साइबर अपराध सम्बन्धी सचेतना सामग्री

कविमय संसार

जे भए पनि मैले जति नै कुरा काटे पनि बाहिरतिर लुकीछिपी मासु, रक्सी, चुरोट, खैनी, गुट्का खाने शिक्षकले कक्षामा अनुशासन र नैतिक शिक्षा पढाए जस्तै मैले पनि कविवर्गकै पक्षमा जयगान गर्नै पर्छ।

Nepal Telecom ad

 विनोद खनाल

एउटा प्रतिष्ठित पत्रिकाले हास्यव्यङ्ग्यको माग गर्दै पुषमै चिठी पठाएछ। म जस्तो बगम्फुसे लेखकलाई पनि यति धेरै संझेर चिठी पठाएकोमा म भ्यागुतो जत्तिकै फुलेको थिएँ। हुन त दुईचारवटा हास्यव्यङ्ग्य प्रकाशित भएकै थिए, दुई/ चारवटा कविता गोष्ठीमा २/४ वटा कविता सुनाएकै थिएँ। यति गरेपछि त म वरिष्ठ कवि नै पो भइसकेको थिएँ त ! अब वरिष्ठ भइसकेको मान्छे, हास्यव्यङ्ग्य पनि गतिलै लेख्नु पर्ने तर हास्यव्यङ्ग्यका प्राध्यापक डाक्टरहरूबाट चुइचाई भएर बाँकी रहेका हास्यव्यङ्ग्य मात्र हाम्रो भागमा आइपुग्छ। उही कुनै विकास योजनाका लागि छुट्टिएको रकम मन्त्री, मन्त्रीको पिए, सचिव, कर्मचारी, इन्जिनियर, ओभरसियर, ठेकेदार आदिलाई भाग लाउँदा लाउँदै चुहिएर सकिए जस्तै हुने भो मेरो हास्यव्यङ्ग्य पनि। तै पनि बेहुलीलाई ग्यारेन्टीका गहना लगेर झुक्याए जस्तै गरेर भए पनि काम चलाउँदैछु, सराद गराउन सिकेका पुरेतले गरुड पुराण हाँके जस्तै। अब साथीभाइले संझेर मागिहाले एउटा हास्यव्यङ्ग्य त लेख्नै पर्‍यो भनेर विषय कन्दै थिएँ, पल्लो कोठाको एफ एममा एउटा कविता बज्यो त्यति भए पुगिहाल्यो नि। पढ्न अल्छी गर्ने विद्यार्थीका लागि बत्ति गए जस्तै। एफ एममा कविता सुनिसक्दा मलाई पनि हास्यव्यङ्ग्य फुरी पो हाल्यो। अनि थालेँ हास्यव्यङ्ग्य लेख्न।

हुन पनि म अहिले संसार कविमय देख्छु। एउटा सानो उदाहरण ल ! महाभारत कालमा गुरु द्रोणचार्यले दुर्योधनलाई असल चरित्र भएको र युधिष्ठिरलाई खराब चरित्र भएको मान्छे खोजेर पठाएछन्। सारा संसार घुम्दा पनि दुर्योधनले असल र युधिष्ठिरले खराब चरित्र भएको मान्छे भेटेनछन् ।

यो कथाले के कुरा प्रमाणित गर्छ भने मान्छे आफू जस्तो छ अरुलाई पनि त्यस्तै देख्छ। अनि मैले संसार कविमय देख्नु के अनौठो भयो र ! म पनि एउटा चारआने कवि त पक्कै हुँ।चारआनेको अर्थ बुझ्नु भएकै होला। तपाईं लोकतन्त्रे, झोकतन्त्रे, बोकतन्त्रे, ठोकतन्त्रे देशको मान्छे भएर पनि चारआनेको अर्थ बुझ्नु भएन भने तपाईं जस्तो बुध्दु यो देशमा कोही छैन। पार्टी सिस्टमको देशमा त यो चारआने पनि बढो महत्त्वको हुन्छ त ! भोट चाहिँदा, नारा जुलुस गर्नुपर्दा, सभा समारोहमा जान, लडाइँ झगडा गर्नु पर्दा, काम अराउनु पर्दा चारआनेको साह्रै जरुरत हुन्छ। त्यसभन्दा बाहेक चारआनेको न कुनै महत्त्व हुन्छ न कार्यकर्ताले पाए सरहको सेवा सुबिधा नै पाउँछ, शिक्षक र निजामती जत्तिकै फरक हुन्छ चारआने र कार्यकर्तामा ! तर नेताहरूभन्दा उग्र चैं यिनै चारआनेहरू नै हुन्छन् है ! साहित्य क्षेत्रमा पनि यस्तै यस्तै हुन्छ, कुनै साहित्यिक समारोह गर्नु पर्दा, चन्दा लिन, कसैका किताब किनिदिन र बेचीदिन, कार्यक्रममा ताली पड्काउन, कुनै साहित्यकार बिरामी परेमा सहयोग गर्न यस्ता चारआने साहित्यकारहरू बहुत उपयोगी हुन्छन्। अब त तपाईंले जनताले नेताको भाषण बुझे भन्दा छ्याङ्ङ बुझ्नु भो होला नि ।

