शिवप्रसाद जैशीआलिफुली आलिफुली फुइऽऽखा
सकल दर्जाका बचेराहरू ओत पाउँछन् । असकल दर्जामा पर्नेहरूको बिल्लीबाठ हुन्छ । सकल दर्जाले जयजय गान गाउँछन् । असकल दर्जामा पर्ने वैरागी बिचराहरू बैराग ओकल्छन् ।

शिवप्रसाद जैशी :
तोते बोली बोल्ने बच्चालाई हँसाउन खेलेर देखाइने खेल- आलिफुली आलिफुली फुइऽऽखा । नान्काइछन्ती (सानो हुँदा) बाआमा वा नजिकका कुनै पनि जान्ना (ठूला) मानिसले हातमा केही चिज वस्तु लिएर देखाउने । त्यो चिज वस्तु आलोपालो दुवै हातमा लिने र आलिफुली आलिफुलीकै हात्तै भन्ने । खेलाडीले पहिले दाहिने हातमा देखाउँछ अनि दुवै हातमा खेलाउँदै आलिफुली आलिफुली कै हात्तै भन्छ । बच्चाले दाहिने हातमा छ भन्ने सङ्केत गर्छ खेलाडीले देब्रे हातमा देखाउँछ । बच्चाले पहिले देखिएको हातमा सङ्केत गर्छ तर खेलाडीले अर्कै हातबाट निकाल्छ ।
एवं प्रकारले आलोपालो गरी खेलिन्छ र देखाइन्छ । जब बच्चाले अर्को हातको सङ्केत गर्छ खेलाडीले पहिले देखाएकै हातमा राखेर अचम्म पार्न खोज्छ । अनि बच्चा रनभुल्ल पर्छ । कहिलेकाहीँ बच्चाले सङ्केत गरेकै हातमा पनि भेटिन्छ । त्यसो हुँदा बच्चाले जितेको महसुस गर्छ । आजकालको भाषामा जादु भन्न मिल्ने । बच्चा मक्ख पर्छ। खितखित हाँस्दै रोक्दै फेरि हाँस्छ । बडो अनौठो हाँसो निस्कन्छ बच्चाको । बच्चा हाँस्दाहाँस्दै एकातिर ढल्छ । फेरि उठ्छ । फेरि हाँस्छ । हाँसो रोक्न असफल हुन्छ बच्चा । एउटा हातको चिज अर्को हातबाट कसरी निस्क्यो भनेर होला । बोलीमा भने व्यक्त गर्न सक्तैन ।
खेलाउदै जाँदा दुवै हातमा खेलाउँदा खेलाउँदै दाहिने हातको चोर र बुढी औलामा बनेको प्वालमा फु गर्ने । आलिफुली आलिफुली फुइऽऽखा भनेर हात फुकाउने । दुवै हातमा समान हुँदैन । खाली हात देखेर बच्चा झन बढो अचम्मित हुन्छ । अझ मज्जाले हाँस्छ । खेलको अझ एडभान्स रूपमा पर्छ यो तरिका । हातमा खेलाइने वस्तु जे पाइन्छ त्यही राखिन्छ । सानो ढुङ्गा वा अरु कुनै चिज । कहिलेकाहीँ खानेकुराको पनि खेलिन्छ सायद बच्चालाई खुवाउने तरिकाको रुपमा यसको प्रयोग हुन्थ्यो ।
यसको मनोवैज्ञानिक सम्बन्ध के होला थाहा छैन । वृत्ति विकासमा, मन र मस्तिष्कमा यसको कुनै सम्बन्ध थियो वा थिएन, हुन्छ वा हुँदैन त्यो पनि थाहा भएन । जे होस मनोरन्जनात्मक हुन्थ्यो । बच्चालाई यो बडो मजा लाग्ने र थामी नसक्नु हाँसो हाँस्ने खेल बन्थ्यो । बच्चा आफै खेल्न तम्सिन्थ्यो पनि । सायद बच्चो खुसी पार्न जान्ना मान्ठ (ठूला मानिस) ले यो खेल आफू खेलेर देखाउँदा हुन् । पक्कै पनि केही सृजनशील चाहिँ यो छ ।
