नारायण भट्टराईजुकरवर्ग काकालाई चिठी
फेसबुकमा पोस्टिङ हाल्ने बित्तिकै चाहनेले चाहिए जति लाइक र कमेन्ट पनि हाल्न सक्ने व्यवस्था मिलाई दिनु पर्यो । त्यसो भए कोहीसँग आग्रह राख्नु परेन । देखेनन् पनि भन्नु परेन ।

नारायण भट्टराई :
हाई, जुकरवर्ग काका, हाउ आर यु डुइङ्ग ? होप यू आर डुइङ्ग गुड ।
भूमिका नबाँधिकन म सिधै विषयमै प्रवेश गर्छु ल । खासमा कुरा गर्दा यताउता ढलमल नगरीकन कुराका टाउकैमा हिर्काउने कला मैले यही अमेरिका आएर सिकेको हो । यतातिर मान्छेहरू सिधा, कुरा फटाफट काम गर्दा रैछन् । मैले पनि अलि अलि सिको गर्दैछु ।
हेर न काका कतिपय नेपालीलाई तिमीले बनाएको यो फेसबुक “नपाउनेले केरा पायो बोक्रै सँग खायो” भने जत्तिकै भएको छ । हामी नेपालीले त नयाँ कुरा पाउनै नहुने । अलिकति इतिहास कोट्याएर सुझाउँछु ल । आशा छ तिमीलाई मैले यहाँ कोट्याउन खोजेको नेपालको इतिहासको पाटो मलाई जति गनाउँदैन होला । २०४६ सालमा यानि कि अङ्ग्रेजी मिति अनुसार १९९० तिर नेपालमा अमेरिकामा जस्तै प्रजातन्त्र आयो । नेपाली काङ्ग्रेस र नेपाल कम्युनिस्ट पार्टी नामका मुख्य पार्टी खुले । मान्छेका भोट काङ्ग्रेस र कम्युनिस्टमा विभाजित भए । भोटमात्र होइन चोट पनि विभाजित भए । काङ्ग्रेसको मलामी कम्युनिस्ट नजाने, कम्युनिस्टको मलामी काङ्ग्रेस नजाने ।
काङ्ग्रेसले आची गरेको ट्वाइलेटमा कम्युनिस्ट नजाने, कम्युनिस्टले आची गरेको ट्वाइलेटमा काङ्ग्रेस नजाने, बरू कट्टुमै छोड्ने तर अहङ्कारको बार तोडेर हात जोड्न जाँदै नजाने । समय बित्दै जाँदा पानी बाराबार कम हुँदै गयो । सायद बुझेछन् क्यार पार्टी पार्टी भनेर कराई हिंडेर पेटको भोक मेटिदैन रैछ। पार्टी भन्दा पेटको भोक ठुलो हो। अहिले चाहिँ अलिक अथवा भएको छ, पार्टीका नाममा पाखुरा सुर्किने परम्परा घट्दै गएको छ । बरू जुन सुकै पार्टीमा लागे पनि फाइदा हुने, खान पाइने, आफूले गरेका कर्तुत छोपिने अवस्थामा भने सुहागरातमा पहिलो पटक जोल्ठिएका नव विवाहित जोडी जस्तो लपक्कै लाज नमानी जोडिने क्रम भने बढेको छ । तर राजनीतिबाट हराउँदै गएको त्यो पानी बाराबार र हिलो छ्यापाछ्यापको रोग त स्वाट्टै सामाजिक सञ्जालमा, त्यसमा पनि फेसबुकमा गएर सल्किएछ ।