हो, त्यसैले भनेको क्या मैले संसार कविमय भको छ भनेर। अझ नेपालमा त बर्खामा भ्यागुता बडे जत्तिकै बढेका एफ एम, बोर्डिङ स्कुल र सहकारी भन्दा बढी कवि बढेका छन्। एफ एमका सबै कार्यक्रम सुन्नुभो भने कविता तथा गजलमय छन् तर अचेल एफएम कसैले पनि सुन्दैनन् र पो त ! कुन दिनदेखि समाचार पनि कविता वा गजलमै प्रसारण हुन बेर छैन। बाबु कवि, आमा कथाकार, छोरो नाटककार, छोरी गजलकार, अर्को छोरो निबन्धकार, अर्की छोरी हाइकुकार हाम्रो नेपालमा ! अनि भएन त गज्जब ! अनि भएन कविमय संसार !

साहित्य पढ्ने कोही होइन, सब लेख्ने र पुस्तक छपाउने मात्र ! तपाईं कुनै साहित्यिक कार्यक्रम वा कवि गोष्ठीमा जानुहोस् त त्यहाँ कसले सुनिरहेको हुन्छ, साहित्य ! उता कविजी छेरुन्जेल चिच्याइरहेका हुन्छन् यता श्रोता भने गफ चुट्नमै व्यस्त ! हुन त आफू पनि त्यही ड्याङ्को मूला परियो ! आफ्नै वर्गका मानिसलाई यति साह्रो चैं भन्न नहुने हो तर नेपालमा यस्तो धर्म कहाँ पो थामिएको छ र ! “लोहाका बैरी लोहा” भने झैं महिलाको शत्रु महिला, पण्डितको शत्रु पण्डित, काँग्रेसको शत्रु काँग्रेस, कमिनिष्टकाे शत्रु कमिनिष्ट,शिक्षकको शत्रु शिक्षक, व्यापारीकाे शत्रु व्यापारी भए जस्तै साहित्यकारलाई पनि लडाउने र खुट्टा तान्ने साहित्यकार नै हुनु के अचम्म पो हो र !

अझ यस्तो काममा त साहित्यकारहरू अरुभन्दा एक कदम अगाडि छन् भन्दा बड्ता नहोला ! तर राजनैनिक पार्टीहरूको भन्दा बिरोध शैली चै अलिक फरक छ साहित्यकारहरूको ! राज्यको धन बाँडेर खाने कुरामा ल्याप्पै मिल्ने र बिरोधको अभ्यास मात्र गर्ने शैली राजनैतिक पार्टीहरूमा हुन्छ भने साहित्यकारहरू चैं एकसय पन्नेदेखि एक पन्ने पत्रिकासम्ममा आफ्ना बिरोधीका कुरा छपाउन पछि पर्दैनन् ! यिनीहरूलाई बिरोधी हिँडेको बाटो पनि गनाउँछ र त्यो बाटो हिँड्दैनन् !

को नि यस्ता कुरा गर्दा कुटाइ पो खाइने हो कि ! अभिव्यक्ति स्वतन्त्रताको समयमा त बोल्न पनि पो अफ्ठ्यारो पो छ त ! संसार कविमय भयो भन्दा कवयित्री हो कि कवियित्री हो कि कवयत्रीहरूले लौ लिङ्गभेद भयो भनेर नारा लाउन बेर छैन । आखिर जमाना नै नारा र आन्दोलनको त छ ! साँची कविता लेख्ने महिलालाई चैं के भन्ने होला !कवयित्री, कवियित्री, कवयत्री ! यस कुरामा संस्कृत पढेका पण्डितजीहरू त अलमलिन थाले भने सादा नेपाली पढेकाहरूको त कुरै छाडौं न !

