साइबर अपराध सम्बन्धी सचेतना सामग्री

चोर बिरालो

यिनका डरलाग्दा नाङ्गा र हरिया , निला आँखा देखेपछि सबैको सातो जाने गरेको छ । आँखा झिमिक्क गर्न पाइँदैन लुसुक्क चोर्छन् फरक्क फर्किन्छन् ।

Nepal Telecom ad

चिरञ्जीवी दाहाल :

सामान्य अर्थमा चोर भनेको जो सुकैको र जुनसुकै ठाउँमा राखेको वस्तु देखे पनि राल काढ्ने र अवैधानिक बाटोबाट लुसुक्क त्यसलाई आफ्नो बनाउने, अरुको घरमा चोर बाटो भएर पस्ने अनि लुटपाट गर्ने, अनि जिन्दगीभर कमाएको इज्जत फाल्ने मान्छे हो । तर, चोरी मान्छेले मात्र गर्दैन । केही पशुहरूले पनि चोर्ने गर्छन् । फरक यतिमात्र हो कि पशुले चोर्ने काम, केवल पेट भर्नका लागि मात्र गर्छन भने मान्छेले भने पेट भरिए पनि चोर्ने गर्छन् । पशुले जस्तै मान्छेहरू चोरेको वस्तु तत्काल पेट भर्नका लागि मात्र प्रयोग गर्दैनन् । घरजग्गा र गाडी खरिद गर्छन् । बैङ्क व्यालेन्स गर्छन् । भने जस्तै चोर्न सके छोरा नाति पुस्तालाई समेत फालाफाल बनाइदिन्छन् ।

सबैतिर जस्तै हाम्रातिर पनि केही ढाडे बिरालाहरू छन्। सबैले यिनलाई चोर बिराला भन्छन् । “साथमा चोर बिरालो सँधैको पिरलो” भनेझैं भएको छ ।

यिनले कहिले कसो घरमा पाहुना पाछा आएको बेला चिया बनाउन भान्सामा पुग्दा दुधको कराही सिनित्त बनाइ सकेका हुन्छन् । माासु ल्याएर भान्सामा राख्यो पकाउने बेलासम्म झोला रित्तै बनाइदिन्छन् । यिनले हरेक दिन आफ्नो चोरी कौशलता देखाउने गर्छन् । बिहान बिहान कसैको आँखा खुल्न नभ्याउदै ढाडेहरू आफ्नो काममा लागिसकेका हुन्छन् ।

बिरालोको काम मुसा मारेर खानु पर्ने हो तर अहँ, अचेल ढाडेहरूले मुसा मार्दैनन् । मुसा पनि नमार्ने ढाडेहरूबाट अरु कामको त के आश गर्नु ? खानेकुरा कहाँ पाइन्छ, कसरी जिप्ट्याउन सकिन्छ भन्ने मात्र तिनको ध्याउन्न हुन्छ । घरमा मात्र चोरेर हैरान बनाउने ढाडेहरू हुँदाहुँदै गाउँघर, छरछिमेकतिर पनि चोर्न पल्किएका छन् ।

एकदिन त, एउटा ढाडेले खै कताबाट हो, एउटा दह्रै खालको र पुष्ट झोला चोरेर ल्याएछ । जब भरेङको कुनामा बसेर उसले झोला च्यात्न थाल्यो हामी जिल्ल पर्यौं । झोलामा ढाडेलाई मनपर्ने मासु भात र दुधको कुरौनी थिएन ।‌ त्यसमा मुठाका मुठा कट्कटे नयाँ नोट मात्र थिए । पेट भर्नका लागि खाने वस्तु चोरेको भए पनि अनौठो मान्नु पर्दैन थियो । खाने वस्तु देख्दा बिरालोको मुखमा पानी आउनु ठूलो कुरा भएन । यहाँ नोट थिए । यो त अति नै भयो !

