
‘उन्नत बिउबिजनकाे जानकारी’ दिन आयोजित कार्यक्रम
आसनग्रहण गरिहालियो अब आफ्नो खुसी कार्यक्रम जहिलेसुकै गर । भोलि मकै गोड्नु छ खेताला पाइन्छन् कि हिँडेँ पो म ता भनेर एक जना र अर्को आफ्नो ता भैँसी दुहुने बेला भो हिँडेँ भन्दै सभाबाट निस्कनु भो ।

होम सुवेदी :
(आसनग्रहणबारेको रहलपहल)
सभाभवनमा माथिपट्टि यही तुल टल्किरहेको थियो । मैले पहिले यही तुलको फोटो खिचेँ । आखिर म ता रिपोर्ट पत्रकार न थिएँ । यसबारे अस्ति साझाबाट सिङ्गै पुस्तक लेखेर पनि आसनग्रहणबारे केही छुट भएकोमा मलाई नै चित्त दुखेको थियो । अबको रिपोर्ट भने रिट्टो नबिराई गर्छु भन्ने लागेको थियो । आसनग्रहणका टेक्निकहरूको विकास भइरहेकोले यसलाई छुटै भन्न पनि नमिल्ला तैपनि म अलिकति लोसो पत्रकार नै भएँछु आसनग्रहणबारे पूर्ण विवरण दिन अलिक भुलेँछु ।
अघिल्लो आसनग्रहणमा पनि केही कमजोरी भएका थिए । यसबाजि भने कमजोरी गरिन्न भन्ने लागेको थियो र रिपोर्ट गरिरहेको थिएँ । फोटो भिडियो खिचिरहेको थिएँ ।
सभापतिलाई आसनग्रहण गराएर कार्यक्रम थाल्दै गर्नुहोला भनेर प्रमुख अतिथि मन्त्रीले खबर गरेको हुनाले कार्यक्रममा आसनग्रहण सुरु भइसकेको थियो ।
सभामा उपस्थितहरू प्रायः अब मञ्चतिर नै सरिसकेका थिए । मञ्च ता निकै घन्चमन्च भइसकेको थियो । अलिक अघिदेखि मञ्चमा पुगेकाहरू उँघेर सन्च मानिरहेका थिए । एक किसिमले मञ्चमा खुट्टा राख्ने ठाउँ कम भइसकेको थियो ।
प्रमुख अतिथि मन्त्रीज्यू पाल्नु भएको थिएन । उहाँ नआइन्जेल अरुको आसनग्रहण गराएर समय कटनी भइरहेको थियो ।
अस्तिकै पालिको जस्तो यस सभामा पनि मञ्च भन्दा तलका कुर्सी धमाधम मञ्चतिर ओसारिँदै र नयाँलाई थेचारिँदै थियो ।
यस सभामा पनि देशका सबै वर्ग तप्का पेसा क्षेत्र जात जाति भाषा भाषी प्रदेश लिङ्ग उमेर समूहका र सबै क्षेत्रकालाई आसन ग्रहण गराइसेर पनि केही छुट भएकोमा उद्घोषकले क्षमा मागे । एकल महिला एकल पुरुष ज्येष्ठ नागरिक बालक लगायत सबैलाई ता आसनग्रहण गराउनु भएकै थियो तर सभाको पल्लो छेउबाट अन्यायमा परेको आवाज आएर उहाँले माफी माग्नुभो । हामीले सुस्तमनस्थितिकाहरूको पनि ख्याल राख्नु पर्छ । किनभने उहाँहरूको हामीले कदर नगरे कसले गर्छ भनेर आवाज आउन लाग्यो । किन उहाँहरूलाई आसनग्रहण गराउनु भएन भनेर सभामा मञ्चतिर जान बचेका केही रहलपहल व्यक्तिमध्येबाट आवाज आयो । अनि क्षमाका साथ सुस्तमनस्थितिको कोटामा मञ्चमा एक महानुभावलाई हतेर्दै लगियो । लु फेरि छोड्नु भो आसन ग्रहण गराउन भनेर मञ्चका केही महिलाहरूबाट विरोध आयो । कुरा बुझ्दा गर्भवतीहरूको कोटा यसै खाली रहेछ । सात आठ महिनाका तीन थान गर्भवतीहरूलाई उनीहरू बसेको कुर्सीसाथ मञ्चमा लगियो ।
उद्घोषकले अरु पनि कोही गर्भवती हुनुहुन्छ भने भन्नु होला । टाढाबाट हेर्दै चिनिने जिउ रहेछ भने त हामी बोलाई हाल्छौँ तर भर्खर भर्खर गर्भवती हुनुभएको हो भने अलिक हामीलाई चिनाउन समस्या पर्छ । यसैले भर्खर गर्भवती भएको कोही हुनुहुन्छ भने हात उठाउनु होला । हामी आसनग्रहण गराउनेछौँ । यसमा डाक्टरको सर्टिफिकेटको खाँचो पर्दैन भनेर उद्घोषण गरे । तर यसमा कसैले पनि हात नउठाएकोले ताजा गर्भवती नभएको अनुमान भो ।