यसै भएर होला वरिष्ठ वरिष्ठ साहित्यकारहरूले पनि महिला कवि भन्न थालेका । मेरो विचारमा चैं जे भने पनि मिल्छ। इत्रिने छिल्लिने किसिमका कविता लेख्नेलाई कवयित्री भनेको पनि ठिकै छ, यत्री यत्रीले बाबुआमाका काखमा बसेर र टेबलमाथि चढेर कविता सुनाउनेलाई कवयत्री भन्नु पनि ठिकै हो र यत्री (ठूलो ज्यान भएकी) ले कविता लेख्ने र सुनाउने गर्दा त्यस्तालाई कवियत्री भन्दा कानुन त लाग्दैन होला नि । नेपालमा त ज्यानमारा, बलात्कारी, भ्रष्टाचारीलाई चैं कानुन लाग्दैन, तपाईं हामी जस्तो सोझो कुरा गर्नेलाई चैं कानुनले पक्रिन्छ है। मेरो अहिलेसम्मको खोज अनुसन्धानमा नेपालमा उम्रेदेखि खुम्रेसम्मका कवि भेटिन्छन् नि ! बजारमा पाइने साइजसाइजका लुगा कपडा जस्तै। यसकारण मैले कविमय संसार भनेको हुँ। यही कविमय संसारको म पनि एक ठुटे कवि हुँ।

आजकल संसार कविमय मात्र होइन मय पनि एउटा वाद भएको छ। भयवाद, लयवाद, भोकवाद, झोंकवाद, तरलवाद, सरलवाद, आयामवाद, खायमवाद,सडकवाद, तडक भडकवाद लीलावाद, ढिलावाद, प्रगतिवाद, अगतिवाद आदि आदि । यी बाहेक नातावाद, कृपावाद, रकमवाद, चाप्लुसीवाद, प्यानलवाद र च्यानलवाद्ले पनि नेपाली साहित्यलाई भोर्लाको लहराले रुखलाई थिचे जत्तिकै थिचेको छ।

भोकवाद कविताको कुरामा एउटा प्रसङ्गको संझना आयो, भोक कविता वाचन गर्न एकजना मित्रबाट निम्तो आयो । यस्तो कार्यक्रममा निम्तो आउँदा बाहुनी बज्यैलाई सराद्धेमा भात खान आएको निम्तो जस्तै हुन्छ आफूलाई त ! मैले मित्रलाई भनें “त्यसो भए म कविता वाचन गर्न त्यो दिन बिहान उठ्ने बित्तिकै चिया पनि नखाई आउँछु। मित्रले भने, “होइन, त्यसो गर्नु पर्दैन, भात खाएर आउँदा भैगो नि।” मैले भनें, “अनि भोक कविता वाचन गर्न खाएर ! त्यो त दस घोगा मकै र तीन डबका मोही ड्म्फ्याएर एकादशीको बर्त लिए जस्तो भैगो नि !” उनले भने, “कहाँ भोकै कविता वाचन गर्न सकिन्छ त ! भोकाहरूका कविता त हामी जस्तै अघाकाहरूले लेख्ने हो, उनीहरूका बारेमा लेखेर हामीले नै मान सम्मान र पुरस्कर पाउने हो । उनीहरूलाई त लेख्न पनि आउँदैन र भन्न पनि भ्याउँदैनन् !”

अब मैले मनमनै सोचें मैले त साहित्य बुझेकै पो रैनछु। नेपालमा काङ्ग्रेस, कम्युनिष्टले लाउने नारा र नेपालमा लेखिने साहित्य उस्तै उस्तै पो हो कि क्याहो ! यस्तै यस्तै हुन् यी साहित्यका वादहरू पनि। माथि उल्लेख गरिएका वादहरूको भारी बोकाएपछि हाम्रो नेपाली साहित्य दसैंमा आठ/ दसवटा गुन्टा बोकेर घर आएको लाहुरे जत्तिकै भएको पाइन्छ। वादै वादले थिचिएको साहित्य पनि लाहुरे जस्तै उकालो उक्लन नसकी ठसठसी कनेर निस्केको अपानवायु जत्तिकै गनाउन थालेको छ।

यी सबै वादहरू नेपाली साहित्यका एउटा न एउटा जाल हुन् कि जस्तो लाग्न थाल्यो अचेल मलाई। यी जाल फ्याँकेर साहित्यकारलाई एउटा न एउटा जालमा हालेरै छोड्छन्। यसरी जालमा माछा पार्न पल्केका साहित्यकारले बल्छी थाप्ने साहित्यकारको चैं काल नै गरेका छन्। तपाईं राजधानीबाट प्रकाशित हुने तीन पन्ने पत्रिकामा रचना छपाउनु होस् तपाईं राष्ट्रिय स्तरको साहित्यकार, जिल्लाबाट प्रकाशित दुई पन्ने साप्ताहिकमा रचना छपाउनु होस् तपाईं जिल्ला स्तरीय साहित्यकार, गाउँमा बसेर दुई सय पेजको किताब छपाउनु होस्, तपाईं गाउँले साहित्यकार !

