आलिफुली फुइऽऽखा ।

आजकाल यस्ता गोठाले खेलको मृत्यु भइसक्यो । यस्ता खेलका अवशेष म्युजियमतिर पनि देख्न पाइन्न होला । कोही अलि पुराना मानिसका दिमागतिर भए हो । सायद घुम्ती दुरभाष यन्त्रले लुटी सक्यो होला यस्ता अर्ग्यानिक खेल । हुन त भैँसी गाई बाख्रा सबैको सामूहिक मृत्यु भएपछि गोठालोको मृत्यु स्वभाविक हो । गोठालोको स्वभाविक मृत्युले यो खेल पनि च्वाट्टै मर्‍यो होला ।

उता गोठालो छोडेर शहराँ राजकाजमा पल्किएपछि यो खेल बच्चाबाट बुढामा, गोठबाट कार्यालयमा र समाजबाट सिधै राष्ट्रमा उक्ल्यो जस्तो छ । त्यो चिज बस्तु ढुङ्गो वा अरु कुनै चिज खोज्न साह्रो गाह्रो पर्‍यो । गाईभैँसी विहीन गोठालो हुने कुरा भएन । शहराँ, त्यो पनि राजधानी, राजाको गाउँ, राज गर्ने ठाउँमा कहाँ पाउनु त्यो । गोठालो खाडीतिर । बच्चो कहिल्यै अर्थ नबुझ्ने के. जि. तिर अनि जान्नाले कोसँग खेल्ने । कोलाई खेलाउने । आँखा तिर्मिराउने गरी हर्ने र खेल्ने भाँडो घुम्ती दुरभाष यन्त्र सबको हातमा परेपछि त्यो ढुङ्गो जस्तो अजैविक चिजको पनि मृत्य नभनौ प्रयोग विहीन अवस्थामा पुग्यो । आलिफुली आलिफुली फुइऽऽखा खेल त जोगाउनु पर्‍यो । बडो फसादमा ।

शहराँ आइडिया फुर्‍यो । शहराँ विदेश जान नपर्ने । घरमा काम नगर्ने राष्ट्र चलाउन माहिरहरूले ढुङ्गो भेटेनछन् । गणतन्त्र भेटेछन् । गणतन्त्रलाई एउटाले आलिफुली आलिफुली मार्सवाद ह्याँ भनेछ । अर्कोले होइन ह्याँ भनेछ । जसको हातमा छ जस्तो लाग्यो तिनका समर्थकहरू पुरै उमेरले पाका, विवेकका आलाकाचा फुरे छन् र खित्का छोडी हाँस्न थालेछन्- शहर, गाउँ, चोक, गल्ली सबैतिर। अर्कोले तेराँ भाको नक्कली । तेराँ भएको जडसुत्रवादी । तेराँ भएको विस्तारवादीको पिछ लग्गु भने छ । नक्कली भन्नेको हातमा पर्दा उसका समर्थक हाँस्दा हाँस्दै बेहोस भएछन् । बेहोसीपनबाट होसमा नफर्कदै गणतन्त्र जडसुत्रवादीका हातमा पुगिसके छ । सम्राज्यवादीको हरूवाचरुवा भन्नेहरूका हातमा पुग्दा उनीहरूका हितैषीहरूले हाँस्दाहाँस्दै तलतिर तुर्केको पत्तै पाएन छन् । तुर्केको सफा गर्ने बेला त अर्कैले आलिफुली आलिफुली फुइऽऽखा भन्न थालिसकेको देखिएछ। आलिफुली आलिफुली मरो चाहिँ अब्बल भन्दा भन्दै मार्सवाद हरायो फुत्त सुनको डल्लो फेला परेछ । सुनको डल्लोलाई अर्कोले दखेर पख भन्दा भन्दै उसले आलिफुली आलिफुली फुइऽऽखा भनेछ सुनको डल्लो गायब ।

देख, पख्लास् मैले जान्या छु भनेर रक्त चन्दनको टुक्रो उसको हातमा पत्ता लगाए छ अर्कोले । दुवै हातमा खेलाएर फु गरेर आलिफुली आलीफुली फुइऽऽखा भने छ अनि रक्त चन्दन गायब । अर्कोले साँडेले जस्तो सिङौरी खेल्न हुक्काँ मात्र के गरेको थियो तिमीले आलिफुली आलीफुली आलिफुली फुइऽऽखा गर्दाको दृश्य सिसि क्यमारामा देखाइदिउँ भनेछ । आलोपालो मिले छन् एक अर्कामा मार्सवादी गणतन्त्र लालसलामको टुप्पो काटेर र पुँजिवादी गणतन्त्रको पेदमा कलमी गर्न भ्याएछन् । मिलिजुली मलिजुली दुईखाउँ भन्ने वाक्य मुखबाट फुत्केको पत्तै पाएन छन् ।

