सक्षम र सवल प्रदेश,सुनिश्चित अधिकार

संविधान संशोधन सुझाव

प्रदेशमा मात्र किन गाउँपालिका तहसम्म हुनुपर्छ । जस्तोसुकै समस्या समाधान गर्ने एक मात्र उपाय भनेकै आयोग हो । जस्तो अनिकालको समस्या समाधान गर्न अनिकाल आयोग । यस्ता धेरै आयोग बनाउन सकिन्छ ।

Nepal Telecom ad

योगीश कृष्ण :

मन दुखी हुन्छ । छटपट हुन्छ । बेचैन हुन्छ । जब जब म ढालिएको सरकारका प्रधानमन्त्रीको तस्वीर देख्छु । टेलीभिजनमा तिनका अभिव्यक्ति सुन्छु, मन छिया छिया हुन्छ । चुनाव त पाँच पाँच वर्षमा हुन्छ । पाँच वर्षमा कैयन सरकारबाट हामी शासित हुन पाउँछौ । हाम्रो भाग्य । तर ढालिएका सरकारका प्रधानमन्त्री दुखी हुन्छन् । हतास, किंकर्तव्यविमुढ । सिनेमाकी एकल महिलाजस्तै उदास । भद्र सहमतिका आधारमा गठन भएका सरकार अभद्र तरिकाबाट विघटन हुन्छन् । किन यस्तो हुन्छ ? यो सबै संविधानको कारण भएको हो । यस्तो परिपाटीकोे अन्त्य संविधान संशोधन भएपछि मात्र संभव छ ।

मन प्रशन्न भयो । आखिर संविधान संशोधन हुने भएछ । संविधान निर्माण हुनुपूर्व नै संविधान संशोधन हुनुपर्ने माग उठिरहेको थियो । विना छलफल निर्मित संविधानको विषयमा नेताहरू भन्ने गर्थे- यो विश्वको सर्वोत्कृष्ट संविधान हो ।सर्वोत्कृष्ट संविधान संविधानसभामा छलफल नगरिकन निर्माण गर्न सकिन्छ भनेर नेपालले विश्वलाई संविधानमय सन्देश दिन सफल भएको थियो । धेरैजसो संविधान निर्माताहरूलाई थाहै भएन- संविधानमा के के प्रावधान छन् ? उनै नेता अहिले संविधान संशोधनको कुरा गर्दैछन् । मलाई विश्वास छ संशोधनपछिको संविधान सर्वोत्कृष्ट भन्दा माथिल्लो स्तरको बन्नेछ । एउटा जिम्मेवार नागरिकको हैसियतले संविधान संविधान संशोधनका लागि केही सुझाव दिनु मेरो कर्तव्य हो । म त्यो कर्तव्य पूरा गर्दैछु ।

संविधानको कुरा गर्‍यो कि मलाई दिल्लीको सम्झना आउँछ । संविधानसँग दिल्लीको नाता किन जोड्यो भनेर प्रश्न उठाउन सकिन्छ । एक त संविधानको जग १२ बुँदे सहमति दिल्लीमा भएको थियो । संविधान निर्माणकै क्रममा कैयन नेताहरू आफूले चाहेअनुसारको संविधान निर्माण गराउन दिल्लीका नेताहरूकहाँ धाएको धायै थिए । अरु कारण पनि छन् । नेपालमा संविधान जारी गर्ने तयारी हुँदै थियो उता दिल्लीको संंसदमा नेपालको संविधानको विषयमा त्यहाँकी परराष्ट्रमन्त्री आगो ओकल्दै थिइन्-उनीहरूको इच्छामुताविक संविधान किन बनेन भनेर । जब जब हाम्रा कुनै नेता दिल्ली पुग्छन्, तिनको चेतनास्तरमा बृद्धि हुन्छ । संविधानका कमी कमजोरी त्यहाँ पुगेर थाहा पाउँछन् र संविधान संशोधन गर्ने वाचा गरेर आउँछन् । हुन त संविधान निर्माणका क्रममा दिल्लीबाट आएका दूतले त संविधान नै जारी नगर्न निर्देश दिएका थिए ।

संविधानकै आधारमा हाम्रा सरकारहरू ढलेका ढल्यै गर्छन् । विगत सात वर्षमा १६ पटक ढलिसक्यो । नढलेको भए १६ ओटा सरकारले असी वर्ष शासन गर्न मनग्य हुन्थ्यो । अब संविधान संशोधन गर्दा बलियो खालको सरकार निर्माण गर्ने प्रावधान राखिनुपर्छ । एकदम बलियो सामग्रीबाट प्रधानमन्त्रीको पद निर्माण होस् । पप्पु कन्सट्रक्सनले निर्माण गरेको पुल जस्तो नहोस्, बनाउँदा बनाउँदै वा वर्ष दिन नपुग्दै नढलोस् । पाँच वर्ष नटिके पनि कमसेकम अढाइ वर्ष त टिकोस् ।

