रमेश समर्थननेतृवन्दन
‘भर्खरै मेरो घरमा जन्मेको शिशु आफ्नो शिरमाथि पचासी हजारको वैदेशिक ऋण बोकेर जन्मेको छ र उसले पहिलो जन्मदिन मनाउँदा लाखबत्ती बाल्न पाउने छ किनभने त्यो ऋण एक लाख पुग्नेछ ।

रमेश समर्थन :
प्रजातन्त्रको पुनःस्थापना र त्यसपछि लोकतन्त्र हुँदै गणतन्त्रमा आइपुग्दासम्म प्रत्येक नेपालीको उँचाइ पहाडको टुप्पामा बनेका भ्यु टावरको अग्लाइझैं अग्लिएको छ । विदेशी बैंकहरूमा हाम्रो कालो धन चुलिएझैं चुलिएको छ । हाम्रो उँचाइ अहिले भुइँबाट देखिँदैन । यो हेर्न त भैरहवाको गौतमबुद्ध अन्तर्राष्ट्रिय तथा पोखराको अन्तर्राष्ट्रिय विमानस्थलबाट नियमित रूपमा सुदूर वैदेशिक उडान भरिरहेका विमानहरूमा बसेर आकाशमाथि पुग्नुुपर्छ । हाम्रो स्थानीय विमानबाट यसको शिखर देख्न सकिन्न किनभने यिनले लिने उँचाइ त्यति हुँदैन । हामी भने हामी तलै रह्यौं, हामी पछि नै पर्यौं भनेर झुसिल्किरे गुनासो मात्र गरिरहन्छौं । उपकारीप्रति कृतज्ञ हुन नजान्नु नै आम नेपालीको आम कमजोरी हो ।
हाम्रो उँचाइ बढाउन यहाँ भए गरेका सत्प्रयासहरूको वणर्न त कि सहस्रजिह्वावाला शेख(ष)नागले गर्लान् कि सरसती देबी (सरस्वती देवी)ले नै गर्लिन् कि पुरानै (पुराण नै) लेख्नुपर्छ । पुरान लेख्न पनि भटभटेले झैं भट्याउने व्यासगुरु र लेखन्दासले झैं लेखिदिने गणेशसरलाई खोज्न कहाँ जाने ? अतः ममा पनि तिनै व्यासगुरुको गुरुत्व र गणेशसरको सरत्व छ भन्ने ठानी त्यो अभिभारा वहन गर्दछु ।
मङ्गलाचरणमा नेतृवन्दन
नमो देशविनाशेभ्यो भ्रष्टनेताभ्य एव च
कुशासनकरेभ्यश्च भक्षकेभ्यो नमो नमः ।
२०४७ सालमा प्रजातन्त्र भन्ने व्यवस्थाको पुनःस्थापना भएपछि उहाँहरूले आम प्रजालाई ‘पर जा’ र आफ्नो झोलेलाई ‘वर आ’ भन्न थाल्नुभयो । पहिले कसैलाई इतर र कसैलाई भितर भन्ने गरिन्थ्यो, पछि झोलेहरू भितर भए र अरू सबै इतर भए । अझ अचम्म त के भयो भने तिनै झोले मात्र जनता भए अरू सबै के भए के ? वास्तवमा यो प्रजातन्त्र ल्याउन जसले जीवन दियो तिनको घरको दियो निभ्यो भने त्यसैको तेलले यहाँहरूको घरमा बिजुलीबत्ती बल्यो ।
यहाँहरूले गर्नुभएको पहिलो महान् कार्य हो हाम्रा उद्योगहरूमा आफ्ना कार्यकर्ताको अनियन्त्रित भर्ना, उनीहरूका बिचमा ट्रेड युनियनको गठन, तिनका माध्यमबाट कमिसनको आह्वान, नपाएको अवस्थामा हडताल र तालाबन्दी गराएर उत्पादन घटाउनु जसका कारणले उद्योगहरू स्वाभाविक रूपमा घाटामा गए । अब उहाँहरूले ती उद्योगहरू क्रमशः बेच्नुभयो, मजदुरहरूलाई बेरोजगार बनाउनुभयो र तिनैलाई आफ्ना कार्यकर्ता बनाउनुभयो ।