कुरो त सिन्धुलीको बाटो जत्तिकै फनफनी पो घुम्यो, नेताको भाषण जस्तै । म पनि यही कविमय नेपालमा जन्मिएको एउटा कवि ! कविको लवि हराएर छवि गुमाएपछि हविगत भएर अल्मलिएर बसेको छु। जे भए पनि मैले जति नै कुरा काटे पनि बाहिरतिर लुकीछिपी मासु, रक्सी, चुरोट, खैनी, गुट्का खाने शिक्षकले कक्षामा अनुशासन र नैतिक शिक्षा पढाए जस्तै मैले पनि कविवर्गकै पक्षमा जयगान गर्नै पर्छ।

त्यसकारण माथिका कुराको पाप मोचन गर्न वर्षभरि गरेका पाप मोचन गर्न श्रवणी नुहाए जस्तै गरेर मैले पनि अलिकति कवि र कविको जयगान र आरती उतारेर लेख टुङ्ग्याउँछु ।सबैले जयगान र आरतीमा साथ दिनु होला ! सुरु गरौं है त !!
जय कविता जयजय, जय साहित्य जयजय !
कवि र कवयित्री सबैको जयजय ।
तोते कवि जयजय, थोते कवि जयजय !
लोते र पोते कवि, सबैको जयजय !!

सत्ता कवि जयजय, भत्ता कवि जयजय !
झर्रा र ठर्रा कवि सबैको जयजय !
जय मयवाद जयजय, जय लयवाद जयजय !
आयाम र भयवादी सबैको जयजय !!
चुच्चेकवि जयजय, छुच्चेकवि जयजय !

फुच्चा र फुच्ची कवि, सबैको जयजय !
आशुकवि जयजय,नासु कवि जयजय !
रक्सी र मासु कवि, सबैको जयजय !!
पद्येकवि जयजय, गद्येकवि जयजय !
खुस्केट र सद्दे कवि सबैको जयजय !
छन्दकवि जयजय, गन्धकवि जयजय !

मन्द र कन्द कवि सबैको जयजय !!
बाबुकवि जयजय, आमाकवि जयजय !
छोरा र छोरी कवि सबैको जयजय !
घुच्चाकवि जयजय, बुच्चाकवि जयजय !
लुच्चा र सच्चाकवि सबैको जयजय !!
सडककवि जयजय, पदककवि जयजय !

तडक र भडककवि,सबैको जयजय !
ठुलाकवि जयजय, मुलाकवि जयजय !
लुला र दराकवि सबैको जयजय !!
हल्लाकवि जयजय, खल्लाकवि जयजय !
पल्ला र गल्लाकवि सबैको जयजय !

होचा कवि जयजय, पोचाकवि जयजय !
वादको भारी बोक्ने सबैको जयजय !!
तात्ने कवि जयजय, घात्ने कवि जयजय !
मात्ने र नाच्ने कवि सबैको जयजय !
फोर कवि जयजय, बोर कवि जयजय !
घोर र चोर कवि सबैको जयजय !!

चाउरे कवि जयजय, लाउरे कवि जयजय !
फ्याउरे र झ्याउरे कवि सबैको जयजय !
जय कविता जयजय, जय साहित्य जयजय !
कवि र कवयित्री सबैको जयजय !!

०००
धुलाबारी, झापा

मो .नं. ९८४२७१५५३२

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
पाँच ठोक्तक

पाँच ठोक्तक

विनाेद खनाल
बिर्सने बानी

बिर्सने बानी

विनाेद खनाल
हाउडी पुराण : एक संक्षिप्त चर्चा

हाउडी पुराण : एक...

विनाेद खनाल
जय बुढी

जय बुढी

विनाेद खनाल
गाईजात्रे सरकार !

गाईजात्रे सरकार !

विनाेद खनाल
अनलाइन ठगहरू

अनलाइन ठगहरू

प्रा. कपिल अज्ञात
तालुखुइले

तालुखुइले

माणिकरत्न शाक्य
आमाको अदालत

आमाको अदालत

नन्दलाल आचार्य
चंखेको खसी खाने जुक्ति

चंखेको खसी खाने जुक्ति

सुरेशकुमार भट्ट
0
Would love your thoughts, please comment.x
()
x