साइबर अपराध सम्बन्धी सचेतना सामग्री

साँढेजात्रा

तर यहाँ याद गर्नुपर्ने कुरा के छ भने मञ्चको मायाले वा आचारसंहिता निर्माणको चिन्ताले उनीहरूले डबलीको मर्मत कदापि गरेका होइनन् ।

Nepal Telecom ad

युगल बसेल  :

वर्षाैँदेखि गाईजात्रा मात्र भइरहँदा लैङ्गिक विभेद भयो, गाईलाई मात्र जात्राका पात्र बनाइयो भन्ने आवाज साँढे जमातमा उठ्न थालेपछि दिग्गज साँढेहरूको पहलमा यसपालि साँढेजात्राको आयोजन भएको छ ।

लैङ्गिक समानताको दुहाई दिएर साँढेहरूले यो उखरमाउलो जात्रा गरिरहेका भए तापनि सबाल लैङ्गिक नभएर वैधर्मिक हो , दुनियाको आँखामा छारो हाल्दै उनीहरूको ध्यान आफूतिर आकृष्ट गर्ने अभिष्टि वा दाउपेच हो भन्ने भित्री मर्म बुझक्कीहरूले राम्ररी बुझेका छन् ।

यो फरक ढङ्गको जात्रामा नौलो रौनकले प्रविष्टि पाएको छ । फुर्के पुच्छर र फराकिलो कल्चौँडो प्रदर्शन गर्दै ढल्कँदै हिँड्ने कोर्ली र प्रौढा गाईहरूको ठाउँमा यसपालि चवँरे पुच्छर र देवनागरी लिपिको झञजस्ता घुमेका तीखा सिङका साथै कल्चौँडाको साटो फलचौडा हल्लाउँदै साँढेहरू सडकमा ढल्किरहेका छन्, भन्किरहेका छन् र पुच्छर उचाल्दै लम्किरहेका छन् ।

आजको साँढेजात्रामा रमिता देखाउँदै एकातिर साँढेहरू मख्ख परेर डुल्की चालमा ढल्कीमल्की गरिरहेका छन् भने अर्कोतिर गाईहरूले भने मन कुँडाइरहेका छन् । गाईजात्राको आफ्नो विशेषाधिकार हनन भयो भन्ने मनन गरेर उनीहरू व्यथित र कुण्ठित हुँदै साँढेहरूलाई सत्तोसराप गरिरहेका छन् । सदियौँदेखि भाले जातिले पोथी जातिको हक हनन, र इच्छा दमन गरेर पश्चगमन गर्दै आएको छ, अब हामी गाईहरू सङ्गठित भएर यिनीहरूको झेँको झार्नुपर्छ,नाकका जुका पछार्नुपर्छ भन्ने मतोजतो यिनीहरूले गर्दैछन् । तर साँढेहरू भने माझीहरूले सल्लाह गर्दागर्दै सात गाउँ डुबेको किस्सा सम्झँदै गाईका बात थातका थात डुब्नेछन् भन्ने कुरामा ढुक्क छन् ।

साँढे जात्रामा डिङ हाँक्दै, सिङ तिखार्दै र रमिता देखाउँदै साँढेहरू त हिँडिरहेका छन् तर यिनको गन्तव्य कहाँ हो भन्ने ठम्याउन वा लख काट्न न यिनीहरूले सकेका छन् न रमितेहरूले सकिरहेका छन् । जुन साँढे रमिता देखाउन कुदे पनि कानै चिरेका साँढे त हो भनेर रमितेहरू भित्रभित्र निराश छन् । तैपनि रमितेहरूको मन जित्न सकिन्छ कि भनेर साँढेहरू मन्द्राउँदै, बुर्कुसी मार्दै सडकमा ढलिमली गरिरहेका छन् । यी साँढेहरूको कुदाइमा वा जुधाइमा निर्धा बाछाबाछीहरू मिचाइमा पर्ने हुन् कि भन्ने ठूलो जलतरास छ ।