बार बजेदेखि थालिएको आसनग्रहण दुई घन्टा जति बितेपछि पनि सकिने हैन । न प्रमुख अतिथि आउँछन् न आसनग्रहण सकिन्छ । हैरानका हैरान छ ।
हेर्नुहोस् अझ पनि कोही कतैतिर आसनग्रहणमा छुट्नु भएको भए भनिहाल्नुहोला । अधिकार हो । अधिकार भनेको आफैँ खोज्नु पर्छ । ला भनेर कसैले दिन्न अधिकार । उद्घोषकले खेरे ।
यता आसनग्रहण गराइरहिएको थियो उता मञ्चमा सेल्फी लिनेहरू कहिले यता मर्किन्थे कहिले उता सर्किन्थे । हल्लाको त कुरा के गर्नु र । हल्लाभित्रका सबै कुरा मैले बुझ्न पनि सकिनँ । रिपोर्टर भएको कारणले हल्लाभित्रका गेडा पनि दिन पाए हुन्थ्यो भन्ने लागेर मञ्चतिर क्यामेरा लिएर हिँडेँ ।
हाव बैनी तिम्रो मैना कुन पर्यो हँ भनेर एक जना अर्की महिलालाई सोध्दै हुनुहुन्थ्यो ।
यो पैलो पालो कि दोस्रो पालो कि कुन हो अर्कीले सोध्नु भो ।
अस्पतालमा सुत्केरी हुनु राम्रो हैन है । नर्सिङ होममा ठिक हुन्छ । पैसा ता अलिक लाग्छ नि । स्तनपान गराउने नगराउने बारेका कुरामा आफ्नै खुसी हो । आफ्नो बडीको फिगरको पनि ख्याल राख्नु पर्छ । सेरल्याकका प्रडक्टहरू छन् । ती ख्वाउनु पर्छ बेला भएदेखि । केही मञ्चासीनहरूबाट यस्तै गफगाफ भइरहेका थिए । समय अब झन्डै तीन घन्टा बितिसकेको थियो । प्रमुख अतिथिको अहिले पनि अत्तोपत्तो थिएन । हाइ हाइ गरेर धेरै निद्राले आकुलव्याकुले भएका देखिन्थे । सभापतिले बुद्धि पुर्याए चिया बाँडेर सबैको निद्रा भगाउने ।
मञ्चबाट आवाज आयो यसो अलिक पिरो चाउचाउ वा चटपटेको बन्दोबस्त गर्नु पर्छ । निद्रा लागेर खतम भो ।
यस्तै हो भने मञ्चमा अबदेखि सुत्ने बन्दोबस्तीका सामानहरूको पनि व्यवस्था गर्नु पर्छ । एक जनाले यसो भनेको पनि सुनियो ।
तिर्खा लाग्यो सभापतिज्यू चिया भन्दा पहिले बरू पानीको बन्दोबस्तो गरेको भए हुने । कसैले भनेको सुनियो ।
पुछारबाट एक जनाले ठुलो आवाजमा भन्नु भो हैन प्रमुख अतिथिलाई पर्खने कार्यक्रम नै हो कि अरु पनि केही छ आज ?
हैन के आज आसनग्रहण मात्र गर्ने हो कि केही अरु पनि छ कार्जेकर्म छ हँ अर्काले सोध्नुभो ।
छ छ कार्यक्रम आजै छ ।
अनि कति खेर थाल्ने त उहाँले नै च्याँठिएर भन्नु भो । उहाँ आफ्नो एक हाते भैँसी छ । दुहुनो ढिला भो भने फेरि दिँदैन । पल्लाछेउबाट आवाज आयो ।
आजको आसनग्रहण कार्यक्रमका साथ यो सभा सकियो भनेर आज हामीलाई बिदा दिनुपर्यो आज आसनग्रहण भैगो भोलि कार्यक्रम गर्नू भनेर एक जना अलिक बुढापाकाले भन्नुभएको सुनियो । आफ्ना मकै गोड्न छाडेर आएँ केके होला भनेर बड
आसनग्रहण गरिहालियो अब आफ्नो खुसी कार्यक्रम जहिलेसुकै गर । भोलि मकै गोड्नु छ खेताला पाइन्छन् कि हिँडेँ पो म ता । भनेर एक जना र अर्को आफ्नो ता भैँसी दुहुने बेला भो । हिँडेँ भन्दै सभाबाट निस्कनु भो । बिस्तारै बाङ्गो बाङ्गो ढाड लगाएर सभाबाट आमन्त्रितहरू निस्केको देखिन थाल्यो । प्रमुख अतिथि यो बेला सम्म पनि आइपुगेका थिएनन् । साँझ परिसकेको थियो । लोडसेडिङको कारणले अघिसम्म बजेको माइक पनि बज्न छाड्यो । बाँकी केही नदेखिएको हुँदा म रिपोर्टर पनि लुसुक्क निस्किएँ ।
०००
भद्रपुर, झापा ।
Subscribe
Login
0 Comments
Oldest