साइबर अपराध सम्बन्धी सचेतना सामग्री

मितप्रथा जिन्दावाद

मित लगाउन नसक्नेहरूलाई जिल्ल पारिदिनु पर्छ । मित जोडी गलगिद्ध भएर हिँड्न सक्नुपर्छ । होइन मित मैत्री ऐन नियम बनाउने हो भने पनि शुभ कार्यमा कत्ति पनि ढिला गर्नु हुँदैन ।

Nepal Telecom ad

चिरञ्जीवी दाहाल :

शुग्रीवलाई वाली तह लगाउनु थियो । रामलाई सीता खोज्ने सहयोगीको खाँचो थियो । उनीहरूलाई लाग्यो मित लगायो भने दुबैका समस्या सजिलै समाधान हुन सक्थ्यो । त्यसैले राम र सुग्रीवले अग्नि साक्षी राखेर मित लगाए । भनिन्छ कृष्ण र सुदामा पनि मित थिए, त्यहाँ पनि पक्कै दुवै पक्षका केही स्वार्थ थिए । यसरी हेर्दा मितप्रथा नयाँ होइन, यो निकै पुरानो प्रचलन हुनुपर्छ । उहिले औपचारिक रुपमै मित लगाउने प्रचलन जताततै देख्न पाइन्थ्यो। त्यसैले होला गाउँमा लगभग सबै नाता पर्ने मान्छे हुन्थे । प्रायः ठ्याक्कै आफ्ना बाहेकपनि कसै न कसैलाई बा, काका, दिदी, आमा, दाजु, भाइ, मामा र सानीमा मात्र होइन नजाने अन्य सबै प्रकारका नाता लगाएर सम्बोधन गर्न पाइन्थ्यो । मित किन लगाइन्थ्यो भनेर कसैले अनुसन्धान गरेको त थाहा हुनसकेन तर पनि मेरो बोधो दिमागले के अनुमान गरेको थियो भने एक आपसमा असाध्यै हित्तचित्त मिलेका जोडीहरूले मित लगाउने गरेको हुनुपर्छ ।

मेरो यो अनुमान त्यतिबेला सम्म कायम थियो, जब म केटाकेटी नै थिएँ । उमेर बढ्दै गएर तन्नेरी भएपछि बुझियो, मित लगाउने त हित्तचित्त मिल्नेहरूले होइन रहेछ । सके केही झार्ने नभए सजिलै काम सार्ने उद्देश्यले मित लगाइने गरिदो रहेछ ।

बारीमा अजङ्गको रुख कटहरको बोट भएका अन्तरे जिम्मलको छोरासँग मलाई मित लगाइदिएर सित्तैमा रुख कटहरको तरकारी खान पाएपछि मैले यसको भेउ पाउन थालेको हूँ । आफूले कटहर पाएपछि मितका घरमा पनि केही त लगिदिनै पर्‍यो । म एकदिन आठ दशवटा घिरौँलाको एउटा बिटो बाँधेर मितका घरतिर लागेँ । त्यहाँ पुगेर कटहरको बोटमा आँखा लगाउँदा थाहा भयो, त्यही कटहरको बोटमा अनगिन्ती घिरौँला झुण्डिएका रहेछन् । घिरौँला उतै फालाफाल भएपछि मैले लगेको उपहार त “माझीका घरमा माछाको पाहुर” भनेझैं भयो । बिना महत्वको उपहार लगि दिएकोले यता मेरो मन खिन्न भयो उता मित बाको अनुहार बादल लागेको आकाश जस्तो देखियो ।

उहिले चाडवाडमा भात खाने सबै बाटो बन्द भएपछि एउटा मितले गतिलो हलो काटेर अर्को मितलाई उपहार दिने चलन थियो रे । सायद मितले पनि राम्रो हलो उपहार पाएपछि मितलाई एक पाथी धान उपहार स्वरूप झोलामा हालिदिने गर्दथे । एउटा मितलाई हलो आवश्यक हुन्थ्यो । अर्कोलाई भात खाने धान । दुवैको समस्या सजिलै समाधान हुन्थ्यो। हलो पाएपछि एउटा मित खुशी, धान पाए पछि अर्को मित खुसी ! यस अर्थमा मित लगाउने प्रथालाई नराम्रो कसरी मान्ने ? यसरी दुवैतिरको गाँठो फुस्किने भएकोले मितप्रथा गजबको प्रचलन थियो भन्ने कुरा स्वतः पुष्टि हुन्छ ।