साँढे जात्रामा सामेल साँढेनाइकेहरू कोही पूर्वका, कोही पश्चिमका, कोही गर्मी प्रदेशका त कोही शीतल प्रदेशका छन् । कुनै र्‍याले सिँगाने छन् त कुनै अर्कैको कलेजो आफ्नो शरीरमा रोपेकाहरू छन् । आफ्ना आफ्ना डण्डा, झण्डा र फण्डा बोकेर यिनीहरू ढलकमलक गर्दै फर्की फर्की रमितेलाई हेर्दै र सिंहावलोकनको भान छर्दै अग्रगमन गरिरहेका छन् ।

हुनत साँढेहरू सबै चौपाया जन्तु नै हुन् तापनि यिनीहरूका पनि छुट्टाछुट्टै समूह, गुट र उपगुट छन् । यस्तै समूहमध्ये एक थरी तारे साँढेहरूको बथान छ । उनीहरू आफ्नो समूहलाई सबैभन्दा पुरानो, ऐतिहासिक, सेवामुखी र समर्पित भन्न रुचाउँछन् । बाहिर जेजति सेवा शब्दको टेवा लिए पनि मेवा खाने र कोर्ली कब्जा गर्ने इच्छा, लिप्सा र अभिलाषा नै यस जमातको भित्री चुरो हो भन्ने मर्म कसैले थाहा पाउन बाँकी छैन । आफ्ना भित्री इच्छा पूर्तिका लागि निष्ठालाई कनिष्ठ क्रममा राख्न यो समूह हरमेशा तयार रहन्छ ।

अर्को जबरजस्त साँढे हाँचको रूपमा माले समूह रहेको छ । सर्वाङ्गीण, व्यापक र धमाकेदार परिवर्तन ल्याउने र पशु जमातलाई खुसी र सुखीका सपना बाँड्ने आफ्नो जब्बर उद्देश्य रहेको दाबी यस समूहको छ । दाबी जेजस्तो भए तापनि कहिले कोर्लीमा प्रभुत्व जमाउने र कहिले प्रभुत्वबाट बाहिरिने कर्मबाहेक अरु सुकर्म तातो न छारोको अवस्थामा छन् । यस सत्य तथ्यलाई कसी लगाएर परीक्षण गरिरहनु पर्दैन, हातको कङ्गन हेर्नलाई दर्पणको खाँचो पर्दैन भन्ने बुद्धिजीवी साँढेहरूको ठम्याइ छ ।

अझ अर्को आफूलाई जब्बर ठान्ने लाल साँढे समूह पनि यहीँ छ । जादुको छडी चलाएर आम पशुहरूलाई गौरवमय जीवन जिउन सक्षम पार्छौँ, पशु समाजका असमानताहरूलाई सखाप पार्छाैँ भन्ने ध्येय फलाक्दै हिँड्नु यिनीहरूको मुख्य उद्देश्य छ । यिनले दाबी गरेजस्तो विसङ्गति विकृति इति वा सखाप हुन सम्भव छैन भन्ने बुझेर नै यिनीहरूले हासिल गर्ने होइन कि हाँक मात्रै हाल्ने उद्देश्य बनाएका हुन् । बरू अब उद्देश्य नै सखाप हुने हो कि भन्ने आशङ्काले झन्डा गाडेर वितण्डा मच्चाउने हो कि भन्ने आशंकाले जरो गाड्न थालेको छ ।