नोट देखेपछि मेरो मन एकाएक लोभिन पुग्यो । आफूलाई हर्जा भएको बेला घरमा आइपुगेको यति धेरै नोट फिर्ता कसरी गर्नु ? फेरि फिर्ता पनि कसको भनेर गरौं । होइन फिर्ता नगरी पराइको धन राख्ने हो भने पेट मात्र होइन मन पनि भतभती पोल्छ । यसरी अचानक भएको यो द्विविधाको समाधान निस्किएन । लाग्यो कसैले खोजी गरेछ भने र प्रमाण पुर्याउन सकेछ भने बुझाउँला । अन्यथा जे त पर्ला ! पैसाको झोला खोज्नेहरू अझै आइपुगि सकेका थिएनन्, ढाडेहरूले एकदिन त सुनको बिस्कुट बोकेर ल्याएछन् । कहिले चाँदीको करुवा बोकेर आइपुग्छन् ।

सङ्गत गुनाको फल भनेको त्यसै होइन रहेछ । जब यी ढाडे बिरालाहरूको सङ्गत गर्न थालियो मन शान्त हुन छोडेको छ ।‌ यिनले चोरेर ल्याएको वस्तु हतपती फिर्ता गर्न मन लाग्दैन । यिनले साधारण मान्छेको मनभित्र निदाएको चोरलाई बिउँझाइदिने काम गर्छन् । हुन त यस्तो हुनुलाई मानवीय स्वभाव मान्ने गरिन्छ ।

बरु बिरालो पाल्न नपाइने नियम बनाइदिएको भए आनन्द हुन्थ्यो । कमसेकम मान्छेमा पनि चोर्ने बानी हराइ पो हाल्ने थियो कि ! एकजना आफन्त पर्ने ठूलै नेताको निवासमा जाँदा त्यहाँ एउटा बडेमानको ढाडे बिरालो देख्ने बित्तिकै म झस्किएको थिएँ । यिनलाई मान्छेले धेरै कुराको अभियोग किन लगाइएका रहेछन् भनेको त यिनका घरमा पनि बिरालो भएपछि कुरो बुझ्न गाह्रो परेन ।

बिरालोको सङ्गत गरेपछि मान्छेको मन पनि बिरालोको जस्तै हुने रहेछ । देखेको वस्तु उँडाइ हाल्न मन लाग्ने । आफ्नै आँखाले नदेखेको भए यो पनि रहस्यकै कुरा हुन्थ्यो । अचेल स्पष्ट बुझिएको छ ।

सबैभन्दा अनौठो चाहिँ के हो भने, जब बिरालोहरूले चोरी गर्छन्, यिनले दसी प्रमाणको रुपमा केही पनि छोड्दैनन् । चोर्नेबेला यिनीहरूलाई कसैको सहयोग पनि चाहिँदैन । लुसुक्क चोर्यो निदाएको स्वाँग पारेर आँखा चिम्म गर्यो सुत्यो । झ्वाट्ट हेर्दा चोर बिरालाहरू यतिविघ्न सोझा र इमान्दार देखिन्छन् कि यिनले पनि के चोरी गर्लान् र जस्तो लाग्छ । पहिले पहिले पनि घरमा बिरालो पाल्ने चलन नभएको होइन, प्रसस्त पालिन्थ्यो। अझै उखान मात्र हो अथवा यथार्थ पनि हो, एकताका त श्राद्धमा पनि बिरालो बाँध्नु पर्थ्यो भन्ने सुनिएको हो ।

त्यसबेला यिनले रातभरी मुसा मारेर खान्थे । साँझ बिहान एक डाडु दुध र दुई गाँस भात दिँदा पनि मजाले अघाउँथे , मक्ख पर्थे । केही वर्ष यता जुन बिरालो पालेपनि फिटिक्कै मुसा मार्न छोडेका छन् । चोरेर खान पल्किए पछि कस्को के लाग्दो रहेछ र ! उहिले एक आपसमा मिलेर मुसा मार्ने बिरालाहरू अचेल दुईटा भेट भए कि ङ्यार्र र ङुर्र मात्र गर्छन् । फेरि पहिले पहिले त आफ्नो काम के हो भन्ने कुरा सबैले बुझ्थे । अचेल त अहँ के के गर्ने हो के के ! यस्तो नचाहिने कुरा कहाँबाट कसरी सिके होलान् उदेक लाग्छ !