पदबाट हटनुपर्दा प्रायः प्रधानमन्त्रीले भन्ने गर्छन्- मलाई भारतले हटाउँदै छ । त्यतिबेला म हतार हतार संविधान पल्टाउँछु- प्रधानमन्त्री कसरी हटाउन मिल्ने रहेछ । कुन धारा अनुसार नेपालको प्रधानमन्त्रीलाई भारतले हटाउन सक्छन् ? सविधान अनुसार प्रधानमन्त्री बनाउने र हटाउने अधिकार सांसदहरूको बहुमतलाई हुन्छ । यसको अर्थ के ती सांसदहरू नै भारत हुन् ? यदि ती भारत हुन् भने हामीले चुनेका सांसद कता बेपत्ता भए ? मेरो पहिलो सुझाव छ- अब संविधान संशोधन गर्दा यसरी गरियोस् कि कुनै पनि प्रधानमन्त्रीले मलाई भारतले पदबाट हटाउन थाल्यो भनेर रोइकराई गरेको नेपाली जनताले सुन्नु नपरोस् ।

जसरी सरकार गठन भइरहेको छ, त्यसको बारेमा त संविधानमा केही उल्लेख नै छैन । हाम्रो सरकार प्रायः भद्र सहमतिको आधारमा गठन हुने गरेको छ । यस उत्कृष्ट अभ्यासलाई संविधानमा स्थान नदिनु लोकतन्त्रकै उपहास हो भन्दा फरक पर्दैन । जब स्पष्ट बहुमत पुग्दैन र संविधानका कुनै धाराले काम गर्दैन तब रक्षा कवच बनेर भद्र सहमति उपस्थित हुन्छ ।

संविधानमा भद्र सहमतिको धारा यसरी जडान गर्न सकिन्छ-
माथिका धारा एवम् त्यसका उपधाराहरू बमोजिम प्रधानमन्त्री नियुक्त हुने अवस्था नभएमा भद्र सहमतिका आधारमा बहुमत पुर्‍याई सरकार गठन गर्न सकिने छ । यसरी गठन हुने सरकारले सदनमा बहुमत पुर्‍याइरहनु पर्ने छैन । भद्र सहमति गर्ने दलहरूका नेताहरूबीच भएको भद्र सहमतिको कागजात सदनमा प्रस्तुत गरेपछि सभामुखको सिफरिशमा राष्ट्रपतिले प्रधानमन्त्रीको नियुक्त गर्नेछन् । भद्र सहमतिमा तोकिएकोे समयभित्र ककसलाई प्रधानमन्त्री बनाउने हो, यथासमयमा सभामुखले राष्ट्रप्रमुखसमक्ष तिनको नाम प्रधानमन्त्री पदमा नियुक्त गर्न सिफारिश गर्न पाउने छन् । जस्तो- एक नं फलाना छ महिना, दुई नम्बर ढिस्काना एक वर्ष, तीन नम्बर तिस्काना एक महिना । मतलब गठबन्धनका सहभागी दलका सबै नेताले कमसेकम एक महिना प्रधानमन्त्री हुन सकून् । भूतपूर्व प्रधानमन्त्रीका हैसियतले पाउने राजकीय सुविधा सबैले पाऊन् । संविधान जति उदार भयो, जनता त्यति खुसी । लोकतन्त्रको मूल मर्म भनेकै जनतालाई खुसी पार्नु हो ।

यसरी नियुक्त प्रधानमन्त्रीलाई म्यादी प्रधानमन्त्री भनेर संवोधन गरिनेछ । जस्तै ः सम्माननीय म्यादी प्रधानमन्त्री फलाना । गठबन्धनका बहुमत संसदहरूले सभामुखसमक्ष गठबन्धन तोड्ने लिखित निवेदन दिएपछि सभामुखले प्रधानमन्त्रीलाई पदमुक्त गर्न राष्ट्रप्रुख समक्ष सिफारिश गर्नेछन् । अर्को भद्र सहमति नहुन्जेल बहालवाला म्यादी प्रधानमन्त्री नै कामचलाउ रहिरहने छन् । भद्र सहमति भङ्ग भइसकेपछि नेताहरूले एक अर्कालाईजस्तोसुकै अभद्र तवरले गालीगलौज गर्न छुट पाउने छन् ।