यी लाल साँढेहरूले लामो अवधिसम्म तीखातीखा सिङ रोपेर कथित बुर्जुवा साँढेहरूलाई लहुलुहान पारे र सँगसँगै आफूहरू पनि रगतपच्छेभए । कैयौँ गाईहरू विधवा भए, साँढेहरू एकल भए र बाच्छाबाच्छीहरू टुहुरा भए । बाह्र वर्षसम्म सिंग घोचान गरेर धरती थर्कमान पार्दा पनि शाही साँढेलाई नागार्जुनको वनतिर निर्वासन गराउनु बाहेक चाहिएको सुशासन ल्याउने काममा यिनीहरूले दाल गलाउन सकेनन् । पछिल्ला वर्षहरूमा आफ्नो जमातको आकार घट्दै र खिइँदै गएको देखेर उनीहरू बिलखबन्दमा परेका छन् । तैपनि डोरी डढे पनि पोया/आँठोको ऐँठन डढेको छैन भन्ने लोकोक्तिको अभिव्यक्ति दिँदै कहिले तारे समूह र कहिले माले समूहसित मिलेर कोर्ली कब्जा गर्न भने उनीहरू सफल हुँदै आएका हुन् । पछिल्लो समयमा तारे र माले समूह आपसमा जोल्टिएर लाल समूहलाई दूधको माखोसरि पन्छाइदिँदा बथाननाइके र उनका पछौटेलाई ठक्कर लागेर चक्कर आएको छ । तैपनि आफ्नो सास छउन्जेल र लास नपरुन्जेल उल्टापाल्टी र उथलपुथलको सम्भावना जीवितै रहेको आशा देखाएर यस कित्ताका नाइकेले आफ्ना अनुयायीको चित्त बुझाइदिने चेष्टा गरिरहेका छन् ।

झन् अर्को साँढे बथान माले बगालबाट छुट्टिएर बनेको हो । पशु जमातले यस समूहको नाम कल्मे राखिदिएको छ । खास साँढेको ल्याकत, ताकत र विगतलाई माले समूहका नाइकेले कुल्चीमिल्ची गरेपछि कल्मे समूहको जन्म भएको हो । बाक्लो कुँडो र खोले खाने मनाशय लिएर विखण्डित हुन पुगेको कल्मे समूहको गति चौटा खान गएकी बुढी झोलमा डुबेर मरेजस्तो भएको छ । आगामी दिनमा आफ्नो अस्तित्व जोगाउन नै धौधौ पर्ने हो कि भन्ने सुर्ताले कल्मे समूहको दिनको भोक र रातको निद खोसिएर यिनीहरूलाई इन्तु न चिन्तु बनाएको छ । अब आफूभन्दा अलि ठूलो आकारको समूहसँग एकाकार नभई सिँगौरी खेल्न सम्भव छैन भन्ने तात्विक निष्कर्षमा यो बगाल पुगिसकेको छ ।

यहाँ बिर्सनै नहुने अर्को सेते साँढेको हुल छ । यो खासगरी यो गर्मी प्रदेशको समूह भएकाले यसका नारा पनि आगाभन्दा निम्छरा छैनन् । गरम प्रदेशमा डाले घाँस नपाइने; दुबो, घाँस पराल र झारलाई आहार बनाउनुपर्ने भएकाले आफ्ना छुट्टै खाँचा, ढाँचा र विशिष्टता छन् भन्ने यस समूहको दाबी छ । जोडम् भन्दा पनि फोरम् भन्ने विशेषतासहितको यो सेते समूहको खास काइदा सामूहिकता भन्दा पनि निजी हितमा दत्तचित्त भएर चित पर्नु हो । बेलाबेलामा सिङ हानाहान र पुच्छर तानातान गरेर मसिनिने र टुक्रिने नियति यिनीहरूले भोग्दै आएका छन् । घाँस, दाना र चारा बढी फल्ने; कुद्न र उफ्रन सजिलो हुने भूगोल यिनीहरूलाई वरदान नसिब भएको छ तापनि शीतल प्रदेशका साँढेले बढी सुविधा र फाइदा लिए भन्ने औडाहा यिनीहरूको मगजमा छताछुल्ल छ । वनका बाघले रौँ नहल्लाए पनि मनका बाघले यिनीहरूलाई पिपलका पातलाई झैँ हल्लाइरहेको छ, ढलपलाइरहेको छ र दिमाग खलबलाइरहेको छ ।

