साइबर अपराध सम्बन्धी सचेतना सामग्री

भ्रष्टाचार जिन्दावाद !

अब मेरो अस्तित्व भनेको उनको पनि हो, नत्र बरामद गराइदिउँला नि उनकै घर दैलो र गोप्य गोदामबाट नक्कली नोटका कार्टून, डलरका ब्रिफकेश, सुनका इँटा-बिस्कुट र विभिन्न मन्दिरका हराएका मूर्तिहरू ?

Nepal Telecom ad

उत्तमकृष्ण मजगैयाँ :

मित्रहरू ! असली गाईजात्रा त आउन अझैँ बाँकी नै छ, तर समय नचिन्ने विवेकहीन अख्तियारले समयभन्दा पहिले नै अर्कै गाईजात्रा देखाइदियो हामीलाई पक्डेर । धेरैले स्वीटरले, कमिजको फेर र कठालोले, रुमालले अनुहार छोप्न खोजे तर हिम्मतवाला त मै पो ठहरिएँ त ! देखाइदिएँ आफ्नो निर्वस्त्र अनुहार उदण्ड पत्रकारहरूलाई । उनीहरूलाई ठाडै चुनौति दिँदै भनेँ- लौ हेर मज्जाले मेरो लज्जाहीन अनुहार ! लौ खिँच हामीजस्ता वीरका चाहेजति तस्वीरहरू ! मुद्दा चल्ला कि भनेर म किन डराउने ? दुहाई माग्न पनि म किन कराउने ? नेपालमा कुनचाहिँ आयोगले आफ्नो काम पूरा गरेको छ र हामी यस आयोगसित थर्किने हँ ? काम पूरा भएकाहरूको पनि कार्यान्वयन भएको छ र कहिल्यै ? सबैको हाल उही ‘हात्ती आयो हात्ती आयो ! फुस्सा !’ त हो नि ! अब एकदिन कुनै ठूलै शक्तिले ङ्याक्छ र थाक्छ यो आयोग पनि । मेरा शुभचिन्तक मित्रहरू ! पर्खनोस् र ढुक्क हुनु होस् ! जीत हाम्रै हुनेछ । दुईचार दिन मामाघरको मेजमानी खाँदैमा पहाड खस्दैन क्यारे !

साँच्चिकै कुरा गर्नुहुन्छ भने पञ्चायतकालदेखि नै खाने बानी परेका हामीलाई थप प्रोत्साहन त मल्लिक आयोगको प्रतिवेदनमा प्रजातान्त्रिक सरकारको मौनताले नै दिएको हो । आयोगको नाम र सरकारको कामबाट ढुक्क भएर हामी पुनः लाग्यौँ नयाँ नेताकै पछि । अनुभवहीन थिए- हामीले आफ्नो अनुभवसित धन साट्यौँ । चुनाव जिताउन गन भित्र्यायौँ, खर्च जुटाउन वन रित्यायौँ । अब आफै भन्नु होस्- हामीले लाएका कतिपय गुनका लागि के ‘ठूला’ले भनसुन नगर्लान् त ? अन्यथा हामी पनि के कम ? देखाइ दिउँला नि हाम्रो पनि दम ! पाहा पछारेझैँ हामी पनि उत्तानो हुने गरी पछार्न सक्छौँ नि राजनीतिको मैदानमा उनीहरूलाई । सबैभन्दा पहिले त ती बूढा नेतालाई नै पछारौँला जसले जुस खाएजस्तै मज्जाले घूस खाएर राष्ट्रिय ढुकुटी भुस पारे हुन्छ भनेर झुस मन्त्र दिएका थिए । त्यसपछि ती नेता- मन्त्रीहरूको नक्कली आदर्शको खोलको पोल पनि खोलिदिउँला जसले अरवबाट अरवौँको सुन ल्याउन र नेपालबाट फूर्तिका साथ मूर्ति विदेश पठाउन मेरै सहारा लिएका थिए ।

नेपालमा मुख्खे- बहिदारले समेत मौकामा चौका हानेका छन् भने हामीजस्ता पावरको टावर चढेकाहरूले हैसियत बमोजिमको कैफियत किन नगर्ने ? मैले त साला-साली, मामा-मामी, भाञ्जा-भाञ्जी समेतको नाममा अकुत सम्पत्ति थुपारेको छु- समात्न सक्छ अदुअआले ? विदेशी ब्याङ्कहरूमा पनि मेरा कति खाता-पाता छन्, सुइँको पनि पाउन सक्छ कसैले ? म कत्ति डराएको छैन, त्यसैले ठूलो स्वरमा कराएको पनि छैन । मेरो नजिकका डन्डावाल र झण्डावाल सबैले मेरै पक्षमा दक्षतासित वकालत गर्ने नै छन् किन भने मेरो टाउको र उनका टाउका एउटै घाँटीसँग जोडिएका छन् ।

