देवीप्रसाद चापागाईंचियो
अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई खारेज गरी ’चियोचर्चों विभाग’ खडा गर्न कार्ययोजना बनाइ अग्रसर हुन सरकार र सरकारी निकायलाई मेरो सुझाव थियो ।

देवीप्रसाद चापागाईं :
आन्तरिक यथार्थलाई रहस्य खोतल्ने, जोख्ने, अँचेट्ने, घचेट्ने उद्देश्यले चलाखीपूर्वक छड्के नजर दिनुलाई चियो भन्न नसुहाउला ? वास्तविकताको गहिराइमा पुग्नु न्याय हो, धर्म हो, आदर्श हो र असल बानी हो । अरूलाई थाङ्नामा सुताई आफू भाले बन्न खोज्ने नर्तक-नर्तकीलाई मात्र चियोले दुःख दिएको जस्तो लाग्ला नभए वैज्ञानिक आविष्कारदेखि अवैज्ञानिक लोकोपकारलाई समेत चियोले उन्नतिको उपमा भिराएको छ । प्रगतिको थुम्की चढाएको छ । चियोलाई गलत ढङ्गबाट अर्थ्याउनको साटो गलत कर्म नगर्नु जाती हुन्थ्यो कि ? वास्तविकताको गहिराइमा पुग्दा गल्ती कर्ममा लीन हुनेहरू मात्र तर्सिएलान्, सुकर्म गर्नेहरूले पक्कै पनि शान्तिको अनुभूति गर्लान् । तर हाम्रो समाजमा भने बेग्लै अर्थ लगाइन्छ । चियो गर्नु नै निकम्मा कार्य हो ।
जिम्मा दिएको कर्म पूरा भयो भएन ? अगाडि फुस्ल्याउनेले पछाडि काम गर्छ गर्दैन ? बोलीको इमान छ कि छैन ? कर्तव्य र दायित्व भुल्छ कि भुल्दैन ? प्रशंसा उसको जीविकाको आधार हो कि होइन ? देशभक्ति, गुरुभक्ति, मातृभक्ति, पितृभक्ति उसको बाध्यता कि अन्तस्करणको पुकार । चियोको दियो सल्काइदिँदा समस्याको उपचार । कि होइन ?
चियोलाई मन नपराउनेहरू पनि छन् । लुकेर पिएको, नैतिकता खिएको, तरुनीसँग रोएको आदि कुरामा चियो गरिदिँदा रिस र लाजले भुतुक्क बन्नेहरू पनि छन् । टेबुलमुनिबाट दाम पाएको, बढुवाको आश्वासनमा हाकिमले जोनीवर्कर लगाएको, सरकारी बजेटलाई आफ्नो बनाउन भ्यएकाहरू पनि चियोलाई राताराता आँखा पारिदिन्छन् ।
यसलाई मन पराइदिँदा शिक्षकको चियोले विद्यार्थी सुधन्छ । डाक्टरको चियोले बिरामी बाँच्छ, अख्तियारको चियोले भ्रष्टाचार रोकिन्छ । आमाको चियोले छोरी सच्चिन्छे । बाबुको चियोले छोरो सप्रन्छ । राजनेताको चियोले मौलिक हकमा प्रत्येक नागरिकलाई नाना, दाना, र छानाको ग्यारेन्टी हुन्छ । लोकसेवाको चियोले कर्मठ नेपाली जोगिन्छ । जनताको चियोले धेरै क्षेत्रफल भए हात्ती, अलिकति घटे सुँगुर र त्यहाँबाट पनि घटे छुचुन्द्रोको आकार दिन दुष्प्रयत्न गर्ने शासक चिप्लिन्छ । अवसरवादीको प्वाँख झर्दछ र बिस्तारवादीको साख गिर्दछ ।
गोप्य कुरा उधिन्नु सायद चियो होला ! खोर्सानीटारका तिलकानेकी दोस्री पत्नीपट्टिको छोरा बित्ते खनाल होस् या परीक्षामा सबै प्रश्नको बिट सार्न असमर्थ आफ्नो पानीमन्तरे भाइलाई गणितको चीट फाल्ने आरुबोटेको भुत्तेकाजी । कतिबेला साहु हिँड्ला र ओरिजिनल कपडा साटौँला भन्ने दाउमा रहेको कालकुले सुचिकार यी तमाम चियोकै परिवेशबाट उब्जिएका पात्र हुन् ।
चियोबाट रहस्यको गर्भमा पुग्ने सामर्थ्य रहेको चुरो बुभन हाम्रा गाउँका चर्चित धनाढ्य लखनकान्त पँगेनीको घरमा पुग्ने कष्ट बेसाएँ मैले । हरिबोधिनी एकादशीको दिनमा प्रसाद खाँदै उनका स्तुतिगायकहरू कुरो ओकल्दै थिए । ए ! प्रभु पाँच कक्षा पास गर्न नसकेकी हरामकी छोरी हजुरकी बुहारी सुहाउँछे ? छिः छिः । त्यस्तीलाई भित्र्याउनुभन्दा केशव बाबु नागो बसेको बरु वेश । मेरो फलानी भन्न पनि हुनुपर्थ्यो नि केही । मैले त मानेको होइन उहाँ हजुर गम्भीर होइसिन्न के गरौँ । बरू म उहाँलाई सम्झाउँछु चियाको अन्तिम सुर्को तान्दै चियाको मूल्य चुकाउने ध्येयले कुर्यो बिसौने रिमाल ।
तीन दिनपश्चात् लोग्ने विदेशिएको एक गृहिणीको घरमा के पुगेको थिएँ, उहाँ आफू पकाएर खानुहुन्नथ्यो। पैसा पनि कहिले सिरानमुनि त कहिले भर्सेलीको मसलाको भाँडामा । त्यसो गरे दुःख गरेको बित्थामा उड्ला । धनियाँ र लप्सीको अचारमा खुब ध्यान जान्थ्यो त्यहाँ कसले ठीक पार्नू । सिस्नुको तिउनमा टिमुर हालेर फिर्के लगाउँदै गन्गनाउँछिन् पदमवती सापकोटानी छिमेकी शान्तासँग ।
नाठो साथमा राखेर के के कानेखुसी गर्दै थिई मखमली माहिली । ऊ यो साल पनि आएन भने जानेकी छु नि मैले । उसको गोठालो हुँ र ! दशैँसम्म पर्खन्छु, त्यसपछि त मेरो सुर छँदै छ नि !
