रमेश खकुरेलवृषभउत्पात
प्रभु छ ऊ सबको जब पस्तछ धक नलीकन चर्छ र बस्तछ ।। न त कुनै पनि मार्ग छ चाहिने न त कुनै पनि बार छ रोकिने न त कुनै पनि बन्धन बाँधिने छ बलसाथ छिरीकन आउने ।।

रमेश खकुरेल :
जति चुटे पनि हुन्न हताहत
बरु चलाउँछ लात भटाभट
शिव महेश्वर छन् जब दाहिने
किन कुनै पनि पीर उसै लिने ।।
जति यतातिर आइज जो भनुन्
जति भुकीकन दारुणता छरुन्
छ अलमस्त यसै किन टेर्दछ
बरु निरीहहरूतिर हेर्दछ ।।
सिङ तिखो दिन खातिर तर्जन
स्वर कडा सुनिने खरगर्जन
अति वसायुत पीवर गर्दन
बल अपौरुष गर्दछ मर्दन ।।
जुनसुकै पनि खेत जहाँ रहोस्
फसल टन्न झुलेर यहाँ रहोस्
प्रभु छ ऊ सबको जब पस्तछ
धक नलीकन चर्छ र बस्तछ ।।
न त कुनै पनि मार्ग छ चाहिने
न त कुनै पनि बार छ रोकिने
न त कुनै पनि बन्धन बाँधिने
छ बलसाथ छिरीकन आउने ।।
शिव भनेर सुपूजित डामियो
गर भलो भनियो अनि छाडियो
तर यही किन भो यति लोलुप
वृषभ जात गरेछ कलङ्कित ।।
०००
कमलपाेखरी, काठमाडाैं
Subscribe
Login
0 Comments
Oldest






































