कुमार खड्काआवर्तनभित्रको परावर्तन
ईश्वरलाई समेत धोखा दिनसक्ने प्राणी राजनीतिक व्यक्तिमात्र हुनसक्ने विचार दार्शनिक प्लेटोले समेत गरेको सन्दर्भमा आजको नेपाली समाजका मुकुण्डोधारी मध्ये राजनैतिक प्राणिहरूलाईनै प्राथमिकतामा इङ्गित गर्न भने सकिने भयो ।

कुमार खड्का :
“द्वन्द्वबाट गति हुन्छ, गतिशीलतामै प्रगति
भय, त्रास, स्थिरतामा शून्य चिन्तन र दुर्गति
विचारकै विनिमयमा निस्कन्छन् निष्कर्ष निश्चित
जालो फाट्छ आशङ्काको फक्रँदो आत्मसम्मति ।”
जहाँ गए पनि, जुन अवस्थामा रहे पनि मान्छे आफ्नो औकात देखाउने प्रयत्नमा हुन्छन् । उचित पर्यावरणको नजिक पुग्दानपुग्दै गुण, विशेषता, स्वभाव या चरित्र अनुसार नचाहँदै नचाहँदै उसका भित्री आकाङ्क्षा, कुण्ठा, वक्रता आदि व्यक्त हुने क्रम सुरु गर्छन् । तसर्थ कसैले भन्ने गरेका आदर्शका ठूला कुरा भन्दा दीर्घकालीन आशा, भरोसाका भुरा कुरा र असल व्यवहारका चुरा कुराबाटनै मूल्याङ्कन पुरा गर्न आवश्यक देखिन्छ । जो सुकैको होस्, उसकाे व्यक्तिगत आधारभूमि, सामाजिक, आर्थिक, सांस्कृतिक, नैतिक सम्बन्धका पूर्वाधार, विगत, वर्तमानका असल कर्मद्वारा उत्पादित र साभार मूल्यको लेखाजोखाले मात्र ऊ प्रतिको दृष्टिकोण र मूल्याङ्कनका न्यूनतम आधार तय गर्नुपर्ने हुन्छ ।
अन्तर्मनको यात्रा कृतिमा साहित्यकार जगदीश घिमिरे भन्छन् कि प्रायः जोसुकैले पनि आफ्नो औकात अनुसारकै कर्म गर्ने हुन् । प्राकृतिक प्रदत्त भावनाले कृत्रिमताका नखराहरूलाई जहिलेसुकै घोडा चढिरहेकै हुन्छन्, भन्ने ज्वलन्त उदाहरण स्वरूप एउटा अङ्ग्रेजी बाल गीतको प्रसङ्ग कोट्टयाउँदै क्याट एण्ड माउसको विम्बात्मक प्रश्नोत्तर हरफ यहाँ प्रस्तुत गर्न मन लाग्यो,
“pussy cat ! pussy cat !! where have u been ?
I have been to london, to see the queen.”
“pussy cat ! pussy cat ! what did u do there ?
I frightened the little mouce, sitting under the chair.”
