साइबर अपराध सम्बन्धी सचेतना सामग्री

ल, ल ! मैले पनि सङ्गठन खोल्ने भएँ

हामीले हाम्रो सिगान जहाँ जहाँ सफा छ त्यहाँ त्यहाँ फाल्न पाउनुपर्छ । सिँगान पुछ्दा हाम्रो हातमा लागेको रहलपहल सिगान आफ्नो पाइन्टमा मात्र होइन अरुका सुकिलामुकिला लुगामा पनि दल्न पाउनुपर्छ ।

Nepal Telecom ad

डा. टीकाराम पोखरेल :

आजकल जताततै एसोसिएसन याने कि सङ्गठनको लहर चलेको छ । मेरा बाजेले मभन्दा तीन पुस्ता अगाडि जन्मेको परिणामस्वरूप कुनै सङ्गठन देख्न पाएनन् । देखून् पनि कसरी ? त्यसबेला सङ्घ सङ्गठन भनेको कुन चराको नाम हो भन्ने थाहा नै थिएन । राणाकालीन दबदबा थियो बाजेको पालामा । बाजेभन्दा एक पुस्ता पछाडि जन्मेका बाऊले भने अलि अलि राजनीतिक सङ्गठनहरूको नाम सुन्नसम्म पाए । यस अर्थमा म बाजेलाई भन्दा बाउलाई अलि भाग्यमानी ठानिरहेको छु र बाउभन्दा पनि म आफूलाई त झनै भाग्यमानी दाबी गर्दछु, किनभने बाजेले भन्दा बढी सङ्गठन बाउले देखेको भए पनि मैले जति सङ्गठन चाहिँ मेरा बाउले पनि देख्न पाएनन् । यो मामिलामा मैले मेरा बाउलाई पनि पछि पारिसकेको छु ।

घरै पिँडालु वनै पिँडालु ससुराली जाँदा झनै बाह्र हातको पिँडालु भनेर मलाई म सानो हुँदा मेरा बाले सिकाएथे । त्यो उखान पुर्खाहरूले भविष्यमा नेपालमा यस्तै गरी एसोसिएसनहरूको सङ्ख्या वृद्धि हुन्छ भन्ने जानेर नै बनाएको रहेछ भन्ने मलाई पक्का भयो । यता गयो यतै सङ्गठन, उता गयो उतै सङ्गठन । केही वर्ष अगाडिसम्म राष्ट्रिय स्तरमा मात्र गठन हुने सङ्घ सङ्गठनको बाढी यतिखेर क्षेत्र, जिल्ला, गाउँ हुँदै टोल टोल र घरघरमा पुगिसकेको छ । जति सङ्गठन उति पदहरू पनि बढ्दै जाँदा रहेछन् । यस्ता एशोसियसनहरूको प्रवर्द्धन भएको देखेर म जस्तो पदप्रेमी मान्छे खुसी नहुने कुरै भएन । म पनि एउटा न एउटा सङ्गठनमा पद कसो नपाउँला त भनेर लागें सङ्गठनको खोजितिर ।

यतिखेर देशमा एशोसिएसनहरू बढ्नुमा सबैभन्दा ठूलो योगदान मन्त्रीमहोदयज्यूहरूको छ । टोल टोलमा खुलेका एशोसियसनहरूमा पुगेर मन्त्रीज्यूहरू प्रमुख अतिथि बनिदिएकोले उत्साहित भएर सङ्गठनको सङ्ख्या वृद्धि हुँदो छ । यस्ता मन्त्री महोदयहरूको यो योगदानलाई पनि कम आँक्न सकिन्न । विगतमा मेरा बाउका पालामा औलामा गन्न सकिने सङ्गठनहरू थिए । देशमा प्रजातन्त्र हुँदै लोकतन्त्र आयो । अहिले त गणतन्त्र पनि आयो भन्छन् । लोकतन्त्रका धेरै उपलब्धिमध्येको एउटा उपलब्धि सङ्गठनहरूको बाढी पनि हो, जे होस् लोकतान्त्रिक गणतन्त्रलाई मान्नैपर्छ । सङ्गठन खोल्ने र विस्तार गर्ने बाढीमा परेर केहीले गुमाए पनि धेरैले कमाए । कसैको धोती न टोपी भए पनि धेरैको महल ठडियो । केहीले गुमाए पनि धेरैले कमाउनु लोकतन्त्रको उपलब्धि हो किनभने लोकतन्त्र भनेकै बहुमतको त हो नि ।

