साइबर अपराध सम्बन्धी सचेतना सामग्री

छुच्चो म

अरु विकल्प हुँदा हुँदै आफूलाई फाइदा हुने देखेर सधैँ आफ्नै पकेटका आलु नेता मात्र उठाउने सिन्डिकेटको पक्षपोसक पार्टीको अध्यक्ष छुच्चो कि परिवर्तनको पक्षमा उभिनु पर्छ, नयाँ उर्जाशील नेतृत्वले देशको काँचुली फेर्न सक्छ भन्ने कुराको वकालत गर्ने म बबुरो सामान्य मान्छे ।

Nepal Telecom ad

नारायण भट्टराई :

आज अनायासै मेरी बुढीले मलाई आरोप लगाइन “तपाईं कति छुच्चो मान्छे !” म अलमलिएँ । मलाई झनक्क रिस उठ्नु पर्ने तर उठेन । सायद ओठे जवाफले लागेको आरोप पखाल्न सक्दैन बरू आगोमा पेट्रोल थप्ने काम गर्छ भन्ने बुद्दि पलाएछ क्यारे । फेरि छोरो मोरो छेवैमा बसेर टि भी हेरिरहेको थियो । बच्चाकै अगाडि बुढीसँग बाजेर घरमा बबण्डर मच्चाउने बहादुर पुरुष पनि त हुन् सकिएन । गत महिना मात्र चालिसौं जन्मदिन मनाइदिएको थियो फेसबुकले । एउटा समजदार श्रीमान र उत्तरदायी बाबुको पदीय दायित्व पनि त थामी खाए जस्तो गर्नु थियो ।
बुढीले छुच्चो भनेपछि मैले आरोप लाउनु पर्ने कारणको बारेमा अनुसन्धान गर्नु पहिले आफैँसँग प्रश्न गरेँ “किन मलाई उनले छुच्चो भनिन् त ?”

लुरु लुरु आफ्नो घर जान छोडेर अर्काकी श्रीमतीको साडी सुँघ्दै हिड्ने तर आफु भने बढो मर्यादा पुरुष राम जस्तो देखिन खोज्ने तथाकथित् नारीवादी कुनै कुनै नेता र सांसद जस्तो ठानेर मेरी श्रीमतीले मलाई छुच्चो भनेकी जस्तो लाग्दैन । शहरका गल्ली गल्लीमा गर्लफ्रेन्ड राख्ने तर अबेर मातेर घिस्रिँदै घरभित्र छिरेपछि भने बडो पत्नीब्रता श्रीमान जस्तो भएको नाटक गर्ने नौटङ्की श्रीमानहरूजस्तो ठानेर पनि मलाई उनले त्यस्तो आरोप लगाएको हो जस्तो लाग्दैन । बरू, पित्री बाबुआमालाई अरु दाजुभाइको जिम्मा लगाउन नसकेको भनेर काँतर भन्न सक्लिन् वा सुनै सुनका गहनाले श्रीमतीलाई छपक्कै छोप्न नसक्ने हुतिहारा भन्न सक्लिन तर मेरो उनीप्रतिको समर्पणमा भने उनले शङ्का गर्लिन् जस्तो लाग्दैन ।

उनले मलाई छुच्चो भन्नुको एउटा कारण चाहिँ मैले केटा केटीसँग अलिक किच किच गरेँ भनेर हो । तर मेरो जीवनको सिद्धान्तले के भन्छ भने आफ्ना बच्चालाई ठाउँमा राख्ने हो भने उनीहरूको को नि के मा पानी चड्नु अगाडि नै अलि अलि थाहा नपाउँदो गरी अर्जाप्नु पर्छ नभए पछि टाउकोमा टेक्छन् । आफू जिउँदो हुँदै छोराछोरीले टाउकोमा टेकेको देख्न त त्यति रमाइलो हुँदैन होला नि । कि कसो हो रमिता हेरिसकेका र हेर्दै गरेका बाबुआमाहरू हो ? मेरै सिद्धान्तले काम गर्छ भनेर म कुनै बेबकुफ नेताको जस्तो दावी चाहिँ गर्दिनँ तर यत्ति भन्छु – मेरा बाले मलाई पनि त्यसै गरेका थिए । उनले बाँचुन्जेल मैले खैनी खाएको देख्नु र सुन्नु परेन । कमसेकम लुकेर खाएँ वा साथी कहाँ धाएर खाएँ तर सामाजिक सन्जालमा मान्यजनकै आँखामा पर्ने गरी नाङ्गिने अहिलेका केटाकेटी जस्तो हर्कत चाहिँ गरिन । त्यस्तैगरी, पढेर बसेको बहानामा लभ लेटर लेखेको थाहा पाएनन् । थाहा पाउन पनि कसरी म सधैँ परीक्षामा पास भैहाल्थेँ । त्यो समयमा नेपाली बाबु आमालाई छोरा छोरी पास भए पुगिहाल्ने । म पढाईको परिक्षामा पास भएर जीवनको परीक्षामा कति पटक फेल भएँ भन्ने मलाई नै थाहा छ । भनेर भन्नु भएन । फेरि उबेला अहिले जस्तो शिक्षालाई मालसामान जस्तो मोल तोल गरेर बेच्ने प्राइभेट कलेज पनि थिएनन् । त्यसैले, राम्रो ग्रेड ल्याउने विद्यार्थीलाई मुर्गा बन्ने अवसर नै थिएन । न परीक्षाको रिजल्ट आउने बित्तिकै ग्रेड वा सर्टिफिकेट सहितको पोस्टिङ पोस्ट्याएर फुर्ती लगाउन पाइने मुहार पुस्तिका नै जुकेनवर्ग काकाले बनाइसकेका थिए ।