ग्रामीण पात्रको मात्र के चियो गरौँ । देशका नेतागणको पनि चियो गरौँ कि खसखस जाग्यो । त्यसै क्रममा गत चुनावमा पराजित बलराम बराल कहाँ चर्कै बहस चल्दै रहेछ । बाटो हिँड्ने बटुवाको पनि मतलब थिएन त्यहाँ । यसपालि अन्तर्घात भएकै हो हजुरलाई आफ्नै पाटीको नेता हेमराजबाट । तपाईं हददर्जाको सोझो भएर बिग्रेको हो चालामाला । आदेश त दिनुहोस् हामी देखाइदिउँला त्यसको ताइ । लुटिएको मतभन्दा जनताको मूल्याङ्कन ठूलो हो तपाईंहरू फिक्री नगर्नुहोस् कुनै दिन धैर्य गर्नुपर्दछ । उत्तर दिन भ्याइनभ्याइ थियो बरालजीलाई । उनले भने राजनीति त्याग हो ख्यालख्यालको विषय होइन । उनी झन प्रस्ट पार्दैथिएँ म आफ्नो पथमा निर्वाध लम्किएँ ।
बाउन्न बुथ क्याप्चर गरेर भर्खरै चुनाव जितेका कूलमान खड्का कहाँ पो पुगेछु म । ज्यानको बाजी थापेर लड्ने हामी अहिले हात चाट्ने उनीहरू । हेर्नुस् यसपालि मेरो छोराको जागिर भएन भने मैले जानेको छु । भीडबाट कसैले हो, यो मान्छेले ज्यान नछोडेको भए तपाईं कहाँ पुग्नुहुन्थ्यो अहिलेसम्म । यिनको सोमकान्त जेठान हुन् । सोमकान्तकै बुथबाट तपाईंलाई दस हजार र उत्तरलाललाई सत्तरी भोट मात्र कसरी नि । यदि त्यसो नभएको भए पाँच हजारको अन्तरले हार्नुहुन्थ्यो तपाईंले । उनी बिचरा तीन हजारले मात्र हारेको त हुन् नि ।
लामो समय यस्तै चियोचर्चामा भुलाएँ मैले आफूलाई, कहिले पँधेर्नीमाझ कहिले धामीका पास । चियो चर्चाबाट पाएको सूचनाको कारणले घिरौँलाले मेरो नाकसँग पराजित हुनपर्यो । मैले चोरदेखि साधुसन्तसम्म छुटाइनँ । पाहुना लागेकोलाग्यै गर्ने घरदेखि कोही पनि नढिम्किने बुकुरोसम्म छोडिन । घोक्रो फुलाएर पढाउने शिक्षकदेखि हाजिर भएर एक घण्टी नपढाइ छोराको कोक्रो हल्लाउने मास्टरसम्म पनि भ्याएँ । टपरे बाहुनदेखि पूर्वाह्नमै डाउन हुने पुजारीलाई पनि भुलिनँ । एक दिन सिरान टोलमा पुगेको के थिएँ चर्चा मेरै पो रहेछ ।
फलानी पम्फेले बतासे भुँडी बोकिछ नाठो पत्ता लगाउन चियो गर्ने गरी मलाई पठाउने योजना पो बन्दै रहेछ। ठीक काम जस्तो लागे पनि आफूसँग समय कम भएकोले त्यो दिनदेखि थोरै समयालाई उक्त काम स्थगत गर ।
एक दिन सदाचार सम्मेलनमा मैले चियो विभाग खडा गर्न कार्यपत्र नै पेश गरें । अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई खारेज गरी ’चियोचर्चों विभाग’ खडा गर्न कार्ययोजना बनाइ अग्रसर हुन सरकार र सरकारी निकायलाई मेरो सुझाव थियो । गुणस्तरीय सामग्री विक्रेतादेखि अड्डा अदालत, सरकारी कार्यालय शिक्षण संस्था, भन्सार, अस्पताल विकास निर्माणका कार्य लगायतका स्थानहरूमा चियोचर्चों विभाग सक्रिय हुने र चियोका पारखीलाई उक्त कर्ममा प्रवृत्त गराउने हो भने देशको रूप फेरिन्थ्यो कि ? नभए त्यस्तै उस्तै ।
०००
‘बुर्कुसी’ (२०६६)










































हैन, के तपाइ उही कम्प्युटर केन्द्रका (शुसिला पति) इ. इ. देवी प्रसाद चापागाइँ नै हुनुहुन्छ, कि कसाे ?