हालैका दिनहरूमा निकै जोसिला युवा साँढेहरूको हाँचको फुर्तिका साथ संगठित भएर उल्कापात गर्ने गरी मैदानमा धमाकेदार प्रवेश भयो । उनीहरूले आफ्नो पृथक पहिचानका लागि घाँटीमा घुँगुरा लगाउने गरेकाले पशु जमातले यिनलाई घुँगुरा समूह भनेर चिन्छ । घुँगुरा समूह हौसला बुलन्द गर्दै आएको तथा बलियो र आँटिलो भएकाले पशु जमातले ठूलो अपेक्षा गरेको थियो । यस बगालका साँढेले जोतेर बाँझो जमिन फुटाउनेछन् र अन्न एवं घाँस लहलह पार्दै छ्यालब्याल उब्जाउनेछन् भनेर पशु जमात हौसिएको थियो। कुनै दोपाया वा चौपाया अब भोकै बस्नुपर्ने छैन, अनिकालको चपेटामा पर्नुपर्ने छैन, अन्यत्रबाट घाँस, दाना र चारा पैठारी गर्न पनि पर्नेछैन बरू निकासीको मौका मिल्नेछ; रामराज्यको बहालीले खुसियाली नै खुसियाली मिल्नेछ भन्ने कल्पनाको पौडीपोखरीमा उनीहरू बयली खेल्न थालेका थिए र मनका लड्डु घिउसित चपाउन थालेका थिए। घुँगुरा साँढे पनि थरीथरीका दलदलमा भासिँदै गएपछि पशु जमातको भरोसा आशा पनि अस्ताउँदै गएको खुलासा भएको छ ।

यहाँ एक अर्काथरी साँढे जमातको चर्चा गरिएन भने टाउको भुइँमा जोतेर माफी मागे पनि क्षमादान पाइने छैन । त्यसैले दरबारे साँढे समूहको आन्द्रा भुँडी केलाउन पनि यहाँ जरुरी छ । यसले आफ्नो समूहको नाम दरबारे भनेर आफै जुराएको हो । नागार्जुनमा निर्वासित साँढेको गर्नसम्म गुलामी गर्दा पनि केही लछारपाटो नलागेर पुरपुरोमा हात लगाएर बस्नुपर्ने अवस्था भएपछि अब यस जत्थाले नाम फेरेर दरबारेको ठाउँमा झधरमरे वा तरबारे साँढे समूह ञराख्ने हो कि भन्ने टुङ्गोमा पुगेको छ ।

उदेक लाग्दो कुरा के छ भने सबै थरी साँढे समूहहरूले आफूहरूलाई अनुशासनभित्र बाँध्ने आचारसंहिता बनाउन र साँढेहरूमध्ये एउटालाई मुली छान्न तथा आफ्ना नीति योजना बारे छलफल गरी निधो गर्न एउटा डबली पनि तयार गरेका छन् । सबै थरी साँढे जमातका प्रतिनिधिहरूले त्यस डबलीमा डुक्रँदै आफ्नो आफ्नो डम्फु बजाउँछन् । विधि र पद्धतिको यिनीहरूले जति दुहाइ दिए पनि दुःखको कुरा के छ भने यिनीहरूले आफैले बनाएको आचारसंहितालाई अचार बनाएर आफै उल्लङ्घन गर्छन्। ती अचार वा विचार निर्धा पशुजमातलाई गोर्खे लौरी लगाउनको लागि बनाइएका हुन् कि भन्ने आशंका आम पशु जमातमा छ । बलियालाई चैन र निर्धालाई संहिता वा ऐन भन्ने खालको आम अवधारणा यहाँ पनि बनिसकेको छ ।

