उत्तमकृष्ण मजगैयाँभ्रष्टाचार जिन्दावाद !
अब मेरो अस्तित्व भनेको उनको पनि हो, नत्र बरामद गराइदिउँला नि उनकै घर दैलो र गोप्य गोदामबाट नक्कली नोटका कार्टून, डलरका ब्रिफकेश, सुनका इँटा-बिस्कुट र विभिन्न मन्दिरका हराएका मूर्तिहरू ?

उत्तमकृष्ण मजगैयाँ :
मित्रहरू ! असली गाईजात्रा त आउन अझैँ बाँकी नै छ, तर समय नचिन्ने विवेकहीन अख्तियारले समयभन्दा पहिले नै अर्कै गाईजात्रा देखाइदियो हामीलाई पक्डेर । धेरैले स्वीटरले, कमिजको फेर र कठालोले, रुमालले अनुहार छोप्न खोजे तर हिम्मतवाला त मै पो ठहरिएँ त ! देखाइदिएँ आफ्नो निर्वस्त्र अनुहार उदण्ड पत्रकारहरूलाई । उनीहरूलाई ठाडै चुनौति दिँदै भनेँ- लौ हेर मज्जाले मेरो लज्जाहीन अनुहार ! लौ खिँच हामीजस्ता वीरका चाहेजति तस्वीरहरू ! मुद्दा चल्ला कि भनेर म किन डराउने ? दुहाई माग्न पनि म किन कराउने ? नेपालमा कुनचाहिँ आयोगले आफ्नो काम पूरा गरेको छ र हामी यस आयोगसित थर्किने हँ ? काम पूरा भएकाहरूको पनि कार्यान्वयन भएको छ र कहिल्यै ? सबैको हाल उही ‘हात्ती आयो हात्ती आयो ! फुस्सा !’ त हो नि ! अब एकदिन कुनै ठूलै शक्तिले ङ्याक्छ र थाक्छ यो आयोग पनि । मेरा शुभचिन्तक मित्रहरू ! पर्खनोस् र ढुक्क हुनु होस् ! जीत हाम्रै हुनेछ । दुईचार दिन मामाघरको मेजमानी खाँदैमा पहाड खस्दैन क्यारे !
साँच्चिकै कुरा गर्नुहुन्छ भने पञ्चायतकालदेखि नै खाने बानी परेका हामीलाई थप प्रोत्साहन त मल्लिक आयोगको प्रतिवेदनमा प्रजातान्त्रिक सरकारको मौनताले नै दिएको हो । आयोगको नाम र सरकारको कामबाट ढुक्क भएर हामी पुनः लाग्यौँ नयाँ नेताकै पछि । अनुभवहीन थिए- हामीले आफ्नो अनुभवसित धन साट्यौँ । चुनाव जिताउन गन भित्र्यायौँ, खर्च जुटाउन वन रित्यायौँ । अब आफै भन्नु होस्- हामीले लाएका कतिपय गुनका लागि के ‘ठूला’ले भनसुन नगर्लान् त ? अन्यथा हामी पनि के कम ? देखाइ दिउँला नि हाम्रो पनि दम ! पाहा पछारेझैँ हामी पनि उत्तानो हुने गरी पछार्न सक्छौँ नि राजनीतिको मैदानमा उनीहरूलाई । सबैभन्दा पहिले त ती बूढा नेतालाई नै पछारौँला जसले जुस खाएजस्तै मज्जाले घूस खाएर राष्ट्रिय ढुकुटी भुस पारे हुन्छ भनेर झुस मन्त्र दिएका थिए । त्यसपछि ती नेता- मन्त्रीहरूको नक्कली आदर्शको खोलको पोल पनि खोलिदिउँला जसले अरवबाट अरवौँको सुन ल्याउन र नेपालबाट फूर्तिका साथ मूर्ति विदेश पठाउन मेरै सहारा लिएका थिए ।