म पनि महल प्रेमी र पदप्रेमी भएको हुँदा कुनै न कुनै सङ्गठनमा आबद्ध हुने विचार लिएर बसेको थिएँ । म चाहिँ गुमाउने – सङ्गठन होइन कमाउने सङ्गठनको खाजीमा थिएँ । दाम नै नकमाए पनि कम्तीमा अध्यक्ष पद नपाएसम्म म त्यो सङ्गठनमा नबस्ने मेरो अडान थियो । आखिर म सानैदेखि अडान भएको मान्छे हुँ । त्यसैले कि दाम कि नाम नभई त म कुनै सङ्गठनमा झोले भएर किन बस्थें र ? अत्यन्तै चट्टान अडानका साथ कम्मर कसेर बसेको थिएँ । एकदिन अचानक टोलबाट खबर आयो, ल भोलि पत्नी पीडितहरूको एसोसिएसन बन्दैछ रे । म खुसी भएँ । ओहो ! म पनि पत्नी पीडित भएको हुँदा किन यसै सङ्गठनमा आबद्ध नहुने त ? उत्साहित हुँदै गएँ, तर पदको लागि हारालुछ भयो । मभन्दा पनि बढी पत्नी पीडित अर्कै निस्क्यो । चप्काइहाल्यो उसले अध्यक्षको पद । अध्यक्षभन्दा तल. कुनै हालतमा नबस्ने भन्दै निष्ठापूर्ण असहमति जनाउँदै म सो सङ्गठनबाट बहिरिएँ र २/४ जना पत्रकार जम्मा गरेर निकाली पनि हार्ले आफ्नो असहमतिको वक्तव्य ।

त्यसो त केही दिन अगाडि मात्र नेपाल ग्यास्टिक पीडित सङ्घ खुलेछ । उनीहरूको सवैभन्दा ठूलो लक्ष्य नै अरु सङ्घमा भन्दा आफ्नो सङ्घमा धेरै सदस्य बनाउने र देशको सबैभन्दा ठूलो सङ्गठनको दावी प्रस्तुत गर्ने रहेछ । मलाई उनीहरूको रणनीतिमाथि कत्ति पनि शङ्का भएन । सहरका सबै मान्छे ग्यास्टिक पीडित भएकाले त्यसमा उनीहरू सफल हुन्छन् भन्ने लाग्यो र यस्तो ठूलो सङ्गठनमा किन नलाग्ने त भनेर त्यतातिर लागेँ तर यसमा पनि मलाई नेतृत्व गर्न दिएनन् म भन्दा ठूलो ग्यास्टिक पीडित अर्कै निस्क्यो र उसले अध्यक्षको पद चप्काइहाल्यो ।

पत्नी पीडित सङ्घबाट घोक्रिएपछि पति पीडित सङ्घतर्फ पनि म आकर्षित नभएको होइन । तर जसरी पिके कलेजमा पढ्ने मेरो इच्छा पुरूष भएकैले तुहियो त्यसैगरी पति पीडिहरूको सङ्गठनमा पस्ने मेरो इच्छा पनि त्यसैगरी तुहियो । आखिर परेँ म पुरूष । म त पति पीडित सङ्घमा त हाँसको थानमा बकुल्लो पो भएँ । पत्नीपीडित मान्छे कसरी पतिपीडितको सङ्गठनमा आवद्ध हुन सक्थेँ र ?

यसरी हरेक सङ्गठनमा म पछि पर्दै गएपछि अब जुन सङ्गठनको भए पनि अध्यक्ष पद हत्याउँछु जे पर्ला भन्दै सङ्गठन खोज्न थाले । खोज्दै जादा सौन्दर्य सङ्घमा पुगेँ । आफू खासै सुन्दर नभएकोले त्यहाँ पनि मेरो खैरियत देखिन । आधुनिक नेपाली नारीहरूले खोलेको नेपाली सारी पहिरन सङ्घ, नेपाल कुर्ता सुरुवाल पहिरन सङ्घ, नेपाल क्वाटर पाइन्ट सङ्घ, तर यी सबै सङ्गठन नारीवादी भएकोले मेरो लागि यी सङ्घमा प्रवेशद्वार नै बन्द थियो ।