कुरोमा दम छ नि हैन र ? आखिर बिरोलो जहाँसुकै गए पनि मुसा खोज्ने, तर्साउने, मार्ने, दुध चोर्ने र खाने त हो नि । कुनै बेलामा लुकामारी मात्रै पर्ला, बेग्लै कुरो । यसै प्रसङ्गमा चिनियाँ पूर्व प्रधानमन्त्री तेङ्सियायो पेङले भनेका थिए कि बिरालो कालो होस् या सेतो, मुसा मारे भयो ।
तर विडम्बना पशुपक्षीको हकमा र सजीव, निर्जीव वस्तुको हकमा लागू हुने यो अकाट्य सत्य मान्छेको हकमा लागू हुन सक्दैन । कारण हो कि मान्छेको बाहिरी रूप र बनावटमा भित्री चरित्रले पूर्णता प्रदान गरेको हुन्छ । मान्छेपिच्छेका रूप र गुणको विविधताले फरक फरक प्रभाव हुनु अर्कै कुरा हो ।
जति लुकाउने, छिपाउने नाटक मञ्चन गरे पनि, जतासुकै भौतिक ठाउँसारी गरे पनि, प्रकृति प्रदत्त विचार अनुसारको क्रियाकलापले उसकाे मौलिकपनाकै आधारमा पाइलो हालेको हुन्छ । वस्, त्यसभित्रको भाषा र अभिलाषा बोध गर्ने प्रयास गर्नुपर्यो । फ्रान्सेली लेखक मोपाँसाको भनाइ अनुसार ‘दुईथरी मान्छेले मुकुण्डो लाएका हुँदैनन् रे, एक किसान, दोस्रो नगरबधु । नत्र सबै मान्छेका विम्ब र प्रतिविम्बका आवर्तन र परावर्तन फरक फरक तवरले हुने गर्छन् ।
जति बठ्याईं गरे पनि कौवाले आखिर फोहोर खान्छ र… का का गर्दै टिठ लाग्दो गरी कराउँछ । जतिनै सुविधाजनक हिसावले दरबारमै पालिएको होस्, भोकाएको बेला भेट्यो भने पप्पीले आची खाएरै छोड्छ । कुरा तितो छ । समय, ठाउँ, परिस्थिति, लाभहानिको स्थिति, शक्ति सन्तुलनको अवस्था, राजनीति, पर्यावरणीय अवस्थिति र चेतनास्तरले मान्छेको बोली, व्यवहार निर्धारण हुन्छ । उसका सबन्धका आधारहरू पनि आफ्नै अनुकुल हुनेगरी तय भएका हुन्छन् । कथंकदाचित दायाँबायाँ परेको खण्ड पुरानै वृत्तिमा उदण्ड हुँदै अन्त्यमा आफ्नो औकातमा फर्किने गर्छ, जसरी तानेको गुलेलीको फित्ताले पुनः आफ्नो पहिलेकै अवस्थिति निर्धारण गर्छ ।
घाउ दुख्दैको अशक्त विरामीले सपनामा पनि दुखेको र ऐया ऐया भन्दै बर्बराउदो तन्द्राको अनुभव र ऐँठनको अनुभूति गर्छ, एकैछिनको गहिरो सपनामा पनि । एउटा बौद्धिक रक्स्याहाले अचेत भइ बर्बराउँदा पनि बौद्धिकताकै सेरोफेरोमा बर्बराउछ भने एउटा आवारा मूर्ख जँड्याहा सामान्य सेवनमा पनि पागल जस्तै तथानाम वाक्यमा लर्बराउँछ । यो तीतो र यथार्थ वास्तविकता हो । अगस्ति र स्वादे जिब्रो भएकाहरूको जम्काभेट भयो भने खाने, पिउने, मस्ती गर्ने, स्वाद, विस्वादकै कुरा र भोज, पार्टीका व्यञ्जन बारे कुराकानी हुने गर्छन् । पेशेवरहरू भेट्दा आफ्नो काम, समस्याको चुरो लगायत विषयगत अन्तरङ्ग कुराकानीनै केन्द्रित हुन्छन् । भ्रष्टाचारीहरू बीच आ आफ्नो कर्तुत छोपाछोपको स्थितिले गर्दा सकेसम्म झुठको प्रोपोगन्डा र मपाइंँको रणनीति अख्तियार हुन्छ । पर्दा खुलिसकेको र एकाआपसी भण्डाफोर भैसकेको स्थिति हो भने आपसी बचावटका नीतिगत र कार्यगत एकताको लयमा वार्ता समेत तय हुने गर्दछ ।
