सक्षम र सवल प्रदेश,सुनिश्चित अधिकार

आमा जौँ भन्यो मलाई…

भीड अचानक शान्त भयो । गौंथलीको खबर सुन्ने बित्तिकै भीडको ध्यान र आँखा पर बासझाङतिर पुग्यो । केहि शुरा महिला हातमा लाठा बोकेर मिश्रीका अगुवाइमा त्यता लागे । 

Nepal Telecom ad
जेन काइजेन :
आमा जौँ भन्यो मलाई
कल्ले हो ?
पल्टने लाउरेले ।
आजकाल चलेको गीत कस्सिएर गाउँदै गौंथली घरको आँगनमा टेकेकी मात्र थिई, उसकी आमाले गौंथलीका पाँसुला बटारिने गरी भाटाले बजाइन् ।
“सक्थिस् भने जाँदिहोस् नि, दुनियाँलाई सुनाउँदै हिड्न पर्छ ?” आमा रन्किइन् ।
“गाको दिन देखौली न सुड्डी,” गौंथली पनि भुत्भुताउँदै भित्र पसी ।
आमा छोरी बीचको आग्नेय संवाद नटुङ्गिँदै एउटा मोटरबाइक गौंथलीका घरका आँगनमा आएर टक्क रोकियो । बाइकको अगाडिको मान्छेको अनुहार हेल्मेटले झ्याप्पै छोपेको थियो । पछाडिपट्टि भनेँ हेर्दै गाँजाले खगारिएको फुकिढल बसेको थियो । त्यस फुकिढलको आधा खुइलिएको टाउको बेलुकाका घाममा टिलिक्क थियो । त्यस्तै भए पनि उसले एउटा पोनिटेल बनाएर दुई कानमा दुई फरक खाले मुन्द्रा लगाएको थियो । पछाडिको मनुवा फुर्तिसँग ओर्लियो र आफ्नो गगल्स मिलायो अनि लुगा तन्याकतुनुक पार्‍यो र बोल्यो, “रोड त क्या डस्टी हो । कसरी बस्छ हो यहाँको पिपुलहरू ?”
अगाडि बसेको मान्छे भने सिधै गौंथलीकी आमा भएतिर गयो र नमस्कार गर्‍यो अनि बोल्यो, “नमस्कार हजुर म बुद्धिसिद्धि । रन्को टिभी सुन्नुभा‘कै होला । म रन्को टिभीबाट । आज तीजको बारेमा केहि गफगाफ गरौँ कि भनेर नि । यहाँको नाम चैँ ?”
महिला : मलाई मिसिरी भन्छनु सप्पैले ।
बुद्धिसिद्धि : आहा कति मिठो नाम । झलक्क मिश्री याद आउने । अनि छिमेकीहरुलाई पनि बोलाउनु न । यसो तीजको कुरा गरौँ ।
महिला : ए गौंथली झट्ट गएर तल्लार, माथ्लार, पल्लार, ठुलार, सानार सप्पैलाई  बोला त । टिबीका मान्छे आ छन् भन्दे ।
गौंथलीले के बोलाइराख्न पर्थ्याे । थाहा नपाएजस्तो गरेर चियो गरिरहेका तरुना, बुढा, अधवैंसे, भुराभुरी चनाखा भए । गौंथलीको उर्दि सुन्नासाथ कपाल सम्याउँदै, लुगा तन्काउँदै, चिप्रा उप्काउँदै हिँडिहाले । दश बाह्रजना जम्मा हुन केहि बेर पनि लागेन ।
बुद्धिसिद्धि :  ल नमस्कार सबैलाई । म बुद्धिसिद्धि रन्को टिभीबाट । तीज आउन लाग्या छ । यसो तीजको कुरा गरौँ भनेर नि ।
(सबैको अनुहारमा अब बोलिन्छ भन्ने जस्तो चमक देखियो । गौंथली पनि त्यहि भीडमा आँखा चम्किला पार्दै मिसिई । )
बुद्धिसिद्धि : अनि तीजको तयारी कस्तो छ ?
महिला १ : तीजाँ खानी हो भुँडीले अक्कास देखिन्जेल ।
युवती १ : तीजा तयारी माइती खालले गर्नी हो । माइती जानी, मजाले खानी ।
महिला २ : हाम्रा तीज छैन यसपाला ।
युवती २ : हामी त खानी र नाच्नी ।
बुद्धिसिद्धि : हैन कुन चैं गीतमा नाच्नु हुन्छ ? गीत त सबै ननभेज भए त ? यसमा तपाईंहरू के भन्नुहुन्छ ?
युवती ३ : ए यो त ट्याम ट्यामको कुरा हो । यो ट्याममा यस्तै चल्छ त ।
महिला ४ : भा नि पहिला जस्तो छैन । लाजैमोर्नु गीत पो गाउँछन् त आजकाल । रतेउलीमा गाउने जस्ता ।
युवती : दिम्सोको ब्याले रतेउली खायो नि त । त्यै भएर तीजैमा रतेउली भ्याउन परेन त ?
अधवैँसे १ : लाज त लुगाले छोप्नी । खुट्टा बटारिउन्जेल नाच्नी । हि हि हि हि …
बुद्धिसिद्धि : अब यसो सपिङको कुरा गरौँ न त । तपाईं भन्नोस् त ।
महिला ७ : मेरा त सत्ताइसवटा पुरानै सारी छन् । तर नि दादा भावीले अम्रिकाबाट अनलाइन अडर गर्दिसेछ ।