आफूले भनेजस्तो भएन, चाहे जस्तो दानापानी जुरेन, कोरली ओगट्न बल पुगेन भने साँढेहरू संहिता बनाउने डबली सिँगौरी खेलेर भत्काउन पनि उद्यत हुन्छन् । हालै एउटा पूर्वेली साँढेले आफ्नो प्रभुत्व जोखिममा परेको रनाहा र औडाहाले आक्रान्त भएर अविश्रान्त तवरले यस मान्छेलाई दुईदुई पटक डबलीलाई सिङ धसेर तहसनहस पारिदियो। कसो कसो गरेर बाँकी साँढेहरूले त्यस मञ्चलाई मरमर्मत गरेर पूर्ववत् अवस्थामा फर्काउन सफल भए । तर यहाँ याद गर्नुपर्ने कुरा के छ भने मञ्चको मायाले वा आचारसंहिता निर्माणको चिन्ताले उनीहरूले डबलीको मर्मत कदापि गरेका होइनन् । तिनीहरूको खास भित्री इरादा कोरलीलाई कब्जामा राख्ने र आफ्नो लाद्रो भर्ने नै थियो भन्ने ठहर समीक्षक साँढेले सहजताका साथ गरेका छन् ।

बूढा साँढेहरूले लामो समयसम्म कोर्ली ओगट्दै रजाईं गरेको देखेर युवा साँढेहरू आफ्नो पालो आउँदासम्म आफू पनि बुढै भइसकिने हो कि भनेर रन्थनिएका छन् । त्यसैले दुई पालो भन्दा बढी साँढेको नाईके हुन पाइन्न भनेर आफ्नो उद्वेलन उरलधुराल पारिराखेका छन् । बलशाली मुलुकका शक्तिशाली साँढेहरूको अभ्यास पनि यही छ भन्ने नजिर प्रस्तुत गरेर व्यवधान उनीहरू खोचे थाप्दै र खोते खोज्दै कुर्लिरहेका छन् । तर बूढा साँढेहरू भने उनीहरूको कुर्लाइलाई दबाइदबाई आफ्नो कुत्सालायकको इच्छा पुरा गर्न चाहन्छन् । आफूहरू ढुकुरजस्तो होउन्जेल र धुकुरधुकुर रहुन्जेल यो प्रावधान ल्याएर व्यवधान खडा गर्ने साँढेका जुर्रा निमोठिन्छ, अनारीमा सिङका कटारी धसिन्छ र फल चौडामा घन ठोकेर खसी पारिन्छ भन्दै र ठसठस कन्दै सातो खाएपछि बैँसालु साँढेका नौनारी गल्दै गएका छन् ।

आजको दिन साँढेजात्राको प्रत्यक्ष प्रसारण गर्दैमा र किरमिर रेख्हहरू र्कोर्दैमा बित्यो । अर्कोअर्को दिनमा अर्कोअर्को जात्राकै शिर पुच्छरको बेलीविस्तारका साथ बोलीबखान र विवेचन गरौँला । जय साँढेजात्रा !

०००
तुम्कोट, सन्धिखर्क -१, अर्घाखाँची

Subscribe
Notify of
guest

1 Comment
Oldest
Newest Most Voted
Ram Prasad Pokhrel
Ram Prasad Pokhrel
1 year ago

आफै सबै ओगट्ने जमातलाई औडाहा कति भएको होला ? गाइजात्रे दिन भएर पो नत्र ……….लेखकलाई प्रतिशोध साध्दै कहाँ थचार्थे कुन्नी ।जे होस् लेखकको लेखनी तीखो सिग जस्तै तिखारिएको छ । यस्तै तीखो स्वादबाट भएपनि निम्छरो बलमिच्याइबाट जोगिन सामर्थ्य एवं मजबुत पक्कै बन्नेछ ।

Nepal Telecom ad
बाजी

बाजी

डा. विदुर चालिसे
म ट्याब्लेटको मान्छे

म ट्याब्लेटको मान्छे

घिमिरे ‘मैदेली’
काफल काण्ड

काफल काण्ड

रामप्रसाद पन्थी
शिक्षक बन्न सजिलो काँ छ र !

शिक्षक बन्न सजिलो काँ...

मीनप्रसाद लामिछाने
1
0
Would love your thoughts, please comment.x
()
x