तिमीले फेसबुक किन बनाएका थियौ, थाहा छैन । यत्ति थाहा छ विकसित प्रविधि बेचेर संसारमा राज गर्ने कुरामा अहिलेसम्म अमेरिका बराबर छु भनेर कसैले औँलो ठड्याउने आँट गरेको छैन । तिमी त्यसको एक प्रतिनिधि पात्र हौ । फेसबुक बनाएपछि तिम्रो जीवनमा त कायापलट भयो तर हामी नेपालीको जीवनमा त खै के भयो खै के भयो । हाम्रा नेपाली त फेसबुकमै नाङ्गिन्छन्, फेसबुकमै बाङ्गिन्छन्, फेसबुकमै जङ्गिन्छन्। कोहि मेरो पोस्टिङमा किन लाइक र कमेन्ट आएन भनेर रोइलो गर्छन् कोहि आफ्नै भाँती खुस्किएको जीवनको गीत गाउँदै गाईजात्रा देखाउँछन् । कोही फेसबुकलाई नेपाली भाषा साहित्यको मानक मानेर किन असुद्ध लेखिस भनेर पाखुरा सुर्किन्छन् । कोही यसो भन्छन् कोही उसो भन्छन् । आफूले भनेको कुराले कसैलाई के प्रभाव पार्यो या पारेन भन्ने मतलब छैन, एउटा पोस्टिङ्ग हाल्न नपाई लाइक र कमेन्ट गन्छन् र भन्छन् “मेरो यस्तो गुनिलो पोस्टिङ्गमा चाहि लाइक कमेन्ट नगर्ने, अनि ठट्टा मजाक गरेर हालेका कुरामा चाहिँ ह्वारह्वार्ति लाइक र कमेन्ट ठोक्ने, यी मान्छे के भएका ?”
ए काका अब यी विद्वानलाई कसरी सम्झाउने कि यो संसारमा मान्छेलाई अर्ति अति भएको छ भनेर । मान्छे जन्मेर खुट्टा टेक्न पाएको छैन, उसको बोली फुट्न पाएको छैन अर्ति सुरु भइहाल्छ । यसो गर्नु हुँदैन, उसो गर्नु हुँदैन, यसो गर्यो भने एसो हुन्छ, उसो गर्यो भने उसो हुन्छ ।
अर्ति दिनेको कट्टु खुस्किएको पत्ता हुँदैन अर्ति पाउनेले चाहिँ इँजारले कसेर कम्बर कट कटी खाइरहे पनि कट्टु समाई राख्नु पर्ने रे । किन भन्दा त्यो बुज्रुकको अर्ति रे । बाबुको अर्ति, आमाको अर्ति, आफन्तको अर्ति, गुरुको अर्ति, नेताको अर्ति, साथीको अर्ति, गर्लफ्रेन्ड/बोइफ्रेन्डको अर्ति, श्रीमतीको अर्ति, बनमा बसेर जनको शिकार गर्ने बन महाराज बम्जनको अर्ति, बन्दुकको भाषा मात्र बोल्न जान्ने भ्रान्तिकारी वनजनको अर्ति। हेर्नुस त अर्ति दिनेको ताँती। अर्ति सुन्दा सुन्दा मान्छे मगज बिग्रिएर मेन्टल हस्पिटलमा भर्ति गर्नु पर्ने हुन्छ । फेरि अस्पतालमा गयो डाक्टरको अर्ति सुन्नु पर्ने हुन्छ- यो खानु हुँदैन, त्यो खानु हुँदैन, यसो गर्नु हुँदैन, त्यसो गर्नु हुँदैन । ए काका, यिनलाई म यो कुरा कसरी बुझाउँ कि अहिलेको मान्छेलाई अर्तिको खाँचो छैन ।
अहिलेको मान्छेलाई कि काममा भर्तीको खाँचो छ कि काम गर्दा गर्दा थाकेको दिमागलाई एक क्षण आराम दिने रिप़m्रेसिङ्ग हाँस्यरसको खाँचो छ । मान्छेलाई छाडा बोलेर होस् या मन खोलेर हाँसेर मनको कुण्ठा फ्याक्न मन छ । भन्न नहुने फेसबुकमा कोही नाङ्गिएको वा भाइरस गायकका भाइरल गीतहरूमा भँगेरे केटा केटी बाङ्गिएको देखेर नरमाउने को नै होला र। आफुले सबै ठाउँमा छाडा बोल्न नमिल्ने तर फेसबुकमा अरुले बोलेको सुनेर मज्जा लिन त पाइयो नी। होइन त ? कि कसो ? हाँसो र ठट्टा भनेका