हरि खनालघटना दुई
दुई डाँडा काटेपछि माइती गाउँ झलल देख्न मात्रै पाएपनि हुने थियो वेश अब त तीज लाग्यो हट न कुहिरो मै दुखीलाई हेर्न देऊ माइतीको देश ।

हरि खनाल :
आदरणीय पाठकवृन्द ! अघिल्लो हप्ता दुई घटना अवलोकन गरेँ । एउटा अत्यन्तै दुःखद् । अर्को विडम्बनापूणर् । देखेपछि सुनाउने बानी, सुनाऊँ है ।
झण्डाको बबण्डर
कर्मदास दाजु बिते अचानक । दिनभरि कमाएर साँझबिहानको छाक टारी आएका उनी गएको तीनमहिनादेखि विरामी थिए । एक किसिमले भन्ने हो भने तीनमहिना यता उनको चूल्हो मुस्किलले बलिरहेको थियो । त्यसो त छोरो खाडीमा छ तर ऊ खाडी गएको तीन महिनापछि नै बुहारी सदरमुकाममा गएर डेरामा बसिन् । कर्मदासको चूल्हो बलेनबलेको देख्ने छिमेकी गोपाल मात्र थिए । दमको बेथा भएकी कर्मदासकी जहान पञ्चर्ड हुँदै गरेको जीवन रथ जसोतसो धकेलिरहेकी थिइन् । कर्मदासले हिजो साँझ उनलाई छोडे ।
गाउँमा तन्नेरीहरू हुने कुरै भएन । पचासदेखि साठीसम्मका कोही भेटिनु त अचम्मै हो । साठी माथिका भने केही छन् । असारे डोजरहरूले खोतलेर माकुरे जालोजस्तो गरी हरेक वर्ष बाटो बनाउँछन् । तिनै बाटाहरू असार लागेदेखि नै नालामा परिणत हुन्छन् । हिँड्ने पुरानो बाटो पनि विलोपन नयाँ नाला । विचरा बुढा मलामीहरू जम्मा भएर पुराना बाटोलाई छाम्दै कर्मदाशलाई लिएर मसानघाटमा पुगे । चिता बनाएर राख्नासाथ केही सुकिलामुकिला अनुहारहरू आइपुगे । कसैसँग अनुमति नलिई उनीहरूको कर्मदाशको शवको नजिक पुगे । गाउँलेले बल्ल चिने एकजना त गाउँकै तर्फबाट राजनीति गर्ने मान्छे पो रहेछन् । उनीहरूले झोलाबाट झण्डा झिके र शवलाई ओढाउन थाले ।
‘खबरदार यो अपवित्र काम गर्न पाइँदैन । कसको झण्डा किन ल्याएको ? ऊ कुन पार्टीको हो ?’ एकजना मलामीमध्येका अलि खाइलाग्दा मानिस चिच्याए । सुकिलाभित्रका एकजना बोले । ‘उहाँ हाम्रो दलका होनहार र कर्मठ र जुझारु कार्यकर्ता हुनुहुन्थ्यो । हामी उहाँलाई सम्मानस्वरूप यो झण्डा ओढाउँदैछौँ ।’
‘खै मैले त कहिल्यै उहाँ कुनै दलको कार्यक्रममा हिँडेको र बोलेको देखिन । त्यसरी हिँडेको बोलेको भए यो गति हुन्थ्यो ? साँच्चै भन्ने हो भने यो अकाल मृत्यु वरण गर्नु पनि पर्दैनथ्यो । यस्तो वाहियात कुरा गर्ने ?’ अर्का मलामी जङ्गिए ।
‘ए हवलदार साप यी दाजुलाई अलिपर लैजानुहोस् त हामी हाम्रो काम गर्छौँ ।’ नेताजीले प्रहरी लगाए । मलामीहरू पछि हटे । खाइलाग्दा मलामी चिच्याए । ‘यो लाशको सतगत तिमीहरू नै गर । हामी गयौँ ।’ मलामीहरू अलि पर गएर रुखको छहारीमा बसे । सुकिलामुकिलाहरूले झण्डा ओढाए र त्यसमाथि फूलका थुङ्गा राखेर लाशलाई नमस्कार गरे । अनि सबैजना बाटो लागे । रुखको छहारीमा बसिरहेका मलामीहरूले मुखामुख गरे । एकजना पाको मानिसले भने ‘यिनीहरूको काम नै यस्तै हो । अपवित्र पारे भनेर भएन हामी हाम्रो कर्मदाशको शवलाई कसरी छोडेर जानसक्छौँ ? हिँड लाश जलाऊँ ।’
तीज कार्यक्रम
घर फर्कँदै थिएँ । खोला बगरमा पन्ध्रबीसजना नानीहरू भेटिए । नानीहरूको हुलमा नानीका आमाहरूको बाहुल्यता थियो । हुँदैरहेछ तीजको कार्यक्रम । खोलाकै छेउमा उभिएका दुई वयस्क नानीहरूले त लगभग चार इञ्चको मिडि लगाएका थिए । चार इञ्ची भनिहालेँ अलि बढी भयो क्यारे । अँ तीन इञ्चचाहिँ राखिदिएँ ल ? उनीहरूमध्ये एकजनाले भनिन् ‘हामी दुईको एउटा तस्वीर लिइदिनुहुन्छ ?’