समयको परिवर्तनसँगै अचेल खेतबारी बाँझै चउरमा परिणत हुन थाले । खेती गर्ने मध्यको एकथरी मितहरू सात समुन्द्र पारी हुँइकिन थालेपछि गाउँमा हलो के काम ? उता अर्कोथरी जहाज चढ्ने प्रतीक्षामा गाउँमै रहेका मितहरूको ध्यान भिसा कहिले आउला भन्दै मेनपावरका अड्डा धाउँदै ठिक्क छ । यिनलाई हलो त के कुरा हलोको ठेडी काट्न पनि फुर्सद छैन । गाँठी कुरो अचेल छिमेकको खेतमा फलेको चामल सोझै घरमा भित्र नै गरेपछि धान पो कहाँ पाउनु ?

कथंकदाचित हलो बनि हाल्यो भने पनि नार्ने गोरु भए पो ! घरघरमा गोरु पाल्न छोडेर अचेल ठूलाठूला दरबार, सभाहल र महलहरूमा साँढे पाल्न थालिएको छ । भनिन्छ, साढेलाई जोत्नु हुँदैन । हुन पनि साँढेले न बाँझो जोत्छन्, न रोपाइँ नै गर्छन् । यी त चौबिसै घण्टा एक आपसमा जुधिरहने, बेला न कुबेला डुक्रिरहने पो गर्छन् त । फेरि यिनलाई गोरुलाई झैं नारेर जोत्न हिम्मत पनि त चाहियो नि ! । बरू मौका परे यिनले फेला परेका जतिलाई उल्टै गोरु जस्तै जोत्ने गरेका छन् ।

हेर्दा हेर्दै मितहरूमा हुने गरेको वस्तु विनिमयको प्रचलन र त्यसको स्वरूपमा व्यापक परिवर्तन हुन थाल्यो । परिवर्तन यसरी भयो, हराउन लागेको परम्परागत मितप्रथा लोप हुन सकेन । बरू केही परिमार्जन भएर देखा पर्‍यो । एउटा मितले हलो र अर्को मितले धान दिन पो छोडियो त । मितहरूमा वस्तु विनिमयको प्रथाले पुनः व्यापकता पाउँदै गयो । “मेरो केश न कोट्याउनु, तिम्रो केश भुस बनाइ दिउँला” भन्दै हलो र धान सट्टापट्टा गर्ने गरेको राजनीति मात्र होइन, “एउटा फ्रेम म दिउँला अर्को फ्रेम मलाइ है मितज्यू” भन्दै सम्मानका फ्रेम र पुरस्कारका खाम साटासाट गर्ने परिपाटीको विकास भयो । केही चलनचल्तीका क्षेत्रमा सुटुक्क धान र हलोको कारोवारलाई जीवन्तता दिइरहेको देख्न पाइएको छ । यस पवित्र प्रथाको अस्तित्व केही मित जोडीहरूले जेनतेन धानेकै छन् ।

अचेल “अङ्ग्रेजीको कपी म देखाइदिउँला गणितको कपी मलाई देखाउनु पर्छ” भन्दै परिक्षालाई धान र हलो सम्झने विद्यार्थी मित पनि प्रशस्तै देख्न पाइन्छन् । “मेरो मान्छेलाई तिमी जागिर दिनु, तिम्रो मान्छेलाई म जागिर दिन्छु ।” भन्ने जागिर दाता मितहरू पनि छ्यापछ्याप्ती देख्न पाइन्छन् । सरकारी अड्डाका मितहरूलाई हात्तीछाप कागतको खोस्टो उपहार दिने हो भने अर्काथरी मितहरूको जस्तोसुकै काम पनि तुरुन्त बन्ने गरेको छ । यसरी यो निकै महत्वपूणर् मानिएको र धन्नै लोप हुन लागेको मितप्रथालाई निरन्तरता दिन अभूतपूर्व योगदान गरिरहेका सबै मित जोडीलाई धन्यवाद दिनैपर्छ । होइन भने मितप्रथा उहिले लोप भैसकेको हुन्थ्यो । आफ्नो मौलिक परम्परा जोगाई राख्न महत्वपूणर् भूमिका निर्बाह गर्ने सम्पूणर् मित जोडीहरूलाई मेरो पनि सलाम छ ।