कलकलाउँदा फूलका बुट्टा हुन् अर्ति उपदेश भनेका बुढा रुख । बुढा रुख चाहिँदै चाहिँदैन भनेको छैन तर कामको टेन्सनले वा पेन्सनको टिठ लाग्दो जीवनदेखि थाकेर यसो रमाइलो गर्न फेसबुकतर्फ अनुहार फर्काएको मान्छे पक्कै पनि अर्काको अर्ति र उपदेश सुनेर आनन्दित चाहिँ हुँदैन होला । धन्न पो लाइक र कमेन्ट चाहिँ आँखा चिम्लेर ठोकी हाल्छन् । नठोकुन पनि कसरी बिचरा अन्फ्रेन्ड र ब्लकको धम्की आइहाल्छ ।
फेरि यो अनफ्रेन्ड र ब्लक गर्छु भन्नेहरूका धम्की पनि सक्किगोनी हाँस्य सिरियलका गल्फने लुङ्गाले भने जस्तो कम्ति बिजोक रमाइला छैनन् । ए काका, कसैले कसैलाई उसको फेसबुक साथी नबनाउँदा वा ब्लक गर्दा कस्को आका अड्किएको छ र अहिलेसम्म । आखिर साथी सक्रिय होस् या निस्क्रिय, त्यो मान्छे नै हो, जनावर त होइन । जनावर पनि त मान्छेका मान्छे भन्दा मनपर्दा मित्र भएका छन् । फेरि फेसबुक हेरेकै भरमा कसैलाई जनावर जस्तो मान्छे भनि हाल्न पनि त सकिँदैन । बरू ओभररियाक्टिभ भएर कहिलै नभेटेका, नसुनेका, नदेखेका मान्छेलाई धम्की दिँदै हिँड्नेलाई चाहिँ देख्ने सुन्नेले के भन्लान् मलाई थाहा छैन । कोही निस्क्रिय साथी पनि आज नभए भोलि काममा आउन सक्छ अथवा कहिलै काममा नआउन सक्छ । सबै मान्छे सबैको काममा आउनु पर्छ भन्ने पनि छैन, सबैले सबैका कुरा मन पराउनु पर्छ भन्ने छैन वा मन पराए पनि तुरुन्त प्रतिक्रियामा उत्रिहाल्नु पर्छ भन्ने छैन । एउटा विवाहित पुरुषले मन परे जति सबै महिलालाई अथवा महिलाले पुरुषलाई “आई लभ यु” भन्दै हिँड्यो भने तिनको हालत के होला । भन्न खोजेको सबै मन परेका कुराहरू प्वाक मुख खोलेर बोल्नै पर्छ भन्ने छैन ।
फेरि, यो फेसबुक भनेको मुड फ्रेसर वा व्यस्त दिमागले पिसाव फेर्न जाने बेलाको समय मार्ने साधन हो । कतिनै मान्छले यसलाई त्यत्रो महत्व दिएर हेरेका हुन्छन् र । कसैले केही दिमागको बत्ती बाल्ने खाल्को कुरा लेखिहाल्यो या आँखाले ओठ रसाउने फोटा देखिहाल्यो भने फुत्त लाइक वा काकाले ठिक्क पारेर राखिदिएका अटोमेटेड कमेन्ट ठोकिदिने हो । कहिलेकाहिँ त काम गर्दा गर्दै हातले फोन समाउन पुगिन्छ अनि पुलुक्क एउटा कुरा हेर्यो फेरि झल्यास्स सम्झना आउँछ “हैट, काम गर्न छोडेर यो बेकामको कुरामा के ध्यान गएको होला” भन्यो अनि मन परेकै पोस्टिङलाई पनि लाइक गर्न नभ्याई छोड्यो । कसैको पोस्टिङमा लाइक गर्न जागिरलाई बेचेको समयलाई बाइ गर्न पनि त सकिने कुरो भएन । थाहा छैन उतातिर के हुन्छ तर यो अम्रिकामा त कुरो कडै छ । कति बेला को हायर वा फायर हुन्छ केहि टुङ्गो हुँदैन । र पनि काका तिम्रो यो मुहार पुस्तिकामा के जादु छ कोनि छिन् छिन् मा नहेरी कसैको चित्तै बुझ्दैन । मान्छेहरू त यसमा लिसो टाँसिए जस्तो टाँसिएकै छन् र लाग्छ चाहेर पनि छुट्टिन सक्दैनन् ।