बुढीका नजरमा म छुच्चो हुनुमा अर्को पनि कारण छ । भनिएका र गरिएका, देखिएका र देखाइएका, देखाइएका र नियतवश लुकाइएका कुराहरूबिचको अन्तरमा मेरा भित्री आँखा अल्झिने गर्छन् । अनि त्यसरी आँखा अल्झिएपछि सत्य लुकाएर गरिएका कर्तुतले बनाएका घाउहरू बल्झिने गर्छन् । मलाई सत्य उदाङ्गो पार्न मन लाग्छ । त्यसैले नडराई बोल्न मन लाग्छ । “नबोल्या भा के हुन्थ्यो ?” बुढी जिकिर गर्छिन् । उहिले राणाहरूको हुकुमी शासन थियो । मान्छेले पढ्न पाएका थिएनन् । चलेकै थियो । मान्छेहरूले नबोल्या भा के हुन्थ्यो । अहिलेसम्म सबै नेपालीहरू हालत हाम्रा साईला हजुरबाको जस्तै हुन्थ्यो । साइला हजुरबा खेत जोत्दा जोत्दै पेट दुखेर घर आएछन् र पाइखाना गएछन् । पाइखाना गएछन् पाइखाना गएछन् । पखाला लागेर सिकिस्त बिरामी भएछन् । बिरामी कुर्न आएका गाउँलेहरूले भनेछन् पखाला लाग्दा पानी खान दिनु हुँदैन । साहिला बा पानी पानी भन्दै एक घुट्की पानी पिउन नपाइ बितेछन् ।

बुढीले एकाएक छुच्चो भने पछि म सोच्न थालेँ – के म साँच्चिकै छुच्चो छु त ? छु भने म कसरी छुच्चो भएँ त । के म जन्मिँदै आमालाई गाली गर्दै जन्मेको हुँ त ? खै आमाले त मलाई त्यसो भन्नु भएन । होइन भने मलाई कसले छुच्चो बनायो त ?

फेरि पनि कुरो जन्माउने जन्मदातामै गएर ठोक्किन्छ । यदि म छुच्चो हुँ भने यसमा कि त मलाई जन्माउने बाबु आमाको भूमिका छ किनकी आधुनिक विज्ञानको भनाइ अनुसार मेरो रगतमा वहाँहरूको जिन बग्छ । नभए म हुर्के बढेको समाजको भूमिका छ जसले मलाई छुच्चो बन्न सिकायो वा बाध्य बनायो । एउटा रगतको डल्लो मान्छेको रूपमा आमाको गर्भबाट बाहिर निस्कँदा निस्कँदै मान्छेका बदनियतपूर्ण व्यवहारको बर्खिलाप बखान्दै, मान्छेका देखाउने दाँत र चपाउने दाँत बिचको विरोधाभासको भण्डाफोर गर्दै, यो भएन र उ भएन भन्दै त पक्कै आउँदैन । यो कुरामा तपाईंहरू मसँग पक्कै सहमत हुनुहुन्छ होला ।

अब जन्माउने बाबु आमाले छुच्चो जन्माए र म छुच्चो भएको हो रैछु भने त्यसमा मेरो दोष छैन । म छुच्चै जन्मिएको रहेछु भने पनि बुज्रुक भएपछि आफुलाई नियन्त्रण गरेर छिमेकीको साँढेले जेष्ठ महिनामा प्रत्येक दिन आफ्नो पाखामा पलाएका अम्लिसोका टुसा खाएको टुलुटुलु हेरिरहन सक्नुपर्ने होला । होइन ? त्यो त मैले कैयौँ पटक गरकै छु त । तर त्यसो गर्दा उनीहरूको गोरु अघायो र उनीहरूले बलिया गोरु जोतेर बाली लगाए अनि पैसा कमाए । मेरो भने अम्लिसाको कुच्चो बेचेर दाम कमाउने सपना राम्रो टुसाउन नपाई निमोठियो । मेरी आमाले भनेको कसैले तँलाई नियतबस क्षति पुर्‍याउँछ र तँसँग त्यसको प्रतिकार गर्ने क्षमता छैन भने तैँले आफैँलाई अन्याय गरिरहेको हुनेछस् र आफुले आफैंलाई अन्याय गर्ने मान्छेले न अरुलाई न्याय गर्न सक्छ न त आफ्नो क्षितिज फराकिलो पार्न सक्छ । म आमाको आज्ञाकारी छोरो हुन खोजेको मात्र हुँ ।

