साइबर अपराध सम्बन्धी सचेतना सामग्री

नेतृवन्दन

‘भर्खरै मेरो घरमा जन्मेको शिशु आफ्नो शिरमाथि पचासी हजारको वैदेशिक ऋण बोकेर जन्मेको छ र उसले पहिलो जन्मदिन मनाउँदा लाखबत्ती बाल्न पाउने छ किनभने त्यो ऋण एक लाख पुग्नेछ ।

Nepal Telecom ad

रमेश समर्थन :

प्रजातन्त्रको पुनःस्थापना र त्यसपछि लोकतन्त्र हुँदै गणतन्त्रमा आइपुग्दासम्म प्रत्येक नेपालीको उँचाइ पहाडको टुप्पामा बनेका भ्यु टावरको अग्लाइझैं अग्लिएको छ । विदेशी बैंकहरूमा हाम्रो कालो धन चुलिएझैं चुलिएको छ । हाम्रो उँचाइ अहिले भुइँबाट देखिँदैन । यो हेर्न त भैरहवाको गौतमबुद्ध अन्तर्राष्ट्रिय तथा पोखराको अन्तर्राष्ट्रिय विमानस्थलबाट नियमित रूपमा सुदूर वैदेशिक उडान भरिरहेका विमानहरूमा बसेर आकाशमाथि पुग्नुुपर्छ । हाम्रो स्थानीय विमानबाट यसको शिखर देख्न सकिन्न किनभने यिनले लिने उँचाइ त्यति हुँदैन । हामी भने हामी तलै रह्यौं, हामी पछि नै पर्‍यौं भनेर झुसिल्किरे गुनासो मात्र गरिरहन्छौं । उपकारीप्रति कृतज्ञ हुन नजान्नु नै आम नेपालीको आम कमजोरी हो ।

हाम्रो उँचाइ बढाउन यहाँ भए गरेका सत्प्रयासहरूको वणर्न त कि सहस्रजिह्वावाला शेख(ष)नागले गर्लान् कि सरसती देबी (सरस्वती देवी)ले नै गर्लिन् कि पुरानै (पुराण नै) लेख्नुपर्छ । पुरान लेख्न पनि भटभटेले झैं भट्याउने व्यासगुरु र लेखन्दासले झैं लेखिदिने गणेशसरलाई खोज्न कहाँ जाने ? अतः ममा पनि तिनै व्यासगुरुको गुरुत्व र गणेशसरको सरत्व छ भन्ने ठानी त्यो अभिभारा वहन गर्दछु ।

मङ्गलाचरणमा नेतृवन्दन
नमो देशविनाशेभ्यो भ्रष्टनेताभ्य एव च
कुशासनकरेभ्यश्च भक्षकेभ्यो नमो नमः ।
२०४७ सालमा प्रजातन्त्र भन्ने व्यवस्थाको पुनःस्थापना भएपछि उहाँहरूले आम प्रजालाई ‘पर जा’ र आफ्नो झोलेलाई ‘वर आ’ भन्न थाल्नुभयो । पहिले कसैलाई इतर र कसैलाई भितर भन्ने गरिन्थ्यो, पछि झोलेहरू भितर भए र अरू सबै इतर भए । अझ अचम्म त के भयो भने तिनै झोले मात्र जनता भए अरू सबै के भए के ? वास्तवमा यो प्रजातन्त्र ल्याउन जसले जीवन दियो तिनको घरको दियो निभ्यो भने त्यसैको तेलले यहाँहरूको घरमा बिजुलीबत्ती बल्यो ।

यहाँहरूले गर्नुभएको पहिलो महान् कार्य हो हाम्रा उद्योगहरूमा आफ्ना कार्यकर्ताको अनियन्त्रित भर्ना, उनीहरूका बिचमा ट्रेड युनियनको गठन, तिनका माध्यमबाट कमिसनको आह्वान, नपाएको अवस्थामा हडताल र तालाबन्दी गराएर उत्पादन घटाउनु जसका कारणले उद्योगहरू स्वाभाविक रूपमा घाटामा गए । अब उहाँहरूले ती उद्योगहरू क्रमशः बेच्नुभयो, मजदुरहरूलाई बेरोजगार बनाउनुभयो र तिनैलाई आफ्ना कार्यकर्ता बनाउनुभयो ।

