रामप्रसाद पन्थीहरियो साउन र दिन्न बरिलै
कसैलाई भोकै व्रत बस्दा त कसैलाई पेटभरि हसुर्दा आनन्द आएको छ । साउन त्यस्तो महत्त्वपूर्ण समय हो जुनबेला आँखा फुटेको गोरूले पनि बाह्रै महिना हरियो देख्छ ।

रामप्रसाद पन्थी :
वर्षा ऋतुले गम्लङ्ङ अङ्गालोमा बेरेको छ । प्रकृतिले साउनरूपी हरियो गाउन लगाएकी छन् । खहरेहरू उन्मत्त भएका छन् । चराचर जगत उन्मुक्त छ । परम्परावादी किसानहरूले खेतमा रोपाइँ सकिसकेका छन् । आधुनिक किसानहरूले गमलामा धान रोपिसकेका छन् । कसैले धानको माला लगाएर फोटा खिचिसकेका छन् । टिक्टके, रिलवाला र युट्युवेहरूले हिलोमा टेकिसकेका छन् । साउनको पुण्य प्रतापले सबै आ- आफ्नो ढङ्गले भाइरल बनिसकेका छन् ।
धार्मिक तथा पौराणिक हिसाबले साउन महिना शिवजीका लागि प्रिय मानिन्छ । यसले शिवजीलाई स्वागत गरिसकेको छ । पार्वतीहरू शिवभक्तिमा लीन भइसकेका छन् । साउन शिवमय बनिसकेको छ । विवाहित महिलाहरू घरपरिवार र श्रीमानको आरोग्यताका लागि व्रत बसिसकेको अवस्था छ । अविवाहित युवतीहरू शिवजी जस्तै वरका लागि कामना गरिरहेका छन् । बोलबम लेखिएका गेरू रङका भेस्ट लगाएर कमण्डुलु बोकेका पुरूष र गेरु रङकै साडी, सलवार-कुर्ता लगाएका महिलाहरू ॐ नमः शिवाय लेखिएका चिटिक्क परेका झोला पिठ्युँमा भिरेर बोलबम-बोलबम भन्दै शिवालयहरूमा तीर्थाटन गरिरहेका छन् । ठाउँ ठाउँमा शिव पुराण लागेको छ । सप्ताह भएका छन् । कोटीहोम लागेका छन् । भागवत् ज्ञान महायज्ञहरूमा कथा वाचन भइरहेका छन् । दानवीरहरू दान गरिरहेका छन् । भजन, कीर्तन र नृत्यहरूमा रसिकहरू रमाइरहेका छन् । धार्मिक गुरु महाराजहरूले प्रभाव जमाइरहेका छन् ।
साउनको महिना अपरम्पार छ । साउनको महिमा अपरम्पार छ । साउन सबैका लागि इच्छाधारी बनेर आएको छ । साउनको आगमनसँगै व्यापार, व्यवसाय र अर्थतन्त्रमा हरियाली छाएको छ । फेन्सी पसल, ब्युटी पार्लर, आभुषण केन्द्रहरू आकर्षणका केन्द्र भएका छन् । गृहस्थ नारीहरू स्वर्गका परी बनेका छन् । हरिया चुराले नाडीहरू सजिएका छन् । हरिया साडीमा नारीहरू पहाड बनेर ठडिएका छन् । शिरदेखि पाउसम्मका अङ्गहरूमा गहना लपक्क छन् । हत्केला र पाखुरीहरू म्हेन्दीले धपक्क छन् । ठाउँ ठाउँमा खोपिएका ट्याटुहरू आकाशका जुन र ताराहरूझैं टल्किएका छन् । आँखै तिर्मिराउने गरी शरीरहरू झल्झल झल्किरहेका छन् ।