सङ्गठनको खोजीमा भौतारिँदै थिएँ, मेरा एक जना पुराना मित्र फेला परे, निकै आत्मीय मित्र भएकाले मैले कुनै कुरा नलुकाई दिल खोलेर भनेँ- “लौ न हो मलाई एउटा कुनै न कुनै सङ्घको अध्यक्ष हुनु छ, तिम्रा नजरमा कुनै त्यस्तो सङ्गठन छैन ? उनले जानेको केही नेपाल भेजिटेरियन सङ्घ, नेपाल नन्भेजिटेरियन सङ्घ, नेपाल पल्सर राउडर सङ्घ, नेपाल बिहानभरि सुतुवा सङ्घ, नेपाल बेलुका ढिलो सुतुवा सङ्घ आदि थुप्रै नाम सुनाए, तर यी कुनै पनि सङ्गठनमा प्रवेश गरेर मेरो हालीमुहाली चल्ने देखिनँ । के गर्ने कसो गर्ने भनेर म भौतारिँदै थिएँ, अकस्मात नयाँ विचारको टुसा पलायो- अरुको सङ्गठनमा पस्नुभन्दा त बरू किन आफ्नै सङ्गठन नखोल्ने ? जहाँ मेरो एकछत्र हालीमुहाली चल्छ । जसमा कसैले मेरो अध्यक्षमा दाबी विरोध नगरोस् । दाबी विरोध अरुको आए पनि अरुलाई म सजिलै पछार्न सकूँ, त्यस्तो के होला ?

म उत्साहित हुदै आफैँ सङ्गठन खोल्ने अभियानमा लागेँ, तर के को सङ्गठन खोल्ने ? आफैँलाई प्रश्न गरेर घोरिँदै थिएँ । एकैछिनमा दिमागमा फुरि पनि हाल्यो- सानामा म सारै सिँगाने थिएँ । सिँगान दौराका बाहुलाले पुछ्थें । आज म सहरमा भद्रभलादमी जस्तो देखिए पनि मलाई अहिले पनि गाउँका मान्छेले सिँगाने काइँलो भनेर चिन्छन् । केटाकेटीमा मात्र होइन म यति ठूलो तिने हुँदा पनि हातले मजाले नाक समातेर बाटातिर सिंःसिंः गर्दै सिँगान फाल्छु र हाततिर लागेको रहलपहल सिँगान भित्तो भेट्टाए भित्तातिर र नभेट्टाए आफ्नै पाइन्टतिर दलिदिन्छु । यसो विचार गर्दा यो देशको सबैभन्दा ठूलो सिँगाने म नै हो जस्तो लाग्यो । त्यसैले मलाई नेपाल सिँगाने सङ्घ खोल्ने प्रेरणा जाग्यो । किनभने ठूलो सिँगाने भएकोले म त्यो सङ्घको आजीवन अध्यक्ष हुन सक्नेछु ।

तर पनि विना योजना अध्यक्ष हुन पाइँदैन भन्ने कुरामा म सजग छु, त्यसैले मैले म अध्यक्ष हुनेबित्तिकै नेपाल बन्द, चक्काजाम गराउने योजना बनाएको छु । के का लागि नेपाल बन्द, चक्काजाम भन्नु होला, हाम्रो माग हुने छ- हामीले हाम्रो सिगान जहाँ जहाँ सफा छ त्यहाँ त्यहाँ फाल्न पाउनुपर्छ । सिँगान पुछ्दा हाम्रो हातमा लागेको रहलपहल सिगान आफ्नो पाइन्टमा मात्र होइन अरुका सुकिलामुकिला लुगामा पनि दल्न पाउनुपर्छ । नेपाल बन्दका लागि यत्रो दमदार एजेन्डा अरु कोहीसँग छ ? कोहीसँग छैन भने लौ हेरौं त, मैले खोलेको सिँगाने सङ्घमा मेरो विरुद्धमा कसले अध्यक्षको दाबी विरोध गर्न सक्दो रहेछ ?

०००
काठमाडौं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
प्रेम शताब्दी

प्रेम शताब्दी

डा. टीकाराम पोखरेल
कामरेडसँग तीन भेट

कामरेडसँग तीन भेट

डा. टीकाराम पोखरेल
सदावहार गाईजात्रा !

सदावहार गाईजात्रा !

डा. टीकाराम पोखरेल
जात्रा चोर

जात्रा चोर

डा. टीकाराम पोखरेल
कवि बन्ने रहर

कवि बन्ने रहर

डा. टीकाराम पोखरेल
एक …विद्को बकपत्र

एक …विद्को बकपत्र

डा. टीकाराम पोखरेल
दादागिरी

दादागिरी

विश्व विनोद
प्रगति

प्रगति

सुरेशकुमार पाण्डे
सुनौलो बोली

सुनौलो बोली

मोहनराज शर्मा
पुस्तक दाेकान

पुस्तक दाेकान

डा. विदुर चालिसे
अच्छा राई ‘रसिक’ का निबन्धमा हास्यव्यङ्ग्य

अच्छा राई ‘रसिक’ का...

डा. सुकराज राई
0
Would love your thoughts, please comment.x
()
x