यस्ता गालीगलौजको विषयमा सदन वा अदालतमा उजुरबाजुर लाग्ने छैन । हुन सक्नेछ, सहमति कायम हुँदा आफूहरूलाई राम लक्ष्मण मान्ने नेताहरू एकले अर्कालाई रावण प्रमाणित गर्न जस्तोसुकै कुतर्क गर्न पाउने छन् । (यहाँ मैले जानिबुझी राम लक्ष्मणको उल्लेख गरेको हो ।) यसबाट प्रशस्त विवाद होस् । राष्ट्रिय अन्तर्राष्ट्रिय संस्थाहरूले हिन्दू पुराणको उदाहरण किन दिएको भनेर आन्दोलन गरुन् । नारा जुलुस धरपकड होस् । सरकारले तिनीहरूसँग वार्ता सम्झौता गरोस् । (नोटः यस्ता खालका भद्र सहमति मध्यरातमा भएको हुनुपर्नेछ । सहमति कुनै कालोवजारीमा नाम कहलिएका व्यापारी, भ्रष्ट कर्मचारी, सुन तस्करीमा पटक पटक नाम जोडिएका उद्योगपतिको निजी निवासमा भएको हुनुपर्नेछ । अन्यथा त्यस्ता सहमति अमान्य हुनेछ । भद्र सहमति भएलगत्तै सत्तारुढ दलहरूबीच मतभेद आरम्भ भइसक्नुपर्ने छ । सहमति भङ्ग हुने अवस्था सृजना भइसकेको कुरा सञ्चारमाध्यमहरूबाट प्रसार हुनुपर्ने छ ।)

मेरो अर्को सुझाव छ- संविधानमा संशोधन गरेर ‘आयोग गठन आयोग’ को व्यवस्था हुनु जरुरी छ । अहिले जे जति संवैधानिक आयोग छ, त्यो संघमा सीमित छ । मानवअधिकार आयोग छ । खोइ प्रादेशिक आयोग । महिला आयोग छ, खोइ प्रदेशमा । प्रदेशमा मात्र किन गाउँपालिका तहसम्म हुनुपर्छ । जस्तोसुकै समस्या समाधान गर्ने एक मात्र उपाय भनेकै आयोग हो । जस्तो अनिकालको समस्या समाधान गर्न अनिकाल आयोग । यस्ता धेरै आयोग बनाउन सकिन्छ । मेरो सुझाव छ, युवा आयोग, खस आर्य युवा आयोग, मधेसी युवा आयोग, जनजाति युवा आयोग, दलित युवा आयोग । जेष्ठ नागरिक आयोग पनि त्यस्तै क्षेत्र र जातका आधारमा । केन्द्रदेखि स्थानीय तहसम्म एकले अर्कोलाई संवोधन गर्दा माननीय माननीयजी भन्ने अवस्था सृजना हुन सकोस् ।

यसबाट अर्को फाइदा के हुन्छ भने लाखौँ पार्टीका लाखौँ कार्यकर्ताले रोजगारी पाउनेछन । खर्चको कुरा उठ्ला । चिन्ताको कुरै छैन । गफ गरेर खानेका लागि विदेश गएर रोजगार गर्ने युवा छँदै छन् । त्यताबाट प्राप्त रेमिटेन्समा कर बढाऊँ जति पनि पुग्छ ।

मलाई विश्वास छ जनप्रिय सरकार र लोकप्रिय दलहरूले मेरा सुझावहरूलाई संविधान संशोधन गर्दा यथोचित स्थान दिनेछन् ।

०००
काठमाडाैं

Fitkauli Publication Books comming soon
Subscribe
Notify of
guest

1 Comment
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Durga Prasad Bhatta
Durga Prasad Bhatta
1 month ago

Very thoughtful article. Much sarcastic and meaningful. Please do write about other areas in Constitution that must need a ratification. Wow article!

Nepal Telecom ad
विकास मापन

विकास मापन

याेगीश कृष्ण
मालासंहिता

मालासंहिता

याेगीश कृष्ण
खाल्डोको उँचाइ

खाल्डोको उँचाइ

याेगीश कृष्ण
उन्नत धान खेती

उन्नत धान खेती

याेगीश कृष्ण
उत्तरआधुनिक दशैँं

उत्तरआधुनिक दशैँं

रामप्रसाद पन्थी
ङिच्चपुराण

ङिच्चपुराण

रमेश समर्थन
खुकुरीः अहिंसा र टोपी

खुकुरीः अहिंसा र टोपी

गाेपेन्द्रप्रसाद रिजाल
मान्छे महान्

मान्छे महान्

रेहित सैजु
1
0
Would love your thoughts, please comment.x
()
x