कहिलेकाहीँ मलाई यो मुहारपुस्तिका रेलको प्लेटफर्म जस्तो लाग्छ । प्लेटफर्ममा को भेटिँदैन – ज्ञानी मान्छे, हानी मान्छे, कामी मान्छे, हरामी मान्छे, नाङ्गो मान्छे, साङ्गो मान्छे, बाङ्गो मान्छे। सबैका आफ्ना आफ्नै उद्देश्य, आफ्ना आफ्नै गन्तव्य, आफ्ना आफ्नै आग्रह र आफ्ना आफ्नै पुर्वाग्रह छन् । सबैका आआफ्ना हाँसो अनि आआफ्ना खुशी छन् । प्लेटफर्मको त्यो भिडमा कोही भलो साथी होला, कोही कुभलो साथी होला, कोही हलो साथी होला वा साथी नै नहोला । आफुलाई सुरक्षित राख्न सक्नु पर्यो अनि आफ्नो गन्तव्य जान्नु पर्यो । कि कसो ? फेरि कहिलेकाहीँ चाहिँ लाग्छ यो मुहारपुस्तिका बफे डिनर हो । फेसबुक चलाउनेहरू भोका मान्छे अनि भाँडाहरूमा सजाइएका खानेकुराका परिकार फेसबुकमा हालिएका पोस्टिङ । अनि पोस्टिङ हाल्ने मान्छे चाहिँ पर्दा पछाडिका कुक । अब जसलाई जे मन पर्छ खान पाइयो । मलाई यो मन परेन भनेर सुनाइराख्नु परेन । मन परेको खाए भयो वा मनै परेन भने खाँदै नखाई गए भयो । खाना खानेले खाइसकेपछि विभिन्न प्रतिक्रिया दिन्छन् । कसैले मिठो भन्लान्, कसैले नमिठो भन्लान्, कसैले कुकलाई टिप्स दिन्छु भन्ने सम्झिँदा, सम्झिँदै बिर्सेर हिँड्लान्, कसैले मुक्त कण्ठले प्रशंसा गर्लान्, वा कसैले गाली गर्लान् । सबैले आ-आफ्नो धर्म पालन गर्ने हो । सबैको स्वाद फरक छ, सबैको रोजाई फरक छ । कसको चाहिँ हिसाब गरेर साध्य हुन्छ ।
यो तिमीले बनाएको मुहार पुस्तिकाको विशेषता के रैछ भने देखाउनेले आफूलाई राम्रै मात्र देख्ने तर देख्ने ले जो जस्तो छ त्यस्तै देख्ने । लेख्नेले आफूले राम्रै मात्र लेखेको छु भन्ने ठान्ने तर पढ्नेले लेख्नेको नाडी सजिलै छाम्न सक्ने । तर फेसबुकमा आफ्नो औकात नदेखिने खाली अर्काकै मात्र देखिने । लाइक र कमेन्टको मुते न्यानुले गर्दा आत्म मुल्याङ्कन र आत्मसमीक्षा तर्फ मानिसको ध्यान कहिलै जाँदै नजाने । जहाँ हुँदै नभएका मान्छेको नाममा अकाउन्ट बनाएर मान्छेलाई बिगार्न सकिन्छ, जसको भौतिक अस्तित्व छैन, जो कहिले खुल्छ कहिले खुल्दैन, कहिले ह्याक भएर दृश्य बाट ब्याक हुन्छ टुङ्गो छैन, जहाँ नभएको कुरा बनाउन सकिन्छ र बनेको कुरा बिगार्न सकिन्छ, त्यो कुरामा चाहिने भन्दा बढ्ता ध्यान दिएर, आफ्नो बेहोरा देखाएर, आफ्ना सक्कली रूप देखाएर किन मान्छेले यसरी नौटंकी गरेका हुन् । मलाई त उदेक लाग्छ ।