यसलाई निरन्तरता दिँदै उहाँहरूले प्रशासनमा पनि आफ्ना मान्छे भनर्ुभयो र कमिसन र भ्रष्टाचारलाई संस्थागत गराउने सत्कर्ममा अग्रसर हुनुभयो । यो निरन्तरता विद्यालयमा, प्रहरीमा र अन्य क्षेत्रमा पनि योजनाबद्ध रूपमा कार्यान्वयन गर्नुभयो । फलस्वरूप अर्थव्यवस्था, शिक्षाव्यवस्था, प्रशासनिक व्यवस्था आदि सबैतिर अव्यवस्थाको एकछत्र राज्यव्यवस्था स्थापित गर्नुभयो । यस्तो सुअवसर छोपेर केही महान् आत्माहरूले म्यानपावर कम्पनी खोलेर राष्ट्रिय निर्यातका रूपमा युवाहरूलाई विदेश पठाउने उपाय गर्नुभयो र यसबाट पनि ठगीका प्रशस्त सुमार्गहरू अवलम्बन गर्नुभयो । असी हजारको रसिद दिएर आठ लाख असुल्नेजस्तो अनिन्द्य कर्म गर्नु र गराउनुभयो ।
दोस्रो महान् कार्य गर्नुभयो महाकाली बेचेर । यो नबेचे देश सधैं अन्धकारमा रहने छ र बेचे बिजुली, पानी र पैसाको ओइरो लागेर नेपाल विश्वको समृद्ध मुलुक बन्ने छ भन्ने महान् अभिव्यक्ति दिँदै पक्षी विपक्षी दुवैले महान् मित्रलाई नदी बेच्नुभयो । यसरी कमिसनको मिसन सुचारु गर्नुभयो । त्यहीँ सरकारी सुविधामा विश्वका महङ्गा गाडी किनेर वितरण गर्नुभयो चाहे गाडीवालाको घरसम्म जाने गोरेटो पनि नहोस् । ती महान् आत्माहरूले पनि ती गाडी बेचेर पैसा राख्नुभयो । यसरी देशले निरन्तर काँचुली फेरिरह्यो ।
यसै बिचमा एक थरीलाई बाँदरे रोग लागेर जङ्गली बन्न जानुभयो र दश वर्षसम्म कहिले बाँदरले झैं भौतिक संरचना ध्वस्त पार्नुभयो, कहिले ब्वाँसाले झैं मान्छेको रक्तपान गर्नुभयो, कहिले राष्ट्रिय ढुकुटीमाथि धावा बोलेर कुम्लो कस्नुभयो । गाउँमा बस्नेलाई सहरमा धपाउनुभयो भने सहरमा बस्नेलाई विदेशमा लखेट्नुभयो । पहाडका खेतबारी बाँझा पार्नुभयो भने मधेसका खेत भवन ठड्याउनुभयो । यसरी कृषिप्रधान देशलाई कृषिउपजमै परनिर्भर बनाउनुभयो र देशको मेरुदण्ड अर्थतन्त्रलाई तहसनहस पारी उहाँहरूले हाम्रो उँचाइ थप्दै जानुभयो । यता राष्ट्रिय आयका सबै मार्गहरू बन्द गर्नुभयो भने उता गणतन्त्रका नाइकेहरूको सम्मानका लागि बसी बसी खान पाउने गरी व्यवस्था बनाउनुभयो । टोले झोलेदेखि राष्ट्रिय अकर्मण्यहरूलाई व्यवस्थित गर्न सरकारी तहहरू थप्दै तिनमा तिनै अकर्मण्यलाई सुस्थापित गर्ने महनीय कार्यमा तल्लीन हुनुभयो ।