हुर्किँदै गएर पछि गोठालो जाँदा यो खेल सामूहिक रुपमा समेत खेल्ने गरिन्थ्यो पालैपालो । कहिलेकाहीँ जुन हातमा छ त्यो पत्ता लाग्यो भने पहिलो खेल्नेलाई आउट गराइन्थ्यो र पत्ता लगाउनेको हातमा स्वतः जान्थ्यो त्यो चिज । उसैले खेल्थ्यो । दुवै हातमा समेत नभएको देखाउन फु गरेर आलिफुली आलिफुली फुइऽऽखा भन्ने चलन थियो । यो बडो गजबको जादुगरी खेल थियो । लुकाउन सक्ने वा अर्को हातमा व्यवस्थापन गर्न सक्नेले प्रतिस्पर्धामा जित्थ्यो । बडो रोचक खेल हो यो-आलिफुली आलिफुली कै हात्तै अनि आलिफुली आलिफुली फुइऽऽखा ।
आजकाल यस्ता गोठाले खेलको मृत्यु भइसक्यो । यस्ता खेलका अवशेष म्युजियमतिर पनि देख्न पाइन्न होला । कोही अलि पुराना मानिसका दिमागतिर भए हो । सायद घुम्ती दुरभाष यन्त्रले लुटी सक्यो होला यस्ता अर्ग्यानिक खेल । हुन त भैँसी गाई बाख्रा सबैको सामूहिक मृत्यु भएपछि गोठालोको मृत्यु स्वभाविक हो । गोठालोको स्वभाविक मृत्युले यो खेल पनि च्वाट्टै मर्यो होला ।
उता गोठालो छोडेर शहराँ राजकाजमा पल्किएपछि यो खेल बच्चाबाट बुढामा, गोठबाट कार्यालयमा र समाजबाट सिधै राष्ट्रमा उक्ल्यो जस्तो छ । त्यो चिज बस्तु ढुङ्गो वा अरु कुनै चिज खोज्न साह्रो गाह्रो पर्यो । गाईभैँसी विहीन गोठालो हुने कुरा भएन । शहराँ, त्यो पनि राजधानी, राजाको गाउँ, राज गर्ने ठाउँमा कहाँ पाउनु त्यो । गोठालो खाडीतिर । बच्चो कहिल्यै अर्थ नबुझ्ने के. जि. तिर अनि जान्नाले कोसँग खेल्ने । कोलाई खेलाउने । आँखा तिर्मिराउने गरी हर्ने र खेल्ने भाँडो घुम्ती दुरभाष यन्त्र सबको हातमा परेपछि त्यो ढुङ्गो जस्तो अजैविक चिजको पनि मृत्य नभनौ प्रयोग विहीन अवस्थामा पुग्यो । आलिफुली आलिफुली फुइऽऽखा खेल त जोगाउनु पर्यो । बडो फसादमा ।
शहराँ आइडिया फुर्यो । शहराँ विदेश जान नपर्ने । घरमा काम नगर्ने राष्ट्र चलाउन माहिरहरूले ढुङ्गो भेटेनछन् । गणतन्त्र भेटेछन् । गणतन्त्रलाई एउटाले आलिफुली आलिफुली मार्सवाद ह्याँ भनेछ । अर्कोले होइन ह्याँ भनेछ । जसको हातमा छ जस्तो लाग्यो तिनका समर्थकहरू पुरै उमेरले पाका, विवेकका आलाकाचा फुरे छन् र खित्का छोडी हाँस्न थालेछन्- शहर, गाउँ, चोक, गल्ली सबैतिर। अर्कोले तेराँ भाको नक्कली । तेराँ भएको जडसुत्रवादी । तेराँ भएको विस्तारवादीको पिछ लग्गु भने छ । नक्कली भन्नेको हातमा पर्दा उसका समर्थक हाँस्दा हाँस्दै बेहोस भएछन् । बेहोसीपनबाट होसमा नफर्कदै गणतन्त्र जडसुत्रवादीका हातमा पुगिसके छ । सम्राज्यवादीको हरूवाचरुवा भन्नेहरूका हातमा पुग्दा उनीहरूका हितैषीहरूले हाँस्दाहाँस्दै तलतिर तुर्केको पत्तै पाएन छन् । तुर्केको सफा गर्ने बेला त अर्कैले आलिफुली आलिफुली फुइऽऽखा भन्न थालिसकेको देखिएछ। आलिफुली आलिफुली मरो चाहिँ अब्बल भन्दा भन्दै मार्सवाद हरायो फुत्त सुनको डल्लो फेला परेछ । सुनको डल्लोलाई अर्कोले दखेर पख भन्दा भन्दै उसले आलिफुली आलिफुली फुइऽऽखा भनेछ सुनको डल्लो गायब ।
