चिरञ्जीवी दाहालमितप्रथा जिन्दावाद
मित लगाउन नसक्नेहरूलाई जिल्ल पारिदिनु पर्छ । मित जोडी गलगिद्ध भएर हिँड्न सक्नुपर्छ । होइन मित मैत्री ऐन नियम बनाउने हो भने पनि शुभ कार्यमा कत्ति पनि ढिला गर्नु हुँदैन ।

चिरञ्जीवी दाहाल :
शुग्रीवलाई वाली तह लगाउनु थियो । रामलाई सीता खोज्ने सहयोगीको खाँचो थियो । उनीहरूलाई लाग्यो मित लगायो भने दुबैका समस्या सजिलै समाधान हुन सक्थ्यो । त्यसैले राम र सुग्रीवले अग्नि साक्षी राखेर मित लगाए । भनिन्छ कृष्ण र सुदामा पनि मित थिए, त्यहाँ पनि पक्कै दुवै पक्षका केही स्वार्थ थिए । यसरी हेर्दा मितप्रथा नयाँ होइन, यो निकै पुरानो प्रचलन हुनुपर्छ । उहिले औपचारिक रुपमै मित लगाउने प्रचलन जताततै देख्न पाइन्थ्यो। त्यसैले होला गाउँमा लगभग सबै नाता पर्ने मान्छे हुन्थे । प्रायः ठ्याक्कै आफ्ना बाहेकपनि कसै न कसैलाई बा, काका, दिदी, आमा, दाजु, भाइ, मामा र सानीमा मात्र होइन नजाने अन्य सबै प्रकारका नाता लगाएर सम्बोधन गर्न पाइन्थ्यो । मित किन लगाइन्थ्यो भनेर कसैले अनुसन्धान गरेको त थाहा हुनसकेन तर पनि मेरो बोधो दिमागले के अनुमान गरेको थियो भने एक आपसमा असाध्यै हित्तचित्त मिलेका जोडीहरूले मित लगाउने गरेको हुनुपर्छ ।
मेरो यो अनुमान त्यतिबेला सम्म कायम थियो, जब म केटाकेटी नै थिएँ । उमेर बढ्दै गएर तन्नेरी भएपछि बुझियो, मित लगाउने त हित्तचित्त मिल्नेहरूले होइन रहेछ । सके केही झार्ने नभए सजिलै काम सार्ने उद्देश्यले मित लगाइने गरिदो रहेछ ।
बारीमा अजङ्गको रुख कटहरको बोट भएका अन्तरे जिम्मलको छोरासँग मलाई मित लगाइदिएर सित्तैमा रुख कटहरको तरकारी खान पाएपछि मैले यसको भेउ पाउन थालेको हूँ । आफूले कटहर पाएपछि मितका घरमा पनि केही त लगिदिनै पर्यो । म एकदिन आठ दशवटा घिरौँलाको एउटा बिटो बाँधेर मितका घरतिर लागेँ । त्यहाँ पुगेर कटहरको बोटमा आँखा लगाउँदा थाहा भयो, त्यही कटहरको बोटमा अनगिन्ती घिरौँला झुण्डिएका रहेछन् । घिरौँला उतै फालाफाल भएपछि मैले लगेको उपहार त “माझीका घरमा माछाको पाहुर” भनेझैं भयो । बिना महत्वको उपहार लगि दिएकोले यता मेरो मन खिन्न भयो उता मित बाको अनुहार बादल लागेको आकाश जस्तो देखियो ।
उहिले चाडवाडमा भात खाने सबै बाटो बन्द भएपछि एउटा मितले गतिलो हलो काटेर अर्को मितलाई उपहार दिने चलन थियो रे । सायद मितले पनि राम्रो हलो उपहार पाएपछि मितलाई एक पाथी धान उपहार स्वरूप झोलामा हालिदिने गर्दथे । एउटा मितलाई हलो आवश्यक हुन्थ्यो । अर्कोलाई भात खाने धान । दुवैको समस्या सजिलै समाधान हुन्थ्यो। हलो पाएपछि एउटा मित खुशी, धान पाए पछि अर्को मित खुसी ! यस अर्थमा मित लगाउने प्रथालाई नराम्रो कसरी मान्ने ? यसरी दुवैतिरको गाँठो फुस्किने भएकोले मितप्रथा गजबको प्रचलन थियो भन्ने कुरा स्वतः पुष्टि हुन्छ ।
समयको परिवर्तनसँगै अचेल खेतबारी बाँझै चउरमा परिणत हुन थाले । खेती गर्ने मध्यको एकथरी मितहरू सात समुन्द्र पारी हुँइकिन थालेपछि गाउँमा हलो के काम ? उता अर्कोथरी जहाज चढ्ने प्रतीक्षामा गाउँमै रहेका मितहरूको ध्यान भिसा कहिले आउला भन्दै मेनपावरका अड्डा धाउँदै ठिक्क छ । यिनलाई हलो त के कुरा हलोको ठेडी काट्न पनि फुर्सद छैन । गाँठी कुरो अचेल छिमेकको खेतमा फलेको चामल सोझै घरमा भित्र नै गरेपछि धान पो कहाँ पाउनु ?