उहाँहरूको दीर्घकालीन सोचका कारण यता आयमार्ग बन्द भयो र उता व्ययमार्गहरू धेरै खुल्दै गए । अब उहाँहरू योजनाबद्ध रूपमा हाम्रो उँचाइ बढाउने काममा लाग्नुभयो । सेवाका नाममा कहरमाथि कहर थप्दै र सेवाशुल्कका नाममा करमाथि कर थप्दै आम जनतालाई यो व्यवस्था नै काँचो पिँडालु बनाइदिनुभयो । यस महान् कार्यमा कतैबाट पनि बेइमानी भएको पाइएन । विदेशी उत्पादनलाई आयातमा करछुट र स्वदेशी उत्पादनलाई कच्चा पदार्थको सङ्कलनदेखि उत्पादित माल उपभोक्तासम्म पुग्दा कम्मरै भाँच्ने गरी कर लगाउनुभयो । जन्मेको कर, मरेको कर , सुतेको कर, उठेको कर, सास फेरेको कर, खाएको कर, बसेको कर, हिँडेको कर, पढेको कर, कर तिरेको कर, कर नतिरेको कर गरी करकर करकर मात्र गरेर हाम्रो करङ मक्याउनुभयो । यातायात कर लिनुभयो तर यातायातका लागि सडक दिनुभएन । शिक्षा कर लिनुभयो तर सरकारी विद्यालयमा शिक्षा लिन दिनुभएन । अर्थात् उहाँहरूले कखरा पढ्दा ‘द’ नपढी ‘ल’ मात्र पढेको प्रमाण पेस गर्नुभयो ।
यस्ता महानतम कार्य गर्दै जाँदा पैसाले नपुगेर नागरिलाई बेच्नेसम्मको अन्तर्राष्ट्रिय व्यापार नीति अपनाउनुभयो र सके सोझै र नसके भुटानी शरणार्थी बनाएर भए पनि नेपालीको अन्तर्राष्ट्रिय निर्यातलाई राष्ट्रियकरण गर्नुभयो । उहाँहरूले देशको मुख्य निर्यातयोग्य वस्तुका रूपमा युवाहरूलाई सुस्थापित गर्नुभयो । ठुलालाई चैन र सानालाई ऐन भन्ने पुरानो भनाइ यस सुशासनमा चरितार्थ भयो । यस अर्थमा यहाँहरूको राष्ट्रिय चरित्र छताछुल्ल भयो ।
जनताबाट उठाएको कर र विदेशबाट पठाएको रेमिट्यान्सले मात्र उहाँहरूको भान्सामा तरकारी नपाक्ने भएपछि उहाँहरूले विकासका नाममा देशमा विनाश निम्त्याउन वैदेशिक ऋण थपेको थप्यै गर्नुभयो ।
यसरी हामी नेपालीको वैदेशिक ऋणको उचाइ धोबीखोलाको बगरमा रोपेको मुला मौलाएझैं मौलाएको छ र आज हामी सगर्व घोषणा गर्दै छौं, ‘भर्खरै मेरो घरमा जन्मेको शिशु आफ्नो शिरमाथि पचासी हजारको वैदेशिक ऋण बोकेर जन्मेको छ र उसले पहिलो जन्मदिन मनाउँदा लाखबत्ती बाल्न पाउने छ किनभने त्यो ऋण एक लाख पुग्नेछ ।
यसरी हाम्रो उचाइ बढाउन दिनरात नभनी लाग्नुहुने हाम्रो नेतृत्ववर्गको एक पटक फेरि वन्दना गरौं
नमस्ते ऋणकर्तारो नमस्ते व्यभिचारकाः
नमस्ते राष्ट्रहन्तारो नमस्ते खलनायकाः ।
इति नेपालपुराणे गणतन्त्रकल्पे नेतृवन्दनम् सम्पूर्णम्र ।
०००
रुपन्देही
Subscribe
Login
0 Comments
Oldest








