देख, पख्लास् मैले जान्या छु भनेर रक्त चन्दनको टुक्रो उसको हातमा पत्ता लगाए छ अर्कोले । दुवै हातमा खेलाएर फु गरेर आलिफुली आलीफुली फुइऽऽखा भने छ अनि रक्त चन्दन गायब । अर्कोले साँडेले जस्तो सिङौरी खेल्न हुक्काँ मात्र के गरेको थियो तिमीले आलिफुली आलीफुली आलिफुली फुइऽऽखा गर्दाको दृश्य सिसि क्यमारामा देखाइदिउँ भनेछ । आलोपालो मिले छन् एक अर्कामा मार्सवादी गणतन्त्र लालसलामको टुप्पो काटेर र पुँजिवादी गणतन्त्रको पेदमा कलमी गर्न भ्याएछन् । मिलिजुली मलिजुली दुईखाउँ भन्ने वाक्य मुखबाट फुत्केको पत्तै पाएन छन् ।
अर्को बुर्लुक्क उफ्रेछ र भनेछ पख तिमीहरूलाई । म मानिसको नै डल्लो बनाएर देखाउँछु भनेर अख्तियार हातमा राखेर आलिफुली आलिफुली फुऽऽइखा भनेछ । ल, हेरौँ त भनेर कलमी रक्त चन्दनको टुक्रा सदन भित्र हुत्याइदिएछ। आलिफुली आलिफुली फुइऽऽखा भनेर महाअभियोग देखाएछ । बच्छिउँ र बारुले पार्टीका मुखियाहरूले न्याय ढुङ्गो समातेर दुवै हातको बीचमा रगडेर आलिफुली आलिफुली फुइऽऽखा भन्दै अदालतमा तेर्स्याए छन् । महाअभियोग बिउँतिए छ । आलिफुली आलिफुलीकै हत्तै भन्दा त फुत्त सञ्चार पऽऽर वक्ताको मुखबाट निस्कन्छ सर्वोच्च नयाँ पद सृजना महाअभियोग बिउँतिएका माण्ठको व्यवस्थापनका लागि ।
महाअभियोग रुपी ढुङ्गो हत्केलामा खेलाउँदा भुटीकुटी हुने ढरले पुरातन पन्थीको हुँकारमा साम्यवादी फल फलाउने प्रण गरी पुँजीवादको साथ लिएर चटके भित्र्याई बहुरुपी कलमी भकुण्डो बनाएछन् गणतन्त्रलाई । हालिमुहाली हालिमुहाली हाँऽऽखाँ, हाँऽऽखाँ भन्ने वाक्य मन्त्रोचारण सहितको ढुकुटी रित्याउ कलमी प्रतियोगिता चल्छ ।
महाराज, दाइ, पिता, कमाण्डर, र चटकेहरूले आलीफुली आलिफुलीकै हात्तै भन्दा कता हो कता पत्तै नपाएर रन्थनिन थाल्छन् यी सम्बोधनकारी बचेराहरू । संयुक्त विज्ञप्ति मार्फत ऐँचोपैँचो खेलखेल्ने सहमति आउँदा आलिफुली आलिफुली फुइऽऽखा जस्तो भान मात्र हुन्छ बचेराहरूलाई । सकल दर्जाका बचेराहरू ओत पाउँछन् । असकल दर्जामा पर्नेहरूको बिल्लीबाठ हुन्छ । सकल दर्जाले जयजय गान गाउँछन् । असकल दर्जामा पर्ने वैरागी बिचराहरू बैराग ओकल्छन् । आलिफुली आलिफुली फुइऽऽखा खेल निरन्तर चलिरहन्छ तर मोडिफाइड भर्सनमा, आधुनिक रूपमा, हालिमुहाली हालीमुहाली हाँऽऽखाँ ! हालिमुहाली हालिमुहाली हाँऽऽखाँ !
०००
अछाम, हाल काठमाडौं








































Nikkai ramro Shiva sir.