कथंकदाचित हलो बनि हाल्यो भने पनि नार्ने गोरु भए पो ! घरघरमा गोरु पाल्न छोडेर अचेल ठूलाठूला दरबार, सभाहल र महलहरूमा साँढे पाल्न थालिएको छ । भनिन्छ, साढेलाई जोत्नु हुँदैन । हुन पनि साँढेले न बाँझो जोत्छन्, न रोपाइँ नै गर्छन् । यी त चौबिसै घण्टा एक आपसमा जुधिरहने, बेला न कुबेला डुक्रिरहने पो गर्छन् त । फेरि यिनलाई गोरुलाई झैं नारेर जोत्न हिम्मत पनि त चाहियो नि ! । बरू मौका परे यिनले फेला परेका जतिलाई उल्टै गोरु जस्तै जोत्ने गरेका छन् ।
हेर्दा हेर्दै मितहरूमा हुने गरेको वस्तु विनिमयको प्रचलन र त्यसको स्वरूपमा व्यापक परिवर्तन हुन थाल्यो । परिवर्तन यसरी भयो, हराउन लागेको परम्परागत मितप्रथा लोप हुन सकेन । बरू केही परिमार्जन भएर देखा पर्यो । एउटा मितले हलो र अर्को मितले धान दिन पो छोडियो त । मितहरूमा वस्तु विनिमयको प्रथाले पुनः व्यापकता पाउँदै गयो । “मेरो केश न कोट्याउनु, तिम्रो केश भुस बनाइ दिउँला” भन्दै हलो र धान सट्टापट्टा गर्ने गरेको राजनीति मात्र होइन, “एउटा फ्रेम म दिउँला अर्को फ्रेम मलाइ है मितज्यू” भन्दै सम्मानका फ्रेम र पुरस्कारका खाम साटासाट गर्ने परिपाटीको विकास भयो । केही चलनचल्तीका क्षेत्रमा सुटुक्क धान र हलोको कारोवारलाई जीवन्तता दिइरहेको देख्न पाइएको छ । यस पवित्र प्रथाको अस्तित्व केही मित जोडीहरूले जेनतेन धानेकै छन् ।
अचेल “अङ्ग्रेजीको कपी म देखाइदिउँला गणितको कपी मलाई देखाउनु पर्छ” भन्दै परिक्षालाई धान र हलो सम्झने विद्यार्थी मित पनि प्रशस्तै देख्न पाइन्छन् । “मेरो मान्छेलाई तिमी जागिर दिनु, तिम्रो मान्छेलाई म जागिर दिन्छु ।” भन्ने जागिर दाता मितहरू पनि छ्यापछ्याप्ती देख्न पाइन्छन् । सरकारी अड्डाका मितहरूलाई हात्तीछाप कागतको खोस्टो उपहार दिने हो भने अर्काथरी मितहरूको जस्तोसुकै काम पनि तुरुन्त बन्ने गरेको छ । यसरी यो निकै महत्वपूणर् मानिएको र धन्नै लोप हुन लागेको मितप्रथालाई निरन्तरता दिन अभूतपूर्व योगदान गरिरहेका सबै मित जोडीलाई धन्यवाद दिनैपर्छ । होइन भने मितप्रथा उहिले लोप भैसकेको हुन्थ्यो । आफ्नो मौलिक परम्परा जोगाई राख्न महत्वपूणर् भूमिका निर्बाह गर्ने सम्पूणर् मित जोडीहरूलाई मेरो पनि सलाम छ ।