साउनले नारीहरूको तीजलाई आमन्त्रण गरिसकेको छ । मादलका तालहरू बजिसकेका छन् । नारीहरू लैबरी र बरिलैको भाकामा फन्किसकेका छन् । जोइटिङ्ग्रे पोइहरू कुनातिर थन्किसकेका छन् । पोइटिङ्ग्रे जोइहरू मन्किसकेका छन् । मत्ताहरू मात्तिइसकेको अवस्था छ । ढोईहरू आत्तिइसकेको अवस्था छ । कात्तिकेहरू रमाउन थालेका छन् । चैतेहरूले समाउन थालेका छन् । रत्यौलीका रतिहरू रन्किसकेका छन् । कामदेवहरू भन्किसकेका छन् । त्यसैले त अहिले “ बिहे अघि दिन्न बरिलै बिहे पछि दिन्छु बरिलै” घन्किसकेका छन् । कसैलाई बिस्ताराले पोलेर खपिसक्नु छैन । एसी, कुलर र पङ्खाहरूले शीतलता दिन सकेका छैनन् । मान्छेहरू बिस्तारामा सुत्न, बस्न नसकेर बस्तारामाथि बुरुक् बुरुक् उफ्रिरहेका छन् । मनभित्रको चाहको डाहले भत्भती पोलिरहेका अङ्गहरूलाई साउनले जसरी भए पनि शीतलता दिन सकोस् शुभकामना दिन चाहन्छु ।
केही वर्ष पहिले यस्तै बेलामा कसैले “पोइल जान पाम् शिव” भन्दै वर मागेका थिए । कसैले “पोइल जान पाम् शिव भन्नेलाई मैले लान पाम्” भन्दै वधु मागेका थिए । शिवजीले यिनको पुकारा सुने होलान् कि नाइँ ? कसैलाई केही जानकारी भए मलाई पनि बताइदिनु होला । यदि शिवजीले सुनेका छैनन् भने शिवप्रतिको जनविश्वास अवश्य टुट्न जानेछ । बिस्ताराले पोल्नेहरू जलेर खरानी हुने डर छ । बिहे अघि दिन्न बरिलैहरू बरू बाँच्लान् । बिहे पछि दिन्न बरिलै भयो भने ती पनि ठहरै हुने हुन् कि ? यो बबुरोलाई असाध्यै चिन्ता लागेको छ ।
संसार पनि बडो बिचित्रको छ । कतै साउनले महिनाभरि माछामासु र असन नखाएर व्रत बसेको छ । खरानी घसेको छ । आँखा चिम्लेर पलेटी कसेको छ । कतै खसी, बोका, राँगाहरूको भुटुवा र सुकुटीभित्र पसेको छ । बोतलका गोरसहरूसित सितन लिएर बसेको छ । सुनेको छु साउनको आगमनसँगै तीजको दरले आधुनिकतासँग साइनो लगाइसक्यो अरे ! आजभोलि दरले होटल र पार्टी प्यालेसहरूसँग सेटिङ मिलाएर डेटिङ् बसेको गाइँगुइँ चलेको छ । जो जतासुकै पसोस् । जोसित बसे पनि बसोस् । चियोचर्चो गर्नु राम्रो होइन । माइलीले परारै भनिकी हुन् “जमाना फेरियो साइली ।” बुढापाकाले भन्थे – “देश अनुसारको भेष हुन्छ । टाउको अनुसार केश हुन्छ । जमाना अनुसार चल्न नसक्ने नबोलेकै वेश हुन्छ । आफ्नो विचार अनुसार चल । तिम्रो आफ्नै शरीर हो । आफूलाई मन लागेको कुरा शरीरमा दल । समय अनुसार रङ बदल ।”
साउन आउनाले वर्षा लाएको छ । हरियाली छाएको छ । इच्छा अनुसार कसैले खरानी त कसैले पाउडर घस्न पाएको छ । कसैले भजन त कसैले रत्यौली गाउन पाएको छ । कसैलाई भोकै व्रत बस्दा त कसैलाई पेटभरि हसुर्दा आनन्द आएको छ । साउन त्यस्तो महत्त्वपूर्ण समय हो जुनबेला आँखा फुटेको गोरूले पनि बाह्रै महिना हरियो देख्छ । मान्छेका लागि त झन् यो वरदान सावित भएको छ । आगामी दिनमा विष्णुमतीको मुलाजस्तै मौलाउँदै जाओस् । हरियो साउनले सबैको कल्याण गरोस् । सबैमा हरियो साउनको शुभकामना ।
०००
२०८१ साउन २६
रेसुङ्गा न पा २ छापटोला, गुल्मी ।
Subscribe
Login
0 Comments
Oldest








