सबैभन्दा बढि त नेपाली समाजको राजनीति र यसका अवयवहरू बीच उक्त परिस्थिति उजागर भएको देखिन्छ । ठगबन्धनका पटकौंका उदाहरण, उनीहरूको भनाइ, गराइका भिन्नता, सत्ता प्राप्ति र प्रतिपक्षी हुँदाका रबैयामा गरिएका नाटक मञ्चनले स्थितिको गाम्भीर्यता अझ प्रष्टनै पारेको छ । आफ्नो हितमा परिस्थिति ऐँचनको लागि एकता र लाभ, हानिको तानातान तथा हानाहानको बीच विविधताका कुरा होलान्, भलै उनका हैसियत जे जस्तो छ, सोही मुताविकका कार्यगत एकता, अनेकता या विविधता भने विभिन्न रङ्ग र ढङ्गमा हुने गर्छन्, त्यो बेग्लै अध्ययनको पाटो हो ।
कुकुर, ब्वाँसो, बिरालो, हिस्रक जन्तु, पशु, बाँदर, गोरिल्लाका भित्री र बाहिरी एउटै रूप स्वभाव हुन्छन् । कुकुरले नुनको सोझो गर्छ । असजिलो पर्दा आफ्नो मालिकको सहयोग र बचाउ गर्छ । बाँदरले झुल्के घाम पछि र सूर्यास्त अघि मात्र खाना खाने गर्छ । पशुले भरपेट खान्छ, पछिको लागि साँच्ने गर्दैन । उसले प्राकृतिक ऋृतु परिवर्तनसँगै यौनजन्य क्रियाकलाप गर्छ, जथाभावी गर्दैन । गोरिल्ला जात बुढेसकालमा कमाइ गर्न नसक्ने भएपछि परिवार छोडेर अग्लो पहाडको टुप्पाबाट फरालेर आत्महत्या गर्ने गर्दो रहेछ । राम्रा, नराम्रा गुण, दोष जे भए पनि प्राकृतिक अनुशासनमा बसेका हुन्छन् र तिनका विम्ब जस्तो छ प्रतिविम्ब पनि उस्तै हुन्छ । चाहे भित्री या बाहिरी या दायाँबायाँमा.. या पानीको छायाँमा…!
तर मान्छे भने समय, स्थान, परिस्थिति, ऋतु र मौसमले सृजना गर्ने प्राकृतिक अनुशासन भन्दा पर स्वार्थ अनुकूलित सम्बन्ध अनुसार विम्ब, प्रतिविम्ब सृजना गर्दै आवर्तन र परावर्तनमा विभिन्नता सृजना गर्छन् । अझ अनुशासन, सदाचार र नैतिकताको सङ्कट झेलिरहेको हाम्रो वर्तमान समाजमा त के कुरा गर्नु ? अधिकारको भारी बोक्नेहरू र सदाचारको डम्फु ठोक्नेहरूको मानवीय चरित्रनै मानवता र वर्तमान समाजको लागि कलङ्क बनेर प्रस्तुत भएको नक्कली प्रवृत्तिले आज कहालीलाग्दो छद्मभेषी प्रतिविम्बका परावर्तनले पछ्याइरहेको देखिन्छ । नक्कली प्रतिविम्बनै आजको सामाजिक महारोग बनेको देखिन्छ, समय सन्दर्भले प्रष्ट्याइरहेका छन् ।
हिजोको हाम्रो प्राचीन इतिहास हेर्दा भएका सामाजिक, धार्मिक, सांस्कृतिक सहिष्णुता र समय सापेक्ष भौतिक उन्नतिलाई नियाल्दा सभ्यतामै सकारात्मक मानवीय विम्ब, प्रतिविम्बका आवर्तन, परावर्तन देख्न सकिन्छ । अहिलेको आधुनिककालको सन्दर्भलाई नियाल्ने हो भने जति विकास, उन्नति र प्रगतिको गुड्डी हाँकेर बकम्फुस्से गफ लगाए पनि विकराल सामाजिक अवस्था, बढ्दै गएको भ्रष्टाचार, अनैतिक, बेरोजगारी समस्याले आक्रान्त बनाउँदै लगेको सामाजिक अवस्थाले शासकीय विम्ब र प्रतिविम्ब नक्कली, बनावटी भएको प्रष्ट देखिन्छ । पटक पटक झुटकै छायाँ पुनरावृत्ति भएको छ, पुरानै सुगा रटाइ कायम छ । चालक हुँदा, खलासी हुँदा र यात्रु हुँदाको भाषा र भाष्य ठ्याक्कै फरक र उल्टो छ । विम्बको प्रतिविम्ब र त्यसकै आवर्तन, परावर्तनमा आकाश पातालको फरक छ । पिछलग्गु झोलेहरूको त आफ्नो नैतिक मूल्य, मान्यता नहुँदा वणर्नयोग्य हरफनै भएन, केवल प्रतिबिम्बका प्रतिच्छाया रुपि प्रेत भएर रहने भए । फगत विम्ब प्रतिविम्ब बीचको विरोधाभासपूर्ण र असामान्य अवस्थिति मात्र… !