यसलाई निरन्तरता दिँदै उहाँहरूले प्रशासनमा पनि आफ्ना मान्छे भनर्ुभयो र कमिसन र भ्रष्टाचारलाई संस्थागत गराउने सत्कर्ममा अग्रसर हुनुभयो । यो निरन्तरता विद्यालयमा, प्रहरीमा र अन्य क्षेत्रमा पनि योजनाबद्ध रूपमा कार्यान्वयन गर्नुभयो । फलस्वरूप अर्थव्यवस्था, शिक्षाव्यवस्था, प्रशासनिक व्यवस्था आदि सबैतिर अव्यवस्थाको एकछत्र राज्यव्यवस्था स्थापित गर्नुभयो । यस्तो सुअवसर छोपेर केही महान् आत्माहरूले म्यानपावर कम्पनी खोलेर राष्ट्रिय निर्यातका रूपमा युवाहरूलाई विदेश पठाउने उपाय गर्नुभयो र यसबाट पनि ठगीका प्रशस्त सुमार्गहरू अवलम्बन गर्नुभयो । असी हजारको रसिद दिएर आठ लाख असुल्नेजस्तो अनिन्द्य कर्म गर्नु र गराउनुभयो ।

दोस्रो महान् कार्य गर्नुभयो महाकाली बेचेर । यो नबेचे देश सधैं अन्धकारमा रहने छ र बेचे बिजुली, पानी र पैसाको ओइरो लागेर नेपाल विश्वको समृद्ध मुलुक बन्ने छ भन्ने महान् अभिव्यक्ति दिँदै पक्षी विपक्षी दुवैले महान् मित्रलाई नदी बेच्नुभयो । यसरी कमिसनको मिसन सुचारु गर्नुभयो । त्यहीँ सरकारी सुविधामा विश्वका महङ्गा गाडी किनेर वितरण गर्नुभयो चाहे गाडीवालाको घरसम्म जाने गोरेटो पनि नहोस् । ती महान् आत्माहरूले पनि ती गाडी बेचेर पैसा राख्नुभयो । यसरी देशले निरन्तर काँचुली फेरिरह्यो ।

यसै बिचमा एक थरीलाई बाँदरे रोग लागेर जङ्गली बन्न जानुभयो र दश वर्षसम्म कहिले बाँदरले झैं भौतिक संरचना ध्वस्त पार्नुभयो, कहिले ब्वाँसाले झैं मान्छेको रक्तपान गर्नुभयो, कहिले राष्ट्रिय ढुकुटीमाथि धावा बोलेर कुम्लो कस्नुभयो । गाउँमा बस्नेलाई सहरमा धपाउनुभयो भने सहरमा बस्नेलाई विदेशमा लखेट्नुभयो । पहाडका खेतबारी बाँझा पार्नुभयो भने मधेसका खेत भवन ठड्याउनुभयो । यसरी कृषिप्रधान देशलाई कृषिउपजमै परनिर्भर बनाउनुभयो र देशको मेरुदण्ड अर्थतन्त्रलाई तहसनहस पारी उहाँहरूले हाम्रो उँचाइ थप्दै जानुभयो । यता राष्ट्रिय आयका सबै मार्गहरू बन्द गर्नुभयो भने उता गणतन्त्रका नाइकेहरूको सम्मानका लागि बसी बसी खान पाउने गरी व्यवस्था बनाउनुभयो । टोले झोलेदेखि राष्ट्रिय अकर्मण्यहरूलाई व्यवस्थित गर्न सरकारी तहहरू थप्दै तिनमा तिनै अकर्मण्यलाई सुस्थापित गर्ने महनीय कार्यमा तल्लीन हुनुभयो ।