मैले अम्रिकाका मान्छेहरूको पनि फेसबुक चलाउने तरिका हेरेको छु । कति वटा साहित्यिक र सामाजिक भर्चुअल संस्था र समुहहरूसँग म पनि साथी छु । यताका मान्छेहरू पनि मनपरी गर्छन् । आफुलाई देखाउँछन्, आफ्नालाई देखाउँछन्, नाच्छन् अनि गाउँछन् । कुरा कथुर्छन् । ज्ञानीले गुनिलो कुरा गर्छन् घामटहरूले जाने नजानेको जंक कुरा पोतेर आफ्नो वाल भर्छन् तर फलानाले मेरा लागि यसो गरिदियोस् भन्ने आशयको आग्रह अभिव्यक्त गरेर आफ्नो परिचयलाई सार्वजनिक हाँसोको विषय बनाउने गरेको जस्तो चाहिँ लाग्दैन । आफ्नो काम गर्ने, अर्काको चासो नगर्ने स्वार्थी जस्तो लाग्ने अम्रिकी चलन पनि कहिलेकहीँ त राम्रै हो की जस्तो पो लाग्दो रहेछ । नेपालमा सबै भन्दा भाइरल मध्येका एक कृष्ण भगवानले भन्थे रे “कर्म गर फलको आशा नगर” तर बच्चैदेखि कृष्ण भएर जन्मेका हामी नेपालीमा चाहिँ फलको आशा गर्ने प्रवृत्ति अलिक बढिनै हो कि जस्तो देखिन्छ भन्या ।
भन्नु उसो होइन काका, तिम्रो फेसबुकले मनग्ये राम्रो गरेको छ । मान्छेले आफु भित्र लुकेको कला देखाउन पाएका छन् । संसारभरि छरिएका आफन्त र साथीभाइसँग जोडिन पाएका छन् । परदेशीले परदेशमै घर पुगेको महशुस गर्न पाएका छन् घरदेशीले घरमै बसेर परदेशीकोको देश र हालत देख्न पाएका छन् । लेखेर छाप्ने ठाउँ नपाएका वा छाप्ने ठाउँ भेटाउने ढङ्ग नभएका मानिसले पनि आफ्नो सिर्जना मान्छेसम्म पुर्याउन पाएका छन्, कवि, साहित्यकार र अभियन्ताको बिल्ला झुण्ड्याएर सामाजिक सञ्जाल भर छाएका छन् । कुरो यत्ति हो आफ्नो जे देखाउन मन लाग्छ देखाउनु । मन पराउनेले, फुर्सद हुनेले प्रतिक्रिया दिन्छन् अरुले हेर्छन् हिँड्छन् । के को टाउको दुखाई । तर गोरु बेचेको साइनो पनि नभएका मान्छेले देखिदियोस् भन्ने आग्रह नपाले हुने हो । कि कसो काका !
आग्रह नै आग्रहको बारेमा यत्रो बखान गरिसकेपछि मेरो चाहिँ आग्रहको कुरो किन नोकल्नु । कलम बन्द गर्नु भन्दा पहिले काकासँग मेरो एउटा आग्रह छ । आखिर जे पनि बनाएर बनेकै छ । फेसबुकमा पोस्टिङ हाल्ने बित्तिकै चाहनेले चाहिए जति लाइक र कमेन्ट पनि हाल्न सक्ने व्यवस्था मिलाई दिनु पर्यो । त्यसो भए कोहीसँग आग्रह राख्नु परेन । देखेनन् पनि भन्नु परेन । हेरेनन् पनि भन्नु परेन । देखाउनु पर्नेलाई देखाउन पाइहालियो । आखिर जसरी पनि मुर्ख हुनु त हो नि । काकाको जय होस् ।
०००
हाल अमेरिका
Subscribe
Login
0 Comments
Oldest






