(७ नम्बरेले जति उत्साहले अरुको शान मर्दन गर्नेगरी गफ दिएकी थिई, त्यति ती कुरा भीडले पचाउन सकेन । कसैले त मधुरो तालले ओठ पनि लेप्य्राए । )
महिला ६ : हाम्रो भेनाजु राजदुत शिफारिस होइसिँदा अस्ति नै हामीलाई त रोजाइ रोजाइ किन्दिसेको ।
(६ नम्बरेको कुराले त अझ भीड चल्मलायो र आपसमा अस्पष्ट भुनुनुनु सुनिन थाल्यो ।)
महिला ३ : यस्को भेनाजु आफ्नो क्षमताले भा‘को हो र राजदुत ?
महिला ५ : कसैको नभाको भिनाजु ।
महिला २ : त्यस बाइफालेका भिनाजु कति कति… खित् खित् खित्
(भीडको गफ डढेलो जस्तो फैलियो । ध्यान आकृष्ट गर्न बुद्धिसिद्धि करायो ।)
बुद्धिसिद्धि : अब अन्तिम प्रश्न । आजकल चलेका गीतहरुमा चैं तपाईंहरूको प्रतिक्रिया के छ नि?
महिला १ : यी कानले त्यस्ता बाइफाले गीत सुन्न नपरोस् ।
महिला ५ : झन् भिडियो त हेर्नै सकिन्न ।
अधवैँसे ४ : मेरा त त्यस्तै मात्र हेरी बस्छन् । म त रिसले मरिहाल्छु ।
महिला ७ : अरु त ठिकै हो । आजकलका छडुल्लीहरू तिनका पोइ सहित तीज खान आको देख्ता चैं मलाई कन्पारो तातेर आउँछ ।
महिला ५ : त्यहि त तीजको ज्वाईं सरादको सालो भनेर त रामायनमै लेख्या छ नि ।
युवती ३ : कुन काण्डमा होला नि रामायनको ?
युवती १ : (महिला ७ लाई औल्याउदै) । हो तिम्रो त थुतुनै खराब । छडुल्ली भनेर कल्लाई भन्या तिम्ले ?
महिला ७ : छडुल्ली त हो त । लाज पचेकाहरू । सत्य कुरा बोल्दा थुतुनाको के कुरा ?
युवती १ : हाम्लाई नि था छ । पोइ नलिई तीज खान आकी तिम्री छोरी माइतैबाट हिडेकी । अनि तिम्रा पोइले चैं किन अर्की ल्याका नि था छ कि छैन नि ?
युवतीका यति कुरा सुन्नासाथ महिला ७ ले भयानक राक्षसी रुप धारण गरी । बुद्धिसिद्धि शान्त रहौँ, शान्त रहौं भन्दै थियो । महिलाले युवतीका बुथुरो कपालमा तानेर भुइमा बजारी । अरु युवती तुरुन्त मोर्चा कसेर आक्रमणकारी महिलामाथि जाइलागे । लुछालुछमा कसैका हातमा कपाल कसैका हातमा लुगाका चौटा थिए । एक निमेशमा त्यहाँका सबैजसो तीजप्रेमीहरु योद्दामा परिणत भए । बुद्दिसिद्दि हेरेको हेरेइ भयो । उसले सोच्यो यसरी नै ऊ बसिरहने हो भनें क्यामेरा फुट्छ, टाउको फुट्छ अनि अरु के के हुन्छ ।
अनि पो उसले चुल्ठे साथी सम्झियो । यताउती आँखा डुलाउँदा चुल्ठे त्यहाँ देखिएन । ऊ मिश्रीका छेउमा गयो र सहयोगको याचना गर्ने स्वरमा सोध्यो, “दिदी त्यो मेरो केटो कता लागेछ ?”
पहिले त मिश्रीले बुद्धिसिद्धिलाई घुरेर कुटौंला झैँ गरेर हेरी । अनि गौंथलीलाई खोजी गरिहेरी । त्यतातिर गौंथली नदेखिएपछि छेउमा उभिएको फुच्चेलाई सोधी, “ए भुन्टे, गौंथलीलाई देखिस् ?”
“तिम्रो गौंथली त पोइला गै । अकि नै त्यो टिबीको मान्छेसँग उता गाको थ्यो बासघारीतिर ।”
भीड अचानक शान्त भयो । गौंथलीको खबर सुन्ने बित्तिकै भीडको ध्यान र आँखा पर बासझाङतिर पुग्यो । केहि शुरा महिला हातमा लाठा बोकेर मिश्रीका अगुवाइमा त्यता लागे ।
बुद्धिसिद्धिले सोच्यो अब नहिँड्ने हो भने यहाँबाट ज्यान सद्धे जाँदैन । अनिकालमा बिउ र हुलचालमा जीउ जोगाउनु पर्छ । बासझाङबाट ऐया भनेको सुनेको मात्र थियो, बुद्धिसिद्धि बाइकमा बेतोड हुइँकियो ।
०००
झापा
Fitkauli Publication Books comming soon
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
उत्तरआधुनिक दशैँं

उत्तरआधुनिक दशैँं

रामप्रसाद पन्थी
ङिच्चपुराण

ङिच्चपुराण

रमेश समर्थन
खुकुरीः अहिंसा र टोपी

खुकुरीः अहिंसा र टोपी

गाेपेन्द्रप्रसाद रिजाल
मान्छे महान्

मान्छे महान्

रेहित सैजु
0
Would love your thoughts, please comment.x
()
x