उहाँहरूको दीर्घकालीन सोचका कारण यता आयमार्ग बन्द भयो र उता व्ययमार्गहरू धेरै खुल्दै गए । अब उहाँहरू योजनाबद्ध रूपमा हाम्रो उँचाइ बढाउने काममा लाग्नुभयो । सेवाका नाममा कहरमाथि कहर थप्दै र सेवाशुल्कका नाममा करमाथि कर थप्दै आम जनतालाई यो व्यवस्था नै काँचो पिँडालु बनाइदिनुभयो । यस महान् कार्यमा कतैबाट पनि बेइमानी भएको पाइएन । विदेशी उत्पादनलाई आयातमा करछुट र स्वदेशी उत्पादनलाई कच्चा पदार्थको सङ्कलनदेखि उत्पादित माल उपभोक्तासम्म पुग्दा कम्मरै भाँच्ने गरी कर लगाउनुभयो । जन्मेको कर, मरेको कर , सुतेको कर, उठेको कर, सास फेरेको कर, खाएको कर, बसेको कर, हिँडेको कर, पढेको कर, कर तिरेको कर, कर नतिरेको कर गरी करकर करकर मात्र गरेर हाम्रो करङ मक्याउनुभयो । यातायात कर लिनुभयो तर यातायातका लागि सडक दिनुभएन । शिक्षा कर लिनुभयो तर सरकारी विद्यालयमा शिक्षा लिन दिनुभएन । अर्थात् उहाँहरूले कखरा पढ्दा ‘द’ नपढी ‘ल’ मात्र पढेको प्रमाण पेस गर्नुभयो ।

यस्ता महानतम कार्य गर्दै जाँदा पैसाले नपुगेर नागरिलाई बेच्नेसम्मको अन्तर्राष्ट्रिय व्यापार नीति अपनाउनुभयो र सके सोझै र नसके भुटानी शरणार्थी बनाएर भए पनि नेपालीको अन्तर्राष्ट्रिय निर्यातलाई राष्ट्रियकरण गर्नुभयो । उहाँहरूले देशको मुख्य निर्यातयोग्य वस्तुका रूपमा युवाहरूलाई सुस्थापित गर्नुभयो । ठुलालाई चैन र सानालाई ऐन भन्ने पुरानो भनाइ यस सुशासनमा चरितार्थ भयो । यस अर्थमा यहाँहरूको राष्ट्रिय चरित्र छताछुल्ल भयो ।

जनताबाट उठाएको कर र विदेशबाट पठाएको रेमिट्यान्सले मात्र उहाँहरूको भान्सामा तरकारी नपाक्ने भएपछि उहाँहरूले विकासका नाममा देशमा विनाश निम्त्याउन वैदेशिक ऋण थपेको थप्यै गर्नुभयो ।

यसरी हामी नेपालीको वैदेशिक ऋणको उचाइ धोबीखोलाको बगरमा रोपेको मुला मौलाएझैं मौलाएको छ र आज हामी सगर्व घोषणा गर्दै छौं, ‘भर्खरै मेरो घरमा जन्मेको शिशु आफ्नो शिरमाथि पचासी हजारको वैदेशिक ऋण बोकेर जन्मेको छ र उसले पहिलो जन्मदिन मनाउँदा लाखबत्ती बाल्न पाउने छ किनभने त्यो ऋण एक लाख पुग्नेछ ।

यसरी हाम्रो उचाइ बढाउन दिनरात नभनी लाग्नुहुने हाम्रो नेतृत्ववर्गको एक पटक फेरि वन्दना गरौं
नमस्ते ऋणकर्तारो नमस्ते व्यभिचारकाः
नमस्ते राष्ट्रहन्तारो नमस्ते खलनायकाः ।
इति नेपालपुराणे गणतन्त्रकल्पे नेतृवन्दनम् सम्पूर्णम्र ।

०००
रुपन्देही

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
पाँच ठोक्तक

पाँच ठोक्तक

रमेश समर्थन
चार ठाेक्तक

चार ठाेक्तक

रमेश समर्थन
चार ठाेकान

चार ठाेकान

रमेश समर्थन
चार ठोक्तक

चार ठोक्तक

रमेश समर्थन
फागुका तीन लाेला

फागुका तीन लाेला

रमेश समर्थन
हास्यव्यङ्ग्यको परिचय (१)

हास्यव्यङ्ग्यको परिचय (१)

डा. भरतकुमार भट्टराई
बाजी

बाजी

नन्दलाल आचार्य
यमयात्रा

यमयात्रा

नरेन्द्रराज पौडेल
को शक्तिशाली ?

को शक्तिशाली ?

प्रमोद अमात्य
भ्यूटावर

भ्यूटावर

दिव्य गिरी
0
Would love your thoughts, please comment.x
()
x