नेपालमा मुख्खे- बहिदारले समेत मौकामा चौका हानेका छन् भने हामीजस्ता पावरको टावर चढेकाहरूले हैसियत बमोजिमको कैफियत किन नगर्ने ? मैले त साला-साली, मामा-मामी, भाञ्जा-भाञ्जी समेतको नाममा अकुत सम्पत्ति थुपारेको छु- समात्न सक्छ अदुअआले ? विदेशी ब्याङ्कहरूमा पनि मेरा कति खाता-पाता छन्, सुइँको पनि पाउन सक्छ कसैले ? म कत्ति डराएको छैन, त्यसैले ठूलो स्वरमा कराएको पनि छैन । मेरो नजिकका डन्डावाल र झण्डावाल सबैले मेरै पक्षमा दक्षतासित वकालत गर्ने नै छन् किन भने मेरो टाउको र उनका टाउका एउटै घाँटीसँग जोडिएका छन् ।
अब मेरो अस्तित्व भनेको उनको पनि हो, नत्र बरामद गराइदिउँला नि उनकै घर दैलो र गोप्य गोदामबाट नक्कली नोटका कार्टून, डलरका ब्रिफकेश, सुनका इँटा-बिस्कुट र विभिन्न मन्दिरका हराएका मूर्तिहरू ? उनीहरूको तुलनामा म त यौटा सानो माछो न हुँ ! तर ती ठूला माछाहरूले जसले ताक परे राष्ट्र नै खर्लप्प निल्न तम्तयार छन्, कति कमाएका होलान् ? आफ्ना सुनका लङ्का कति जमाएका होलान् ? आफ्ना निकटका आफन्तीहरूलाई अवसर र धन कति थमाएका होलान् ? उनका आसेपासेहरूले समेत क्याँटका क्याँट समाएर कति रमाएका होलान् ? यस्तो अप्ठेरो बेलामा पनि उनीहरूले मलाई हेरेनन्- टेरेनन् भने त लहरो तान्दा पहरो खस्किने नै छ किनभने मर्नै परे आफू मात्रै किन ? अरुका खुट्टा समेत तानेरै मर्ने नि ?
नेपालमा मजस्ता पुच्छरले सिङ्गै कुकुर हल्लाउन सक्छन् । यहाँ चोरहरूले ठूलो सोरमा मुलुकै थर्काउन सक्छन् । नीति-कानून भन्ने कुरा त्यस्तै हुन् । उखानै छ, ‘ऐनजति छोटालाई ! चैनजति मोटालाई !’ हामीलाई वीर पुर्खाको गुनले छोएन, शहीदको खुनले छोएन, राष्ट्रको नूनले छोएन, लेखक-पत्रकारको भुनभुनले छोएन भने अख्तियारको धुनले कसरी छुन सक्छ हँ ? ममाथि हाँस्ने नाथेहरू हो ! म राष्ट्रको कलङ्क होइन, बरु म त वर्तमान युगको यथार्थ हुँ । मेरो आर्जन भ्रष्टाचार हुँदै होइन, बरु शुभचिन्तक र मित्रहरूबाट पाएको विशिष्ट उपहार हो, मेरो योग्यता र क्षमताको पुरस्कार हो, काम मिलाएवापत स्वतः बर्सिने कमिसनको मीठो सार हो । अब छिटै बाहिर निस्केर दुनियाँलाई मैले आफ्नो शक्तिको नमूना देखाइदिने नै छु !
बरु म टाउको ठड्याएर, छाती फर्काएर, शानले जुँघा मठार्दै जेलबाहिर निस्कँदा मेरा शुभचिन्तक तपाईंहरू यस वीरका लागि अबीर र कम से कम दुईसय किलोको फूलमाला लिएर लेट नगरी मूलगेटमै भेट गर्न आउनु होला ! तपाईंहरूलाई पनि योग्यता र गच्छे अनुसार अलि अलि गुलियो चटाएर गरिबीको वैतरणी पार गराइदिउँला नि ! वचन दिएँ लौ ! बरु चिन्ता सबै भुलाएर, घाँटीका नशा फुलाएर मेरो स्वरमा स्वर तथा लोलीमा बोली मिलाएर नारा लगाउनोस् ल, “भ्रष्टाचार जिन्दावाद !”
०००
दाङ
‘फित्कौली’ पूर्णाङ्क- ४१, २०८१ (वैशाख-जेठ)
Subscribe
Login
0 Comments
Oldest






