मितप्रथा यस्तो प्रथा हो जहाँ वस्तु विनिमय गर्दा कहिले पनि घाटा हुँदैन । यो प्रथामा एक पक्षलाई मात्र लाभ हुँदैन दुवै पक्षलाई लाभ हुन्छ । लगानी गरेको बिउ पूँजी तत्काल फिर्ता हुने भएकोले यस्तोमा लगानी गर्न पटक्कै डराउनु पर्दैन । सके दुईगुना थपिएर आउला नभए पनि साउँ कतै नजा ! यसमा बेफाइदा हुन्छ कि भनेर कत्तिपनि शङ्का नगरे हुन्छ ।

यसरी मितप्रथाले मित नहुने पक्षलाई घाटा हुने भएपनि मितप्रथा बन्द गरियोस् भन्दै कतै नारा लगाउँदै जुलुस हिँडेको पनि देखिएको छैन । न त सरकारले मितप्रथामाथि प्रतिबन्ध लगाउने तयारी गरेको छ ? उता अनेक विषयमा छलफल गरिने सांसदको बैठकमा पनि जहाँसम्म लाग्छ, मितप्रथाको विषयमा आजसम्म विरोधको स्वर उठ्ने गरेको छैन् । किनकि त्यहाँ पनि अनगिन्ती मित जोडी छन् भन्ने सुनिएको छ । यस्तो मौकामा मितप्रथालाई व्यापक बनाउनु हामी सबैको कर्तव्य हुन आउँछ ।

मितप्रथा सम्बन्धमा कुनै लिखित ऐन नियम भएको पनि बुझिएको छैन । कतिपय ऐन नियम भएका विषयमा त काम कार्वाही हुन कठिन देखिएको समयमा बिना ऐन नियन, काम कारबाही हुने कुरै भएन । त्यसैले मित जोडीहरूले मिलेसम्म मोज गर्नुपर्छ बेलामौकामा भोज गर्नुपर्छ । मित लगाउन नसक्नेहरूलाई जिल्ल पारिदिनु पर्छ । मित जोडी गलगिद्ध भएर हिँड्न सक्नुपर्छ । होइन मित मैत्री ऐन नियम बनाउने हो भने पनि शुभ कार्यमा कत्ति पनि ढिला गर्नु हुँदैन ।

मेरो विचारमा हालसम्म बनिसकेका मित जोडीहरूलाई कानुनी मान्यता दिनुपर्छ । यदि यसरी मान्यता दिने हो भने यहाँ मितहरूको सङ्ख्यात्मक वृद्धि हुनेछ । जब सबैजना मित मितमा परिणत हुनेछन्, एकआपसमा भाइचारा अभिवृद्धि हुन पुग्छ । एक आपसमा हुने गरेका रिसराग बढ्ने होइन घट्दै जानेछ । “खानैलाई मिल्नुपर्छ, बाँडीचुँडी खानुपर्छ” भन्ने मूल नारा तय गरेर मितप्रथालाई जतिसक्दो चाँडो कानुनी मान्यता दिनु आजको आबस्यकता हो । अतः यो मितप्रथाको व्यापक रूपमा प्रचार प्रसार समेत हुनुपर्ने देखिएको छ । यसबाट समाजमा शान्ति सुव्यवस्था कायम समेत हुनसक्छ । मितप्रथा जिन्दावाद ।

०००
चितवन

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
खरी झरेको मादल

खरी झरेको मादल

चिरञ्जीवी दाहाल
जिब्रो

जिब्रो

चिरञ्जीवी दाहाल
ताली पर्व सधैँ आइरहोस्

ताली पर्व सधैँ आइरहोस्

चिरञ्जीवी दाहाल
धूपको धुवाँ र चुरोटको धुवाँ

धूपको धुवाँ र चुरोटको...

चिरञ्जीवी दाहाल
ज्ञानको उल्टी

ज्ञानको उल्टी

चिरञ्जीवी दाहाल
सुकिला अतिथि

सुकिला अतिथि

माधव पोखरेल गोज्याङ्ग्रे
‘एक कान दुइ कान मैदान’ = भाइरल

‘एक कान दुइ कान...

कृष्ण प्रधान
किन आउँदैन ?

किन आउँदैन ?

रामकृष्ण ढकाल
सिको

सिको

दिप मंग्राती
0
Would love your thoughts, please comment.x
()
x