यी ढाडे बिरालाहरू पक्कै चोर हुन् भन्ने जान्दाजान्दै पनि यिनलाई सजायँ दिन सकिएको छैन । यिनले चोरी गर्दा प्रमाण छोड्ने गरेको भए खै के हुन्थ्यो ! आखिर सबुत प्रमाण नभेटेपछि चोरै हुन् भनेर भाटोले ठोक्न पनि त भएन । कतिपय ढाडेहरू त यति बलिया र टाठाबाठा छन् कि प्रमाण फेला परे पनि यिनको भुत्ला पनि झार्न सकिंदैन । यिनका डरलाग्दा नाङ्गा र हरिया , निला आँखा देखेपछि सबैको सातो जाने गरेको छ । आँखा झिमिक्क गर्न पाइँदैन लुसुक्क चोर्छन् फरक्क फर्किन्छन् । बिरालासँगको लामो सङ्गत गरेपछि यिनले कसरी चोर्छन् बिस्तारै बुझ्ने प्रयास भने जारि छ ।

यी ढाडेहरूको मुख्य औजार भनेको नाक रहेछ । यिनले हरेक वस्तु सुँघेर नै कहाँ के छ भनेर पत्ता लगाउँने गर्छन् । बरु ‌केही ढाडेको नाक काट्न सक्ने हो भने चोरीका घट्नामा कमि आउँथ्यो कि ! हुन त बिरालोको घाँटीमा घण्टी बाँध्ने आँट नभएका हामीलाई बिरालोको नाक काट्ने हिम्मत कसरी र कसले गर्नसक्ला र खै ?

हामी कतिलाई आफ्नै घरमा दिउँसोको खाजा कता छ भन्ने पनि थाहा हुँदैन । तर यी ढाडेहरूले भने कसरी कसरी लुकाएर जतनसँग राखेको अदृश्य वस्तुको पनि गन्ध थाहा पाई हाल्छन् र तिनको चोर्ने कार्य निकै होसियारी पूर्वक फत्ते गर्छन् । होइन अब आयन्दा बिरालो नपालौं भने पनि बिरालो पाल्ने चलन संसारभरी छ । प्रकृतिले सृष्टिमा नभइ नहुने भनेर जन्म दिएको प्राणी निर्मूलै गर्न पनि भएन । होइन मजासँग दुध भात खुवाएर पालौं चोर भन्ने जान्दाजान्दै कसरी चोर पाल्ने ? यिनको बानी कसरी सुधार। गर्ने होला ?

०००
चितवन ।

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
जिब्रो

जिब्रो

चिरञ्जीवी दाहाल
ताली पर्व सधैँ आइरहोस्

ताली पर्व सधैँ आइरहोस्

चिरञ्जीवी दाहाल
धूपको धुवाँ र चुरोटको धुवाँ

धूपको धुवाँ र चुरोटको...

चिरञ्जीवी दाहाल
ज्ञानको उल्टी

ज्ञानको उल्टी

चिरञ्जीवी दाहाल
बाँच्न दिन्नन्

बाँच्न दिन्नन्

चिरञ्जीवी दाहाल
कलहकाे साइनो

कलहकाे साइनो

डा. छायादत्त न्यौपाने ‘बगर’
‘बाउ पर्ने पनि हिं थे नि;’ ए ! 

‘बाउ पर्ने पनि हिं...

सुरेशकुमार भट्ट
अन्तिम इच्छा

अन्तिम इच्छा

परशुराम पराजुली
मायाको चिनो

मायाको चिनो

आर.सी. रिजाल
आमा

आमा

फित्काैली डटकम
0
Would love your thoughts, please comment.x
()
x