अर्को बुर्लुक्क उफ्रेछ र भनेछ पख तिमीहरूलाई । म मानिसको नै डल्लो बनाएर देखाउँछु भनेर अख्तियार हातमा राखेर आलिफुली आलिफुली फुऽऽइखा भनेछ । ल, हेरौँ त भनेर कलमी रक्त चन्दनको टुक्रा सदन भित्र हुत्याइदिएछ। आलिफुली आलिफुली फुइऽऽखा भनेर महाअभियोग देखाएछ । बच्छिउँ र बारुले पार्टीका मुखियाहरूले न्याय ढुङ्गो समातेर दुवै हातको बीचमा रगडेर आलिफुली आलिफुली फुइऽऽखा भन्दै अदालतमा तेर्स्याए छन् । महाअभियोग बिउँतिए छ । आलिफुली आलिफुलीकै हत्तै भन्दा त फुत्त सञ्चार पऽऽर वक्ताको मुखबाट निस्कन्छ सर्वोच्च नयाँ पद सृजना महाअभियोग बिउँतिएका माण्ठको व्यवस्थापनका लागि ।

महाअभियोग रुपी ढुङ्गो हत्केलामा खेलाउँदा भुटीकुटी हुने ढरले पुरातन पन्थीको हुँकारमा साम्यवादी फल फलाउने प्रण गरी पुँजीवादको साथ लिएर चटके भित्र्याई बहुरुपी कलमी भकुण्डो बनाएछन् गणतन्त्रलाई । हालिमुहाली हालिमुहाली हाँऽऽखाँ, हाँऽऽखाँ भन्ने वाक्य मन्त्रोचारण सहितको ढुकुटी रित्याउ कलमी प्रतियोगिता चल्छ ।

महाराज, दाइ, पिता, कमाण्डर, र चटकेहरूले आलीफुली आलिफुलीकै हात्तै भन्दा कता हो कता पत्तै नपाएर रन्थनिन थाल्छन् यी सम्बोधनकारी बचेराहरू । संयुक्त विज्ञप्ति मार्फत ऐँचोपैँचो खेलखेल्ने सहमति आउँदा आलिफुली आलिफुली फुइऽऽखा जस्तो भान मात्र हुन्छ बचेराहरूलाई । सकल दर्जाका बचेराहरू ओत पाउँछन् । असकल दर्जामा पर्नेहरूको बिल्लीबाठ हुन्छ । सकल दर्जाले जयजय गान गाउँछन् । असकल दर्जामा पर्ने वैरागी बिचराहरू बैराग ओकल्छन् । आलिफुली आलिफुली फुइऽऽखा खेल निरन्तर चलिरहन्छ तर मोडिफाइड भर्सनमा, आधुनिक रूपमा, हालिमुहाली हालीमुहाली हाँऽऽखाँ ! हालिमुहाली हालिमुहाली हाँऽऽखाँ !

०००
अछाम, हाल काठमाडौं

Subscribe
Notify of
guest

1 Comment
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
CN Kanel Harit
CN Kanel Harit
1 year ago

Nikkai ramro Shiva sir.

Nepal Telecom ad
म भक्त हुँ

म भक्त हुँ

शिवप्रसाद जैशी
फर्मान प्रेमी

फर्मान प्रेमी

शिवप्रसाद जैशी
निस्सासिएछ हावा

निस्सासिएछ हावा

शिवप्रसाद जैशी
सिको

सिको

दिप मंग्राती
खरी झरेको मादल

खरी झरेको मादल

चिरञ्जीवी दाहाल
कविजी

कविजी

डा. कपिल लामिछाने
गाई भैंसी पाल, घाँस नकाट

गाई भैंसी पाल, घाँस...

सुरेशकुमार भट्ट
परलोकवासी पिताको पत्र

परलोकवासी पिताको पत्र

गणेशप्रसाद लाठ
1
0
Would love your thoughts, please comment.x
()
x