अब मेरो अस्तित्व भनेको उनको पनि हो, नत्र बरामद गराइदिउँला नि उनकै घर दैलो र गोप्य गोदामबाट नक्कली नोटका कार्टून, डलरका ब्रिफकेश, सुनका इँटा-बिस्कुट र विभिन्न मन्दिरका हराएका मूर्तिहरू ? उनीहरूको तुलनामा म त यौटा सानो माछो न हुँ ! तर ती ठूला माछाहरूले जसले ताक परे राष्ट्र नै खर्लप्प निल्न तम्तयार छन्, कति कमाएका होलान् ? आफ्ना सुनका लङ्का कति जमाएका होलान् ? आफ्ना निकटका आफन्तीहरूलाई अवसर र धन कति थमाएका होलान् ? उनका आसेपासेहरूले समेत क्याँटका क्याँट समाएर कति रमाएका होलान् ? यस्तो अप्ठेरो बेलामा पनि उनीहरूले मलाई हेरेनन्- टेरेनन् भने त लहरो तान्दा पहरो खस्किने नै छ किनभने मर्नै परे आफू मात्रै किन ? अरुका खुट्टा समेत तानेरै मर्ने नि ?

नेपालमा मजस्ता पुच्छरले सिङ्गै कुकुर हल्लाउन सक्छन् । यहाँ चोरहरूले ठूलो सोरमा मुलुकै थर्काउन सक्छन् । नीति-कानून भन्ने कुरा त्यस्तै हुन् । उखानै छ, ‘ऐनजति छोटालाई ! चैनजति मोटालाई !’ हामीलाई वीर पुर्खाको गुनले छोएन, शहीदको खुनले छोएन, राष्ट्रको नूनले छोएन, लेखक-पत्रकारको भुनभुनले छोएन भने अख्तियारको धुनले कसरी छुन सक्छ हँ ? ममाथि हाँस्ने नाथेहरू हो ! म राष्ट्रको कलङ्क होइन, बरु म त वर्तमान युगको यथार्थ हुँ । मेरो आर्जन भ्रष्टाचार हुँदै होइन, बरु शुभचिन्तक र मित्रहरूबाट पाएको विशिष्ट उपहार हो, मेरो योग्यता र क्षमताको पुरस्कार हो, काम मिलाएवापत स्वतः बर्सिने कमिसनको मीठो सार हो । अब छिटै बाहिर निस्केर दुनियाँलाई मैले आफ्नो शक्तिको नमूना देखाइदिने नै छु !

बरु म टाउको ठड्याएर, छाती फर्काएर, शानले जुँघा मठार्दै जेलबाहिर निस्कँदा मेरा शुभचिन्तक तपाईंहरू यस वीरका लागि अबीर र कम से कम दुईसय किलोको फूलमाला लिएर लेट नगरी मूलगेटमै भेट गर्न आउनु होला ! तपाईंहरूलाई पनि योग्यता र गच्छे अनुसार अलि अलि गुलियो चटाएर गरिबीको वैतरणी पार गराइदिउँला नि ! वचन दिएँ लौ ! बरु चिन्ता सबै भुलाएर, घाँटीका नशा फुलाएर मेरो स्वरमा स्वर तथा लोलीमा बोली मिलाएर नारा लगाउनोस् ल, “भ्रष्टाचार जिन्दावाद !”

०००
दाङ
‘फित्कौली’ पूर्णाङ्क- ४१, २०८१ (वैशाख-जेठ)

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
मुखियाको पद खाली छ

मुखियाको पद खाली छ

उत्तमकृष्ण मजगैयाँ
चक्रव्यूह !

चक्रव्यूह !

उत्तमकृष्ण मजगैयाँ
चुनाव आउँदै छ हजुर !

चुनाव आउँदै छ हजुर...

उत्तमकृष्ण मजगैयाँ
घुर्की

घुर्की

उत्तमकृष्ण मजगैयाँ
हास्य पात्र !

हास्य पात्र !

उत्तमकृष्ण मजगैयाँ
परिहास

परिहास

उत्तमकृष्ण मजगैयाँ
अनलाइन ठगहरू

अनलाइन ठगहरू

प्रा. कपिल अज्ञात
तालुखुइले

तालुखुइले

माणिकरत्न शाक्य
आमाको अदालत

आमाको अदालत

नन्दलाल आचार्य
चंखेको खसी खाने जुक्ति

चंखेको खसी खाने जुक्ति

सुरेशकुमार भट्ट
0
Would love your thoughts, please comment.x
()
x