यदि म छुच्चो नै भएको हुँ भने मलाई छुच्चो बनाउनमा हाम्रा गाउँलेको पनि भुमिका छ । कुरो कुन समयको हो याद छैन । दिलचस्पी यादगार कुरो भए पो । याद मार भन्नु खाल्को कुरो भएपछि याद गर्दा दिमागलाई नै यातना दिए जस्तो हुन्छ । अनि के याद गर्नु र । तर एक दिन बिहानै म हाम्रो बाँसघारीको धारा बाट पानी लिएर आउँदै थिएँ । एक जना गाउँले दाई धमाधम हाम्रो बाँसघारीका बाँस ढालेर घाँस काट्दै थिए । मैले उनलाई चोर भनेँ । छुच्चो भइने डरले चोरेको देखिदेखी आँखा चिम्लेर चोरी सदर गर्नु कि चोरलाई च्याप समातेर चौकीभित्र चुकुल लगाएर थुन्नु । मैले चोर बस्ने ठाउँमा उनलाई ठेगान लगाएँ । हेर्नुस्, चोरलाई चोर भनेन भने र समयमा ठिगुरा ठोक्न सकेन भने देशै भरी चोरहरूको बिग्बिगी हुन्छ । चोर नै नेता हुन्छन्, चोर नै कर्मचारी हुन्छन्, चोर नै शिक्षक हुन्छन्, चोर नै व्यापारी हुन्छन्, चोर नै मन्त्री अनि प्रधानमन्त्री हुन्छन् । यो कुरा मलाई भन्दा मेरा बुज्रुक पाठकलाई बढी थाहा छ । त्यहाँनिर म छुच्चो भएँ कि रक्षक ?

नेताको कुरा गर्दा अर्को घटना सम्झेँ । भोटको बेला थियो । मेरो चुनाव क्षेत्रमा सांसद उठेका नेतालाई भोट हालेको पन्ध्र वर्ष भइसकेछ फेरि पनि उहि नेता भोट माग्दै आए । मेरो पालो उनका अगाडि हुन्छ हुन्छ भनेँ ब्यालोट भने रित्तै खसालिदिएँ । नेताको भुँडी बढेको बढेकै छ, हाम्रा गाउँमा युवा शक्ति घटेको घटेकै छ । नेताको अनुहार भरिलो र झरिलो छ वर्षाैँदेखि हाम्रो गाउँको धारो सुकेर उराँठलाग्दो छ । अब, त्यस्तो रित्तो मन भएको नेतालाई रित्तो ब्यालेटको सरप्राइज नदिएर के गर्नु । यो उदाहरणमा को छुच्चो । दसकौंदेखि अरु विकल्प हुँदा हुँदै आफूलाई फाइदा हुने देखेर सधैँ आफ्नै पकेटका आलु नेता मात्र उठाउने सिन्डिकेटको पक्षपोसक पार्टीको अध्यक्ष छुच्चो कि परिवर्तनको पक्षमा उभिनु पर्छ, नयाँ उर्जाशील नेतृत्वले देशको काँचुली फेर्न सक्छ भन्ने कुराको वकालत गर्ने म बबुरो सामान्य मान्छे ।

मलाई बूढीले लगाएको आरोपको बारेमा यति बखान गरेर लेख लेखिसकेपछि उनलाई सुनाउन भनेर तयार भएको “मसँग अहिले समय छैन” भनेर उनी तर्किन् । आफ्नै घर भित्रका मान्छेले त आफ्नो कुरा सुनिदिँदैनन् भने अरुको के कुरा गर्नु । त्यसैले म छुच्चो भए पनि के नभए पनि के । तर त्यसो भनेर कालोलाई सेतो चाहिँ यो जुनीमा भनिँदैन । जे पर्ला पर्ला ।

०००
हाल अमेरिका

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
यमयात्रा

यमयात्रा

नरेन्द्रराज पौडेल
को शक्तिशाली ?

को शक्तिशाली ?

प्रमोद अमात्य
भ्यूटावर

भ्यूटावर

दिव्य गिरी
सुकिला अतिथि

सुकिला अतिथि

माधव पोखरेल गोज्याङ्ग्रे
0
Would love your thoughts, please comment.x
()
x