रामप्रसाद पन्थीजनेरेसन ग्यापको जनै गाँठो
इच्छा गर्ने सबै जातजातिलाई जनै लगाइदिनु पर्छ । डोरो बाँधिएको हुनुपर्छ । अब परम्परावादी भएर होइन आधुनिकतालाई अवलम्बन गर्दै संस्कृति संरक्षण र सम्बर्द्धनमा क्रान्तिकारी कदम चालिनु पर्छ ।

रामप्रसाद पन्थी :
ती दिन गए यी दिन आए । कस्ता कस्ता ठाउँमा के के पलाए भनेजस्तो ससार गतिशील हुँदोरहेछ । कली लागेर हो कि खली खाएर हो ? आजभोलि जता गयो नाटक मात्रै धेरै देख्छु । एकदिवसीय मेला, पर्व र दिवसले दुनियाँ आवारा पागल दिवाना भएको देख्छु । हुँदाहुँदा आजभोलि मातातीर्थ औँशी मदर्स डे भएछ । पितातीर्थ फादर्स डेमा गएछ। गुरूपूर्णिमा टिचर्स डे भयो अरे ! बाह्रैमास बर्थ डे । ओैँशी होस् कि एकादशी खानै पर्छ रक्सी, खसी । बत्ती फुकी, केक काटी मिठाइँ लड्डु खान्छन् बासी । हैन के जमाना आयो कुन्नि ? ऊ जमानाको म बुढाले आँखा थुन्नी कि कान थुन्नी ? भो भैगो छाडौं यस्ता कुरा । यस्तै कुरा गर्दै गए खान बेर हुन्न छुरा ।
अब त घर आँगनमा मेला पर्वहरू नजिकिँदै छन् । अस्ति भर्खर नाग पञ्चमी सकियो । देख्नासाथ सर्पलाई मार्नेहरूले सामाजिक सञ्जालका भित्ताभरि नाग देवताको पूजा गरे । शुभकामना आदानप्रदान गरे । अब रक्षाबन्धन, जनैपूर्णिमा नजिकिँदै छ । डोरो, जनै र राखी किन्नेहरूको लहबरी छ । एकदिन जनै भिरेर फोटा खिचेपछि, भिडियो अपलोड गरेपछि एकवर्ष जनै फाले भयो । त्यस्ता नाथे धागाको के काम ?
बेसारले रङ्गाएको रक्षा बन्धनको धागाको डोरो र जनै भन्दा पहेंलपुरे सुनको डोरो र जनै भिरेपछि रक्षा बन्धन मात्रै हो र ? मायाको बन्धन पनि बलियो हुन्छ । सत्ता बन्धन, भत्ता बन्धन् र गठबन्धन पनि टिकाउ हुन्छ । यस्तै भन्छन् जानकारहरू ।
अब अलिकति आफ्नै कुरा गरौँ । सानो छँदा कसले कति धेरै डोरो बाँध्ने भनेर होडबाजी गरिन्थ्यो । गाउँभरि डोरो बाँध्न हिँडेर खल्ती भरिन्थ्यो । घिउ, चामल , नुन , बेसार र तिहुन तरकारीको जोहो गरिन्थ्यो ।
जनै धारण गरेपछि झनै उच्चकोटीमा दरियो । ढिकामुनि बसेर हसुर्न पर्थ्यो मझेरीमै सरियो । कर्म चलेकामध्ये परियो । हल्काफुल्का पाठ गर्न सिकेपछि उमेर सानै भएपनि बाहुन बाजेको उपाधि मिल्यो । आहा ! क्या गजबका ती दिनहरू ।
आजभोलि डोरो बाँध्न कोही चाहँदैनन् । लुगामा रङ सर्छ भन्छन् । धागो बाँधेर हिड्दा पाखे भइन्छ अरे ! देखिने गरी टाइ बाँधेपछि किन चाहियो जनै भन्छन् । हजमको कैचीले टुपी काटेर सिनित्त पारिदिन्छन् ठिटाहरू । पोहोर साल मेरो टुपीलाई हजुरबाको एरिएल भन्दैथ्यो नाति केटो । पोहोर सालकै कुरा हो; जनैपूर्णिमाका दिन गुरूले डोरो बाँधिदिन खोज्दा छोराको छोरो एकमात्र नाति मोरो यता बोलाउँदा उता सरो ।
डोरो बाँध नाति भन्दा सर्यो परपर
झर्कोफर्को उस्कै ठूलो भएँ थरथर ।
अब यसपालिको पूर्णिमामा कसैलाई जनै लगाउन र डोरो बाँध्न कर गर्ने पक्षमा म छैन । उमेरले असी काटेर खसी परेको ज्यानले ज्ञान दिदा कस्ले पत्याउँछ र ? तर जति उमेर छिप्पिदै गयो उति करकर गर्दो रहेछ थुतुनो ।बुढापाकाले त भन्थे – “बुढेसकालमा थुतुनो जोगाउनु, वैंशमा …जोगाउनु ।” त्यसैले सकभर कम बोल्ने कोसिस गरेको छु । तर नानीदेखिको बानी छुटाउन गाह्रो हुँदो रहेछ ।
हिजो मेरो जीवनमा गएको भूकम्पको कथा सुनाउछु है त ! शास्त्र पढेर शास्त्री हुन वनारस गएको नाति हिजो राति झण्डै आधा रातमा आइपुग्यो । एकवर्ष पछि आएको नाति केटो मैलाई पो हप्काउन थाल्यो – “हजुरबाउ तिम्ले गोरस मन पराउछौ । हाम्ले सोमरस् । यी आज त अगरबत्ती मुखमै सल्काएर आएँ । साथीहरूले पोर्क चाखौं भने । मैले पनि दुई चार पिस हान्दिएँ । कति लुकीलुकी खसी, बोका खाने त हजुरबाउ ? मन मार्न हुँदैन के हजुरबाउ । अँ साँच्चै भोलि कि पर्सि जनैपुर्ने होइन त हजुरबाउ । मसँग ल्याङ्ल्याङ् गर्ने होइन नि फेरि ! धागो बानेर रक्षा हुने भए हजुरबाउ! मेरा बाउ आमालाई पैह्राले किन खायो ? म एक्लै अभागी किन बाँचे ? तिम्ले छोरा बुहारी किन गुमायौ ? उत्तर छ हजुरबाउ ?”