मैले नाइँ त भन्नै सकिन तर तस्विर लिनुअघि केही जिज्ञासाचाहिँ राखेँ ।
‘हजुरहरूको खानपिनको तयारी आफैँले गर्नुहुन्छ कि अरू कसैले ?’
‘घरमा त झिकाएर खाइन्छ भने यहाँ आएर कल्ले गरोस् खाना बनाउने झ्याउ काम ?’ एकजनाले उत्तर दिइन् ।
‘अनि खानेकुरा प्याकेट मगाउने हो र ?’
‘होइन यहाँ त हामीले ठेक्कामा दिएकाछौँ ।’
‘अनि कता बन्दैछ त खाना ?’
‘ऊ पर बन्दैछ ।’ एकजनाले औँलाले देखाइन् ।
‘अनि नाचगान गर्ने ठाउँ र खाना बनाउने ठाउँ त निकै दुरीमा रहेछ त ।’
‘खाना बनाउनेहरू धेरैजसो केटाहरू छन् । पहिले त यहीँ बनाउने भनेर लागेका थिए । हामीलाई देखेपछि काम गर्नै सकेनन् । कसैका हातका औँला काटिन थाले । कसैले पानी पनि भाँडोमा नहालेर भुइँमा हाल्न थाले । कसैले ग्याँसमा हात हालेको पत्तै पाउन छोडे । अब यिनीहरूले खाना बनाउँदैनन् भन्ने लाग्यो अनि हामीले नै त्यहाँ पठाइदिएका ।’ एकजना बुढी नानीले सुनाइन् ।
‘अङ्कल हजुरको हातबाट हाम्रो मोबाइल पानीमा खस्ला नि । हजुर पनि होशियार हुनुहोस् ।’ अर्की नानीले सचेत बनाइन् ।
‘केही छैन । मेरो हातबाट क्लिकचाहिँ धेरै हुनसक्छ तर मोबाइल खस्दैन । चिन्ता नगर्नुहोस् ।’ मैले भनेँ र निकै सचेत भएर उनीहरूका पोजअनुसारका तस्वीर लिइदिएँ । हवस् भनेर हिँड्न के लागेको थिएँ । नाचगान शुरुभयो ।
‘लौ हाम्रो समूहले नाचगान शुरु गर्यो । हामी उतै जान्छौँ । बाइ बाइ ।’
उनीहरू गए । मेरा बुढा आँखा नाचगानतिरै सोझिए । हेर्दाहेर्दै नाच्ने ठाउँमा विस्तरा लगाए । अनि गीत बज्यो । विस्तराले पोल्यो पोल्यो गीतमा नृत्य शुरु भयो । मेरी बास्सै अभिनय पनि कति बेजोड । खुला आँखाले हेर्न नसकेर मैले त दुबै हातका औँला आँखामा तेर्स्याएँ । अनि औँलाका जोरबाट हेरेँ । गीत बदलियो । तीन महिने सुइमा पुग्यो । तीन महिने सुई भन्दा त मेरी बास्सै उनीहरूले सुई नै निकालेर अभिनय गरे । पालो आयो पोइला गइदिन्थेँ । पोइला गइदिन्थेँ भन्दा त ती अर्धनग्न एकजना अर्कोको हात समातेर अलि वरसम्म हिँडिन् । शायद हिल चिप्लियो क्यारे उनी लडिन् । अरू हाँसे । एउटीले भनिन् अब के पोइला जान्छ्यौ ? उनी खन्च्याङ खन्च्याङ गर्दै उठिन् र भनिन् ‘बैशाकी टेकेर भएपनि गइदिन्थेँ ।’
‘ओइ त्यो अङ्कल त त्यहीँ पो रहेछन् । आउनुस् यतै ।’ केही समय पहिले तस्विर खिचाउने बुढी नानीले भनिन् । म केही नभनी फटाफट हिँडे । अलि पर पखेरामुनि पुगेँ । एकजना महिलाले आफ्नो नानीलाई पिठिउँमा मजेत्रोले बोक्दै घाँस काटिरहेकी थिइन् । उनी गीत पनि गाउँदै थिइन् । उनका गीतका केही अंश सुनेँ ।
दुई डाँडा काटेपछि माइती गाउँ झलल
देख्न मात्रै पाएपनि हुने थियो वेश
अब त तीज लाग्यो हट न कुहिरो
मै दुखीलाई हेर्न देऊ माइतीको देश
तपाईंहरूलाई कस्तो लाग्यो कुनि ? मलाई त लाग्यो खोली किनारमा चीजका गीत गाउँदैछन् पखेरामा घाँस काट्ने चेलीले तीजको गीत गाउँदैछिन् ।
०००
धादिङ
Subscribe
Login
0 Comments
Oldest







