मितप्रथा यस्तो प्रथा हो जहाँ वस्तु विनिमय गर्दा कहिले पनि घाटा हुँदैन । यो प्रथामा एक पक्षलाई मात्र लाभ हुँदैन दुवै पक्षलाई लाभ हुन्छ । लगानी गरेको बिउ पूँजी तत्काल फिर्ता हुने भएकोले यस्तोमा लगानी गर्न पटक्कै डराउनु पर्दैन । सके दुईगुना थपिएर आउला नभए पनि साउँ कतै नजा ! यसमा बेफाइदा हुन्छ कि भनेर कत्तिपनि शङ्का नगरे हुन्छ ।
यसरी मितप्रथाले मित नहुने पक्षलाई घाटा हुने भएपनि मितप्रथा बन्द गरियोस् भन्दै कतै नारा लगाउँदै जुलुस हिँडेको पनि देखिएको छैन । न त सरकारले मितप्रथामाथि प्रतिबन्ध लगाउने तयारी गरेको छ ? उता अनेक विषयमा छलफल गरिने सांसदको बैठकमा पनि जहाँसम्म लाग्छ, मितप्रथाको विषयमा आजसम्म विरोधको स्वर उठ्ने गरेको छैन् । किनकि त्यहाँ पनि अनगिन्ती मित जोडी छन् भन्ने सुनिएको छ । यस्तो मौकामा मितप्रथालाई व्यापक बनाउनु हामी सबैको कर्तव्य हुन आउँछ ।
मितप्रथा सम्बन्धमा कुनै लिखित ऐन नियम भएको पनि बुझिएको छैन । कतिपय ऐन नियम भएका विषयमा त काम कार्वाही हुन कठिन देखिएको समयमा बिना ऐन नियन, काम कारबाही हुने कुरै भएन । त्यसैले मित जोडीहरूले मिलेसम्म मोज गर्नुपर्छ बेलामौकामा भोज गर्नुपर्छ । मित लगाउन नसक्नेहरूलाई जिल्ल पारिदिनु पर्छ । मित जोडी गलगिद्ध भएर हिँड्न सक्नुपर्छ । होइन मित मैत्री ऐन नियम बनाउने हो भने पनि शुभ कार्यमा कत्ति पनि ढिला गर्नु हुँदैन ।
मेरो विचारमा हालसम्म बनिसकेका मित जोडीहरूलाई कानुनी मान्यता दिनुपर्छ । यदि यसरी मान्यता दिने हो भने यहाँ मितहरूको सङ्ख्यात्मक वृद्धि हुनेछ । जब सबैजना मित मितमा परिणत हुनेछन्, एकआपसमा भाइचारा अभिवृद्धि हुन पुग्छ । एक आपसमा हुने गरेका रिसराग बढ्ने होइन घट्दै जानेछ । “खानैलाई मिल्नुपर्छ, बाँडीचुँडी खानुपर्छ” भन्ने मूल नारा तय गरेर मितप्रथालाई जतिसक्दो चाँडो कानुनी मान्यता दिनु आजको आबस्यकता हो । अतः यो मितप्रथाको व्यापक रूपमा प्रचार प्रसार समेत हुनुपर्ने देखिएको छ । यसबाट समाजमा शान्ति सुव्यवस्था कायम समेत हुनसक्छ । मितप्रथा जिन्दावाद ।
०००
चितवन
Subscribe
Login
0 Comments
Oldest







