नाति केटाको चाला देखेर मेरो मनमा खाला जान थालिसकेको थियो । उसँग बोलेर थुतुनो दुखाउन भन्दा नबोलेर जोगाउन हित हुने बुझिसकेको थिएँ । ऊ बोल्दै गयो – “यो जनैपुर्ने र डोरो बाँध्नेमा के छ हजुरबाउ ? कहिले इन्द्रले श्रीमती शचीको हातको धागो बाँधेर दैत्यमाथि विजय प्राप्त गरे भनेको छ । कहिले लक्ष्मीले बलि राजालाई दाजु बनाई धागो बाँधेर विष्णुलाई आफूसँग लिएर गइन् भनेको छ । घरी फालानो शास्त्रमा यस्तो भनेको छ । घरी ढिस्कानो शास्त्रमा उस्तो भनेको छ । हावादारी गफ गर्ने हजुरबाउ ? प्रमाण दिएर कुरा गरे पो पत्याउने हजुरबाउ ! तिहारमा दिदीबहिनीले सँघारमा ओखर फोरेर कतिजना दाजुभाइलाई अजम्बरी बनाएका छन् ? राधेश्याम जप्नेहरू पनि परमधाम गएकै छन् । रक्सीमासु धोक्नेहरू पनि राम नाम सत्य भएकै छन् । माइन्ड नगर्नु है हजुरबाउ ! तपाईं नाम चलेको पण्डित । म नाम चलेको मापसे । मापसे मात्रै होइन गाँपसे, सुपसे, हुपसे …! तपाईंले नाम मात्रै कमाउनु भएको होला ? मैले त्यो भन्दा बढी कमाएको छु । मेरो त नामका अगाडि बद पनि थपिएको छ । आइ एम् सरी हजुरबाउ ! म तपाईंको बाटोमा हिड्न सकिन । तर हजुरबाउ ! मलाई काल्पनिक भगवानको विश्वास लाग्दैन ।मेरा लागि एकमात्रै जीवित भगवान् तपाईं नै हुनुहुन्छ ।”
मलाई नाति केटाको यस किसिमको नाटकले एकैचोटी तीन त्रिलोक देखाइदिएको थियो । फोक्सोले सास पनि मुस्किलले काढेको थियो । अनायास आँखाका खोपिल्टाबाट तप्प तप्प नुनिला थोपा भुइँमा खसेको पनि होस् भएन । प्राण फुत्किनै मात्र बाँकी थियो । नाति केटाले मलाई धुरूधुरू रूवाएर आफूचाहीं मुसुमुसु हाँस्दै काटेको घाउमा नुनचुक दल्न खोजेको प्रमाणित हुँदै थियो । मलाई मौनप्राय देखेर नाति केटो फेरि बर्बराउन थाल्यो – “हजुरबाउ ! नाति केटाले आफ्नो संस्कार बिर्सेको छैन । संस्कृति भुलेको छैन । मैले मेरा हजुरबाउको नाक काट्ने हैन नाक राख्ने काम गर्ने छु । अँ साँच्ची हजुरबाउ ! पर्सिको जनैपूर्णिमा र रक्षा बन्धनको सारा प्रबन्ध म मिलाउँछु । अब घरघर डुलेर आफ्ना जजमानहरूलाई मात्रै होइन । सामूहिक रक्षा बन्धन गर्नुपर्छ । इच्छा गर्ने सबै जातजातिलाई जनै लगाइदिनु पर्छ । डोरो बाँधिएको हुनुपर्छ । अब परम्परावादी भएर होइन आधुनिकतालाई अवलम्बन गर्दै संस्कृति संरक्षण र सम्बर्द्धनमा क्रान्तिकारी कदम चालिनु पर्छ ।”
यस्तै यस्तै के के फलाक्दै गोडामा चिल्लो घस्दै थियो नाति केटाले । कतिखेर भुसुक्क भइएछ, थाहै भएन । बिहान नित्यकर्म सकेर पाञ्चायन पूजा गर्दै गर्दा नाति केटाले चिया टक्र्याउँदै भन्यो –
“हजुरबाउ भोलिको पूजा सामग्री जुटाउन एकछिन् बजारतिर जान्छु । बस्दै गर्नुहोला ।”
यति भनेर नाति केटो हिँडिहाल्यो । म भने नाति केटाको गतिविधिले आश्चर्यचकित छु । लौन के उल्का भएको हो ? मैले नाति केटालाई बुझ्न नसकेको हो या नाति केटाले मलाई बुझ्न सकेको छैन ? कसैले त फुकाइ दिनुपर्यो जेनेरेसन ग्यापको जनै गाँठो !
०००
रेसुङ्गा न पा २, गुल्मी
२०८१ भाद्र १ शनिबार
Subscribe
Login
0 Comments
Oldest








