चर्चित हास्यव्यङ्ग्कार भैरव अर्यालले आफ्नो हास्यव्यङ्ग्य कृति यमलोकको यात्रामा प्रस्तुत गरे अनुसार यमराजलाई पनि सत्ताच्यूत गरिदिनसक्ने र आफ्नो हैकम चलाउन सक्ने प्राणी भनेकै मान्छे हुन् । दर्गामा पनि चोरले चित्रगुप्तसँग आफू बरू जे गर्न नि तयार हुँदै महाजनको घर ठेगाना माग्ने गर्छ अरे, उसकाे ढुकुटीको साँचो खोज्ने प्रयत्न गर्छ रे भन्छन्, हो कि जस्तो पनि लाग्छ । साँचो विम्बको भरोसा नहुँदा नक्कली प्रतिविम्ब तयार गर्दै, आफैलाई आवर्तन परावर्तन गर्दै लोभ, लाभ र ठगीमा अभ्यस्त हुने गर्छन् । त्यसैले मलाइ पनि तत्सम्बन्धमा मुक्तकीय हरफहरूमा बहकिन मन लाग्छ…
“बाँदर स्वर्गमा गयो भने नरिवल खेलाउँछ झार्दछ
बिरालो पुग्यो त्यहाँ अझ भने मुसै खोजेर मार्दछ
झुठो मान्छे नक्कली विम्बमै भरोसा ठान्छ, आखिर
झुक्याउँदै बागडोर लियो अमरावती नरकमा सार्दछ ।”
त्यसमा पनि ईश्वरलाई समेत धोखा दिनसक्ने प्राणी राजनीतिक व्यक्तिमात्र हुनसक्ने विचार दार्शनिक प्लेटोले समेत गरेको सन्दर्भमा आजको नेपाली समाजका मुकुण्डोधारी मध्ये राजनैतिक प्राणीहरूलाईनै प्राथमिकतामा इङ्गित गर्न भने सकिने भयो । बच्चाले सत्य बोल्छ, नाङ्गो राजालाई नाङ्गो भन्न सक्छ । अकबर बादशाहको गालामा थप्पड हान्न सक्छ । भ्रष्टाचारविहीन मजदुर, किसान जस्ता श्रमजीवी जनताको प्रतिकारमा विम्बको मुकुण्डो उत्रन सक्छ र प्रतिबिम्ब परावर्तनको समेत सहि पहिचान हुनसक्छ ।
त्यसैले सच्चा श्रमजीवीहरू एकवद्ध रहन र निष्कलङ्कित वास्तविक देशभक्त बुद्धिजीवीहरूले चेतनाको प्रवाह गर्दै सिनर्जी उत्पादन गर्नुपर्ने कुरा वर्तमान समयकाे टड्कारो आवश्यकता छ । नत्र बुद्धिजीवीकै कुबुद्धिका कारण देशले अधाेगति समातेकाे हाे भन्ने तथ्य प्रमाणित हुने छ । सबैलाई चेतना भया..! जय होस् …!! अस्तु… !!!
०००
आलापोट, काठमाडौं ।









































यथार्थ मा मित्र को रचना समय सान्दर्भिक लाग्यो आजकल कोपरिस्थितिमा जय होस मित्र
तिन्चुली काठमाडौं ६
धेरै धेरै धन्यवाद मित्र 🙏
लेखन शैली उत्कृष्ट छ । ठाउँ ठाउँमा मुक्तकको स्वाद आहा !! हार्दिक बधाई !!
धन्यवाद साने😍😅
लेख उत्कृष्ट र समसामयिक छ भाइ ।जय हाेस्।
धेरै धेरै धन्यवाद हजुर 😀🙏